Date: 2010-09-08

सुन र तेल लगभग स्थिर
(लगानी मन्त्र 'घट्दो वजारलाई आधारभूतभन्दा मनोवैज्ञानिक कुराले बढी प्रभावित गर्छ ।')
सुन
सोमबार १७ डलर घटेर मन्दीउन्मुख देखिएको सुनको मूल्य मंगलबार अलिकति उकालो लाग्यो । अमेरिकी डलरको घट्दो विनिमयदरका कारणले पनि यस्तो भएको हो । ओरालो लागेका विश्वका शेयरबजारहरूलाई पछ्याउँदै सुनको मूल्य बिहीवार ३६ डलरले घट्यो । सुनको मूल्यभन्दा विपरीत प्रवृत्तिमा चल्ने अमेरिकी डलरले पनि सो दिन सुनकै बाटो समात्यो । मुद्रा बजारमा एक्लै उकालो लागेको युरो भने मजबुत देखियो । युरोपका संकटमुक्त देशहरू विस्तारै ऋणमुक्त हुने कोसिस गरिरहेका छन् । यसले युरोलाई अझै मजबुत बनाउन सक्छ । अमेरिकी  उपभोक्ता मनोविज्ञान, बेरोजगारीको स्थिति र घरहरूको बिक्री बजारमा देखिएका नकारात्मक प्रवृत्तिले विश्व पुँजीबजारका साथै कमोडिटी बजारलाई पनि घटाएको थियो । एसियाली बजारवाट पनि कुनै सुखद समाचार नआएपछि वस्तुहरूको मूल्यमा मन्दी देखिएको थियो । तर, शुक्रबार सुनको मूल्य भने मन्दीबाट उम्कियो । युरोपेली शेयरहरूमा आएको बुलिस प्रवत्ति तथा युरो र पाउण्डस्र्टर्लिङको बढ्दो मूल्यले बहुमूल्य धातुहरूमा शुक्रबार केही बुलिसपना देखिएको थियो । गत हप्ता १ हजार १ सय ९६ अमेरिकी डलर प्रतिऔंससम्म ओर्लेर माथितिर लागेको सुनको मूल्य १ हजार २ सय १० दशमलब ८७ अमेरिकी डलर प्रतिऔसमा वन्द भयो । यसरी गत हप्ताभरिमा ४५ डलरको ह्रास ब्यहोरेको सुनको मूल्य यो हप्ता भने वुलिस हुने सम्भावना बढी देखिन्छ । यो हप्ता सोमबार अमेरिकी बजार बन्द हुने भएकाले वस्तुहरूको मूल्यमा केही कम उतार चढाव हुनसक्छ । सुनको मूल्य बढ्ने क्रममा १ हजार २ सय २१ अमेरिकी डलरतिर पुग्दा ठूलो प्रतिरोध आउन सक्ने प्राविधिक विश्लेषणले देखाएको छ । घट्ने क्रममा १ हजार १ सय ९६ अमेरिकी डलर नै यसको बलियो टेवा हुन सक्छ ।

कच्चा तेल
विश्व अर्थतन्त्रबारे आएका नकारात्मक समाचारहरूका कारणले गत हप्ता वस्तुहरूको मूल्यमा कमी आयो र कच्चा तेलको मूल्य पनि ६ डलरले कम भयो । गत शुक्रबार ७२ दशमलव २२ अमेरिकी डलर प्रतिब्यारेलमा बन्द भएको कच्चा तेल एक हप्ताअघि ७८ दशमलब ७४ अमेरिकी डलर प्रतिब्यारेलमा बन्द भएको थियो । साताका प्रत्येक दिन बियरिस चालमा रहेको कच्चा तेलको मूल्य पनि नकारात्मक आर्थिक  परिसूचकहरूको परिणामले प्रभावित भयो । पूर्णरुपले बियरिस भएको कच्चा तेलको मूल्यलाई अमेरिकामा तेलको भण्डारमा कमी आएको समाचार आउँदा पनि खासै असर परेन । निरन्तर घट्दो बजारलाई कहिलेकाहीं आधारभुत कुराहरूले असर नगर्न सक्छन् । किनभने यस्तो बजारमा मनोवैज्ञानिक असर बढी देखिन्छ । अमेरिकी शेयर बजारको निरन्तर घट्ने क्रमले गर्दा यो हप्ता पनि वस्तुहरूको मूल्यमा कमी आउन सक्छ । शुक्रबार अमेरिकी शेयर सूचक डाउजोन्स ४६ अंकले घट्यो भने कच्चा तेलको मूल्य १ अमेरिकी डलरले बढ्यो । ५ दिनदेखि घट्दै आएको कच्चा तेलको मूल्यको घट्ने क्रम यो हप्ता रोकिने सम्भावना छ । तर, प्राविधिक रुपले यसको मन्दी अझै हुनसक्ने देखिन्छ । ७१ दशमलब ६० प्रतिब्यारेलतिर मजबुत टेवा देखिएको कच्चा तेलको अर्को लक्ष्य ७१ अमेरिकी डलरतिर हुनसक्छ । आधारभुत कुराहरूबाट टेवा पाएमा बढ्ने क्रममा ७५ अमेरिकी डलर नै यसको मुख्य लक्ष्य हुनेछ । यो हप्ता कच्चा तेलको मूल्यमा कम उतारचढाव आउनसक्छ । किनभने सोमबार अमेरिकामा सार्वजनिक बिदा छ र बाँकी दिनहरूमा आर्थिक सूचकहरू सार्वजनिक हुने कार्यक्रमहरू थोरै छन् ।

चाँदी
चीनको अर्थतन्त्रमा देखिएको सुस्तता र विश्व अर्थतन्त्रमा सुधार आउने संकेत नदेखिएका कारण गत हप्ता वस्तुहरूको मूल्य ओरालो लाग्यो । त्यसमा चाँदी पनि पर्यो । यसको मूल्यमा १ दशमलब ३० अमेरिकी डलरको ह्रास आयो । पूरै हप्ता निरन्तर घट्दै आएको चाँदीको मूल्यले १७ दशमलब ६० अमेरिकी डलर प्रतिऔंसको तहलाई छोयो । सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको बेलामा समेत चाँदीको मूल्यले भने यसअघिको रेकर्ड तोड्न सकेको छैन । बहुमूल्य धातुहरूमा सुनको तुलनामा चाँदीको मूल्य खासै वृद्धि  भएको छैन । तथापि, भविष्यमा चाँदीको मूल्य बढ्ने देखिन्छ । चाँदीले आफ्नो नयाँ रेकर्ड मूल्य बनाउन बाँकी नै छ । प्राविधिक रुपले चाँदीको मूल्य घट्ने क्रममा १६ दशमलब ६० अमेरिकी डलर प्रतिऔंससम्म आउन सक्छ । बहुमूल्य धातुहरूको मूल्य यो हप्ता बढ्ने सम्भावना भएकाले चाँदीको मूल्यले एकपटक पुन : १८ अमेरिकी डलर प्रतिऔंसको सीमालाई तोड्न पनि सक्छ ।

कोमेन कारोबार
कोमेनको कारोबारको संख्या गत साता १५ प्रतिशतले बढेको छ । अघिल्लो साता कुल १ हजार ६ सय ९६ कारोबार भएकोमा गत साता २ सय ६० बढेर १ हजार ९ सय ५६ पुगेको हो । सो अवधिमा कोमेनमा कारोबार भएका सबै वस्तुहरूको मूल्य साताको शुरुको तुलनामा बढेको छ । गत साताभरि अन्तरराष्ट्रिय बजारमा आधारित सबै वस्तुहरूको मूल्य घटेकाले त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको हो ।

जुलाई महिनामा डेलिभरी हुने १ केजी सुनको कन्ट्रयाक्टको मूल्य सोमबार बजार खुल्दा प्रति दश ग्राम रु. ३० हजार १ सय ८८ रहेकोमा साताको अन्तिम दिन शुक्रबार बजार बन्द हुँदा रु. २९ हजार ६ सय ४१ रहन गयो । साताभरि यसको उच्चतम मूल्य सोमबार रु. ३० हजार ४ सय ३ रह्यो भने न्यूनतम बिहीबार रु. २९ हजार ६ सय ५० कायम भयो । दुई हप्ता पहिले अन्तरराष्ट्रिय बजारमा सुनले अहिलेसम्मकै उच्च मूल्य प्रतिऔंस १ हजार २ सय ६५ अमेरिकी डलर कायम गरेर घट्न शुरु गरेको थियो । यो घट्ने क्रम अघिल्लो हप्ता पनि कायम रह्यो । बिहीबार हप्ताभरिकै न्यून मूल्य प्रतिऔंस १ हजार १ सय ९५ डलर कायम गरी शुक्रबार १ हजार २ सय ११ मा बन्द भएको थियो । यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको हो ।

गत साता अन्तरराष्ट्रिय अमेरिकी अर्थतन्त्रमा महत्वपुर्ण प्रभाव पार्ने हाउजिङ (घर-जग्गा) बजारका सूचकांकहरू पहिलेको तुलनामा नराम्रा प्रकाशित भए । तर, अझ बढी शक्तिशाली श्रम बजारको परिसूचक बेरोजगारी दर अघिल्लो महिनाको तुलनामा जुन महिनामा घटेपछि डलर बलियो भएको हो । साथै, गत हप्ता नै आर्थिक मन्दीको मारमा परिरहेको युरोपेली देश इटालीमा पनि बेरोजगारीको दर अघिल्लो महिनाको तुलनामा जुन महिनामा घटेको थियो । त्यसको असर पनि सुनको मूल्यमा परेको देखिन्छ । फलस्वरूप सुनको मूल्य यति धेरै घटेको हो ।

यसैगरी जुलाई महिनामा डेलिभरि हुने १०० ब्यारेल कच्चा तेलको कन्ट्रयाक्टको मूल्य सोमबार बजार खुल्दा प्रतिब्यारेल रु. ५ हजार ८ सय ३४ थियो भने शुक्रबार बजार बन्द हुँदा रु. ५ हजार ४ सय ३१ पुग्यो । साताभरि यसको उच्चतम मूल्य सोमबार रु. ५ हजार ८ सय ३६ रह्यो भने न्यूनतम शुक्रबार रु. ५ हजार ४ सय १५ कायम भयो । गतहप्ता प्रकाशित प्रतिवेदनमा अमेरिकामा कच्चा तेलको भण्डारण पहिलाभन्दा बढेन । तर तेलको मूल्यलाई प्रत्यक्ष प्रभाव पार्ने खुद्रा बिक्री र सवारीसाधनको बिक्री पहिलेको तुलनामा जुन महिनामा घटेपछि तेलको मूल्य पनि घटेको हो ।

जुलाई महिनामा डेलिभरी हुने ३० केजी चाँदीको कन्ट्रयाक्ट सोमबार बजार शुरु हुँदा प्रतिकेजी रु.४८ हजार ८ रहेकोमा शुक्रबार रु. ४५ हजार ९ सय ४७ मा बन्द भयो । साताभरि यसको उच्चतम मूल्य सोमबार रु. ४८ हजार २ सय २९ रह्यो भने न्यूनतम शुक्रबार रु. ४५ हजार ६ सय ६८ कायम भयो । गत साता चाँदीले पनि कच्चा तेल र सुनको प्रवृत्ति पछ्याएको देखिन्छ । प्रायः एउटै दिशामा सँगै हिँड्ने यी वस्तुहरू विगत केही समय पहिलादेखि एकअर्काको साथ छोडेका थिए । गत साता भने त्यो सम्बन्ध फेरि स्थापित भएको छ ।