Date: 2010-09-08

सुनचाँदीमा टुटेको सम्बन्ध फेरि जोडिने आशा (२०६७ जेठ २४-३०)
(लगानी मन्त्र
'आफ्नो बजेटमा ध्यान नदिई कारोबारको आकारलाई बढाएमा जोखिमको मात्रा पनि त्यत्तिकै बढ्न जान्छ ।’)
सुन
रेन्ज : १२३४.००-१२०१.७०
पिभट : १२१५.००
प्रवृत्ति : बुलिस
स्ट्रेन्थ : *****
गत हप्ताको सुरुवातमा ७ अमेरिकी डलर प्रतिऔंस बढेको सुनको मूल्यमा बुधबारदेखि बियरिस चाल देखा परेको थियो । फाइदा बुकिङ्ग गरिनाले भएको त्यो बियरिस चालले निरन्तरता भने पाएन । वास्तवमा यस्तो कारणले हुने बियरिस चाल सधैं छोटो अवधिको लागि मात्र हुन्छ । निरन्तर घटिरहेको युरोको मूल्य र समाधान नपाइएको युरोपको आर्थिक मन्दीले अहिलेको विश्व अर्थतन्त्रलाई उक्सन दिइरहेको छैन । यसले गर्दा पनि सुनको मूल्य निरन्तर बियरिस हुने सम्भावना कम छ । यस्तै खराब आर्थिक खबरहरूले गर्दा गत शुक्रबार सुनको मूल्य १२ अमेरिकी डलर बढेको थियो । ११९६ डलर प्रतिऔंसको तहलाई छोएर फर्किएको सुनको मूल्य १२१८ नजिकै बन्द भयो । यसको अबको यात्रा भनेको १२२६ डलर तिर हुन सक्छ । यसरी ऐतिहासिक उचाइतिर चलिरहेको सुन आजकल विश्वका लगानीकर्ताहरूको नजरमा ज्यादै लोकप्रिय बनेको छ । अरू हरक्षेत्रले लगानीकर्तालाई निराश गरेकाले सुनको मूल्य बढिरहेको छ । र, यो वृद्धि आगामी दिन पनि जारी रहने देखिन्छ । सिटी ग्रुपले सुनको मूल्य छिट्टै १५०० अमेरिकी डलर प्रतिऔंस हुने भविष्यवाणीसमेत गरेको छ । अन्य रिपोर्टहरूअनुसार भने यसको भविष्य १३०० डलर प्रतिऔंसतिर छ । यो हप्ता भने सुनको मूल्य उकालोतिर नै लाग्ने सम्भावना देखिन्छ । यो हप्ता अमेरिकी अर्थतन्त्रबारे केही महत्वपूर्ण तथ्यांकहरू आउँदै छन् जसमा सुधारका संकेतहरू पाइयो भने सुनको मूल्यमा केही मात्रामा मन्दी आउन सक्छ, तर ठूलो मन्दी भने सम्भव देखिँदैन । यसरी निकै तल-माथि गरिरहेको सुनको मूल्यले  लगानीकर्ताहरूलाई घाटामा पार्ने डर धेरै हुन्छ । त्यसैले आफ्नो वित्तीय स्थिति हेरेर र स्टप लस अर्डर गरेर मात्र कारोबार गर्नु बुद्धिमानी हुन्छ ।

कच्चा तेल
रेन्ज : ७४.१०-६८.८०
पिभट : ७२.००
प्रवृत्ति : बुलिस
स्टे्रन्थ : *
युरो क्षेत्रको कठिन आर्थिक स्थितिले विश्वको अर्थतन्त्र अझै समस्यामा परिरहने संकेत दिएको छ । गत शुक्रबारको एउटा रिपोर्टअनुसार युरोपेली राष्ट्र हंगेरीको अर्थतन्त्र पनि एकदमै नाजुक स्थितिमा रहेको खबर आयो । हंगेरीको ऋण त्यहाँको  गत वर्षो कुल घरेलु उत्पादन (जीडीपी) को ७८ प्रतिशत पुगिसकेछ । अमेरिकी आर्थिक तथ्याङ्कहरू राम्रो दिशामा जान खोजेको पाइए पनि त्यहाँको रोजगारी क्षेत्रमा भने अझै पनि सन्तोषजनक सुधार भएको छैन । यसरी उतारचढावमा रहेको विश्व अर्थतन्त्रअनुसार नै कमोडिटीहरूको मूल्यमा पनि ठूलो चहलपहल भइरहेको छ । गत हप्ताको सुरुवातदेखि नै कमजोर रहेको कच्चा तेलको मूल्यमा बुधबार र बिहीबार मात्रै केही बुलिसपना देखियो । कच्चा तेलको दुइदिने वृद्धिमा अमेरिकी सेयर सूचकहरूको बुलिसपन, कच्चा तेलको भण्डारमा कमी देखिनु र अमेरिकामा नयाँ घरहरूको बिक्रीमा देखिएको सुधार कारण थिए । तर कच्चा तेलको मूल्यलाई आधारभूत कुराहरूले भने साथ दिन सकिरहेका छैनन् । शुक्रबार अमेरिकी बजारको समयमा तीन डलर प्रतिऔंस घटेको कच्चा तेलको मूल्यलाई अमेरिकी डलरको मजबुतीले पनि निराश गर्‍यो । शुक्रबार एसियन बजारदेखि नै बियरिस रहेको सेयर बजारको स्थिति पूरै दिन युरोप र अमेरिकी बजारको समयसम्म रहिरह्यो । डाउजोन्स ३२४ बिन्दुले घट्यो भने लन्डनको परिसूचक पनि ८५ बिन्दुले घटेको थियो । १०,००० बिन्दुभन्दा तल आइसकेको अमेरिकी सेयर परिसूचक डाउजोन्सको मन्दीलाई हंगेरीको ऋण समस्या र अमेरिकी रोजगारीको प्रतिवेदनले पनि बढ्न साथ दिएनन् । साप्ताहिक रूपमा ३.२ अमेरिकी डलरको ह्रास उठाएको कच्चा तेल शुक्रबार ७१.०९ अमेरिकी डलर प्रतिब्यारेलमा बन्द भयो । यो हप्ता पनि कच्चा तेलको भविष्यमा आर्थिक मन्दीकै छाया पर्ने सम्भावना ज्यादा देखिन्छ । हंगेरीमा देखिएको मन्दीको आगोलाई निभाउन सकेमात्र कच्चा तेलसहित अन्य कमोडिटीको मूल्यमा सुधार आउन सक्छ । तर पनि लगानीकर्ताहरू निराश भइहाल्ने स्थिति छैन । अन्य आशाका किरणहरू पनि अवश्य छन् । बिहीबार अमेरिकाको बजेट सन्तुलन र व्यापार सन्तुलनबारे तथा उपभोक्ताको मनोबलबारे प्रतिवेदन आउनेछन् । ती प्रतिवेदन सकारात्मक आएमा कमोडिटीहरूको मूल्यमा पनि सकारात्मक स्थिति देख्न सकिनेछ ।

चाँदी
रेन्ज : १७.९५-१६.८२
पिभट : १७.६१
प्रवृत्ति : बुलिस
स्टे्रन्थ : *****
अर्थतन्त्रको कमजोर अवस्थामा पनि मूल्य बढ्ने कमोडिटी भनेका बहुमूल्य धातुहरू नै हुन् । सुरक्षित लगानीको रूपमा बहुमूल्य धातुहरूको माग आजकल निकै बढिरहेको छ । गत हप्ताको मध्यतिर कम देखिएको बहुमूल्य धातुहरूको मूल्य शुक्रबारतिर मजबुत भइसकेको थियो । सुनको मूल्य शिखरतिर लागिसकेको थियो । तर चाँदी भने पूरै हप्ता मन्दिमा रह्यो । किनभने चाँदीको मूल्यले अमेरिकी डलर र सुनको मूल्यलाई पछ्याउन छाडेर कमजोर युरोलाई साथ दिइरह्यो । सन् २००७ को तहतिर आइसकेको  युरो मुद्रास्थिति निकै दयनीय भइरहेको छ । पूरै विश्व अर्थतन्त्रको स्वास्थ्यलाई यही कुराले खराब बनाइरहेको छ । यस्तो  परिस्थितिमा सुनबाहेक अन्य कमोडिटीको मूल्य घट्नु स्वाभाविकै हो । तर सधैंजस्तो सुनको मूल्यलाई पछ्याउने चाँदीको मूल्य पनि अहिले निरन्तर घटिरहेको छ । यसरी युरोको कमजोरीले घटाइरहेको चाँदीको मूल्य यो हप्ता भने बुलिस देख्न सकिने सम्भावना छ । कहिलेकाहीं सम्बन्ध विच्छेद गरे तापनि सुन र चाँदीको मूल्य सधैं एउटै बाटोमा हिँड्ने जोडी हुन् । त्यसैले लगानीकर्ता अलमलमा पर्नु हुँदैन । चाँदीको यो मूल्यमा खरिद पोजिसन ज्यादा र बिक्री पोजिसन कम गरेर कारोबार गर्दा ज्यादा फाइदाजनक हुन सक्छ । विश्व अर्थतन्त्रको स्वास्थ्यमा सुधार नहुँदासम्म बहुमूल्य धातुहरूको मूल्यको भविष्य उज्ज्वल नै रहने सम्भावना ज्यादा हुन्छ । बढ्ने क्रममा चाँदीको मूल्य १८ अमेरिकी डलर प्रतिऔंससम्म पुग्न सक्छ ।

कोमेन कारोबार घट्यो (२०६७ जेठ २४-३०)
गत साता कोमेनको कुल कारोबार संख्या अघिल्लो साताको तुलनामा १२ प्रतिशतले घटेको छ । अघिल्लो साता कुल एक हजार ६ सय ५४ कारोबार भएकोमा गत साता जम्मा १ हजार ४ सय ६२ कारोबार भएको हो । गत साताभरि अन्तराष्ट्रिय बजारमा आधारित वस्तुहरूको मूल्यमा मिश्रति प्रवृत्ति देखियो । सो अवधिमा कोमेनमा कारोबार भएका वस्तुहरूमध्ये सुन र प्राकृतिक ग्यासको मूल्य साताको सुरुको तुलनामा बढेको छ । तर, चाँदी र कच्चा तेलको मूल्य भने साताको सुरुको तुलनामा घटेको छ ।
 
जुलाई महिनामा डेलिभरी हुने सुन १ किलो ग्रामको कन्ट्रयाक्टको मूल्य सोमबार बजार खुल्दा प्रतिदस ग्राम रु. २९ हजार ४ सय ६६ रहेकोमा साताको अन्तिम दिन शुक्रबार बजार बन्द हुँदा रु. ३० हजार २३ रहन गयो । साताभरि यस वस्तुको उच्चतम मूल्य बुधबार रु. ३० हजार १ सय ९० पुग्यो भने न्यूनतम मूल्य शुक्रबार रु. २९ हजार २ सय ४७ कायम भयो । उक्त दिन अन्तराष्ट्रिय बजारमा सुनले साताभरिकै न्यून मुल्य प्रतिऔंस ११ सय ९५ अमेरिकी डलर कायम गरी बढ्न सुरु गरेपछि यसको प्रभाव नेपाली बजारमा पनि परेको थियो । गत साता अन्तराष्ट्रिय बजारमा अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएको थियो । त्यसको असर नेपाली रुपैयाँमा पनि पर्न गई नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

त्यसैगरी जुन महिनामा डेलिभरी हुने २५०० एमएमबीटीयु प्राकृतिक ग्यासको कन्ट्रयाक्टको मूल्य प्रतिएमएमबीटीयु रु. ३ सय ८ रुपैयाँ १२ पैसा रहेकोमा शुक्रबार बजार बन्द हुँदा रु. ३ सय २६ रुपैयाँ ३८ पैसा रह्यो । साताभरि यसको उच्चतम मूल्य शुक्रबार रु. ३ सय २९ रुपैयाँ ७४ पैसा रह्यो भने न्यून मूल्य सोमबार रु. ३ सय ५ रुपैयाँ ८८ पैसा रहन गयो ।

जुलाई महिनामा डेलिभरी हुने ३० केजी चाँदीको कन्ट्रयाक्ट सोमबार बजार सुरु हुँदा प्रतिकेजी रु. ४६ हजार ७ सय ३३ रहेकोमा शुक्रबार रु. ४५ हजार २ सय ५८ मा बन्द भयो । साताभरि यसको उच्चतम मूल्य बुधबार रु. ४७ हजार ५ सय ८९ रह्यो भने न्यूनतम शुक्रबार रु. ४५ हजार ५० कायम भयो । यसैगरी जुन महिनामा डेलिभरी हुने १०० ब्यारेल कच्चातेलको कन्ट्रयाक्टको मूल्य सोमबार बजार खुल्दा प्रतिब्यारेल रु. ५ हजार ५ सय ४८ थियो भने शुक्रबार बजार बन्द हुँदा रु. ५ हजार ४ सय ५३ पुग्यो । यसको न्यूनतम मूल्य मंगलबार प्रतिब्यारेल रु. ५ हजार ४ सय ३२ मा पुग्यो, जसको उच्च मूल्य सोही दिन रु. ५ हजार ६ सय ६६ सम्म पुगेको देखिन्छ । समग्रमा गत साता कोमेनमा कारोबार भएका सबै वस्तुहरूको मूल्यमा मिश्रति प्रवृत्ति रह्यो ।