समाचार

२०७४-०३-२८ मा प्रकाशित     २९५२ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

बैङ्कहरूले ऋणमा कडाइ गरेपछि पुसदेखि असर

उपत्यकामा जग्गा कारोबार ओरालोतिर
मदन लामिछाने

मदन लामिछाने

काठमाडौं । तरलता अभावका कारण बैङ्क तथा वित्तीय संस्थाले घरजग्गा कर्जामा कडाइ गरेपछि यो व्यवसाय प्रभावित भएको छ । बैङ्कहरूले लगानीयोग्य रकम (तरलता)को अभावमा कर्जा प्रवाहमा कटौती गरेपछि देशैभर घरजग्गा कारोबारमा पुसदेखि कमी आएको हो ।

उपत्यकाका मालपोत कार्यालयको राजस्व सङ्कलन मङ्सिरको तुलनामा पुसमा ९ करोड रुपैयाँ घटेको थियो । पुसभन्दा माघमा थप ७ करोड रुपैयाँ घटेको छ ।

त्यस्तै, फागुनमा घट्ने क्रम तीव्र बन्दै माघको तुलनामा १५ करोड रुपैयाँले कमी आएको छ । चैत महीनामा फागुनको तुलनामा ४ करोड रुपैयाँ बढेको छ भने वैशाखमा चैतको तुलनामा २३ करोड रुपैयाँले कमी आएको छ । जेठ महीनाको राजस्व सङ्कलन भने वैशाखको तुलनामा ११ करोड रुपैयाँले बढेको छ । समग्रमा हेर्ने हो भने पुसपछि उपत्यकाका मालपोत कार्यालयको राजस्व सङ्कलन ओरालो लागेको देखिएको छ ।

गत आर्थिक वर्ष (आव) २०७२/७३ को ११ महीनाको तुलनामा चालू आवको ११ महीनामा ८ करोड रुपैयाँले राजस्वमा कमी आएको छ । बैङ्क तथा वित्तीय संस्थाले घरजग्गा कर्जामा कडाइ गरेकाले जग्गा खरीद विक्रीमा कमी आएको भूमिसुधार तथा व्यवस्थापन विभागका निर्देशक सुशीलप्रसाद आचार्य बताँउछन् । उनको भनाइसँग घरजग्गा एजेण्ट सङ्घ नेपाल (रियान)का केन्द्रीय अध्यक्ष ईश्वरप्रसाद खरेल पनि सहमत छन् ।

चालू आर्थिक वर्षमा काठमाडौं उपत्यकाका चारओटा मालपोत कार्यालयले जग्गाको मूल्याङ्कन २० प्रतिशतसम्म बढाउँदा पनि गत आवको तुलनामा रजिष्ट्रेशन दस्तुर घटेको छ । उपत्यकामा चक्रपथबाहिरका जग्गाको कारोबार गर्ने साँखु, मनमैजु, भक्तपुर र लगनखेल मालपोत कार्यालयले १० देखि २० प्रतिशतसम्म मूल्याङ्कन बढाएका छन् । चक्रपथसँग जोडिएका र चक्रपथभित्र भएका जग्गाको मूल्याङ्कन भने यथावत् छ । कलङ्की, चाबहिल र डिल्लीबजार मालपोत कार्यलयले गत आवकै मूल्याङ्कनलाई निरन्तरता दिएका छन् ।

राजधानीका मालपोत कार्यालयमध्ये सबैभन्दा धेरै कारोबार गर्ने डिल्लीबजारमा चैत महीनाकोे तुलनामा वैशाखमा झण्डै ९ करोड रुपैयाँ राजस्व घटेको थियो ।

वैशाखको तुलनामा जेठमा भने ७ करोड रुपैयाँ बढी राजस्व सङ्कलन भएको कार्यालयले जानकारी दिएको छ । डिल्लीबजारजस्तै मनमैजुको पनि वैशाखको तुलनामा जेठमा १ करोड रुपैयाँ राजस्व बढेको छ । मालपोत कार्यालय साँखुले वैशाखको तुलनामा जेठमा ९४ लाख रुपैयाँ बढी राजस्व उठाएको छ । त्यस्तै, मालपोत कार्यालय टोखाले वैशाखको तुलनामा ४ लाख रुपैया कम राजस्व उठाएको छ । चैतको  तुलनामा जेठमा भने टोखाबाहेकका उपत्यकाका सबै मालपोत कार्यालयबाट कम राजस्व सङ्कलन भएको छ ।

बैङ्क तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको १० महीना अवधिमा घरजग्गा क्षेत्रमा २ खर्ब ९३ अर्ब ७० करोड रुपैयाँ लगानी गरेका छन् । असारसम्ममा घरजग्गा क्षेत्रमा २ खर्ब ५० अर्ब ९० करोड रुपैयाँ लगानी भएको थियो । यसमा १ करोडभन्दा कमको आवासीय कर्जासमेत समावेश गरिएको राष्ट्र बैङ्कले जानकारी दिएको छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।

समाचार

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »