समाचार

२०७४-०४-२ मा प्रकाशित     २९२ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

निजी क्षेत्रबाट ४४५ र प्राधिकरणबाट ४६८ मेगावाट विद्युत उत्पादन

साउन २, काठमाडौं । मुलुकको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग गरेको र उज्यालो नेपालको अभियानमा सक्रियतापूर्वक सहभागी भएको भन्दै सरकारले आइतवार निजी तथा सरकारी ऊर्जा उत्पादकलाई सम्मान गरेको छ ।

विद्युत् विकास विभागको २४ औँ वार्षिकोत्सवका अवसरमा आइतवार आयोजित कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका १७ र निजी क्षेत्रका ५८ ओटा आयोजनालाई सम्मान गरिएको हो । नेपालको इतिहासमा ऊर्जा उत्पादकलाई सम्मान गरिएको यो नै पहिलो पटक हो । गैरसरकारी क्षेत्रबाट सम्मान पटकपटक भए पनि सरकारी तवरबाटै सम्मान गरेर ऊर्जा उत्पादकलाई आगामी दिनमा थप काम गर्ने उत्साह प्रदान गरिएको भन्दै सम्मानितले आफूहरूलाई थप उत्साहित हुन यस कार्यक्रमले सहयोग पुर्याएको प्रतिक्रिया दिएका छन् ।  

ऊर्जा उद्यमीलाई राष्ट्रिय योजना आयोगका सदस्य डा. अरविन्दकुमार मिश्र, ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, विभागका महानिर्देशक नवीनकुमार सिंहले संयुक्तरूपमा खादा ओढाएर सम्मान गरेका थिए । ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानले राज्यले लगानीकर्तालाई सम्मान गर्नुपर्छ भन्ने पुगेकामा खुशी व्यक्त गरे । “मुलुकको आर्थिक समृद्धिका लागि ऊर्जा क्षेत्रको महत्वपूर्ण योगदान रहे पनि राज्यका कुनै पनि निकायले जलविद्युत् उत्पादकलाई यसअघि कहिल्यै नसम्झेको तर विभागको स्थापना दिवसका अवसरमा सम्झनु पनि ठूलो खुशीको विषय हो”– उनले भने, “यस्ता सम्मानले आगामी दिनमा थप आयोजना बनाउन उद्यमीलाई प्रेरित गर्नेछ ।”

यस्तै सानिमा माई हाइड्रो पावरका प्रबन्ध निर्देशक डा. सुवर्णदास श्रेष्ठले राज्यको तर्फबाट पहिलो पटक सम्मान पाउँदा आफूलाई असाध्यै खुशी लागेको बताए । “काम गर्दै गएपछि एक न एक दिन राज्यले सम्झन्छ भन्ने पुष्टि भएको र ऊर्जा क्षेत्रको विकासमा थप सहजीकरण गर्ने हो भने एकाध वर्षमा मुलुकले अपेक्षित सफलता हाँसिल गर्न सक्छ भन्ने प्रष्ट भएको छ ।” यस्तै अपि पावरका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेले मुलुकको जलविद्युत् क्षेत्रको विकासमा निजी क्षेत्रको प्रवेश सँगै व्यावसायिक सीप एवं दक्षतामा समेत अभिवृद्धि भएको भन्दै सरकारले कुनै न कुनै रूपमा उद्यमीको हितमा समेत काम गर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईले खिम्ती जलविद्युत् आयोजनाले ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजना निर्माण र सञ्चालनमा ल्याएपछि मुलुकमा निजी क्षेत्रले पनि जलविद्युत् परियोजना निर्माण गर्न सक्छ भन्ने स्थापित भएको बताए । आइतवार गरिएको सम्मान सरकारी तथा निजी क्षेत्रकै सम्मान भएको उनको भनाई थियो ।

विद्युत् ऐन, २०४९ अनुसार २०५० साउन एक गते स्थापना भएको विभागले आइतवार स्थापनाको २४ वर्ष पार गरेको छ । सोही ऐन कार्यान्वयनमा आएपछि मुलुकको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले समेत प्रवेश पाएको हो ।

मुलुकको जलविद्युत् उत्पादनको १ सय ६ वर्षको अवधिमा पहिलोपटक सरकारी तथा निजी क्षेत्रका आयोजना र तिनका प्रवद्र्धकलाई सम्मान गरेर उनीहरूको लगानी र योगदानको समेत सम्मान गरिएको विभागका महानिर्देशक नवीनराज सिंहको भनाइ छ । उनले विभागले दु्रतरूपमा जलविद्युत् आयोजनाको विकासमा सहयोग पुर्याएको, नीतिगत सहजीकरण गरेको र आवेदन दिएको एकाध दिनमा नै सबै काम सकाउने गरी कार्यविधि बनाएर काम गरेका कारण आशातीत सफलता हासिल गरेको बताए । साना आयोजनाको अध्ययन गर्नेतर्फ विभागले ध्यान नदिएको भन्दै उनले मझौला र जलाशययुक्त आयोजनाको विकास नै मुलुकको प्रमुख आधार होे भन्नेमा आफूहरू स्पष्ट रहेको बताए ।

ऊर्जा क्षेत्रमा लगानी गर्ने प्रवद्र्धकलाई अनुमतिपत्र दिने, अध्ययनमा सहयोग गर्ने र सबै नीतिगत काम गर्ने गरी सरकारले विभाग स्थापना गरेको हो । विभागमा पछिल्लोपटक स्थापना भएको एकल डेस्कले प्रवद्र्धकका समस्या समाधानमा सहयोग पु¥याएको छ भने १ सय मेगावाटसम्मका जलविद्युत् आयोजनाको अनुमति दिने काम गर्दै आएको छ । विभागले हालसम्म कुल १ सय ३७ आयोजनाबाट ३ हजार ६ सय ८७ मेगावाट विद्युत् उत्पादन गर्न अनुमतिपत्र प्रदान गरेको छ ।

वि सं २०५० पछि मुलुकको जलविद्युत् इतिहासमा निजी क्षेत्रले प्रवेश पाएको हो । हाल निजी क्षेत्रले कुल ५८ ओटा आयोजनाबाट ४ सय ४५ मेगावाट र प्राधिकरणका १७ आयोजनाबाट करीब ४ सय ६८ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । रासस

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »