बजार

२०७४-०५-२७ मा प्रकाशित     ३३८ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

पर्यटन प्रवर्द्धनका लागि ठोस कार्यक्रम ल्याउन व्यवसायीको आग्रह

निजीक्षेत्रले पर्यटन विकासको नेतृत्व लिनुपर्छ : पर्यटन मन्त्री

काठमाडौं । पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन सरकारको उच्च प्राथमिकता रहेको भनिए पनि त्यसबाट अपेक्षित प्रतिफल आउन नसकेको पर्यटन क्षेत्रमा आबद्ध व्यवसायीले गुनासो गरेका छन् । भूकम्पपछि पर्यटन क्षेत्र जीर्ण बन्दै गएको भन्दै उनीहरूले पर्यटन प्रवर्द्धनका लागि ठोस कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवको प्रमुख आतिथ्यमा नेपाल उद्योग वाणिज्य महासङ्घको सचिवालयमा आयोजित पर्यटन क्षेत्रका चुनौती तथा विकासका सम्भाव्यता विषयक छलफल कार्यक्रमका सहभागीले भूकम्पबाट क्षतिग्रस्त पुरातात्त्विक महत्त्वका सम्पदा हाल पनि टेकोकै भरमा रहनु दुःखद् भएको बताए ।

सडकलगायत पूर्वाधार क्षेत्रको विकास र मर्मत हुन नसकेका कारण पर्यटकीय गन्तव्यको विकास हुन नसक्नु, अन्तरराष्ट्रिय विमानस्थलको अभाव तथा हवाई सञ्जालको कमी हुनु, भएका पर्यटकीय क्षेत्र पनि उचित रेखदेखको अभावमा जीर्ण बन्दै जानुलगायत कारणबाट पर्याप्त सम्भावना हुँदाहुँदै पनि पर्यटन क्षेत्र अगाडि बढ्न नसकेको धारणा व्यवसायीले राखेका थिए ।

पर्यटन क्षेत्रको विकास गर्न दोस्रो अन्तरराष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया तत्काल अगाडि बढाउनुपर्ने, गौतमबुद्ध क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई शीघ्र सम्पन्न गर्नुपर्ने, टीआईएलाई २४सै घण्टा सञ्चालन गर्न मिल्ने गरी स्तरोन्नति गर्नुपर्ने, अन्य विमानस्थलको क्षमता विस्तार गर्नुपर्ने, राष्ट्रिय ध्वजावाहकको क्षमता वृद्धि गर्नुपर्ने, पर्यटकीय महŒवका सम्पदाको पुनर्निर्माणलाई तीव्रताका साथ सम्पन्न गर्नुपर्ने, नेपाल भारत सीमा क्षेत्रमा पर्यटकमाथि गरिने व्यवहारमा परिवर्तन गरिनुपर्ने, भारतीय ५ सय र १ हजार दरका नोटको समस्या समाधान गरी भारतीय २ हजार दरका नोट चलनचल्तीमा ल्याउन पहल हुनुपर्नेलगायत सुझाव व्यवसायीहरूले दिएका थिए ।  

त्यसैगरी, नेपालको पर्यटनबारे अन्तरराष्ट्रिय बजारमा नियमित प्रचारप्रसार गरिनुपर्ने, विभिन्न देशमा कार्यरत नेपाली कूटनीतिक नियोग तथा गैरआवासीय नेपालीलाई मुलुकको पर्यटन प्रवद्र्धनमा प्रभावकारी रूपमा परिचालन गरिनुपर्ने, नेपालमा माइस पर्यटनको सम्भाव्यता रहेकाले यसको प्रचारप्रसारमा सरकारले विशेष रणनीति तयार गर्नुपर्ने, नेपाल आउने पर्यटकलाई बहुप्रवेशाज्ञा लगाउने व्यवस्था गरिनुपर्नेलगायतका सुझाव पनि उनीहरूको थियो ।

नीतिगत सुधारसहित महत्त्वपूर्ण पूर्वाधार विकासका लागि मन्त्रालयले कार्य अगाडि बढाइसकेको जानकारी गराउँदै पर्यटन मन्त्री देवले यस क्षेत्रको विकासका लागि नेतृत्व लिन निजीक्षेत्रलाई आग्रह गरे । ‘पर्यटन विकासको नेतृत्व निजीक्षेत्रले नै लिनुपर्छ,’ उनले भने,  ‘सरकार यसमा सहजीकरण गर्न चाहन्छ र गर्छ ।’ महासङ्घका अध्यक्ष भवानी राणाले मुलुक विस्तारै समृद्धितर्फ अगाडि बढ्ने आशा पलाइरहेको अवस्थामा मुलुकको विकासका आधारको रूपमा पहिचान गरिएको पर्यटन क्षेत्रको विकासका लागि धेरै चुनौती रहेको बताइन् । अत्यन्त कमजोर पूर्वाधार नै पर्यटन विकासको चुनौती रहेको स्पष्ट पार्दै उनले अन्तरराष्ट्रिय विमानस्थल, सडक सञ्जाल विस्तारसहित नयाँ पर्यटन गन्तव्यको विकासमा राज्यको ध्यान जानुपर्नेमा जोड दिइन् ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पर्यटन क्षेत्रका लागि एकदुईओटा महत्त्वपूर्ण काममात्र सम्पन्न गर्न सके पनि नेपालको आर्थिक विकास तीव्र रूपमा अगाडि बढ्ने बताए । धेरै कुराभन्दा पनि दोस्रो अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमान स्थलको निर्माण कार्यलाई तत्काल अगाडि बढाउन र गौतम बुद्ध अन्तरराष्ट्रिय विमान स्थललाई छिटो सम्पन्न गर्न उनले आग्रह गरे ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »