अन्तर्वार्ता

२०७४-०६-२ मा प्रकाशित     ३५७६ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

जनरल फाइनान्स अब नयाँ तथा सशक्त रूपमा अगाडि बढ्छ

महेश्वर पहारी
प्रमुख कार्यकारी अधिकृत
जनरल फाइनान्स लिमिटेड

जनरल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  महेश्वर पहारीसँग लामो समयको बैङ्किङ अनुभव छ । २०५२ मा स्थापना भएको राष्ट्रिय स्तरको यो फाइनान्स झण्डै ३ वर्ष  ‘समस्याग्रस्त’ सूचीमा परेर गत पुसदेखि त्यसबाट बाहिर निस्किएको छ ।  कम्पनीलाई नयाँ लगानीकर्ताले लिएपछि प्रमुख कार्यकारी बनेका पहारीले फाइनान्सको विकासका लागि विभिन्न योजना अघि सारेका छन् । कम्पनी नयाँ रूपमा अगाडि बढ्दै छ भन्ने आभास दिन संस्थाको नाम परिवर्तन गरिएको छ । यसको नाम बेष्ट फाइनान्स कम्पनी लिमिटेड राख्ने निर्णय भइसकेको छ । फाइनान्सको वर्तमान अवस्था र योजनालगायत विषयमा पहारीसँग आर्थिक अभियानका मदन लामिछानेले गरेको कुराकानी :

जनरल फाइनान्सको हालको अवस्थाबारे जानकारी दिनुस् न ?
जनरल फाइनान्सले अहिले एउटा सामान्य संस्थाको हिसाबले कारोबार गरिरहेको छ । यो नेपाल राष्ट्र बैङ्कबाट इजाजतप्राप्त ‘ग’ वर्गको वित्तीय संस्था हो । यसले निक्षेप लिने, कर्जा दिने र वित्तीय सेवा प्रदान गर्ने कार्य सुचारु रूपले गरिरहेको छ । यो देशको सबैभन्दा पुरानो मध्येको एउटा संस्था हो । यसको स्थापना २०५२ सालमा भएको हो । बीचमा संस्थागत सुशासनको कमीले समस्याग्रस्त हुन पुगेको थियो । यसको राम्रो पक्ष, जोखीममा रहेका कर्जा असुली हुने राम्रो सम्भावना छ । त्यसका लागि हामीले विशेष पहल गरिरहेका छौं । यसमा धितो रहेको कर्जा भएकोले पनि यसका निष्क्रिय कर्जाहरू पनि असुली हुने क्रममा छन् । संस्थालाई राष्ट्र बैङ्कले २०७३ पुसदेखि समस्याग्रस्त संस्थाबाट मुक्त गरेको हो । राष्ट्र बैङ्कले स्वीकृति दिएर शुरू गरिएको र धेरै उपभोक्ताहरूलाई सेवा दिएको संस्था भएकोले यसको निरन्तरता हुनुपर्छ भन्ने कुरालाई ध्यानमा राखेर नयाँ लगानीकर्ताले यसलाई निरन्तर सञ्चालन गर्न पहल गर्नुभएको हो । विशेष गरी गैरआवासीय नेपालीहरू तथा स्थानीय लब्धप्रतिष्ठित व्यक्तिहरू मिलेर संस्थालाई निरन्तरता दिनका लागि यसको पूँजी वृद्घि गर्न ८ करोड ७९ लाख रुपैयाँ कल इन एड्भान्समा राख्नुभयो । यो रकम राखेपछि यसको ऋणात्मक रहेको पूँजी कोषमा सुधार भयो । यसको पूँजी कोष ३५ प्रतिशतको हाराहारीमा पुग्यो । यसका अरू परिसूचकहरूमा पनि सुधार गर्ने, नयाँ प्रवर्द्धकहरूले नयाँ व्यवस्थापकीय हिसाबले अगाडि बढाउने भनेको हुनाले राष्ट्र बैङ्कले यसलाई समस्याग्रस्त संस्थाको सूचीबाट हटाएर सञ्चालन अनुमति दिएको हो ।

राष्ट्र बैङ्कले फाइनान्सहरूलाई ८० करोड रुपैयाँ चुक्तापूँजी पुर्‍याउनु पर्ने भनेर समयसीमा तोकेको छ । यो कसरी पुर्‍याउँदै हुनुहुन्छ ? अन्य वित्तीय संस्थासँग मर्जरमा जाने योजना पनि छ कि ?
हामीले राष्ट्र बैङ्कमा पूँजी योजना पेश गरिसकेका छौं । हामीले यस संस्थाको रोकिएर रहेका १६औं, १७औं, १८औं, १९औं र २०औं साधारणसभा २०७३ जेठ १० गते सफलतापूर्वक सम्पन्न गरेका छौं । साधारणसभाले संस्थाको चुक्तापूँजी ८१ करोड ८१ लाख रुपैयाँ पुर्‍याउने निर्णय गरिसकेको छ । हामी यो निर्णय कार्यान्वयनका लागि अगाडि बढिसकेका छौं । यसभन्दा अगाडि बसेको विशेष साधारणसभाले दिएको निर्णयबमोजिम यही भदौ २७ गतेदेखि हाल कायम शेयरधनीहरूका लागि १ बराबर १ दशमलव २५ प्रतिशतले हकप्रद शेयर निष्कासन भइसकेको छ । सम्पूर्ण शेयरधनी महानुभावहरूलाई ढुक्क भएर लगानी गर्न म आग्रह गर्छु । हकप्रद शेयर निष्कासनपश्चात् यसको पूँजी २९ करोड ७५ लाख रुपैयाँ पुग्छ । त्यो पूँजीको फेरि १ दशमलव ७५ प्रतिशतका दरले हकप्रद शेयर निष्कासन गरी चुक्तापूँजी रू. ८१ करोड ८१ लाख पुर्‍याउन २०७३ जेठ १० गतेको साधारणसभाले निर्णय गरिसकेको छ । साथै, साधारणसभाले संस्थाको पूँजी राष्ट्र बैङ्कले तोकेबमोजिम पुर्‍याउन आवश्यक परे कुनै वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनको बाटोबाट जान सक्ने अख्तियारी पनि प्रदान गरेको छ । तर, अहिलेको हाम्रो रणनीति भनेको आफैले यो चुक्तापूँजी पुर्‍याउने नै हो र सोबमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयमा पूँजी वृद्धि गरी अभिलेखसमेत प्राप्त गरिसकिएको छ । साथै, यसै अनुरूपको योजना हामीले राष्ट्र बैङ्कमा पनि बुझाइसकेका छौं ।

समस्याग्रस्त भई ३ वर्ष बन्द भएर भर्खरै सञ्चालनमा आएको संस्थालाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?
समस्याग्रस्तबाट माथि उठेर आएको संस्था भएकाले सबैभन्दा पहिले त यसको साख वित्तीय बजारमा स्थापित गराउनु पर्ने चुनौती हाम्रोसामु छ । यसमा नयाँ व्यवस्थापन आइसक्यो र व्यवस्थापनले मलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । हामीले यसको व्यावसायिक गतिविधिलाई तीव्रता दिन्छौं । हामीले निक्षेप सङ्कलन, कर्जा विविधीकरणसहित प्रदान गर्ने र राष्ट्र बैङ्कले तोकेका परिसूचकहरूलाई सकारात्मक बनाउँदै शाखा विस्तारमा पनि जान्छांै । सर्वसाधारणले वित्तीय सेवा नपाइरहेका ठाउँमा राष्ट्रको अर्थतन्त्रको सानो हिस्सामा समेत टेवा पुग्ने हिसाबले हामी शाखा विस्तार गर्छौं । एटीएम, एसएमएस बैङ्किङका लागि हामीले प्रक्रिया अगाडि बढाइसकेका छौं । संस्थागत सुशासनमा समस्या भएकोले हामीले पहिला यसैमा बढी ध्यान दिएका छौं । संस्थाले असल बैङ्किङ मान्यताका आधारमा कार्य गरिरहेको छ । संस्थालाई एक उदाहरणको रूपमा वित्तीय सेवा प्रदायक संस्थाको अग्रपंक्तिमा उभ्याउने छौं ।

समस्याग्रस्त वित्तीय संस्थालाई पुनः सञ्चालन गराउन कसरी सफल हुनु भयो ?
समस्याग्रस्त हुँदा यस संस्थाले यहाँ भएको निक्षेप नेपाल राष्ट्र बैङ्कको निर्देशनअनुसार सबै फिर्ता गर्ने भनेको थियो । फिर्ता लिन नआएकाको करीब २ करोड रुपैयाँ मात्रै बाँकी थियो । नयाँ व्यवस्थापनले लिएपछि यसले सर्वसाधारणमाझ विश्वास जितिसकेको छ । अहिले हामीले करीब १२ करोड रुपैयाँ निक्षेप सङ्कलन गरिसकेका छौं । पुरानो निष्क्रिय कर्जा घट्ने क्रममा छ । म आउँदा यसको शत प्रतिशत नै निष्क्रिय कर्जा थियो । यो अहिले ८५ प्रतिशतमा झरेको छ । यसलाई हामी धेरै तल झार्छौं । यसको कर्जा निक्षेप अनुपात पनि १ सय ४३ बाट झरेर १ सय २ मा आएको छ ।  यसलाई हामी आगामी असोजसम्ममा राष्ट्र बैङ्कको निर्देशनअनुसार ८० प्रतिशतमा झार्ने योजनामा छौं । साथै, अन्य क्षेत्र विपन्न वर्ग तथा उत्पादनशील क्षेत्रको लगानी राष्ट्र बैङ्कले तोकेकोअनुसार नै गरेका छौं । अब हामीले संस्थालाई सशक्त, अरूभन्दा राम्रो, छिटोछरितो सेवा दिने, सबैको सजिलैसँग पहुँच हुने वित्त कम्पनीका रूपमा अगाडि लैजान खोज्दै छौं ।

 फाइनान्सले शाखा विस्तार तथा ग्राहकका लागि केके नयाँ योजनाहरू ल्याएको छ ?
संस्थाको चाबहिलमा प्रधान कार्यालय रहेको छ । साथै, काठमाडौंको न्युरोडमा यसको शाखा रहेको छ । हामी हाम्रा शाखाहरूलाई आधुनिकीकरण गरिरहेका छौं । हामीले संस्थाको पूँजी वृद्धि गर्दै छौं । त्यसपछि शाखा विस्तार गर्ने योजना छ । ग्राहकहरूलाई अहिले राम्रो अवसर के छ भने हकप्रद शेयरमा लगानी गर्दा आउने रकमको लागत न्यून हुने भएकाले हामीले सुपर सेभिङ, एनआरएन सेभिङ, शेयर होल्डर सेभिङअन्तर्गत वार्षिक ९ प्रतिशतका दरले ब्याज प्रदान गरेका छौं । त्यस्तै, मुद्दती खातामा १ वर्षे तथा २ वर्षेमा क्रमशः १२ र १३ प्रतिशत ब्याज प्रदान गरिरहेका छौं । हामीले सुलभ दरमा साधारणतया १४ देखि १६ प्रतिशत ब्याजमा कर्जा दिँदै आएका छौं । हामीले घर कर्जा, सवारी कर्जा, कृषि, व्यापार, उत्पादनशील क्षेत्र, पर्यटनलगायतका धेरै क्षेत्रमा कर्जा प्रदान गर्दै आएका छौं । सानो क्षेत्रदेखि ठूलाठूला हाइड्रोपावरसम्ममा लगानी गर्ने हाम्रो सोच छ । यसका साथै, विभिन्न विप्रेषण सेवाहरू बेष्ट रेमिट, आईएमई रेमिट, प्रभु रेमिट, हिमाल रेमिट, मनिग्राम, वेष्टर्न युनियन मनि ट्रान्सफर आदिको सहकार्यमा सरल रूपमा विपे्रषण सेवाहरू उपलब्ध गराएका छौं ।

अहिले बजारमा तरलता अभाव छ कि छैन ?
यो बजारको माग तथा आपूर्तिसँग सम्बन्धित विषय हो । अहिले आउँदै गरेको दशैंका कारण पनि तरलता केही बढेको देखिन्छ । साथै, केही वित्तीय संस्थाहरूले निक्षेपमा दिने ब्याजलाई पनि कम गर्दै लगेका छन् । त्यसैले अहिले तरलताको अवस्था मजबुत हुँदै गइरहेको मैले महसूस गरेको छु । नेपालमा मुख्यतया दुईओटा क्षेत्रबाट तरलता कायम हुने हो । एउटा रेमिट्यान्सबाट तरलता बढ्ने हो । यसमा बीचमा केही कमी आएको थियो, तर अहिले बढिरहेको छ । अर्को नेपाल सरकारले गर्ने खर्च हो । मैले बैङ्क तथा वित्तीय संस्थाका लागि सकारात्मक माहोल बनिरहेकोे पाएको छु । अहिले ठूल्ठूला निर्माणका काम शुरू भइरहेका छन् । सरकारले स्थानीय स्तरसम्म विकास निर्माणका काम पुर्‍याउने गरी काम गरिरहेको र स्थानीय प्रतिनिधि पनि देशले पाएको अवस्था छ । स्थानीयस्तरमा विकास बजेट बढेको कारणले तरलता बढ्ने देखिन्छ ।

आगामी योजना केके छन् ?
अझै पनि धेरै सर्वसाधारणहरूमाझ वित्तीय सेवा पुर्‍याउन नसकिरहेको अवस्था छ । हामी ‘डोर टु डोर’ मार्केटिङ गरेर तथा सबैले छिटोछरितो सेवा पाउने गरी शाखा विस्तार गर्छौं । हामीले बनाएको योजनाअनुसार संस्थालाई अगाडि बढाएर २०७६ सम्ममा शेयरधनीहरूको पूँजीमा राम्रो फाइदा प्राप्त हुनेछ भन्ने मैले आशा राखेको छु । वित्तीय बजारमा धेरै बैङ्किङ संस्थाहरू छन् । म हाम्रा आदरणीय ग्राहकहरूलाई आफूलाई चाहिने कस्तो सेवासुविधा हो, निक्षेपमा कस्तो ब्याजदर दिएको छ, महीना महीनामा दिने हो कि, ३ महीनामा दिने हो कि, वार्षिक दिने हो त्यो बुझ्नु पर्छ भन्ने सल्लाह पनि दिन चाहन्छु । हाम्रो काम भनेको ग्राहकहलाई वित्तीय सेवा दिने हो । हामी पनि एक संस्थागत नागरिकको हैसियतमा विस्तारै सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता र अन्य सामाजिक कार्यक्रमहरू पनि गर्दै जानेछौं । नयाँ रूपमा हामी आइरहेका छौं भन्ने आभास पनि दिन हामीले यस संस्थाको नाम परिवर्तन गर्ने भएका छौं । यसको नाम परिवर्तन गरी बेष्ट फाइनान्स कम्पनी लिमिटेड राख्ने निर्णय भइसकेकोले अब तुरुन्तै यही नामबाट कारोबार शुरू गर्दै छौं । आगामी दिनमा संस्थाका ग्राहकहरूका लागि विभिन्न वित्तीय सेवा नपुगेका स्थानहरूको पहिचान गरी थप सुविधासहितका शाखाहरू विस्तार गर्दै आधुनिक बैङ्किङ सेवा प्रदान गर्ने र एक सबल र अग्रपंक्तिको फाइनान्स कम्पनीको रूपमा स्थापित हुने हाम्रो योजना छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »