लेख | दृष्टिकोण

२०७४-०७-१ मा प्रकाशित     ४५५ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

कृष्णराज बजगाईं

अध्ययनको सिलसिलामा भारतको पश्चिम बङ्गाल राज्यको वर्धमान नगर (पञ्चतन्त्रका लेखक विष्णु शर्मा नामका नीतिज्ञ ब्राह्मणको जन्मस्थल)बाट कोलकाता फर्किँदै गर्दा संयोगवश आँखाको अपरेशन गरेकी एउटी भारतीय महिला, उनका पति र छोरीसँग भेट हुन पुग्यो । परिचयपश्चात् कहाँ के कसो भनी सोध्दै जाँदा उनका पतिले विराटनगरमा श्रीमतीको आँखाको अपरेशन गराएर आएको बताए । कोलकातामा किन अपरेशन नगराएको भन्दा नेपालमा आँखाको उपचार बढी भरपर्दाे र तुलनात्मक रूपमा सस्तो भएकाले नेपालमै उपचार गराएको उनले बताए । खर्च कति लाग्यो भन्दा ३ दिन नेपाल बसेको र अपरेशन तथा औषधि सबै गर्दा ७ हजार भारू लागेको बताए । यसको अर्थ ३ दिनमा नेपालले करीब ११ हजार रुपैयाँको सेवा र वस्तुको निर्यात गर्न सफल भयो आँखाको एउटा सामान्य अपरेशनबाट ।

आगरामा बन्ने मिठाई पेठाको कच्चापदार्थ कुभिण्डोको आपूर्ति दक्षिण भारतबाट हुने गर्छ । जब कि बर्दिया, कैलाली र कञ्चनपुरबाट प्रशस्त मात्रामा कुभिण्डो निर्यात हुने सम्भावना छ । केही मात्रामा आगराका लागि यस क्षेत्रबाट कुभिण्डो निर्यात पनि हुने गर्छ । तर, यसको व्यष्टिमा अध्ययन र समष्टिमा प्राथमिकता निर्धारण हुुन नसक्दा पश्चिम नेपालबाट भारततर्फ हुने कुभिण्डोको निर्यात आयतनमा नगण्यता र प्रवृत्तिमा चञ्चलता देखिन्छ । कुनै वर्ष निर्यात हुन्छ, कुनै वर्ष हुँदैन । उत्तरी भारतको ग्रामीण क्षेत्रमा बाबियोको डोरीको माग छ । तर, यसको सूक्ष्म अध्ययन र सङ्गठित पहलकदमीको अभावमा कुनै वर्ष एक दुई भारी बाबियोको डोरी जान्छ, कुनै वर्ष जाँदैन । विहार र पश्चिम बङ्गालमा वर्षाऋतुमा अधिकांश जमीन डुबानमा पर्ने हुँदा सो समयमा आन्तरिक उत्पादनमा भारी गिरावट हुने कारण हरियो तरकारीको मागमा अधिक चाप रहेको हुन्छ । यो समयको सदुपयोग गर्न सक्ने कला र क्षमताको विकास गर्ने हो भने यसले भारततर्फको निर्यातमा महत्त्वपूर्ण अंश ओगट्न सक्छ ।

कुनै बेला नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण अङ्गका रूपमा रहेको घ्यू निर्यातको पनि आफ्नै इतिहास छ । विशेष गरी नेपाल कट्टर हिन्दू राष्ट्र भएको र गोमांस पूर्ण रूपमा प्रतिबन्धित भएको सो समयमा नेपालको घ्यूमा बोसो मिसाइएको नहुने विश्वासका आधारमा नेपाली गाईभैंसीको घ्यूलाई भारतमा निर्बाध बजार मिलेको हो । यस विषयलाई समयमै बुझ्न नसकी पशुपालनलाई व्यवस्थित गर्न नसक्दा र गुणस्तर नियन्त्रण तथा विशेष पहिचान कायम राख्न नसक्दा आज नेपालको गाईभैंसीको घ्यू निर्यात अधोगतिमा गइरहेको छ । नेपाली घ्यूको पवित्रता र शुद्धतायुक्त विशेष पहिचानको स्थान क्रमशः बाबा रामदेवको घ्यू उत्पादनले लिन थालेको छ ।

विशेष गरी शैव र शाक्त सम्प्रदायको बाहुल्य रहेको दक्षिण भारत र पश्चिम बङ्गालमा नेपाली रुद्राक्षप्रति ठूलो कौतुहल र आकर्षण रहेको छ । यी क्षेत्रमा पशुपतिनाथ र नेपालका शक्तिपीठप्रति पनि ठूलो आकर्षण छ । उत्तर प्रदेश र विहारको पश्चिमी क्षेत्रका हिन्दूहरू जीवनमा एकपटक स्वर्गद्वारी जान पाए मुक्ति हुँदो हो भन्ने अभिलाषा राख्छन् । कुमाउ, गढवालतिर कर्णाली क्षेत्रका मष्टो मण्डालीमा थान र  धामीहरूप्रति गजबको कौतुहल छ ।

बोधगयामा आउने बौद्धमार्गी तीर्थयात्री प्रवेशाज्ञा र प्रचारप्रसारको अभावमा नजीकै भएर पनि लुम्बिनी आउन नपाएकोमा पछुतो मानेर फर्केने गर्छन् ।  सिङ्गै उत्तर भारतको हिन्दू समाज जानकी माताको मन्दिरमा एकचोटि माथा टेक्न पाए अहोभाग्य हुँदो हो भनी तिर्सना बोकेर बसेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुक्तिनाथ भ्रमण गर्नबाट नरोकेको भए आज पोखरादेखि रानीपौवासम्मका होटेलहरूमा भारतीय तीर्थयात्रीको थामिनसक्नु भीड लागिसक्थ्यो ।

भारतका नवविवाहित जोडीहरूका लागि पोखराप्रति पनि त्यत्तिकै आकर्षण छ । नेपालसँग सीमा जोडिएका भारतीय राज्यहरू उत्तराञ्चल, उत्तर प्रदेश, विहार, पश्चिम बङ्गाल र सिक्किममा नेपालको आँखाको उपचारको ठूलो ख्याति छ । भारतको मध्यमवर्गका मानिसमा नेपालको क्यासिनोप्रति अझै पनि ठूलो लगाव छ, भलै यो उद्योग अधोगतिमा छ । नेपालमा गएर क्यासिनो छिरेका भारतीयहरूले नेपालको क्यासिनोको वर्णन गरेको सुन्दा उनका समवयीहरूको अनुहारमा नेपालको क्यासिनोमा नजानु आफ्नो जीवनको सबैभन्दा ठूलो भूल भएको भाव सजिलै पढ्न सकिन्छ ।

मध्यम वर्गको वृद्धिसँगै भारतीय युवा वर्गमा हिमालयमा पदयात्रामा जाने पनि उत्तिकै जोश छ । एकचोटि हिमालयको पदयात्रामा गएर फर्किन पाए यस धर्तीमा जन्म लिएको सार्थक हुने थियो भन्ने हदसम्मका उत्साही युवायुवतीको भारतमा कमी छैन ।

यसरी हेर्दा भारतमा यस्ता सम्भावनाका अरू पनि कयौं क्षेत्र छन्, जसलाई मुलुकको निर्यातको टोकरीको एउटा भाग बनाउन सकिन्छ । समग्रमा भन्नुपर्दा भारततर्फको निर्यात वृद्धि गर्न न त धेरै ठूलो प्राज्ञिक बहसको खाँचो छ, न त अध्ययनका ठूलाठूला ठेलीहरू नै बनाउन आवश्यक छ । विना तामझाम सानो जनशक्ति, सीमित बजेट र सरल शब्दावलीमा भारततर्फको निर्यात प्रवर्द्धनको व्यावहारिक ढाँचा तर्जुमा गर्न सकिन्छ, हिँड्ने सरल मार्ग तय गर्न सकिन्छ र साँच्चिकै प्रतिफलदायी कार्यान्वयनयोग्य कार्यनीति बनाउन सकिन्छ ।

वास्तवमा भारत भौगोलिक, सांस्कृतिक, धार्मिक, आर्थिक सबै दृष्टिले विविधताले भरिपूर्ण देश हो । भारतको यो विशाल विविधामा जनताका चाहना र सामथ्र्यहरूमा पनि त्यत्तिकै विविधता छ । यसैका आधारमा भारतका आर्थिक क्रियाकलाप धेरै हदसम्म निर्देशित छन् । पर्यटनकै कुरा गर्दा हिमाञ्चल प्रदेशका जनताका लागि समुद्र आकर्षणको केन्द्र हो भने चेन्नईका जनताका लागि हिमालय क्षेत्र आकर्षणको केन्द्र हो । वस्तु व्यापारका सम्बन्धमा पनि त्यस्तै विविधता व्याप्त छन् । ऋतुअनुसार पनि जनताका मागमा विविधता देखिन्छ । वर्षाऋतुमा डुबानका कारण पश्चिम बङ्गाल र विहारमा हरियो तरकारीको आपूर्ति धेरै हदसम्म प्रभावित भई मूल्य वृद्धिको भयावह अवस्था सृजना हुने गर्छ ।

समग्रमा भन्नुपर्दा भारतका क्षेत्रगत बजारहरूका विशेष विशेषताहरू र विशेष मागहरू छन् । ती प्रमुख बजारहरूका विशेष विशेषताहरूको अध्ययन, मागहरूको मिहीन विश्लेषण र त्यो विश्लेषणका आधारमा मुलुकभित्रको प्राथमिकता चयन र उत्पादन वृद्धि तथा निर्यात प्रवद्र्धनका कार्यक्रमहरू सञ्चालन गर्नु भारततर्फको निर्यात प्रवद्र्धनको व्यावहारिक गमनपथ हो । अध्ययनको पत्र जति तलबाट गरिन्छ, निष्कर्षहरू पनि त्यत्तिकै विश्वसनीय हुन्छन् । सर्वविदितै छ कि व्यष्टिमा आधारित निष्कर्षको समष्टिगत स्वरूप नै देशगत र वस्तुगत व्यापार रणनीति तर्जुमाको आधार हो । निर्यात प्रवर्द्धन रणनीति तर्जुमा गर्दा अपनाउनुपर्ने तथ्यमा आधारित विधि पनि यही हो ।  परन्तु यस विषयमा अपेक्षित अभ्यासहरू हुन सकेका छैनन् ।

कहाँनिर चुकिरहेका छौं र गर्नुपर्ने के हो ?
क्षमता अभिवृद्धि, तुलनात्मक लाभ र प्रतिस्पर्धी क्षमताका वस्तु तथा सेवाको पहिचान र विकास, प्रक्रियागत सरलता, आर्थिक कूटनीतिको प्रयोग, निर्यात प्रोत्साहन, वैदेशिक सहायताको प्रभावकारी उपयोग, गैरभन्सार अवरोध उन्मुक्तिका लागि व्यापारवार्ता, शून्य भन्सार सुविधाको सदुपयोग र गुणस्तरमा सुधार भन्ने यी नौओटा शब्दावलीको विशुद्ध प्राज्ञिक व्याख्याका वरिपरि मुलुकको सारा समय, साधनस्रोत र शक्तिहरू परिभ्रमण गरिरहेका छन् । यो अखण्ड प्राज्ञिक प्रवचनकोे शृङ्खलालाई निरुत्साहित गर्दै धरातलमा प्राप्त सूचना तथा तथ्यमा आधारित निर्यात प्रवर्द्धन नीति, रणनीति, कार्यनीति, कार्ययोजनाको तर्जुमा र सोको कार्यान्वयनतर्फ मुलुकको साधनस्रोत परिचालन गर्नुपर्छ ।

वाणिज्य मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र दुवैतिर तथ्याङ्क, तथ्य र सूचनामा आधारित रही निर्यात क्षेत्रलाई अघि बढाउनुपर्छ र बढाउन सकिन्छ भन्ने नेतृत्व विद्यमान रहेको वर्तमान परिप्रेक्ष्यमा भारततर्फको निर्यातमा भारतका विभिन्न क्षेत्रमा रहेका विशेष खालका मागका आधारमा आन्तरिक क्षेत्रको क्षमता अभिवृद्धिमा सामूहिक रूपमा नयाँ ढङ्गले अघि बढ्नुपर्ने देखिन्छ ।

यस कार्यमा समग्रतामा वाणिज्य मन्त्रालयले र विशेष गरी व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले नेपाली विश्वविद्यालयहरूमा रहेको जनशक्ति, कृषक, निर्यातकर्ता, उद्यमी, भारतस्थित नेपाली कूटनीतिक नियोगहरू, भारतमा रहेका नेपाली विद्यार्थी, भारतमा रहेर सफल रूपमा व्यवसाय गरिरहेका प्रवासी नेपालीहरू, भारतीय व्यापारी, स्थानीय समाजसेवी, राजनीतिकर्मीहरू र नेपालका हितैषीहरूलाई लक्ष्य प्राप्तिका लागि समन्वयात्मक ढङ्गले परिचालन गर्नु आवश्यक देखिन्छ । भारतका स्थानीय उत्पादनकर्तालाई पनि हानि नहुने, भारतीय उपभोक्तालाई फाइदा हुने र नेपाललाई निरन्तरको बजार प्राप्त भइरहने चरित्रका वस्तुहरूको पहिचान गरी भारततर्फ निर्यातको व्यावहारिक रणनीति बनाउन आवश्यक छ । विगत लामो समयदेखि भारतसँगको निर्यातमा रहेको जडतालाई तोड्दै निर्यात अभिवृद्धि गर्ने यो नै सरल र सही मार्ग हो ।

लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् । यहाँ व्यक्त विचारहरू लेखकका निजी हुन् ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »