Date: 2010-09-08

तेलको मूल्य बढ्ने बाटो खोज्दै
(लगानी मन्त्र 'छिट्टै धनी बन्ने सपना हानिकारक हुनसक्छ ।’)

सुन
रेन्ज १२०९-११७६.७०
पिभट : ११९८.१०
ट्रेन्ड : ढलपल
स्ट्रेन्थ : ***
अन्तर्राष्ट्रिय बजारमा गत हप्ता सुनको मूल्य निकै तलमाथि भयो । प्रकाशित हुन बाँकी महत्वपूर्ण आर्थिक खबरहरूको प्रतीक्षामा सोमबार ११ डलरले घटेपछि सुनको मूल्य हप्ताभरि निकै तलमाथि भएको हो । यसरी सोमबार बियरिस देखिएको सुनको मूल्य मंगलबार र बुधबार झनै बढ्यो । बढ्दै गएको अमेरिकी व्यापार घाटा, घट्दो खुद्रा बिक्री र अमेरिकी केन्द्रीय बैंकको खुला बजार कारोबार समितिको बैठकमा प्रस्तुत एजेन्डाहरूले बहुमूल्य धातुहरूको मूल्य बढ्ने सम्भावना बढाएका थिए । यी दुई दिनमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा जम्मा १३ अमेरिकी डलरले बढ्यो । प्राविधिक रूपमा प्रतिऔंस १ हजार २ सय १८ डलरमा बलियो अवरोध पाएकाले सुनको मूल्य हप्ताका अन्तिम दुई दिन भने बढ्न सकेन । बिहीबार र शुक्रबार दुवै दिन सुनको मूल्य निरन्तर बियरिस भएर प्रतिऔंस १ हजार १ सय ८५ डलरसम्म आयो । त्यो मूल्यमा बलियो टेवा पाएकाले बजार बन्द हुँदा त्यहाँबाट फर्केर १ हजार १ सय ९२ मा पुग्न सफल भयो । अमेरिकी श्रमबजारमा बेरोजगारको संख्या केही घटेकाले अमेरिकी डलरको मूल्य बढ्न केही सहयोग पुगेको थियो । जसले गर्दा सुनको मूल्य ओरालो लागेको हो । शुक्रबार १ हजार १ सय ८५ अमेरिकी डलर प्रतिऔंसको तहलाई छोएको सुनको मूल्य अन्तिम घन्टामा ८ अमेरिकी डलरले बढेको थियो । यसरी १ हजार १ सय ८५ डलरको टेवालाई सुनले दोस्रोपटक पनि  तोड्न सकेन । तर यो धातु धेरै माथि पनि बढ्न सकिरहेको छैन । त्यसकारण लगानीकर्ताहरूले बढी चनाखो भएर कारोबार गर्नुपर्ने अवस्था छ । सुनको मूल्यले यो टेवालाई तोड्यो भने निकै तल आउन पनि सक्छ । अहिलेको विश्व अर्थतन्त्रको सुधार हुने सङ्केत अनिश्चित देखिएकाले यो अवधिभर बहुमूल्य धातुहरूको मूल्यमा बियरिस चाल देखिने सम्भावना भने कम छ । तैपनि अमेरिकी डलरको मूल्यमा आउन सक्ने बलियोपनाले बहुमूल्य धातुहरूको मूल्यलाई कमजोर बनाउन सक्ने सम्भावना धेरै बढी छ । त्यसकारण यो हप्ता सुनको मूल्य बुलिस भएको देख्न सकिने सम्भावना पनि कम छ । घट्ने क्रममा १ हजार १ सय ८४ अमेरिकी डलरसम्म आउन सक्छ । र, बढीमा १ हजार २ सय १८ अमेरिकी डलर प्रतिऔंसको स्तरमा पुग्न सक्छ । यो रेन्जमा छोटो कारोबार गर्दा उचित हुनेछ तर यो रेन्जबाहिर बजार गयो भने होसियारीपूर्वक कारोबार गर्नुपर्ने देखिन्छ । आगामी हप्ताको पहिलो दिन भने सुनको मूल्यमा बियरिस चाल आउने सम्भावना बढी छ । किनभने शुक्रबारका नकारात्मक आर्थिक सूचकांकहरूले अझै पनि असर देखाउन सक्छन् । सुनको मूल्यलाई सकारात्मक प्रभाव पार्ने कुनै सुखद समाचारहरू आएमा यसको चाललाई बुलिस गराउन पनि सक्छन् ।

कच्चा तेल
रेन्ज : ७८.२२-७४.२०
पिभट : ७६.२१
ट्रेन्ड : बुलिस
स्ट्रेन्थ : ***
गत हप्ता पूरै उतारचढावमा रहेको कच्चा तेलको मूल्यमा साप्ताहिक रूपमा भने खासै ठूलो परिवर्तन देखिएन । यसको  खुलेको मूल्य र बन्द भएको मूल्यमा धेरै फरक भएन । कुनै ठोस दिशा लिन नसकेको कच्चा तेलको मूल्यले गत हप्ता करिब सुनकै मूल्यको प्रवृत्ति पछ्याएको देखियो । यो पहिलो दिन बियरिस त्यसपछिका २ दिन बुलिस र हप्ताको अन्तिम दुई दिन बियरिस भएर बन्द भयो । प्रायःजसो कमजोर परिणाम देखाएका अमेरिकी आर्थिक परिसूचकहरू कच्चा तेलको मूल्य बढाउने खालका हुन सकेनन् । अपेक्षा गरेको जस्तो सुधार नदेखेपछि अमेरिकी केन्द्रीय बैंकको खुलाबजार कारोबार समितिका केही सदस्यहरूले विश्व अर्थतन्त्रमा 'डबल डिप'को मन्दी आउने भविष्यवाणी पनि गरे । त्यसैगरी एसियाको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने चीनको अर्थतन्त्र पनि समस्या मुक्त नभएको खबर आयो । एसियन शेयर बजारहरूको बियरिस चालले पनि इन्धनको मूल्यलाई सहयोग पुगेन । बुधबार अमेरिकी तेल भण्डार ५.१ मिलियन ब्यारेलले घटेको रिपोर्ट आए पनि तेलको मूल्यमा कुनै सुधार आएन । किनभने अमेरिकी शेयर कारोबार ओरालोतिर लागिसकेको थियो ।
 
अमेरिकी कम्पनीहरूको त्रैमासिक प्रतिवेदन प्रकाशित भइरहेको बेलामा कतिपय कम्पनीहरूको अवस्थाले भने कच्चा तेलको मूल्यलाई केही समय भए पनि बढ्न सघाएका थिए । जस्तै : जनरल इलेक्ट्रिक, बैंक अफ अमेरिका र सिटी बैंक आदि कम्पनीहरूको प्रतिवेदन सकारात्मक आएपछि मंगलबार कच्चा तेलको मूल्य २.२२ अमेरिकी डलरले वृद्धि भयो । मंगलबारको यो वृद्धिमा फेडरल बजेटको घाटामा आएको सुधारका साथै अमेरिकी शेयर परिसूचकहरूमा देखिएको बुलिस चालको मुख्य प्रभाव परेको थियो । बुधबार सामान्य बुलिस चाल चलेपछि बाँकी दिनहरूमा कच्चा तेलको मूल्य घट्दै गयो । शुक्रबार एसिया र युरो क्षेत्रमा कच्चा तेलको मूल्यमा राम्रो वृद्धि भइरहेको थियो । साथै, बेलायती तेल कम्पनी बीपीको शेयर मूल्यमा आएको वृद्धिले पूरै युरोपियन शेयर बजारलाई हरियो बनायो । तर, अमेरिकी बजारको अवधिमा कच्चा तेलको मूल्यलाई कुनै टेवा मिलेन । डाउजोन्स निरन्तर घटिरह्यो भने अन्य आर्थिक सूचकहरू पनि निराशाजनक आए । यो हप्ता कच्चा तेलको मूल्यमा बुलिस चाल देख्न सकिने सम्भावना बढी छ । गत हप्ताका आर्थिक प्रतिवेदनहरू र यो साता फेड अध्यक्ष बेन वर्नान्कीले दिने वक्तव्यले कच्चा तेलको मूल्यलाई विशेष प्रभाव पार्न सक्छन् ।

चाँदी
रेन्ज : १८.३०-१७.४५
पिभट : १७.९५
ट्रेन्ड  : बुलिस
स्ट्रन्थ : ***
सुनको मूल्यको चालसँगै हिँडेपछि चाँदीको मूल्य गत हप्ता केही घट्यो । गत हप्ता चाँदीको मूल्यमा २४ सेन्टको मात्र ह्रास भयो । औद्योगिक कच्चा पदार्थको रूपमा बढी प्रयोग हुने यो धातुको मूल्यलाई १७.७५ डलर प्रतिऔंसको टेवा तोडेर तल आउन निक्कै गाह्रो भइरहेको देखिन्छ । बहुमूल्य धातुहरूको मूल्यमा कमजोरी देखिए पनि चाँदीको मूल्यको भविष्य भने केही उज्ज्वल देखिन्छ । यो हप्ता चाँदीको मूल्यले माथितिर १८.५० अमेरिकी डलर प्रतिऔंससम्मको यात्रा तय गर्नसक्छ । युरोको मजबुतीलाई सहारा बनाएर चाँदीको मूल्यले उकालो बाटो खोज्न सक्ने सम्भावना बढी छ ।  तर त्यसका लागि युरो क्षेत्रबाट सुखद आर्थिक खबरहरू आउनुपर्छ । यस साता चाँदीको कारोबार गर्नका लागि १७.७५ र १८.५० अमेरिकी डलर प्रतिऔंसको बीचको मूल्य लाभदायक हुनसक्छ । विश्वको औद्योगिक क्षेत्रमा कुनै सुधार नहुनु पनि चाँदीको मूल्यका लागि निराशाजनक खवर हो । त्यसैले आफ्नो जीवनकालको उच्चतम मूल्यभन्दा धेरै तल रहेको चाँदीको मूल्य सुनको मूल्यको अनुपातमा चल्न सकिरहेको छैन । वर्तमान समयमा बहुमूल्य धातुहरूको मूल्यको भविष्य उज्ज्वल रहेकाले चाँदीको मूल्यले पनि आफ्नो उन्नति गर्नसक्ने सम्भावना निकै छ ।

कोमेन कारोबार
कोमेनको कारोबारको संख्या गत साता २६ प्रतिशतले बढेको छ । अघिल्लो साता कुल १ हजार ५ सय ७९ कारोबार भएकोमा गत साता ४ सय १५ बढेर १ हजार ९ सय ९४ भएको हो । सो अवधिमा कोमेनमा कारोबार भएका वस्तुहरूमध्ये कच्चा तेल र प्राकृतिक ग्यासबाहेक अन्य सबै वस्तुको मूल्य साताको शुरुको तुलनामा घटेको छ । गत साताभरि अन्तर्राष्ट्रिय बजारमा आधारित वस्तुहरूको मूल्यमा घट्ने प्रवृत्ति रहेकाले त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको हो ।

जुलाई महिनामा डेलिभरी हुने १ केजी सुनको कन्ट्रयाक्टको मूल्य सोमबार बजार खुल्दा प्रतिदश ग्राम रु. २९ हजार ४ सय ९० रहेकोमा साताको अन्तिम दिन शुक्रबार बजार बन्द हुँदा रु. २९ हजार ३ सय २३ रहन गयो । चार हप्तापहिले अन्तर्राष्ट्रिय बजारमा सुनले अहिलेसम्मकै उच्च मूल्य प्रतिऔंस १ हजार २ सय ६५ अमेरिकी डलर कायम गरेर घट्न शुरु गरेको थियो । अघिल्ला दुई हप्ता लगभग १२ सय डलरको हाराहारीमा यस्को मिश्रति प्रवृत्ति कायम रह्यो । गत हप्ता भने सुनको मूल्य घट्ने क्रम पुनः शुरु भयो । यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको हो ।

गत साता अन्तर्राष्ट्रिय बजारलाई बढी प्रभाव पार्ने र अमेरिकी अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा ओगट्ने श्रम बजारका परिसूचक र अन्य बृहत् आर्थिक परिसूचकहरू अघिल्लो महिनाको तुलनामा जुन महिनामा घटेको प्रतिवेदन प्रकाशित भएपछि डलर केही कमजोर भएको हो । त्यसको असर सुनलगायतका बहुमूल्य धातुहरूको मूल्यमा खासै परेन । फलस्वरूप सुनको मूल्य बढ्नूको साटो ठूलो मात्रामा घटेको हो । सुनको मूल्य घट्नुको कारण लगानीकर्ताले उच्च मूल्य पाएको बेलामा नाफा लिएको र यो धातुको मूल्य २ वर्षदेखि अस्वाभाविक रूपमा बढिरहेकाले  आफ्नो वास्तविक स्तरमा आउने बाटो देखाएको हुनसक्ने विश्लेषकहरूको अनुमान छ ।

यसैगरी जुलाई महिनामा डेलिभरी हुने १०० ब्यारेल कच्चा तेलको कन्ट्रयाक्टको मूल्य सोमबार बजार खुल्दा प्रतिब्यारेल रु. ५ हजार ६ सय ८५ थियो भने शुक्रबार बजार बन्द हुदा रु. ५ हजार ७ सय ११ पुग्यो । गत हप्ता प्रकाशित प्रतिवेदनमा अमेरिकामा कच्चा तेलको भण्डारण पहिलाभन्दा घटेको थियो । त्यसको सामान्य प्रभाव कच्चा तेलको मूल्यमा परेको हो ।

जुलाई महिनामा डेलिभरी हुने ३० केजी चाँदीको कन्ट्रयाक्ट सोमबार बजार शुरु हुँदा प्रतिकेजी रु. ४६ हजार २ सय २६ रहेकोमा शुक्रबार रु. ४६ हजार १ सय ७ मा बन्द भयो । गत साता चाँदीले पनि सुनको प्रवृत्ति पछ्याएको देखिन्छ । यी वस्तुहरू प्रायः एउटै दिशामा सँगै हिँड्ने गर्छन् ।

त्रिवि विमानस्थलमा प्रभुको एटीएम
प्रभु फाइनान्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा एटीएम सञ्चालन गरेको छ । कम्पनीको यो आठौं एटीएम हो । एटीएम उद्घाटन कम्पनीका महाप्रबन्धक दिनेशप्रसाद श्रेष्ठले गरे । देशभरि प्रभुका २४ शाखा रहेको कम्पनीले जानकारी दिएको छ ।