लौ बजेट आयो !
मदन लम्साल
आज अर्थमन्त्रीले संसद्मा बजेट पेश गर्दैछन् । शुरुमा ज्ञातभन्दा अज्ञात र जिउँदाभन्दा मरिसकेका शहीदहरुलाई श्रद्धाञ्जलि दिएर मन्त्रीले बजेट भाषण शुरु गर्नेछन् । जब उनको भाषण शुरु हुन्छ, एमाले सभासदहरुले आफ्नो अगाडिको टेबल बजाउन थाल्नेछन्, विपक्षीहरु खासगरी माओवादी कपाल कन्याउन थाल्ने छ, भने काङ्ग्रेस मस्तसँग सुतिरहेको हुनेछ । समयमै बजेट ल्याउन पाएको भए आफ्नो घर आफैं बनाउनेदेखि आफ्नो बच्चा आफैं जन्माउनेसम्मको कार्यक्रम ल्याउन सक्ने थिए भनेर अर्थमन्त्रीले बजेट भाषणमा व्यक्त गर्नेछन् । यसै पनि केही दिन अघिदेखि नै बूढाबूढीलाई लत्ता र विद्यार्थीलाई पनि भत्ता दिनेसम्मको अर्थमन्त्रीको योजना बजेटमा रहेको कुरा समाचारमा आएको थियो ।
अर्थमन्त्रीले आफ्नो भाषणमा पटकपटक उच्च आर्थिक वृद्धि, न्यायपूर्ण वितरण, जनमुखी, लोककल्याणकारी, समावेशी, निजी-सार्वजनिक साझेदारी, निर्यातमुखी, आयात प्रतिस्थापन, खर्चकटौती, बचत परिचालन, मूल्य नियन्त्रण, पुनर्निमाण, राहत, पुनःस्थापना, पूर्वाधार, महिला सशक्तीकरण, विकेन्द्रीकरण, औद्योगिकीकरण, कृषिमा व्यवसायीकरण, जलविद्युत्को उत्पादन, पर्यटन र पर्यावरणजस्ता शब्दहरु दोहोर्याई तेहर्याई पढ्नेछन् । त्यसो भनिरहँदा उनको अनुहार ती सबै कामहरु फत्ते गरिसकेको झैं धपक्क बलिरहेको हुनेछ ।बन्द, हडताल, राजमार्ग अवरोध, चक्काजाम, घेराउलाई निरुत्साहित पार्ने कुरा गर्न उनले बजेटमा छुटाउने छैनन् । माओवादी लडाकुलाई भत्ता, बहुमत लिएर आउनेलाई सत्ता, भारतीय बाबाहरुलाई भेटी, खेलाडीहरुलाई पेटी दिनेजस्ता कुराहरु पनि बजेटभित्रै समावेशीकरणमा पर्नेछन् । साथै बेपत्ता पारिएकाहरुको खोजी गर्नेदेखि सत्य निरुपण, शान्ति फर्काउनेजस्ता दुइचार दर्जन आयोगहरु बनाउने वचन पनि अर्थमन्त्रीले दिनेछन् ।
त्यस्तै एकल महिलालाई संरक्षण दिन र गरीबी निवारण गर्ने कार्यक्रम ल्याउन अर्थमन्त्री छुट्ने कुरै भएन । यसरी अर्थमन्त्रीले बजेट भाषणमा तराईदेखि पहाड, राउटेदेखि ख्याउटे, जडीबुटीदेखि चलचित्र उद्योग, विपन्न वर्गदेखि विपना थापा वा रेखा थापा सबैलाई सम्झनेछन् । अर्थमन्त्रीले बजेटमा कमलरी, हलिया, मुक्त कमैयालाई पुनःस्थापना पनि गर्दिनेछन् । पोहोर पनि गरेका थिए । अर्थात् उनले वा उनको दलले सम्झन सकेजति सबै कुरा बजेटमा नेपाली जनतालाई दिनेछन् ।नामै त बजेट भाषण, पढिदिने मात्र न हो । पैसा जुटाउनुपर्ने होइन । भोलि कसैले किन यसरी बजेट भाषण गरिस् भन्ने पनि होइन । गए एकछिन मानिसहरुको भाषण सुन्ने समय जान्छ, अर्थमन्त्रीको वा एमालेको के जान्छ ? तर एउटा कुरा भने नेपालीले पाउँछन् नै । त्यो के भने बजेट भाषण सुने पनि नसुने पनि नेपाली जनताले अर्थमन्त्रीबाट अन्त्यमा धन्यवाद उपहार त पक्का पाउने नै छन् ।