लेख | दृष्टिकोण

२०७४-०५-२९ मा प्रकाशित     १९३३ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

बजार किन घट्यो र कहिले बढ्छ ?

शिवप्रसाद अर्याल

धेरैजस्तो नेपाली, जो शेयर कारोबार गर्छन्, उनीहरूको ठूलो चिन्ताको विषय भनेको आजभोलि घट्दै गएको शेयर कारोबार हो । नेपालमा निजीक्षेत्र त्यति नफस्टाएकाले देशमा रोजगारीको अभाव बढ्दो छ । रोजगारीकै अभावमा हाम्रा ५० लाखभन्दा बढी युवा विदेश पलायन भएका छन् । यसरी देशका युवा पलायन हुनु भनेको राष्ट्रका लागि दुखद पक्ष हुँदाहुँदै पनि राष्ट्रले उनीहरूलाई रोक्ने खासै कोशिश गरेको पाइँदैन । हाम्रा नीतिनिर्माता बेलाबेलामा युवा पलायनलाई रोक्नुपर्छ भनेर भाषण त दिन्छन् तर तिनीहरूसँग युवालाई स्वदेशमा नै रोक्ने ठोस योजना छैन । न त उनीहरूलाई रोक्ने प्रयास नै गर्छन् । देशमा धेरै युवा रोकिए भने ती युवाले नयाँ सोच ल्याएर उनीहरूलाई सत्ताच्युत गर्न सक्छन् । अझ त्यति मात्र होइन, यदि एकपटक हाम्रा युवा तातिएर आन्दोलनमा उत्रिए भने अहिले राजनीति गरिरहेका पिँढीमध्ये ८० देखि ९० प्रतिशत राजनीतिज्ञको नामो निशान अन्त्य हुन्छ ।

हाम्रो शिक्षानीतिका कारण हामीले उत्पादन गरेका युवा (नगण्यमा बाहेक)मा दक्षताको कमी छ । हाम्रो शिक्षानीतिले ज्ञान मात्र दिन्छ, न नैतिक ज्ञान दिन्छ, न त व्यावहारिक । त्यसैले हाम्रा युवाहरू जोसँग पढ्ने क्षमता छ र आर्थिक रूपले सक्षम छन्, उनीहरू देशमा केही समय रोजगारीको प्रयास असफल भएपछि ऋण गरेर भए पनि विदेश जान बाध्य हुन्छन् । अर्काथरी जो पढ्नमा त्यति मन गर्दैनन्, तिनीहरू त झन् नकारात्मक सोचका हुन्छन् र पढ्न नै छाडेर पहिल्यै विदेशिन्छन्, चाहे विदेशमा गएर जस्तोसुकै काम गर्न किन नपरोस् । एक त पढ्न मन नहुनु, दोस्रो विदेश गएर आएकाको फुर्ती देख्नु, तेस्रो विदेश घुम्ने मोह, चौथो साथीभाइको करकाप र पाँचौं दलालको मीठा कुरा । यी सबै कारण सक्षम युवा विदेशिनु नै उचित ठान्छन् । विदेश गएर दुःख पाएकाको जतिसुकै प्रचार भए पनि अहिले पढेलेखेका मानिसहरू दलालको फन्दामा फस्ने गरेका छन् ।

नेपालका एकथरी युवा यस्ता पनि छन्, जो नेपालको अति माया गर्छन् र सधैंभरि सकारात्मक सोच राख्छन् । उनीहरू पढाइसँगै केही काम गरेर विद्यार्थी जीवनदेखि नै आफूलाई आत्मनिर्भर बनाउन चाहन्छन् । ती युवाहरूले अहिले रोजगारीको राम्रो स्रोतको रूपमा शेयरबजारलाई लिएका छन् । उनीहरू धेरै अध्ययन गरेर व्यापारमा लागेका छन् र उनीहरूको धेरै ठूलो आकाङ्क्षा पनि छैन । उनीहरूलाई हप्तामा ७÷८ हजार भए मनग्गे हुन्छ । त्यसै गरी हाल आएर केही घरायसी महिला कोही पढेका तर भनेजस्तो नोकरी नपाएर घरमै अलमलिएका र केहीचाहिँ खासै नपढेका र श्रीमान् वैदेशिक रोजगारीमा रहेका महिलाहरूले पनि आफ्नो आम्दानीको स्रोत शेयरबजारलाई बनाएका थिए । ती नपढेका महिलाहरूलाई चाहिँ आफ्ना विदेशमा बस्ने श्रीमान्ले निर्देशन दिने गर्थे । तर, अहिले आएर यीमध्ये ९० प्रतिशत लगानीकर्ता घरको न घाटको हुन पुगेका छन् । किनभने हाम्रा नीतिनिर्माताले आफूले चाहेको बेलामा आफूअनुकूल बनाउन सकियोस् भनेर पहिला नै छिद्र राखेका हुन्छन् । ती छिद्रलाई सामान्य जनताले थाहा नपाए पनि ठूला लगानीकर्ताले राम्रैसँग बुझेका हुन्छन् र मौका पर्नेबित्तिकै त्यसको सदुपयोग गर्न छाड्दैनन् ।

माछापुच्छ्रे बैङ्क र जनता बैङ्कको मर्जरमा यस्तै खेलले भूमिका खेलेको छ । रिलायबल डेभलपमेण्ट बैङ्कले आफ्ना शेयरधनीहरूलाई शतप्रतिशत हकप्रद शेयर दिने हल्ला चल्यो । यसले गर्दा उसको शेयरको भाउ आकाशियो । तर, उसले हकप्रद शेयर नदिई कुनै मर्जरमा जाने निर्णय गरेर साधारणसभामा उक्त प्रस्ताव लगेर पास गर्ने निर्णय ग¥यो । केही सचेत लगानीकर्ताको अगुवाइमा उक्त प्रस्ताव फेल भयो । तर पनि उनीहरूले केही पछि पुनः साधारणसभा बोलाएर मर्जरमा जाने निर्णय गराउन सफल भए, जनतालाई हेरेको हेर्यैी बनाइदिए । यसबाट के बुझ्न जरुरी छ भने हाम्रा सबै लगानीकर्ता सजग र पूर्ण योग्य छैनन् (बजारको अध्ययन विश्लेषणबाट देखिएको सत्यलाई स्पष्ट पार्न खोजिएको हो) । हुन त त्यसो हुनुको पनि विशेष कारणहरू छन् ।

अधिकांश शेयर लगानीकर्ताले शेयर कारोबारलाई मुख्य पेशाका रूपमा नलिई आंशिक पेशाका रूपमा लिएका हुन्छन् । उनीहरू सधैंभरि यसमा राम्रो ध्यान दिन भ्याइरहेका हुँदैनन् भने कोही साथीभाइको भरमा लगानी गरिरहेका हुन्छन् । यसले गर्दा कतिपय समयमा विभिन्न कारणले सम्पर्कमा आउन नसक्दा पनि तलमाथि पर्छ भने कति लगानीकर्ताले साधारणसभाका बारे जानकारी नै पाउँदैनन् । कोहीचाहिँ थाहा पाएर पनि समय अभाव वा साधारणसभाकै लागि टाढा टाढादेखि आउन चाहँदैनन् । उनीहरूसँग भएको शेयरले दिने आम्दानीभन्दा आतेजाते भाडा र अन्य खर्चको साथै कमसेकम तीन दिन समय दिनुपर्ने कारणले पनि पटकपटक साधारणसभामा उपस्थित हुन असमर्थ हुन्छन् । कोहीचाहिँ उपस्थित भएर पनि कसैले नेतृत्वदायी भूमिका खेलेन भने होमा हो गर्नेहरू पनि हुन्छन् । यी कारण त भए सामान्य जनताका साधारण समस्या । यसमा सबैभन्दा मुख्य कुरा त नियमनकर्ताले नियमित अनुगमन गरिदिनुपर्योन । किनभने उनीहरूसँग स्रोतसाधन र ज्ञानको अभाव छैन । त्यति मात्र होइन, उनीहरूलाई यो पनि थाहा छ कि उनीहरूको सानो लापरवाही वा केही क्षणको आलस्यताले कसैको घरबार नै डुब्न सक्छ ।

शेयरको भाउमा कमी हुनुको कारणमा राष्ट्र बैङ्कको नीति पनि हो । राष्ट्र बैङ्कले २ वर्षमा बैङ्कको चुक्तापूँजी चार गुणा बढाउनुपर्ने नीति ल्यायो । उसले बैङ्कहरू मर्जरमा गएर चुक्तापूँजी बढाउलान् भन्ने मनसाय राखेको थियो । तर, बैङ्कहरूले धेरै हदसम्म मर्जरमा जानुभन्दा आईपीओ र हकप्रद निकालेर सरल बाटो अपनाए । त्यसो गर्दा बैङ्कहरू हकप्रद भर्न एकअर्कामा निर्भर बने । यसले गर्दा बजारमा केही समय लगानीयोग्य रकमको अभावसमेत भयो । यसको मारमा भने बैङ्कसँग ऋण लिएर शेयर कारोबार गर्ने व्यक्ति परे । बैङ्कहरूले प्रत्यक्ष रूपमा एकअर्का कम्पनीसँग ऋण लिएनन् । तर, उनीहरूले नियमबमोजिम देखिने गरी आफ्ना छद्म कम्पनीको नाममा किनेको चाहिँ पक्कै हो । किनभने एकातिर बैङ्कले ऋण नदिनु, अर्कोतिर शेयर लीलाम गर्ने धम्की अप्रत्यक्ष रूपमा आउनु, त्यसै समयमा बीमा कम्पनीहरूलाई पनि चुक्तापूँजी बढाउन बीमा समितिले निर्देशन जारी गर्नु (बाध्य पार्नु), जसले गर्दा हकप्रद नछुटाउन पनि घटेर नै भए पनि शेयर बेच्न बाध्य हुनु । यसरी एकैचोटि बजारमा शेयरको मात्रा उच्च हुनु तर बजारको अनिश्चितताले नयाँ लगानीकर्ता प्रशस्त मात्रामा बजार प्रवेश गर्न नसक्नु र कतिपयले चाहिँ चाहँदाचाहँदै पनि नपाउनु । किनकि जनताले आफूले चाहेको ठाउँबाट शेयर खरीद गर्न सक्ने व्यवस्था नहुनु ।

यति हुँदाहुँदै पनि यो समय भनेको हरियालीकै समय हो । तर, हामीकहाँ चारपाँच जना शेयरका ठूला खेलाडी र आठदसओटा बैङ्कको खेलका कारण शेयरबजार घट्नुको कारण मुख्य हो । अब बजार कहिले बढ्छ भन्ने जिज्ञासाका लागि भने अनुभव र विश्लेषणले चाहिँ यदि समयअनुसार निर्वाचन हुने हो भने चुनाव सकिएर नयाँ सरकार आउनुपर्ने देखिन्छ । हुन त बेला बेलामा अलि अलि घटबढ भइरहनु त यसको नियम नै हो । तर पनि जुन बिन्दुबाट बजार घट्न शुरू भयो, त्यो बिन्दुको एक अङ्क मात्रै पार गर्न पनि चुनाव भएर स्थिर सरकार बन्नुपर्ने देखिन्छ भने बजारले २ हजार ५ सयको अङ्क छुनलाई भने २०७७ साललाई कुर्नुपर्ने देखिन्छ । किनकि शेयरबजार बढ्न देशको समग्र अर्थतन्त्रमा सुधार आउनुपर्छ र त्यसमा निजीक्षेत्रको विकास हुनु जरुरी हुन्छ । निजीक्षेत्रको विकासका लागि स्थायी सरकार र आवश्यक पूर्वाधार निर्माणमा विश्वस्त लगानीमैत्री वातावरणको आवश्यकता पर्छ र जुन २०७७ सम्म पूर्ण हुने अपेक्षा गरिएको छ ।

अर्याल शेयर लगानीकर्ता हुन् ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »