गाउँमै स्वरोजगार

जुम्ला तलिउम गाविस–२ का किसान रतनबहादुर रावलको कमाइ अहिले वार्षिक १० लाख रुपैयाँ छ । सबै खर्च कटाएर करीब ८ लाख रुपैयाँ त उनी बचत गर्छन् । आफ्नै घर नजिक रहेको जमीनमा स्याउको नर्सरी सञ्चालन गरेपछि कमाइसँगै उनको जीवनशैलीमा पनि व्यापक परिवर्तन आएको छ । केही वर्षअघि भारतको एक नर्सरीमा मजदूरी गर्दा उनको कमाइ मासिक १ हजार ७ सय भारतीय रुपैयाँ थियो । त्यसमा पनि आफ्नो खर्च कटाउँदा घरमा पठाउने रकमको सधैं अभाव हुने गरेको उनी सम्झिन्छन् । ‘परिवारबाट धेरै टाढा विदेशमा रहेर काम गर्दा हुने मानसिक पीडाको त बयान पनि गर्न सकिँदैन,’ उनी भन्छन् । भारतको नर्सरीमा सिकेको शीपको सदुपयोग गर्न सकेकाले नै आफू सफल भएको उनको भनाइ छ । आफ्नै घरपरिवारसँग बसेर लाखौं रुपैयाँको कमाइ हुँदा परिवार पनि खुशी छ ।
रावलको नर्सरीमा अहिले ६० हजार स्याउका बोट हुर्कंदै छन् । स्याउको बोट बजारमा प्रतिगोटा २५ रुपैयाँको दरले विक्री हुन्छ । नर्सरीमा बोट लगाउँदा करीब २ लाख ५० हजार रुपैयाँ खर्च गर्नुपरेको उनी बताउँछन् । नर्सरीमा अहिले रोयल डेलिसिस, गोल्डेन डेलिसिस, रेड डेलिसिस आदि जातका बोट रहेका छन् । उनले उत्पादन गरेका बिरुवा किन्न मुस्ताङ, बाजुरा, इलाम, डोल्पा, मुगुबाट समेत किसानहरू उनको नर्सरीमै आउँछन् । अहिले उनी आफ्ना छोराछोरीलाई गुणस्तरीय शिक्षा दिन सक्ने र अन्य व्यवसाय तथा वस्तुमा लगानी गर्न सक्ने भएका छन् ।
जङ्गलबाट सङ्कलन गरी ल्याएको बीउको सदुपयोग गरी कमाइ भएको देखेपछि गाउँका अन्य किसान पनि नर्सरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । अहिले तलिउममा मात्रै आठ किसानले नर्सरी खेती गरिरहेका छन् । त्यतिमात्र होइन, यहाँका ७५ प्रतिशत किसान बेमौसमी तरकारी तथा तरकारी बीउ उत्पादनतर्फ पनि आकर्षित भएका छन् । गाउँमा नै कमाइ हुन थालेपछि युवाहरू अहिले रोजागारीका लागि विदेश जान छाडेको अर्का किसान अमरबहादुर रावलको भनाइ छ । उनी भन्छन्, ‘अहिले गाउँबाट रोजगारीका लागि विदेश जाने सयमा दुई जना होलान् ।’ रावलको नर्सरीमा पनि ६० हजार स्याउका बिरुवा उत्पादन भइरहेको छ । एउटा स्याउको बिरुवा २ वर्षमा विक्रीयोग्य हुन्छ । नर्सरीमा गाउँका युवाले रोजगारी पनि पाएका छन् । ०५२ सालदेखि तरकारी खेती गरिरहेका उनले राम्रो कमाइ हुने देखेपछि स्याउ नर्सरीलाई प्राथमिकता दिएका हुन् । विभिन्न सङ्घसंस्थाले दिने कृषिसम्बन्धी तालीम तथा प्राविधिक सहयोगले आफू स्याउका बिरुवा उत्पादनतर्फ आकर्षित भएको उनी बताउँछन् । नेदरल्याण्ड विकास नियोग
(एसएनभी), उच्च मूल्य कृषि विकास आयोजनालगायत संस्थाहरूले यसमा सहयोग गरिरहेका छन् । उत्पादन भएको तरकारीको बीउ तथा स्याउको बिरुवालाई बजारको कुनै समस्या नभएको उनको भनाइ छ ।