अन्तर्वार्ता

२०७४-०७-२८ मा प्रकाशित     ३४२९ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

गोर्खाज फाइनान्सलाई विकास बैङ्क बनाउँछौं

मुकुन्द श्रेष्ठ
वरिष्ठ प्रबन्धक तथा कम्पनी सचिव
गोर्खाज फाइनान्स लिमिटेड

भर्खरै २३औं वर्षमा प्रवेश गरेको गोर्खाज फाइनान्स लिमिटेडले धेरै उतारचढावपछि अहिले सफलता प्राप्त गर्न थालेको छ । विकास बैङ्कका रूपमा सञ्चालित भइरहँदा समस्याग्रस्त भएपछि २ वर्षअघि काठमाडौं फाइनान्ससँग गाभिएर पुरानो खराब कर्जालाई उठाउँदै यस कम्पनीले अहिले नाफा कमाउन शुरू गरेको छ । प्रस्तुत छ, कारोबारलाई पारदर्शी बनाउँदै भविष्यमा विकास बैङ्कमा परिणत हुने योजना बनाएको उक्त फाइनान्स कम्पनीका वरिष्ठ प्रबन्धक तथा कम्पनी सचिव मुकुन्द श्रेष्ठसँग आर्थिक अभियानकर्मी ममता थापाले गरेको कुराकानी :

गोर्खाज फाइनान्सले २३औं वर्षको यात्रा शुभारम्भ गरेको छ । यहाँसम्मको यात्रा कस्तो रह्यो ?
विगतमा काठमाडौं फाइनान्सको नाममा सञ्चालित यो कम्पनी वि.सं. २०५१ कात्तिक २४ गते स्थापना भएको हो । स्थापनाकालदेखि राम्रैसँग सञ्चालनमा आएको यो कम्पनीको करीब १७ करोड रुपैयाँ चुक्तापूँजी थियो र २० करोड पुर्‍याउनेतर्फ अग्रसर थियो । यसै सन्दर्भमा राष्ट्र बैङ्कले समस्याग्रस्त घोेषणा गरेको गोर्खाज विकास बैङ्कलाई गोर्खाज गु्रपले पुनः सञ्चालन गर्न खोजेका रहेछन् । उनीहरूले यसको पूँजी बढाउने र फाइनान्स कम्पनी पनि लिने भन्ने योजना लिएर आउनुभयो । उक्त अवस्थामा उहाँहरूले काठमाडौं फाइनान्सका केही शेयरहरू लिनुभयो ।

त्यसपछि यसको व्यवस्थापन सम्हाल्न आएँ । समस्याग्रस्त गोर्खाज विकास बैङ्कको नेटवर्थ रू. १ सय प्रतिशेयरबाट घटाएर राष्ट्र बैङ्कले रू. ३० निर्धारित गरिदियो । बढी खराब कर्जाले गर्दा नेटवर्थ घटाइएको थियो । यसलाई फाइनान्सले १ बराबर १ को स्वाप रेसियोमा खरीद गरेर गाभ्यो । यसपछि गोर्खाज फाइनान्सको नाममा २०७२ चैत २७ गते मर्ज पूरा गरेर २८ गतेबाट विधिवत् रूपमा कारोबार शुरु गर्‍यौं ।

समस्याग्रस्त गोर्खाजसँग काठमाडौं फाइनान्स किन मर्ज भयो त ? यसपछि के भयो ?
गोर्खाज विकास बैङ्कमा प्रायः पूर्वसैनिकलगायतको सहभागिता थियो । एउटा ब्राण्डको छविमा नै आँच आएपछि यसलाई बचाउनका लागि स्वदेश तथा विदेशमा बसेका पूर्व गोर्खा सैनिकहरू लागिरहेका थिए । उनीहरूले सबैबाट पैसा उठाएर यसमा लगानी गरेर जोगाए । मर्ज भएपछि ‘गोर्खाज’ भन्ने नाम ब्राण्ड राम्रो भएकोले हामीले गोर्खाज फाइनान्सको नामबाट कारोबार गर्‍यौं । मर्ज हुनुअघि विकास बैङ्कको रू. १९ करोड र काठमाडौंको रू. ३८ करोड पूँजी थियो । यसरी ५७ करोड रुपैयाँ पूँजीबाट एकीकृत कारोबार शुरू भयो ।

यो अवधिभर के पाइयो, के गुमाइयो ?
यसबीचमा हामीले केही गुमाएका छैनौं । तर, गोर्खाज विकास बैङ्कको त्यतिबेलाको खराब छापले गर्दा कहिलेकाहीँ ग्राहक तथा साथीभाइहरूले प्रश्न गर्दछन् । उनीहरूको विश्वास जित्न भरपूर प्रयास गरेका छौं । क्रमशः उनीहरूमध्ये धेरैले पुनः विश्वास गरेर फर्केर आएका छन् । ग्राहकले हामीलाई विश्वास गर्न थालेका छन् ।

पुनः ग्राहकको विश्वास जित्न कसरी सम्भव भयो ?
हाम्रो हिसाब पारदर्शी हुन्छ । हामीले समयमै रिपोर्ट बनाउने गर्दछौं । हामी सक्रिय भएर लागेका छौं । यो संस्थामा नेपालको पूर्वदेखि पश्चिमसम्म र विदेशका समेत लगानीकर्ताहरू रहेका छन् । उनीहरूले ठाउँठाउँमा संस्थाबारे जनचेतना जगाइरहनु भएको छ । हामी लगानी गर्दा हरेक कुरामा ध्यान दिने गर्छौं । हामी गुणस्तरको बिजनेश गर्छौं । सुरक्षणमा ध्यान दिन्छौं । पुराना कर्मचारीहरूसँग राम्रो अनुभव छ ।

यसैले हामी विस्तारै माथि उठ्दै छौं । ग्राहकले पनि त्यही किसिमले अवलोकन गरिरहेका छन् । हामीले वेबसाइट पनि अपडेटेड गरिरहेका हुन्छौं । समयसमयमा प्रतिक्रिया पनि पाउने गरेका छौं । हामीले ग्राहकलाई आधुनिक सेवासुविधा प्रदान गरेका छौं । आधुनिक बैङ्किङ सुविधाअन्तर्गत मोबाइल बैङ्किङ, इण्टरनेट बैङ्किङ, एटीएम, आस्बालगायतका सुविधा दिएका छौं ।

राष्ट्र बैङ्कले राष्ट्रियस्तरको ‘ग’ वर्गका वित्तीय संस्थालाई गत असारसम्म ८० करोड रुपैयाँ चुक्तापूँजी पुर्‍याउन निर्देशन दिएको थियो । त्यो समयसीमा केही नाघे पनि चुक्तापूँजी पुर्‍याउनु भयो । यसमा कतिको सहज भयो ?
राष्ट्र बैङ्कले दिएको निर्देशन पूरा गर्न हामी भरसक लागिपर्‍यौं । गत आर्थिक वर्षको वासलातमा ७६ करोड रुपैयाँ चुक्तापूँजी थियो । यसलगत्तै २ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्‍यौं । जारी गरेको शेयरमध्ये करीब ४ करोड लीलामीबाट गत असोजमा ८६ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी पुर्‍याउन सफल भयौं । चुक्तापूँजी पुर्‍याउने वित्तीय संस्थामा सायद हामी तेस्रो स्थानमा छौं ।

विगतमा समस्याग्रस्त विकास बैङ्कको तीतो अनुभवसमेत छ । यस्तो घटना दोहोरिन नदिन कसरी सतर्कता अपनाउनु भएको छ ?
हामीलाई विगतले पाठ सिकाएको छ । तत्कालीन विकास बैङ्कबाट धेरै कर्जा खराबमा परिणत भएकाले समस्याग्रस्त भएको थियो । अहिले हामीले उक्त कर्जा करीब ८० प्रतिशत उठाइसकेका छौं । शुरूमा मर्ज गर्दा रू. ३० करोडदेखि ३२ करोडसम्मको नकारात्मक नेटवर्थ परिपूर्ति गर्न सफल भयौं र अहिले हामी नाफामा आउन सकेका छौं । अब हाम्रो पूँजी पनि पुगेको छ र घाटामा छैनौं । यसैले अब हामी नगद लाभांश पनि बाँड्न सक्ने स्थितिमा पुग्छौं । हामीले यो आवमा करीब ७ देखि १० प्रतिशतसम्म नगद लाभांश दिने लक्ष्य लिएका छौं ।

मर्जपछि कर्मचारी व्यवस्थापनमा समस्या पर्‍यो कि ?
प्रायः मर्ज भएका संस्थामा विभिन्न खालका समस्या देखिने गर्छन् । तर, हाम्रोमा भने मर्ज भएपछि अहिलेसम्म कर्मचारीको कुनै गुनासो सुनिएको छैन । बरू उनीहरू मर्ज भएर अर्को संस्थामा आएको अनुभव नभएको र पहिलाको जस्तै सौहार्दपूर्ण वातावरण भएको बताउँछन् । हामीले पनि सबै कर्मचारीलाई समान व्यवहार गरेका छौं । उनीहरूलाई तलब, पद, तालीमलगायतका अन्य सेवासुविधामा विभेद गरेका छैनौं ।

त्यसो भए अहिले बैङ्कको स्थिति द्रुत गतिमा सुधारोन्मुख छ ?
हो, हामीले करीब ३२ करोड खराब कर्जालाई डेढ वर्षभित्रमा घटायौं । यस्तै, असार मसान्तसम्ममा करीब ४ अर्ब रुपैयाँको निक्षेप सङ्कलन गरेका छौं । यसैगरी साढे ३ अर्बको कर्जा प्रवाह (लेण्डिङ) छ । हामीसँग करीब १४ हजार ग्राहक छन् भने हाल केन्द्रीय कार्यालयसहित १९ ओटा शाखा कार्यालय छन् । नेपालगञ्ज, वीरगञ्ज र सुर्खेतमा मङ्सिरभित्र ३ ओटा शाखा विस्तार गर्नेछौं । करीब ७ ओटा शाखा दुर्गम क्षेत्रमा सञ्चालन गरेका छौं, जहाँ कुनै बैङ्क तथा वित्तीय संस्था पुगेका छैनन् ।
 
पछिल्लो समय सफ्टवेयर, एटीएम ह्याक गर्ने समस्या बढेको छ । एक समय तपाईंहरूको एटीएममा पनि चोरीको प्रयास भएको थियो । अहिले कसरी सावधानी तथा सतर्कता अपनाउनु भएको छ ?
त्यो त हो । पाटन शाखामा कसैले एटीएमबाट पैसा निकाल्न खोजेको थियो, तर असफल भयो । यस्तो घटना कुनै पनि संस्थामा हुनसक्छ । यस्तो घटना हुन नदिन सावधानी त अपनाएकै छौैं । भर्खरै बोर्डले राष्ट्र बैङ्कको गाइडलाइनअनुसार बैङ्कको महत्त्वपूर्ण सामग्री सञ्चित (ब्याकअप) राख्ने व्यवस्था केन्द्रको साथै उपत्यका बाहिर पनि गरेको छ । यसका लागि ‘डिजाष्टर रिकभरी सेण्टर’ भनेर नारायणघाटमा पनि ब्याकअप राखेका छौं । सफ्टवेयरको व्यवस्थापनका लागि विभिन्न सम्बन्धित संस्था, विज्ञहरूसँग सल्लाह–सुझाव लिनेलगायतका काम गर्ने गर्छौं । यसरी विभिन्न तरीकाबाट सतर्कता अपनाएका छौं ।

तरलताको उतारचढावसँगै ब्याजदरमा परेको चाप अहिले कस्तो छ ?
अहिले बजारमा प्रायः सबैले निक्षेपको ब्याजदर घटाइरहेका छन् । निक्षेप सङ्कलन बढ्न थालेपछि ब्याजदर घट्न थालेको छ । यद्यपि, गोर्खाज फाइनान्सको निक्षेपको ब्याजदर प्रायः अरू बैङ्क तथा वित्तीय संस्थाको तुलनामा बढी नै छ । हामीले ९० दिने निक्षेप (त्रैमासिक)मा साढे ११ प्रतिशत दिएका छौं र बचत खातामा करीब ७–८ प्रतिशत दिएका छौं । अहिले बजारमा सबैले घटाइरहेका छन् । कर्जाको ब्याजदरमा स्प्रेडदर कम राखेर थोरै ब्याजदर निर्धारण गरेका छौं । यसो गर्दा व्यवसायको आकार बढ्छ । थोरै मार्जिनबाट पनि लाभ हुन्छ ।
 
राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई नाफाको १ प्रतिशत अनिवार्य रूपमा सामाजिक उत्तरदायित्वका कार्यक्रममा खर्च गर्न निर्देशन दिएको छ । तपाईंहरूले यसको कसरी कार्यान्वयन गर्दै हुनुहुन्छ ?
विगत वर्षमा समेत विभिन्न सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रम गर्दै आएका थियौं । यसलाई निरन्तरता दिइएको छ । गत आवमा वार्षिकोत्सवको अवसर पारेर हामीले भक्तपुरको सिद्धिग्राम आश्रमलाई टेलिभिजन सेट वितरण गरेका थियौं । यसपटक कात्तिक २४ गते वार्षिकोत्सवको दिन रक्तदान कार्यक्रम आयोजना गर्‍यौं, जसमा ३५ जना कर्मचारीलगायतले रक्तदान गरे । यसबाहेक सरसफाइ कार्यक्रम गरियो । केन्द्रले बाहेक शाखा कार्यालयले पनि विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम गरेका छन् ।

यसबाहेक हामीले वार्षिकोत्सवको अवसरमा हरेक वर्षझैं ‘वेष्ट स्टाफ अवार्ड’ प्रदान गर्‍यौं । उक्त अवार्ड भक्तपुर शाखाका रोशन सुलुलाई प्रदान गर्‍यौं । यस वर्षको वार्षिकोत्सवदेखि हामीले त्रैमासिक रुपमा उत्कृष्ट काम गर्ने शाखा ‘वेष्ट ब्राञ्च अफ द क्वार्टर’ भनेर अवार्ड दिन थालेका छौं । उक्त अवार्ड न्यूरोड शाखाले प्राप्त गरेको छ । यो शाखाले कम्पनीले तोकेअनुसारको निक्षेप सङ्कलन, कर्जा प्रवाह, ग्राहक सङ्ख्या वृद्धि र ग्राहकलाई राम्रो सेवासुविधा दिएकाले उत्कृष्टको रूपमा प्रोत्साहनस्वरूप पुरस्कृत गरेका हौं । यस्तै, हामीले वार्षिकोत्सवको अवसर पारेर नारायणघाटमा आफ्नै नयाँ भवनमा शाखा उद्घाटन गर्‍यौं ।

अबको भावी योजना केके छन् ?
अघिल्लो आर्थिक वर्षमा भएको १ सय १२ दशमलव ९६ प्रतिशतको निष्क्रिय कर्जालाई घटाएर ४ दशमलव ७२ प्रतिशतमा झारिएको छ । हामीले खराब कर्जाहरू धेरै उठाउन सकेका छौं । गत असार मसान्तसम्ममा २८ करोड ३६ लाख २९ हजार रुपैयाँ खराब कर्जा सङ्कलन गर्‍यौं ।
अब हामीले यो फाइनान्सलाई ५ वर्षभित्रमा विकास बैङ्कमा लैजाने योजना बनाएका छौं । यसैले अब साढे २ अर्ब चुक्तापूँजी पुर्‍याएर विकास बैङ्कमा परिणत हुने सोच छ । यसै आवभित्र २२ ओटा शाखा पुगेपछि अब हाम्रो कारोबार बढाउनेमा जोड रहन्छ । यस वर्ष लगानीकर्तालाई मुनाफा वितरण गर्न सकेनौं । आर्थिक वर्ष २०७४/७५ मा नगद लाभांश दिनेछौं ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »