लेख | दृष्टिकोण

२०७४-०६-२६ मा प्रकाशित     ४०६ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

हल्ला मात्र हो कि ?

नरेन्द्रमान श्रेष्ठ

एउटा शेयरबजारसम्बन्धी आर्थिक लोकप्रिय अन लाइन मिडियामा विभिन्न कम्पनीको साधारणसभामा बोल्ने केही वक्ता शेयरधनीले कम्पनीसँग भत्ता लिएर बोल्ने गर्छन् भनेर लेखेको रहेछ । यो कुनै नौलो खबर भने होइन । त्यसो त यस्ता हल्ला शेयरबजारमा चलिरहेका हुन्छन् । अहिलेको सिजन भनेको साधारणसभा गर्ने सिजन हो । बैङ्क तथा वित्त कम्पनी, बीमा कम्पनी, जलविद्युत् कम्पनी आदिले वार्षिक साधारणसभा गर्ने गर्छन् । खासगरी पुस मसान्तभित्रमा साधारणसभा गर्नुपर्ने भएकाले यस सिजनमा शेयरधनीको गतिविधि र चहल पहल बढी हुनु स्वाभाविकै हो । विभिन्न कम्पनीको साधारणसभामा बोल्ने वक्ता शेयरधनीलाई पनि भ्याइनभ्याई हुने गर्छ ।

कम्पनीको वार्षिक साधारणसभामा वक्ता शेयरधनीको मात्र चहलपहल हुने होइन, साधारणसभामा बिस्कुट र खाजा झोलामा हालेर लैजाने केही शेयरधनीको पनि जमघट हुने गर्छ । आर्थिक वर्ष सकिनासाथ कम्पनीहरूले वर्ष दिनमा भए गरेका काम र प्रगतिको वासलात प्रतिवेदन सार्वजनिक गर्नुपर्ने हुन्छ र साधारणसभाबाट यसलाई पारित गर्नुपर्छ । यस्ता साधारणसभामा कम्पनीले प्रस्ताव गरेको वासलात र प्रतिवेदनमाथि छलफल हुनु अनिवार्य छ । यस्ता छलफलमा केही सीमित शेयरधनीले मात्र बोल्ने गरेका हुन्छन् र प्रस्तावलाई पारित गर्ने र फेल गर्नेमा पनि विशेष गरी तिनीहरूको नै हात हुने गर्छ । कतिपय शेयरधनीले यसको मतलब पनि गर्दैनन् । त्यस्ता शेयरधनी छलफल भइरहेको सभामा बस्न पनि चाहँदैनन् । कतिपय शेयरधनी सभामा आउँछन्, हाजिर गर्छन् र चिया नास्ता गरेर हिँड्छन् । ती शेयरधनी शेयरबजारमा जागरुक नभएको जस्तो देखिन्छ ।

शेयरधनीहरू शेयरबजारमा जागरुक नभएका कारण नै कतिपय कम्पनीले मर्जर र एक्वीजिशन गर्दा स्वाप रेसियोमा गोलमाल गर्ने, हकप्रद शेयर दिने भनेर साधारणसभाबाट समेत पारित गरिसकेको भए पनि हकप्रद शेयर खारेज गर्ने गर्दा पनि केही बोल्दैनन्, विरोध गर्दैनन् । बरु घाटा खाएर बस्छन् । यस्तो हुनुमा शेयरधनीहरूमा एकता नहुनु, साधारणसभामा शेयरधनीहरूको उल्लेख रूपमा उपस्थिति भए पनि उनीहरूबीच संवाद, छलफल र विचारविमर्श नहुनु र चिया खाजा खाएर हिँड्ने गर्दा पनि कम्पनीहरू र केही वक्ता शेयरधनीले पेल्ने गरेको हो भन्दा पनि फरक नपर्ला । त्यसो त लगानीकर्ताहरूको सङ्घ पनि नभएको होइन । नेपाल इन्भेष्टमेण्ट फोरम र लगानीकर्ता सङ्घ पनि छन् । तर, यिनीहरूले शेयरधनीहरूको समस्यामा त्यति चासो देखाएको जस्तो देखिँदैन । आफ्नो दुनो सोझ्याउन मात्र हो कि भनेर पनि शेयरबजारमा चर्चा चल्ने गरेको छ ।

पछिल्लो समयमा साधारणसभामा भाग लिने शेयरधनीको सङ्ख्या बढ्दै छ । तर पनि धेरैजसो शेयरधनी साधारणसभामा चिया नास्ताका लागि मात्र आउने गरेको हो कि भनेर पनि अनुमान गरिन्छ । सभामा उपस्थित हुने शेयरधनीहरू पनि प्रस्तावमाथिको छलफलमा चासो राख्दैनन् । शेयरधनीहरूको यही कमजोरीको फाइदा कतिपय सञ्चालकले उठाउने गरेका छन् । वार्षिक साधारणसभा होस् वा विशेष साधारणसभा, शेयरधनीहरूका तर्फबाट बोल्ने भनेका कतिपय वक्ता शेयरधनीहरूले पनि घुमाउरो पाराले कम्पनीको नै समर्थनमा बोल्ने गरेका हुन्छन् भनेर पनि साधारणसभामा नै चर्चा चल्ने गरेको छ । कतिपय साधारणसभामा त बोल्ने शेयरधनीलाई कम्पनीले नै भत्ता दिएर बोल्न लगाउँछन् भनेर पनि चर्चा चल्ने गरेका छन् भने कतिपय शेयरधनीहरूले बोल्नका लागि बार्गेनिङ पनि गर्ने गर्छन् भनिन्छ । त्यसो त शेयरधनीहरूका समस्या र कम्पनीको जायज कुराहरूका बारेमा साधारणसभामा बोल्ने वक्ता पनि छन् । तर पनि भत्ताको चर्चा भने चलिनै रहेको हुन्छ । यो कुरा साँचो हो वा हल्ला मात्रै हो वा वक्ता शेयरधनीलाई बदनाम गर्न चलाइएको हल्ला मात्रै हो । यस्तो कुराको बारेमा स्पष्ट जानकारी पाउने अवस्था पनि छैन ।

विभिन्न साधारणसभामा बोल्ने वक्ता शेयरधनीहरूले कम्पनीबाट भत्ता लिई बोल्ने गरेका हुन्छन् भनेर एउटा शेयरबजारसम्बन्धी अनलाइन मिडियाले विस्तारमा लेखेको रहेछ । अनलाइन मिडियाले त एक जना वक्ता शेयरधनीले एक सिजनमा यति लाखसम्म कमाउँछन् भनेर समेत लेखेको रहेछ । यस्तो चर्चा मिडियामा शेयरधनीबीच सधैं नै भइरहने विषय हो । तर, यसलाई पुष्टि गर्ने आधार भने छैन । त्यसो त हावा नआई पात हल्लिँदैन भन्ने पनि उखान छ हाम्रो समाजमा । तर पनि यो हल्ला मात्रै हो वा यसमा वास्तविकता पनि लुकेको छ, स्पष्ट हुँदै जाला । तर, कतिपय साधारणसभाका वक्ता शेयरधनीहरूको गतिविधिलाई देख्दा यसलाई होइन भन्ने अवस्था पनि छैन । केही वक्ता शेयरधनीहरू आफ्नो बोल्ने पालो नआएसम्म बस्छन् र बोलिसकेपछि ड्यासबाटै हिँड्छन् । यस्ता वक्ताहरू सभामा पहिलो र दोस्रो नम्बरमा नै बोल्छन् । यी यस्ता केही वक्ता शेयरधनीहरूलाई कम्पनीले नै बोल्न लगाउँछन् भनेर पनि चर्चा चल्ने गरेको छ । भत्ता नपाउने भए ७० वर्ष नाघेका वृद्धहरू पनि बोल्न मात्र किन आउने गर्छन् र ? बोल्न सकिएपछि किन ड्यासबाटै सरासर हिँड्छन् भनेर पनि भन्ने गरेका छन् । कतै कम्पनीहरूले नै बोल्नका लागि बोलाएको त होइन भनेर पनि शङ्का गर्ने ठाउँ नभएको होइन । केही यस्ता वक्ता शेयरधनीहरू र कम्पनीले गर्दा सबै कम्पनी र सबै वक्ता शेयरधनीको बदनाम हुने गरेको छ । यसमा कम्पनीहरूले विशेष ध्यान दिनुपर्ने देखिन्छ । बदनाम हुने काम कम्पनीहरूले गर्न हुँदैन भन्ने शेयरधनीहरूको भनाइ रहेको छ ।

वार्षिक होस् वा विशेष साधारणसभामा कम्पनीले समीक्षा अवधिमा गरेको आर्थिक तथा अन्य गतिविधिको वार्षिक प्रतिवेदनमा छलफल गर्ने र शेयरधनीहरूको समस्यालाई सम्बोधन गर्न शेयरधनीहरूका तर्फबाट राय सरसल्लाह दिने भनिए तापनि यस्तो भने त्यति देखिँदैन । धेरैजसो शेयरधनीहरूको भनाइमा सभामा बोल्नेको केही अर्थ रहँदैन । कतिपय वक्ता शेयरधनीहरूले कम्पनीको प्रतिवेदनको समीक्षा गर्नुभन्दा पनि कम्पनीको प्रशंसा गर्नमा नै समय लगाएका हुन्छन् । पछिल्लो समयमा साधारणसभामा शेयरधनीहरूको सहभागिता बढिरहेको देखिन्छ । यसकारणले पनि साधारणसभा व्यवस्थित र पारदर्शी हुन जरुरी छ । यसका लागि साधारणसभा गर्ने कम्पनीहरूले आफ्ना प्रतिष्ठाको पनि ध्यान दिनुपर्ने देखिन्छ ।

अन्त्यमा गएको असोज ८ गते सिटिजन्स बैङ्कको एघारौं वार्षिक साधारणसभा काठमाडौंको कालिकास्थानमा रहेको अमृत भोगमा भएको थियो । उक्त साधारणसभामा कम्पनीको व्यवस्थापनले सभालाई व्यवस्थित गर्न नसक्दा शेयरधनीहरूले निकै समस्या भोग्नुपर्‍यो । सभामा भाग लिन पुगेका शेयरधनीलाई हाजीर गर्न नै युद्ध लड्नुजस्तो भयो । आफ्नो हाजीर गर्न नै ठेलमठेल गरी चर्काे घाममा कुरेर हाजीर गर्नुप¥यो भने हाजीर गर्न पनि कहिले यता काउण्टरमा कहिले यता काउण्टरमा गरी सैनिकले गरेजस्तो नै गर्नुप¥यो । यस्तो अव्यवस्थित व्यवस्था देखेर कतिपय शेयरधनीहरू त हाजीर नै नगरी फर्किए भने कतिपय शेयरधनीहरूले हुलमूलमा ठेलमठेल नै गरी ३/४ जनाको हाजीर गरी खाजाको कुपन पनि लिन भ्याए । सिटिजन्स बैङ्क होस् वा अरू कम्पनीले पनि सभालाई व्यवस्थित र शेयरधनीलाई सुविधा र सम्मान दिनुपर्छ । त्यसो भयो भने मात्र शेयरधनीले आफ्नो लगानी गरेको गौरव गर्न पाउँछन् र कम्पनीप्रति सम्मान प्रकट गर्न सक्छन् ।

लेखक शेयरलगानीकर्ता हुन् ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »