अन्तर्वार्ता

२०७४-०४-१ मा प्रकाशित     ५१०७ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

काम गर्न पाए २ वर्षमा १ लाख रोजगारी सृजना गर्न सक्छु

नवीन्द्रराज जोशी, पूर्वउद्योगमन्त्री

नेपाली काङ्ग्रेसका नेता नवीन्द्रराज जोशीले अघिल्लो सरकारमा उद्योगमन्त्रीको रूपमा ९ महीना जति काम गरे । खासै रोजाइमा नपर्ने मन्त्रालयको रूपमा रहेको उद्योग मन्त्रालयमा पहिलोपटक मन्त्रीको जिम्मेवारी सम्हालेपछि उनले देशको उद्योग क्षेत्रको विकास र विस्तारका लागि निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको सबैले मान्ने गर्छन् । वर्तमान सरकार मन्त्रीमण्डल विस्तारको तयारीमा जुटिरेको बेला उनै जोशीलाई पुनः मन्त्रीको जिम्मेवारी दिनुपर्छ भन्ने आवाज पनि उठेको छ । उनी मन्त्री हुँदा नेपालको औद्योगिक क्षेत्रको विकासको लागि के कस्ता पहल र उपलब्धि भए यी समग्र विषयको समीक्षा र उनले गरेका कामको निरन्तरतालगायतका विषयमा पूर्वउद्योगमन्त्री जोशीसँग आर्थिक अभियानका टीपी भुसालले गरेको कुराकानी :

खासै रोजाइमा नपर्नेे उद्योग मन्त्रालयको नेतृत्व गरेर फर्किनु भएको छ । अनुभव कस्तो रह्यो ?
उद्योग मन्त्रालय मेरो रोजाइको मन्त्रालय थिएन । पहिलोपटक मन्त्री बन्ने मौका मिलेको अवस्थामा जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय लिन पाएको भए अलि बढी जनअपेक्षाअनुरूपको काम गर्न सकिन्छ भन्ने थियो । मेरा साथीहरूले पनि ‘कमसेकम पहिलोपटक मन्त्री बन्दै छस्, जनतासँग प्रत्यक्ष सरोकार रहने मन्त्रालय लियो भने काम गरेको देखिन्छ नभए तँ हराउँछस्’ भन्थे । यद्यपि मन्त्री बन्ने भएपछि आफैले भनेको मन्त्रालय नपाए पनि काम गर्नु थियो र मैले त्यो चुनौतीलाई आत्मसात् गरेँ, इमानदारीपूर्वक काम गरेँ । उद्योग मन्त्रालय वास्तवमै जनसरोकारको मन्त्रालय हो भन्ने कुरा पुष्टि पनि गरेँ । मैले यो मन्त्रालयलाई एउटा महत्त्वपूर्ण मन्त्रालय हो भन्ने बनाउँछु भनेर सङ्कल्प गरेँ । त्यो अनुरूप काम गर्दै गएँ । आज लाखौं मानिसहरू रोजगारीको खोजीमा विदेशिएका छन् । उद्योगधन्दा तथा कलकारखाना चलाउन सके, त्यो वातावरण सिर्जना गर्न सके त देशमै रोजगारीको अवसर सृजना हुने भयो । आयात बढ्दो छ, यसलाई घटाउन र निर्यात प्रवद्र्धन गर्न सके त्यसले राष्ट्रलाई हुने फाइदा त कति छ कति । मैले राम्रोसँग काम गर्न सकेँ भने त देशको अर्थतन्त्रलाई फड्को मार्ने बनाउन सहयोग गर्न सक्छु । देशको बेरोजगारी हटाउने, आर्थिक वृद्धिमा सहयोग पुर्‍याउने, देशलाई एउटा समृद्ध राष्ट्रका रूपमा संसारसामु परिचित गराउन सक्ने सम्भावना यो मन्त्रालयभित्र रहेछ भन्ने कुरा मलाई बोध भयो । मेरो लामो राजनीतिक यात्रामा छोटो समयका लागि मन्त्री भएर जुन काम गरेँ, यसको मूल्याङ्कन गर्ने जिम्मा जनता र सञ्चारमाध्यमको हो । यो मेरो लागि एउटा परीक्षा थियो र त्यो परीक्षा मैले इमानदारी र सफलतापूर्वक सम्पन्न गरेको छु भन्ने मेरो विश्वास छ ।

उद्योगमन्त्रीका रूपमा गरेका कुन ५ ओटा कामलाई सबैभन्दा उल्लेख्य ठान्नुहुन्छ ?
कुनै पनि मन्त्रालयमा काम गर्दा त्यहाँ हुनुपर्ने महत्त्वपूर्ण कुरा भनेको नीतिगत कुरा ऐन, नियम हो । मैले त्यसलाई पहिला सुधार गर्ने प्रयास गरेँ । यो स्वदेशी तथा विदेशी दुवै लगानीकर्ताका लागि आवश्यक थियो । यद्यपि, अझै कतिपय काम भने बाँकी नै छन् । अर्को कुरा हामीकहाँ उद्योगी तथा व्यवसायीका लागि उद्योगको काम गर्न कुन मन्त्रालय जाने भन्ने खालको अन्योल थियो । विभिन्न मन्त्रालयबीचको समन्वयको अभाव र अधिकार क्षेत्रको कुराले व्यवसायीहरू चिन्तित थिए । मैले उद्योगका लागि नेतृत्वदायी मन्त्रालय उद्योग मन्त्रालय नै हो भन्ने कुरा स्थापित गरिदिएँ । यसमा दर्तादेखि विभिन्न काममा सहजीकरण भयो । अर्को कम्पनी रजिष्टर्डको कार्यालयमा दर्ता भएका कम्पनीहरूको बिजोग थियो । कम्पनी दर्ता छ, चलेको छैन । नियमानुसार तिर्नुपर्ने यति धेरै रकम छ । लामो समयदेखिको यो समस्या ऐनबाटै समाधान भएको छ । अब उद्योग दर्ता कम्पनी रजिष्ट्रारको कार्यालयमा झुण्डिएर बसेको अवस्था छैन । यसमा अहिले अनलाइन दर्ता प्रक्रिया शुरू भएको छ । डिजिटल सिक्नेचरको शुरुआत भएको छ । अब अनलाइन पेमेण्टको चरणमा छौं । अमेरिकामा बसेर पनि चाहनेले कम्पनी दर्ता गर्न सक्छ । विभिन्न मन्त्रालयहरूबीचको समन्वयको काम यो मन्त्रालयले गरेको छ । अर्को कुरा मैले आफ्नो मन्त्रालयमा सुशासनको कायम गराउन सफल भएँ जस्तो लाग्छ । साथै, अन्तरराष्ट्रिय समुदायलाई नेपालमा लगानीमैत्री वातावरण छ भन्ने सन्देश दियौं । हिजो जे जस्तो भए पनि हामी हिजोको अनुभवबाट सिकेर नयाँ ढङ्गले वातावरण बनायौं । त्यो कुरा नेपालकै दुवै राजनीतिक दलहरूको बीचमा पनि अबको देशको एजेण्डा आर्थिक समृद्धि हो, हामी सबै त्यसतर्फ जानुपर्छ भन्ने सन्देश र यो एजेण्डामा एकमत बनाउने काम पनि हामीले गर्‍यौं । चाह्यो भने १० वर्षभित्रमा औद्योगिक विकासका लागि धेरै गर्न सकिन्छ ।

जुन उद्देश्य र सोचका साथ मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो । त्यो उद्देश्य हासिल भयो त ?
निश्चय पनि हामीले काम गर्नुपर्ने धेरै थियो । गर्न अझै धेरै बाँकी छ । तर, प्रयास भएको छ । एउटा गोरेटो कोरिएको छ । हिजोदेखि नै नभएको जस्तो अवस्था थियो । स्वदेशी तथा विदेशी लगानीकर्तामा आशाको सञ्चार भएको छ । हामीले गरेको लगानी सम्मेलनमा विदेशी लगानीकर्ताले खर्बौं लगानीको लागि इच्छापत्र मात्र दिएर गएका थिए । तर, आज उनीहरू काम गर्नका लागि पछि लागेका छन् । मलाई यो परियोजना चाहियो, म यो काम गर्छु भनेर आइरहेका छन् । उदाहरणका लागि काठमाडौंमा मेट्रो रेलको लागि एउटा कम्पनीले झण्डै २ अर्ब डलरको परियोजना लिएर आएको छ । यो आयोजना सम्पन्न गर्न ६ अर्ब डलर लाग्न सक्छ । लगानीका लागि प्रक्रिया बनाएर उनीहरूलाई दिनुप¥यो । लगानी नआउने कुरै छैन । समग्रमा भन्दा मैले चालेका वा चाहेका सबै काम पूरा नभए पनि उद्योग मन्त्रालयले देशको औद्योगिक विकासको लागि एउटा खाका तयार पारेको छ । यो एउटा महŒवपूर्ण शुरुआत हो । मैले चालेका कदमलाई परिणाममा देख्न त कम्तीमा २ वर्षको समय जरुरी थियो । तर, छोटो समयमा जे जति गर्न सकियो, त्यो मेरा लागि सन्तोषजनक नै छ । म भाग्यमानी हुँ, मलाई सबैको सहयोग रह्यो ।

कतिपय नयाँ मन्त्रीलाई कर्मचारीले असहयोग गर्ने, काम गर्न नदिने गर्दा मन्त्री जुन सोच राखेर आएका हुन्छन्, त्यो पूरा हुँदैन भन्ने पनि छ । तपाईंको अनुभव कस्तो रह्यो ?
मेरो अनुभवमा मिश्रित अवस्था रह्यो । कतिपय सहयोग गर्नुपर्छ भन्ने कतिपय असहयोग गरौं भन्ने खालका । तर, मैले त्यसलाई वास्तै गरिनँ । धेरैले सहयोग गरे । मलाई कसैलाई काखा कसैलाई पाखा गर्नु थिएन । मेरो कसैप्रति व्यक्तिगत रुचि थिएन । मैले त देश र जनताका लागि केही गरौं भन्ने मान्यता बोकेर काम गर्दै थिएँ । मैले नेपाल औषधि लिमिटेड सञ्चालन गर्दाकै कुरा हेरौं न । डा.पुष्कर बज्राचार्य र डा. भगवान् कोइराला छनोट समितिमा हुनुहुन्थ्यो । मैले यसलाई  उसलाई ल्याउनु पर्छ भनिनँ । जो उत्कृष्ट छ, उसैलाई ल्याउनोस् भनें । यसमा मेरो चाहना छैन । यस्तै अन्य क्षेत्रमा पनि मेरो त्यस्तै अनुभनव रह्यो । मैले एकजना कर्मचारी भर्ना पनि गरिनँ । यसरी निष्पक्ष भएर काम गर्दा पनि कतिपयले यसको फुर्ति ८/१० महीना हो, किन सहयोग गर्ने भन्ने खालका पनि हुँदा रहेछन् । तर, मैले त्यसलाई कुनै परबाह गरिनँ, काममा निरन्तर लागिरहें । मेरो अनुभव के भने आफू इमानदार भएर लाग्यो भने त्यस्तो प्रवृत्ति मानिसले असहयोग गर्दैमा केही हुँदैन भन्ने हो ।

कर्मचारीतन्त्रले राजनीतिक नेतृत्वलाई नटेर्ने प्रवृत्ति छ भन्ने कुरा त स्वीकार्नु हुन्छ नि ? यो समस्याको समाधान के नि ?
कर्मचारीमा समस्या नभएको होइन । तर, सबै एउटै प्रकृतिका हुन्छन् भन्ने पनि  होइन । कतिपय कुरा तपाईं आफूमा पनि निर्भर गर्दछ । पहिलो कसरा आफू स्ट्याण्डमा बस्नु प¥यो । दोस्रो उनीहरूलाई ‘टास्क’ दिने हो । मेरो मिशन वा देशको मिशन यो हो । यो मिशनमा तपाईंको भूमिका चाहियो भनेर उसलाई काम दिने हो । उसको भूमिकाको पनि सम्मान गर्दै काम लिनुपर्‍यो । हामीकहाँ कर्मचारीमा राजनीतिक पूर्वाग्रह राख्ने प्रवृत्ति छ । विकासका लागि यो प्रवृत्ति खतरा हो । तर, मैले मन्त्रीको रूपमा काम गर्दा त्यो पूर्वाग्रह कम पाएँ । आखिर मन्त्रीको हातखुट्टा त कर्मचारी नै हो नि । यी दुवै जना मिलेरै जाने हो । तब मात्र लक्षित उपलब्धि हासिल गर्न सकिन्छ ।

मन्त्री हुँदा निजीक्षेत्रका उद्योगी लगानीकर्ताहरूमा देख्नुभएको प्रवृत्ति कस्तोे लाग्यो ?
निजीक्षेत्रको भूमिकाको कुरा गर्दा मलाई उहाँहरूले असल मित्रको रूपमा लिएको पाएँ । मैले उद्योगी व्यवसायीको लागि आवश्यक पर्ने नीतिगत कुरामा सहयोग गरेँ । मैले उहाँहरूलाई भने म तपाईँहरूलाई सहयोग गर्न तयार छु, अब तपाईंहरूको भूमिका र सम्बन्ध मालिक र मजदूरको रूपमा होइन, लगानीकर्ता र श्रमिकको रूपमा हुनुप¥यो । मैले उहाँहरूलाई सधैं उत्साहित रहन आग्रह गरेँ । कुनै समस्या भए लिएर मकहाँ आउनोस्, ती समस्या समाधान गर्न मन्त्रालय तयार छ भनेँ । मैले स्पष्टसँग उहाँहरूलाई भने कि मलाई तपाईंहरूको एक पैसा चाहिएको छैन । म एक पैसा घुस खान्नँ र कर्मचारीलाई पनि खानदिन्नँ । राम्रो कामका लागि त सधैं तपाईंहरूलाई सहयोग गर्न तयार छु । मलाई व्यक्तिगत रूपमा केही चाहिएको छैन । तपाईंहरूले रोजगारी सृजना गर्ने हो, सरकारलाई कर तिर्ने हो, उपभोक्तालाई गुणस्तरीय र सुलभ मूल्यमा सामान उपलब्ध गराउने हो । त्यो काममा लाग्नुस् भनेँ । मेरो उहाँहरूसँगको सम्झौता त्यही थियो । मलाई खासै कुनै प्रभाव पार्ने वा असहयोग गर्ने काम भएन ।

अन्तरराष्ट्रिय लगानी सम्मेलनलाई यहाँको कार्यकालमा भएको ठूलो उपलब्धिका रूपमा प्रायले हेर्ने गरेका छन् । त्यतिबेला प्राप्त एलओआईलाई (लगानी इच्छापत्र )लाई प्रतिबद्धतामा रूपान्तरण गर्न त्यसपछि के कामहरू भए ?
हामीले सम्मेलन सम्पन्न गरेलगत्तै त्यो लगानी प्रतिबद्धतालाई लगानीमा रूपान्तरण गर्न, यसलाई प्रक्रियामा लैजान विभिन्न तीनओटा समिति गठन ग¥यौं । त्यसपछि ती समितिले नै विभिन्न काम गरिरहेका छन् । अहिले प्रक्रियागत काम भइरहेका छन् । तर, अझै त्यो प्रक्रिया पूरा भएको छैन । लगानी लिएर आउन चाहेकाहरू सम्पर्कमा छन् ।

अब साँच्चीकै नेपालमा लगानीको वातावरण बनेकै हो त ?
निश्चय नै त्यो वातावरण बनेको छ । मुलुकमा राजनीतिक स्थायित्व कायम भएको छ । नीतिगत समस्यहरू समाधान हुँदै गएका छन् । लगानी सम्मेलन गर्दा व्यक्त एलओआई र त्यसपछि भएका फलोअप र स्वदेशी उद्योगी व्यवसायीमा देखिएको उत्साहले अब हामी त्यो अवस्थामा प्रवेश गरेका छौं भन्न सक्छौं । कतिपय काम बाँकी नै होलान् । तर, एउटा ट्र्याकमा ल्याउने काम भएको छ । औद्योगिक विकासको कुरा आजको भोलि सबै हुने भन्ने पनि होइन समय लाग्छ ।

तपाईं मन्त्री भएकै बेला पारित औद्योगिक व्यवसाय ऐनले राम्रै प्रशंसा पायो । तर, त्यसमा भएको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी प्रावधानअनुसार उद्योगले खर्च गर्नुपर्ने बजेट सरकारले खडा गर्ने कोषमा जम्मा गराउने पनि पहल गर्नु भयो । यसको निकै विरोध भयो ? यस्तो प्रयास किन गर्नुभएको ?
सामाजिक उत्तरदायित्वको विषय विवादको विषय नै होइन । खासै विरोध भएको पनि होइन । हाम्रो त धर्मशास्त्रले पनि कमाएको केही प्रतिशत सामाजिक कार्यका लागि खर्च गर भनेर भनेको छ । त्यो सकारात्मक कुरा पनि हो । त्यसले व्यापार पनि बढ्छ । हाम्रो पनि त सामाजिक दायित्व छ नि । यही समाजमा बस्ने कमाउने अनि यही समाजको विकासका लागि, गरीबका लागि, विपन्नका लागि किन खर्च नगर्ने ? समतामूलक समाज निर्माण गर्न पनि यो उत्तरदायित्व बहन गर्न जरुरी छ । उहाँहरूको भनाइ सामाजिक उत्तरदायित्वको काम हामीले गरिआएकै काम हो । यसलाई बाध्यात्मक बनाउनु भएन भन्ने हो । मेरो धारणा तपाईंको कमाइको १ प्रतिशत मात्रै भए पनि अनिवार्य गर्दा के बिग्रिन्छ भन्ने हो । अथवा अनिवार्य नगर्दा पनि कुनै बच्चा खान नपाएर भोकै बस्न नपरोस्, विद्यालय जानबाट वञ्चित नहोस् । यसतर्फ त्यो उत्तरदायित्व बहन होस् भन्ने मात्र हो । मेरो मान्यतामा यो लागू गर्नुपर्छ ।

पछिल्लोपटक कृषिमा एफडीआई भित्र्याउनु हुँदैन भन्ने माग जोडदार रूपमा उठेको छ । त्यसमा तपाईंकै पार्टीका नेताहरू पनि हुनुहुन्छ । यो विरोध वा दृष्टिकोणप्रति तपाईंको के टिप्पणी छ ?
उहाँहरूले कसरी विरोध गर्नुभयो, आफ्नै ठाउँमा होला । मलाई उहाँहरूले गरेको सबै कुरा जानकारीमा पनि छैन । सामाजिक उत्तरदायित्वसम्बन्धी प्रावधान हामीले कुनकुन क्षेत्रमा एफडीआई स्वीकार गर्ने, कुनमा नगर्ने भन्ने लिष्ट बनाएकै छौं त । विरोध गर्नुपर्ने कारणै छैन । नेगेटिभ लिष्ट छ, जस्तैः कुखुराको क्षेत्र अहिले नेपालमा मासुका लागि प्रयोग हुन कुखुराको लागि आत्मनिर्भर छ । जहाँ हामी आफै आत्मनिर्भर छौं वा आत्मनिर्भरतातर्फ उन्मुख छौं, यस्ता क्षेत्रमा बाह्य लगानी नल्याउने भन्ने छ । तर, हामीले गर्न नसक्ने क्षेत्रमा ठूलो लगानी आउँछ, ठूलो रोजगारी सृजना हुन्छ भने ल्याउँदा के बिग्रन्छ । यसबाट त देशलाई फाइदा नै हुन्छ । आफू पनि नगर्ने लगानी पनि ल्याउनु हुँदैन भन्ने कुरा त तर्कसंगत छैन । भन्ने कुरालाई कसरी ठीक मान्ने ? चीन, भारत, सिङ्गापुर, भियतनामलगायतका मुलुकले किन एफडीआई भित्र्याए त ? ती देशहरूले अहिले गरिरहेको आर्थिक विकास त्यसैबाट सम्भव भएको हो । निम्नस्तरको आर्थिक विकास आज कहाँ पुगेको छ ? जनजीवनमा कस्तो प्रभाव पारेको छ ? त्यो हेर्नुप¥यो । काम नगर्दै नकारात्मक सोचाइ पाल्नु भएन । पहिले काम त होस् ।

देशको औद्योगिक वातावरण राम्रो बनाउन तपाईंले शुरू गरेका नीतिगत सुधारका कार्यहरूमा केके गर्न बाँकी छ ?
‘फरेन इन्भेष्टमेण्ट एण्ड टेक्नोलोजिकल ट्रान्सफर एक्ट’ (फीटा) मन्त्रिपरिषद्बाट पास त गराएँ । तर, संसद्बाट त्यो पास हुन बाँकी छ । यो ऐन आयो भने नीतिगत रूपमा धेरै कुरा सहज बन्छ । नीतिगत स्थिरता भयो भने राजनीतिक अस्थिरता भए पनि केही फरक पर्दैन । फीटाले त्यो नीतिगत स्थायित्व प्रदान गर्छ भन्ने हो । यो ऐन ल्याउन पनि धेरै सङ्घर्ष गर्नुपर्‍यो । कतिपय अवस्थामा कर्मचारीतन्त्रमा पनि यसलाई अड्काउने भन्ने खालको प्रवृत्ति थियो । कर्मचारीले अनेक तर्क वितर्क गरेर यसलाई पन्छाउने प्रयास पनि गरे । त्यो कुरा मलाई पटक्कै चित्त बुझेन । मैले मेरो कार्यकालमा मन्त्रिपरिषद्बाट पास गराएको छु । आशा गरौं, सदनबाट पनि यो छिट्टै पास भएर आउँछ । एउटा कुरा भन्नैपर्छ, हामीकहाँ कर्मचारी मन्त्री सबैले यसबाट मलाई के फाइदा हुन्छ भनेर हेर्ने प्रवृत्ति रहेछ । कतिपय ऐन मन्त्रीकै चाहनाले फिर्ता गएको अवस्था रहेछ । एउटा मन्त्रीले त समग्र देश र जनताको लागि सोच्ने हो नि । ऐन पास हुनु, लगानीको वातावरण बन्नु, देश विकास हुनु नै मन्त्रीको सफलता हो नि होइन र ? आज मैले जुन काम गरें, त्यसमा मैले अन्यथा आशय राखेर २/४ लाख कमाएर मलाई के हुन्छ ? राजनीति गर्नेले त्यता ध्यान दिनुपर्‍यो ।

केही सरकारी उद्योग सञ्चालनको प्रयास गर्नु भयो । केही सञ्चालनमा पनि आए । त्यसको उपलब्धि कस्तो रह्यो ?
औषधि उद्योग सञ्चालनमा गइसक्यो । बुटवल धागो कारखाना, वीरगञ्ज चिनी कारखाना, गोरखाली रबर उद्योगलगायत चलाउने तयारीमै छन् । मेरो धारणा चुरोट उद्योगबाहेक अन्य चलाउन सकिन्छ । जुट उद्योगबाहेक सबैको अध्ययन भएको छ । अन्य जुनजुनको अध्ययन भएको छ, कर्मचारी व्यवस्थापनलगायतका काम सकेपछि ती उद्योग सञ्चालनमा आउँछन् ।

निजीक्षेत्रका बन्द उद्योग खुलाउन कस्ता प्रयास भए ?
मैले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई भेटेर बन्द उद्योग चलाउन आग्रह गरेको छु । निजीकरण गरिएकामध्ये भृकुटी कागज कारखाना चलाउनु पर्‍यो भनेर मैले उद्योगी शेखर गोल्छालाई भेटेर भनेको छु । उहाँलार्इं या तपाईं चलाउनोस् नभए फिर्ता दिनोस् समेत भने । उहाँले सल्लाह गरौं भन्नु भयो, पछि आउनु भएन । यी अब उद्योगहरू पब्लिक प्राइभेट पार्टनरसीप (पीपीपी) मोडलमा सञ्चालन गर्नुपर्छ भन्ने मेरो धारणा हो । बन्द उद्योग खुल्दा त्यसले रोजगारी सृजना गर्छ । अर्थतन्त्र चलायमान बनाउँछ । उदयपुर सिमेण्ट कारखानाकै कुरा गरौं न । ४० करोड घाटामा थियो । अहिले २३/२४ करोड नाफामा छ । मैले धेरै केही गरेको होइन । प्रयास गरेपछि हुँदो रहेछ त ।

नीतिगत सुधारको कामलाई अब नियुक्त हुने मन्त्रीले थप प्रभावकारी बनाउन तपाईंको सुझाव के छन् ?
यस विषयमा मैले धेरै काम गरिसकेको छु । योजना तयार छन् । नयाँ आउने मन्त्रीले त्यसको अध्ययन गर्ने, ठीक लाग्छ भने अघि बढाउने हो । मेरो योजना स्पष्ट थियो । सेकेण्ड जेनेरेशन रिफर्म गर्ने, एफडीआई भित्र्याउने, रोजगारी सृजना गर्ने हो । त्यसतर्फ लाग्नुपर्छ भन्ने हो । कुनै पनि नेपाली ४५ डिग्रीको तापक्रममा काम गर्न खाडी जान नपरोस्, त्यो रोजगारी यहीँ सृजना होस् भन्ने गरी काम गर्न सकेमा राम्रो हुन्छ र त्यो गर्न सकिन्छ पनि । मेरो यही सुझाव छ ।

मन्त्रीमण्डल विस्तारको क्रममा छ । अघिल्लो सरकारमा राम्रो काम गर्ने मन्त्रीको रूपमा यहाँलाई पुनः मन्त्री बनाउनुपर्छ भन्ने आवाज पनि सुनिएका छन् । यसबारे तपाईंको धारणाचाहिँ के छ ?
यसबारेमा मेरो कुनै धारणा नै छैन । तर, एउटा कुराचाहिँ के हो भने मैले २ वर्ष काम गर्न पाए भने १ लाख प्रत्यक्ष रोजगारी सृजना गर्न सक्छु भन्ने हो । त्यो मेरो विश्वास हो । त्यसपछि १० वर्षमा देशको रोजगारीको अवस्था अर्कै हुन्छ । काम गर्ने रहर जसलाई नि हुन्छ । तर, यो विषयमा निर्णय लिने मैलेभन्दा पनि लिडरशीपले हो । यसमा मेरो भन्नु केही छैन ।


#  
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »