Date: 2010-09-08

विश्व विकास बैंक
मुख्य कार्यालय : चिप्लेढुङ्गा, बीपीचोक, कास्की, पोखरा
स्थापना : २०६४ असोज २८, ख वर्गको विकास बैंक (क्षेत्रीय स्तर)
कारोबार शुरु : २०६४ मंसिर ५
शाखा कार्यालय : ८
निष्काशन गरेको शेयर     : साधारण
निष्काशित शेयर संख्या : ९ लाख ३६ हजार कित्ता
अंकित मूल्य : रु.१००
दरखास्त दिनुपर्ने अधिकतम कित्ता : १५ हजार कित्ता
दरखास्त दिनुपर्ने न्यूनतम कित्ता    : ५० कित्ता
निष्काशन खुल्ला मिति : २०६७ असार ३२
निष्काशन बन्द हुने मिति (छिटोमा) : २०६७ साउन ४
निष्काशन बन्द हुने मिति (अन्तिम) : २०६७ साउन १४
निष्काशन तथा बिक्री प्रबन्धक : ग्रोमोर मर्चेन्ट बैंकर
परिचय
यस कम्पनीको अधिकृत पुँजी रु. ६६ करोड, जारी पुँजी रु.२४ करोड र चुक्ता पुँजी रु. १४ करोड ६४ लाख छ भने साधारण शेयर निष्काशनपश्चात् चुक्ता पुँजी रु. २४ करोड पुग्नेछ । संस्थापक शेयरधनीको ६१ प्रतिशत र सर्वसाधारण शेयरधनीको ३९ प्रतिशत स्वामित्व हुनेछ ।

बैंकले आव्हान पत्रमा प्रकाशित गरेको वित्तीय परिसूचक र वित्तीय विवरण अनुसार, साधारण शेयर बाँडफाँड गरेको करिब दुई वर्षसम्म चुक्ता पुँजीमा परिवर्तन नगर्ने रणनीति लिएको देखिन्छ । वित्तीय परिसूचकलाई भने क्रमिक रूपले सुधार गर्दै प्रतिशेयर आय र किताबी मूल्य बढाइने देखाइएको छ । गत चैत मसान्तसम्ममा यस बैंकको खुद मुनाफा रु. ३९ लाख रहेकोमा आव ०६८/०६९ सम्ममा यसलाई रु. २ करोड ३५ लाख पुर्‍याउने प्रक्षेपण छ । यसरी चुक्ता पुँजीमा कुनै परिवर्तन भएन भने बैंकले भविष्यमा लगानीकर्ताहरूलाई हकप्रद तथा बोनस शेयर वितरण नगरी नगद लाभांश नै दिने सम्भावना बढी छ । त्यसैले हकप्रद शेयरको माध्यमबाट आफ्नो शेयर संख्या बढाउने र बोनस शेयरको आस गर्ने लगानीकर्ताका लागि यो शेयर त्यति उपयुक्त नहुन सक्छ । विगतमा  साधारण शेयर निष्काशन गरेका बैंक तथा वित्तीय कम्पनीहरूको तुलनामा यस बैंकको शेयर संख्या निकै बढी भएछ र यो बैंक पछाडि लगत्तै एउटा फाइनान्स कम्पनीले ६० हजार कित्ता मात्र साधारण शेयर निष्काशन गर्ने भएको छ । उक्त फाइनान्स कम्पनीको वित्तीय परिसूचकभन्दा यो बैंकको परिसूचक राम्रो भएकाले पनि यसको शेयरमा आवेदन दिनेको संख्यामा केही बढी हुने सम्भावना उच्च छ ।

यस बैंकले आव ०६४/०६५ मा रु. ९ लाख ४६ हजार ऋणात्मक रहेको जगेडा कोषलाई आव ०६५/०६६ मा सुधार गरी रु. ५७ लाख पुर्‍याएको छ । उक्त अवधिमा बैंकले चुक्ता पुँजीमा १०० प्रतिशत वृद्धि गरेको थियो । त्यसैगरी निक्षेप संकलनतर्फपनि उल्लेख्य मात्रामा वृद्धि गर्दै अगाडि बढिरहेको देखिन्छ । बैंकले स्थापना समयमा खासै लगानी थिएन । तर गत चैत समान्तसम्ममा रु. २ करोड ७० लाख लगानी गरेको छ । बैंकले आगामी दिनहरूमा लगानी क्रमिक रूपमा वृद्धि हुने योजना देखाएको छ । त्यसो भयो भने मुनाफा पनि प्रक्षेपणअनुरूप वृद्धि हुने सम्भावना छ । किताबी मूल्यको आधारमा के देखिन्छ भने यस बैंकको शेयर नेपाल स्टकमा रु. ३०० देखि रु. ४०० सम्मको हाराहारीमा सूचीकृत हुनसक्छ ।

चुनौतीहरू
राजनीतिक अस्थिरताले गर्दा देशका समग्र आर्थिक परिसूचकहरू नकारात्मक अवस्थामा छन् । तरलता अभावको समस्या समाधान भइसकेको छैन, बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपमा दिँदै आएको ब्याजदर बढेको छ, नयाँ लगानीकर्ताहरू दोस्रो बजारप्रति आकर्षित भएका छैनन् । यी र यस्तै कारणहरूले शेयर बजारमा सुधारका संकेतहरू नदेखिएका हुन् । यस्तो अन्योललाई हटाएर उपयुक्त वातावरणको सिर्जना भएमा शेयर बजारले अवश्य पनि गति लिन सक्छ ।

लगानीकर्ताको रणनीति
वित्तीय परिसूचक तथा वित्तीय विवरणहरू सुधारोन्मुख देखिएको तथा साधारण शेयर निष्काशन गरेपश्चात् करिब दुई वर्षजति चुक्ता पुँजी वृद्धि नगर्ने बैंकको रणनीतिले गर्दा लगानीकर्ताहरूलाई केही मात्रामा लाभांश दिने सम्भावना देखिएको छ । जसले गर्दा तत्काल बढी मुनाफा आर्जन गर्ने लगानीकर्ताका लागि आकर्षक नभए थोरै मुनाफामा चित्त बुझाउने लगानीकर्ताहरूका लागि यो शेयर उपयुक्त नै हुन्छ ।

क्रिष्टलको साधारणसभा
क्रिष्टल फाइनान्स लिमिटेडको आठौं साधारणसभा सम्पन्न भएको छ । उक्त सभाले सुमन बज्राचार्यलाई सञ्चालक समितिको अध्यक्षमा पुनः चयन गर्नुका साथै नयाँ सञ्चालक समितिको पनि निर्वाचन गरेको छ । सो साधारणसभाले कम्पनीको चुक्ता पुँजी रु. ७ करोडबाट बढाई रु. १५ करोड ७५ लाख पुर्‍याउने प्रस्ताव पनि पारित गरेको बताएको छ । कम्पनीले आर्थिक वर्ष२०६६/६७ मा रु. १ करोड ६६ लाख मुनाफा आर्जन गरेको बताएको छ ।  कम्पनीले आगामी आर्थिक वर्षा चितवनको पर्सा र पन्देहीको लुम्बिनीमा शाखा खोल्नेसमेत बताएको छ ।

काष्ठमण्डपको हकप्रद
काष्ठमण्डप डेभलपमेन्ट बैंकले १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । उक्त शेयर जारी गरे पछि बैंकको हाल कायम रहेको चुक्ता रु. ३२ करोडको पुँजी रु. ६४ करोड हुनेछ । बैंकले अधिकृत पुँजीसमेत वृद्धि गरी रु २ अर्ब पुर्‍याउने निर्णय गरेको छ । बैंकको हालै सम्पन्न दोस्रो वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो । हाल बैंकले मुख्य कार्यालय समेत १४ वटा शाखाबाट कारोबार गर्दै आइरहेको छ ।

बैंकको गत २०६६ चैत मसान्तमा बैंकको कुल निक्षेप रु. २ अर्ब ५ करोड ३० लाख पुगेको बताएको छ । बैंकको कर्जा लगानी १ अर्ब ६६ करोड ७१ लाख तथा अन्य लगानी १९ करोड ३० लाख रहेको छ । गत चैत मसान्तमा रु. १ करोड ४१ लाख खुद मुनाफा आर्जन बैंकले बताएको छ ।