रोजगारी

२०७४-०६-२६ मा प्रकाशित     ३४०१ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

वैदेशिक रोजगारीमा जानुपूर्व

काठमाडौं । कुवेत गएका साथीले फेसबूकमा पोष्ट गरेका तस्वीर र घरपरिवारलाई पठाएको रेमिट्यान्सले लोभिएर साउदी अरेबिया गएका भक्तपुरका अनिल कोजू काम गर्न नसकेर घर फर्किन बाध्य भए । ड्राइभरको काम पाउने आशामा गतवर्षको दशैंलगत्तै उनी साउदी उडेका थिए । हलुका सवारी चलाउन जानेका कोजूलाई मालवाहक १६ चक्के हेभी गाडी चलाउनुपर्ने काम दिएपछि कामबाट फर्किनुपरेको हो ।

म्यानपावर कम्पनीले ठगी गरेको नदेखिए पनि आफ्नै लालचाले फर्किनु परेको उनी बताउँछन् । ‘४६ डिग्री सेण्टिग्रेड तापक्रममा गाडी चलाउनुपर्ने भएपछि बिरामी भइयो,’ उनले भने, ‘शरीरले काम थेग्नै नसकेपछि फर्किनुको उपाय नै रहेन ।’

म्यानपावर कम्पनीले अन्यत्र काम गर्ने वातावरण मिलाइदिने भन्दाभन्दै पनि आवश्यक शीप नभएका कारण उनी नेपाल फर्किन बाध्य भए । उनले भने, ‘अरू केही शीप सिकेर गएको भए १–२ लाख रुपैयाँ यत्तिकै सकिने थिएन ।’ शीप मात्रै नभई आवश्यक अन्य जानकारी र ज्ञान लिएर नजाँदा अनाहकमा दुःख पाएको भुक्तभोगीहरू बताउँछन् ।

सुरक्षित वैदेशिक रोजगारका लागि विभिन्न कार्यक्रम हुने गे तापनि केही युवा रित्तो विदेशबाट हात फर्किनुपरेका उदाहरण धेरै छन् । संस्थागत रूपमा म्यानपावरबाट जाँदा ठगिने समस्या कम भए पनि अनधिकृत रूपमा पैसा खुवाउनुपर्ने र भनेजस्तो काम नपाउने गरेको गुनासो कामदारको रहँदै आएको छ ।

त्यसैले, वैदेशिक रोजगारमा जान चाहनेले पहिले नै धेरै कुरामा ध्यान पुर्‍याउनुपर्छ । वैदेशिक रोजगारमा जानुअघि सम्भावित कामका लागि उपयुक्त केही शीप सिक्नु आवश्यक छ । यसैगरी आफूले गर्ने, गर्न सक्ने र जान्ने कामका बारेमा पनि निश्चित हुनुपर्छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार कामदारले तलबबारे राम्ररी जानी बुझी मात्र जानुपर्छ । यसैगरी लाग्ने खर्च, प्राप्त हुने आम्दानीको राम्ररी लेखाजोखा गरी लाभ हुने काममा मात्र जानुपर्ने सल्लाह पनि बोर्डको छ ।

अरूको देखासिकीमा वैदेशिक रोजगारमा जाँदा ठगिन पुग्यो भने आफू त बिच्चलीमा परिन्छ नै, परिवारलाई त्योभन्दा बढी मानसिक पीडा हुन सक्छ । त्यसैले पनि सर्वप्रथम घरपरिवारसँग आवश्यक सल्लाह, परामर्श गरी सहमतिमा मात्र जानुपर्छ ।

विदेशमा काम गर्ने पहिलो शर्त नै श्रम स्वीकृति हो । श्रम स्वीकृति भएन भने गन्तव्य देशमा गैरकानूनी रूपमा कार्य गरेको ठहरिन्छ । यसले गर्दा विमानस्थलबाटै फर्किनुपर्ने वा कार्यस्थलबाट पक्राउ पर्ने सम्भावना हुन्छ ।

वैदेशिक रोजगारमा जाँदा दुर्घटनामा परी मृत्यु वा अङ्गभङ्ग हुन सक्ने सम्भावना भएकाले बीमा गर्न पनि भुल्नु हुँदैन । बीमा गरेमा दुर्घटना भइहाल्यो भने कामदार र उसको परिवारलाई आर्थिक सहयोग प्राप्त हुन्छ ।

वैदेशिक रोजगारमा जाँदा ध्यान गर्नुपर्ने अर्को पक्ष विश्वासिलो र आधिकारिक म्यानपावर कम्पनी चयन गर्नु हो । वैदेशिक रोजगारमा जानेले आफ्नो कुन किसिमको भिसा आएको हो भने हेर्नुपर्छ । बिजनेस भिसा वा भिजिट भिसामा जाँदा गन्तव्य मुलुकमा दुःख पाउने सम्भावना बढी हुन्छ । जानी जानी गलत कागजात बनाएर जाँदा पनि समस्या आइपर्ने भएकाले आफै सचेत हुनुपर्छ ।

वैदेशिक रोजगारीमा जान पैसा बुझाएपछि बेहोरा खुलाई भरपाई लिन पनि बिर्सनु हुँदैन । कति खर्च लाग्छ, पहिले नै राम्ररी बुझ्नुपर्छ । कुनै एजेण्ट वा कम्पनीले भरपाई दिन आनाकानी गरेमा ठगीकै नियत भएको बुझ्नुपर्छ ।

वैदेशिक रोजगारीमा जान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको मात्र प्रयोग गर्नुपर्छ । भारतको विमानस्थल प्रयोग गर्दा अलपत्र पर्ने सम्भावना रहन्छ । आफू जाने देशको भौगोलिक स्थिति, हावापानी, रहनसहन, धर्म, कानून, काम गर्ने वातावरण आदि विषयमा सामान्य जानकारी लिइराख्नुपर्छ । यसका लागि पूर्वप्रस्थान अभिमुखीकरण तालीम अनिवार्य रूपमा लिनुपर्छ ।

वैदेशिक रोजगारीमा जाँदा आवश्यक सबै कागजातको एक÷एक प्रति आफू र परिवारको साथमा राख्नुपर्छ । वैदेशिक रोजगारीको क्रममा ठगीमा परे वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »