तीतो मीठो

२०७४-०८-१ मा प्रकाशित     ८०४९ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने नेपालीलाई मेलामाजस्तै गजब रौनक बढाइदिएको छ ।

काङ भन्छ– वामले जिते रुन पनि पाइन्न रे । अहिलेको लोकतन्त्र पनि सिद्धिन्छ रे । तर, वाम भन्छ– काङले निजीकरणका नाममा राष्ट्रिय उद्योगधन्दा र सार्वजनिक संस्थानहरु विगतमा जस्तै सखाप पार्छ रे । त्यसैले वाम सत्तामा आएर सहकारीलाई अझ सशक्त बनाउने रे, घाटैमा पुगिसकेका भए पनि सार्वजनिक संस्थानहरु सरकारले जुरुक्कै उचालेर चलाउने रे । अब कसको कुरा सही, कसको गलत कसरी जान्ने होला ? हिजो माओवादी र काङ्ग्रेस मिलेर एकै स्वरमा एमालेलाई चोर भन्थे । अहिले एमाले र माओवादी अर्थात् वाम एकठाममा बसेर काङलाई डाका भन्न थालेका छन् । अब खाँटी चोर र डाका चैं को रहेछ हँ ? दुवै वा दुईथरीमध्ये एउटा ? यो कुरा नेपाली जनताले कसरी बुझ्ने ?

फेरि सबैखाले उम्मेदवारहरुले पनि चुनावमा थप रौनक बढाएका छन् । कोही सुट लाएर मतदातालाई धान काट्न सघाउने, कोही बूट बजारेर गाई दोहिदिने, कोही गरीब मतदाताकहाँ गएर रोइदिने । अनि यी सबै कुराहरु फोटो खिचेर फेसबूकमा आफै अपलोड अनि आफै लाइक पनि ठोकिदिने । नेपाली जनता पनि कस्ता ? चुनाव भाकै छैन, भोट हालेकै छैन, तर आउनेजति उम्मेदवारलाई फूल, माला, अबिर, उत्सव गरेर विजय जुलुसजस्तो निकालिदिने । फेरि तरकारीको भाउ आकाशियो भनेर आफै हैरान हुने । तर, पार्टीहरुले चुनावमा भोट माग्न भएजति तरकारी भोजभतेर गरेर यसको माग बढाइदिएकाले भाउ बढेको हो भन्ने सामान्य अर्थशास्त्र नबुझेजस्तो अभिनय गर्ने । धन्य हुन् नेपाली जनता ।

त्यसो भए नेपाली राजनीति केवल ‘मासुभाते पोलीटिक्स’ मात्रै हो त भनेर सोध्नुहोला । होइन । किनभने प्रायः सबै दल र तिनका सबै आकार प्रकारका नेताहरुले आआफ्नो गच्छे अनुसार विकासका कुरा पनि गरेका छन् । उनीहरुले आआफ्नो घोषणापत्रमा रेल ल्याउने कुरा गरेका छन् । त्यो जाबो रेल मात्र होइन, मोनोरेल र मेट्रो रेल पनि । अब त पैलेजस्तो १० हजार मेगावाट मात्र होइन, २० हजार मेवा पानी बिजुली निकाल्ने कुरा पनि गरेका छन् । त्यस्ता ठूला योजना त कति छन् कति घोषणापत्रमा । मोनो रेल कहाँ र कहिलेदेखि चलाउने ? २० हजार मेवा बिजुली कैले, कल्ले, कसरी बनाउँछ ? कति पैसा लाग्छ ? त्यो पैसा कसले हाल्छ ? अनि त्यो बिजुली कल्ले किन्छ ? कल्ले बेच्छ ? आदिजस्ता प्रश्नहरु नगर्नु होला । किनकि हाम्रा दल र यिनका टाउकेहरुले क्यै सोचेरै नै त्यस्ता ठूला कुराहरु घोषणापत्रमा लेखेको हुनुपर्छ ।

संसार मङ्गल ग्रहमा बस्ती बसाल्न जाओस्, प्रतिघण्टा हजारौं किलोमिटर छिटो कुद्ने रेल ल्याओस्, उड्ने कार चलाओस्, कृत्रिम बौद्धिकताको प्रयोग बढाओस् वा पाँचौं औद्योगिक क्रान्तिको योजनामा अघि बढोस्, त्यो हाम्रो सरोकारको विषय हैन । किनकि एक त हामी धेरै साना छौं, हाम्रो मुटु सानो छ, यो सानो मुटुमा विशाल योजना कहाँबाट अटाउँछ ? हाम्लाई त हाम्रा महान् नेताहरुले हाम्रा लागि जे भन्दियो त्यै ठूलो कुरा हो ।

हामी नेपाली जनता भनेका त अज्ञानी, अशिक्षित, अविवेकी, अधर्मी, अवसरवादी, अकर्मण्य हौं । किनकि जनता बुझ्ने, विवेकी भए भने संसारमा कुनै नेताले वा दलले झुक्याउनै सक्तैन नि । तर, हाम्रा नेताहरुले हाम्रा लागि भनेर लडेर प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, सङ्घीयतन्त्र सबै जनतालाई उपहार दिएका छन् । यो कुरा बिर्सन मिल्दैन । के गर्ने, के नगर्ने, उनीहरु नै जान्दछन् । किनकि उनीहरु सफल, सुसंस्कृत र सर्वज्ञाता छन् । ब्रह्माण्डका सारा विषयमा उनीहरुको अपार ज्ञान छ । भोलि हाम्रा लागि के, कसरी, कैले र किन गर्ने भन्ने सबै उनीहरुलाई थाहा छ । हाम्रा लागि भनेरै त उनीहरुले यो चुनाव पनि गराइरहेका छन् । हाम्रा लागि उनीहरु दिनरात चिन्तित छन् । त्यसैले यस्ता ज्ञानी, दयाका खानी महान् पुराना नेताहरुप्रति (नयाँ नेताहरुमा त अहिलेसम्म चिन्नै पाइएको छैन) सभक्ति सादर प्रणाम छ । हामीजस्ता अज्ञानी जनताले अरु के भन्ने हो र खै !


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »