शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

तीतोमीठो


सभासद् गुप्तालाई गुरु थापौ


मदन लम्साल


पूर्वमन्त्री तथा सभासद् श्यामसुन्दर गुप्तालाई व्यापारी पवन साङ्घाईको अपहरणको मुख्य योजनाकार रहेको र १ करोड रुपैयाँ फिरौती लिएको भनेर प्रहरीले समातेर झ्यालखानामा हालेको छ । शुरुमा धेरैलाई यो विश्वास लागेन । तपाईंलाई पनि त्यस्तै भयो होला । सबैले सोचे होलान्— मन्त्री भएर कुस्त कमाइसकेका मान्छे, त्यसमा पनि सभासद्, त्यस्ता व्यक्तिले पनि कहीँकतै पैसाका लागि मान्छे अपहरण गरी हिँड्ला र ? कथम् यस्तो कृत्य उनले गरेकै रहेछन् भने पनि छोराको बिहे गर्न हिँडेका पितृसमान मान्छेलाई यो जाडोमा लगेर पुलिसले थुन्नुहुन्छ कतै ? पुलिसलाई पनि के भन्ने र खै ? गुप्तालाई सबैले ‘साज’ साहूजी भनेर चिन्छन् । ‘साज’ उनको व्यवसाय हो । अर्थात् साजबाज, बन्दुक, बारुद उनका सामान्य खेलौना हुन्, न कि कुनै हतियार । यति सानो कुरालाई लिएर तीललाई पहाड बनाउनु लाजमर्दो कुरा हो । अर्बौं रुपैयाँ लुटेर, मान्छे मारेर त यहाँ मन्त्री, प्रधानमन्त्री, सभासद् केके हो भएर मानिसहरु बिन्दास बसिरहेकै छन् ।

आपूर्तिमन्त्री हुँदा १ करोड रुपैयाँ त उनले एउटा पेट्रोलपम्प खोल्न स्वीकृति दिएबापत नै पाउँथे । त्यस्ता करोड कति पाए कति ? मान्छे मारेका छैनन्, जाबो १ करोड, त्यो पनि एक व्यापारीबाट लिएको भन्ने कुरालाई लिएर गुप्तालाई जेल हाल्नु, मुद्दा चलाउनु घोर अन्याय हो । यस कदमका विरुद्ध सबै मधेशवादी दलले आन्दोलन चलाउनैपर्छ । सबैले चिनेकै छन्, राजनीतिक फाइदाका लागि दिनदहाडै सामान्य मानिसको हत्या गर्नेहरु देशका ठूल्ठूला पदमा अहिले पनि विराजमान छन् । बलात्कारी, भ्रष्टाचारी भनेर प्रमाणित भइसकेकाहरु समेत छाती फुलाएर हिँडिरहेकै छन् । जनताको हितमा खर्च गर्ने भनेर गरीब जनताबाटै असुलेको करबापतको राज्यकोषको ढुकुटी लुट्नेहरुको स्वर समाजमा अझ ठूलो हुने गरेको छ । उनीहरु फुक्काफाल साँढेसरी डुक्रिएर समाजमा हिँडिरहेकै छन् । गाडी चोर्नेदेखि अर्काको ढुकुटी फोर्नेसम्म, राहदानी बेच्नेदेखि पुरुष भएर पनि सुत्केरीको ओखतीबापत पैसा असुल्नेसम्मका सभासद् र मन्त्री, कर चोर्ने व्यापारीदेखि आफ्ना कार्यकर्ताका नाममा कानूनीरुपमै देशको ढुकुटी नै रित्याउनेहरुलाई चाहिँ यहाँ छूट छ ।

छोराको बिहेका लागि भनेर एउटा व्यापारीलाई यसो नाटकजस्तो गरेर जाबो यौटा करोड रुपैयाँ गुप्ताले असुलेकै रहेछन् भने पनि माथि उल्लिखित अपराधीहरुको तुलनामा उनलाई यतिविघ्न सजाय दिनु त अन्याय नै हो । गुप्ता स्वधर्ममा पनि अडिग देखिन्छन् । अपहरण, लफडाबाजी आदि गरेरै उनी राजनीतिमा स्थापित भएका हुन् । हिजो उनकै दलकी अध्यक्ष आनन्ददेवीको अपहरण गरेको कुरालाई समाजले मात्र होइन, अदालतले समेत पत्याएको थिएन, जुन अहिले आएर प्रमाणित भएको छ । समग्रमा भन्नुपर्दा गुप्ता समकालीन नेपाली राजनीतिक नेताहरुका एक प्रतिनिधि पात्रमात्र हुन् । यसै हप्ता मात्रै काशीनाथ तिवारी हत्यामा मुछिएका एमाओवादी नेता प्रभु साहलाई जोगाउन लागिपरेका तत्कालीन सीडीओ तथा सहसचिवलाई सरकारले नापी विभागको महानिर्देशक बनाइदिएको छ । अपराधीलाई सुधार्न त यसरी पुरस्कृत गरिन्छ भने सन्त नेताजस्ता देखिने महान् सभासद् गुप्तालाई कारबाही गरिनु न्यायपूर्ण भएन ।

गुप्ता स्पष्टवादी व्यक्ति हुन् । आपूर्तिमन्त्री हुँदा पनि उनले अरु मन्त्रीहरुले जस्तो पीएलाई वा श्रीमतीलाई लगाएर घूस खाएनन्, बरु टेबल ठोकेर आफैले सहर्ष र सीधै लिन्थे भन्छन् व्यापारीहरु । साङ्घाईको केसमा पनि उनले आफैले योजना बनाएर, आफ्नै गाडीको सदुपयोग गरेर अपहरण गर्ने, फिरौती बुझ्नेसम्मको व्यवस्था मिलाएको पुलिसको दाबी छ । वाह ! यस्ता व्यवस्थापकको र योजनाकारको पो खाँचो छ त देशमा, जसको अभावमा देश विहारभन्दा पनि धेरै पछाडि परिरहेको छ । यो घटनाले सभासद् गुप्ताले विहारी राजनीति र विकासलाई नेपालमा पनि उतार्न खोजेको स्पष्ट देखिन्छ । सबैलाई थाहा छ, विहारको अहिलेको विकासको गति प्रतिघण्टा कति किमी छ भनेर । तर, गुप्ताले नीतीश कुमारको विहारलाई नेपालमा कपी गर्न खोजे वा लालुप्रसाद यादवको भन्नेचाहिँ खोजीको विषय हुन सक्छ ।

विश्वमा १० वर्षअगाडि भएका विकास वा प्रविधि नेपालमा १० वर्षपछि मात्र आइपुग्ने गरेको छ । भारतले नै दसौं वर्षअघि नै सूचनाप्रविधिमा गरेको क्रान्ति अहिलेसम्म नेपालमा छिर्न सकेको छैन । जेहोस्, कसो भएर हो, १० वर्षअघिको विहारलाई गुप्ताले नेपालमा भित्र्याउन खोजेको कुरालाई सबैले सराहना गर्नुपर्दछ । हरेक घटनाबाट राम्रो–नराम्रो दुवै परिणाम निस्कन्छ । हिजो विहारीबाट नेपालीहरुले पनि बैङ्क, कम्पनी आदि लुट्ने कुरा सिकेका थिए । त्यो देखेर एक नेपाली फिल्म निर्माताले ‘लूट’ भन्ने चलचित्र बनाए, जुन अहिले बजारमा ‘हिट’ छ । दशकौ पछी बल्ल आएर एउटा नेपाली चलचित्र हिट अझ सुपरहिट हुन सफल भएको छ । यो  प्रेरणाका सा्रते खोज्दै जाने हो भने पक्कै विहारमा नै पुगिनेछ । यसरी विहारी प्रभावलाई नेपाल भित्र्याउन पहल गर्ने पहलमान सभासद गुप्तालार्इ त माला लगाएर सावर्ज निक सम्मान पो गर्नुपर्छ। के को माला लगाउने भन्ने निणर्य त पछि गदगैर्दा पनि भइहाल्छ । सभासद् गुप्तालाई मात्र होइन, यही मेसोमा नेपाली राजनीतिका गुप्ताजस्ता थुप्रै सभासदलाई राम्रैसँग सम्मान गनर्पुर्ने देखिन्छ। यो देशले गुप्ता महोदयलाई गुरु थापेर काम गर्न थाल्ने हो भने छिट्टै प्रगति गर्न सक्छ ।