डिफरेन्टली एवल - शकुन्तला जोशी
अवसर र लगावको दोभान हो जीवन
भूमिकला पौडेल
रिसेप्सनिष्ट
नेपाल इकोनोमिक एग्रिकल्चर एण्ड ट्रेड (नीट) एक्टीभिटी
'शारीरिक रूपमा अशक्त भए पनि शीप, क्षमता र अवसर पाए आत्मनिर्भर हुन केही गाह्रो छैन' भन्ने उदाहरण हुन्- भूमिकला पौडेल । ४ वर्षको उमेरमा पोलियो माइलाइटिस भएपछि उनको एउटा खुट्टा नटेकिने भएको थियो । दुईओटा औंलाको भरमा केही पाइला सार्न मिल्ने त्यही खुट्टा घिसार्दै उनी कार्यालयको जिम्मेवारी पूरा गरिरहेकी हुन्छिन् । हाल उनी 'नेपाल इकोनोमिक एग्रिकल्चर एण्ड ट्रेड (नीट) एक्टीभिटी नामक अन्तरराष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत छिन् । मासिक झण्डै आधा लाख कमाइ गर्ने उनी आफ्नो सफलता र आर्जनदेखि दङ्ग छिन् ।
२०३७ साल असोज २९ गते सुनसरी, चक्रघट्टीको सामान्य किसान परिवारमा उनको जन्म भएको थियो । भर्खर जताततै दौडने उमेर के शुरू भएथ्यो, एकहप्ते ज्वरोले थलिएपछि उनले शरीरसहित दुवै खुट्टा चल्न छोडे । बीपी अस्पताल, धरानले उपचार असम्भव भनेपछि परिवारले घरेलु उपचारको सहायता लियो । केही महीनाको प्रयासपछि एउटा खुट्टा र जीउ अलिअलि चल्न थाल्यो । त्यही बेलादेखि देब्रे खुट्टा विस्तारै कम्मरदेखि नै सुकेर गएको उनी बताउँछिन् ।
उनी हिँड्न सक्दैनथिन् । एकदिन बुबा र मित बुबा मिलेर उनका लागि काठको ३ चक्के गाडी बनाइदिए । त्यही गाडीको सहाराले उनको एउटा खुट्टाले अलिकति भरदिने भयो । उनी भन्छिन्, 'करीब ६/७ महीना गाडीमा जिउ अडयाएर खुट्टा घिसार्दै यताउता गरेँ । त्यो बेला मेरो घुँडामुनिको भाग रगताम्य हुन्थ्यो प्राय: । तर, त्यही अभ्यासले एउटा खुट्टा टेक्न सक्ने भएँ ।'
६ वर्षको उमेरमा उनी स्कूल भर्ना भइन् । आफै हिँड्न नसक्ने उनलाई घरका सदस्यले साइकलमा हालेर घर-स्कूल गराउनुपथ्र्यो । आठ कक्षामा पढ्दै गर्दा २०५१ साल असारमा अपाङ बाल अस्पताल, धोबीघाट (हाल बनेपा)मा शल्यक्रिया गरियो । ६ महीनाको उपचारपछि केही पाइला खुट्टा घिसार्दै हिँड्न मिलेको उनी बताउँछिन् । त्यो बेलादेखि उनले गतसालसम्म नै खुट्टामा सहायक सामग्री 'एएफओ' प्रयोग गरिन् ।
अपाङ्ग भइसकेपछि पढाइमा ध्यान दिन आमाले हरदम सचेत गराएको उनी बताउँछिन् । उनी भन्छिन्, 'तिमी अरूले जसरी काम गरेर खान सक्दैनौं, त्यसैले तिमीले जसरी पनि धेरै पढ्नुपर्छ भनेर आमाले भनिरहनु भो र म आज यहाँ छु ।' २०५३ सालमा महेन्द्र मावि चक्रघट्टीबाट एसएलसी उत्तीर्ण गरेकी उनले आमाले भनेजस्तो पढाइलाई गति दिन सकिनन् । अवसरको खोजीमा लागेकी उनी अहिले रत्नराज्य क्याम्पसमा बीए द्वितीय वर्षमा अध्ययनरत छिन् ।
सानैदेखि अवसरको खोजीमा आँखा चनाखो पार्ने उनले एसएलसी उत्तीर्ण गरेपछि राजधानी आएर 'सेक्रेटरियट म्यानेज्मेण्ट'को तालीम लिने मौका पाइन् । ६ महीने तालीममा सहभागी उनले त्यहीबेला पद्मकन्या क्याम्पसमा आईएमा भर्ना भइन् । तर, तालीम सकिएपछि तत्काल जागीर नपाइएका कारण उनी घर फर्किन् । घरतिरै रहे पनि उनी राष्ट्रिय अपाङ्ग महासङ्घसँग सम्पर्कमा थिइन् । महासङ्घका पूर्वअध्यक्ष मुनेश्वर पाण्डेको प्रेरणा र सहयोगले नेशनल कन्ष्ट्रक्शन कम्पनी नेपालमा 'अफिस क्लर्क'का रूपमा जागीरे भइन् । रू. ५० बाट शुरू भएको उनको तलब ३ वर्षको जागीर यात्रामा बढेर २३ सय ५० रुपैयाँसम्म भएको उनी बताउँछिन् । त्यसको डेढ वर्षपछि पुन: अन्ध अपाङ्ग प्राविधिक तथा शीप विकास केन्द्रमार्फत ६ महीना लामो सेक्रेटरियट म्यानेज्मेण्ट, कम्प्युटर तथा अङ्ग्रेजी भाषासम्बन्धी तालीम लिइन् । होष्टेल सुविधासहित लिएको उक्त तालीम लिएपछि उनले ५ वर्षसम्म नेपाल अपाङ्ग मानवअधिकार केन्द्र, नेपालमा 'अफिस सेक्रेटरी' भएर काम गर्ने अवसर पाइन् ।
विभिन्न संस्थामा काम गर्दै जाँदा फरक-फरक अनुभव सँगाल्ने मौका पाइन् उनले । त्यसले आफूमा परिपक्वता र अझ माथि जान सक्ने कुरामा आत्मविश्वास बढाइदिएको उनको अनुभव छ । उनी भन्छिन्, 'मलाई लाग्यो म एकदिन अन्तरराष्ट्रिय स्तरको कुनै संस्थामा पुगिछाड्छु । आत्मविश्वासले गर्दा होला, अपाङ्ग छु जस्तो कहिल्यै लागेन ।' त्यसपछि अन्तरराष्ट्रिय गैरसरकारी संस्था 'ह्याण्डी क्याप इण्टरनेशनल' मा २०६४ सालदेखि रिसेप्सनिष्टका रूपमा उनले ४ वर्षसम्म काम गरिन् । हाल वैशाखदेखि उनी 'नीट'मा रिसेप्सनिष्ट'को जिम्मेवारी सम्हाल्दै आएकी छन् । उनी भन्छिन्, 'केही बन्नलाई मनैदेखि लगन र इच्छाशक्ति चाहिन्छ । मैले अङ्ग्रेजी भाषा सुधारका लागि रातदिन अभ्यास गरेँ, किनभने मलाई आईएनजीओमा काम गर्ने इच्छा थियो ।' उनले आफ्नै कमाइले चारपाङ्ग्रे स्कुटी किनेकी छन् ।
थोरै कमाइ हुँदादेखि नै आमाबुबालाई सहयोग गर्दै आएकी उनले हाल परिवारको आर्थिक व्यवस्थापनमा राम्रो भूमिका निर्वाह गरेको बताउँछिन् । २०६३ सालमा दाङ, तुलसीपुरका गणेश सुवेदीसँग उनको प्रेमविवाह भयो । वृत्तचित्र निर्देशक तथा चलचित्रको पटकथा लेखक सुवेदी र उनको चार वर्षीया एक छोरी छन् ।
उनी भन्छिन्, 'अपाङ्गता भएकाका लागि शिक्षा, शीप, अवसर र उत्प्रेरणाको खाँचो छ ।' अपाङ्गता भएकाको पक्षमा कानून बने पनि कार्यान्वयन पक्ष फितलो भएको उनको भनाइ छ ।' नेपाल अपाङ्ग महिला सङ्घकी संस्थापक सदस्य उनी नेपाल अपाङ्गता मानवअधिकार केन्द्रकी
सदस्य हुन् ।