रोजगारी

२०७३-११-१२ मा प्रकाशित     १५५३ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

मृत्यु र अङ्गभङ्गका घटना बढ्दो

सास्तीपूर्ण छ वैदेशिक रोजगारी

क्वालालम्पुर (मलेशिया) । मलेशियामा काम गर्न जान १० हजार रुपैयाँ मात्र तिर्नुपर्छ भने सुनेका पर्साका सुनील सहानियाँले म्यानपावर कम्पनीलाई १ लाख ४० हजार रुपैयाँ बुझाएपछि बल्ल उड्न पाए । कम्पनीले उपलब्ध गराएको कामदार र कम्पनीबीचको सम्झौताबमोजिम दैनिक १० घण्टा काम गर्नुपर्ने भए पनि उनले मलेशियाको साइकल कारखानामा दैनिक ११ घण्टा काम गर्नुपर्‍यो । खाने–बस्ने सुविधासहित करीब मासिक ३२ हजार रुपैयाँ मासिक तलब पाउने भनेर सुनेका सहानियाँले सम्झौताबमोजिम काम र ज्याला पाउनुपर्‍यो भनेपछि उनलाई कम्पनीले कालोसूचीमा राखी दुःख दिन थाल्यो । विनाकाम घाममा खटाउन थालेपछि असह्य भई उनले ३ दिन काममा जान छाडे । त्यसपछि १ महीना कामबाट बर्खास्त गरी उनको तलब पनि रोक्का गरिदियो ।

कम्पनीको ‘टर्चर’कै कारण मानसिक रोग लागेको बताउने सहानियाँले कम्पनीबाट पासपोर्ट माग्दा बाउन्सरको पिटाइ खेप्नुपर्‍यो । नेपाली दूतावासमा ट्राभल डकुमेण्ट बनाउन आएका सहानियाँले भने, ‘हरेक कम्पनीले बाउन्सर पालेका हुन्छन् । विरोध गर्‍यो कि मार्न पनि बेर लाउँदैन ।’ मलेशिया आएको २ वर्ष बितिसकेपछि कामकै कारण मानसिक सन्तुलन ठीक नभएपछि उनले आफूलाई कम्पनीकै जेलमा २ महीना थुनेको दुखेसो सुनाए । कम्पनीलाई मेरो तलब पनि पर्दैन मेरो कागजात मात्र फिर्ता देऊ भन्दा तिमीलाई ल्याउन ३ हजार रिङ्गेट (झण्डै ८० हजार रुपैयाँ) खर्च भइसकेको र त्यो पहिला क्षतिपूर्ति तिर भने जवाफ पाएको उनले बताए ।

बल्लबल्ल कम्पनीको जेलजस्तो बन्द कोठाबाट छलेर भागेका उनलाई ट्राभल डकुमेण्ट बनाउन पनि हम्मेहम्मे भएको छ । दूतावासले १५ दिनको भाका राखेर दिने ट्राभल डकुमेण्ट बनाउन १ सय ६० रिङ्गेट शुल्क तोकेको छ । तर, दलालले उनलाई २ हजार रिङ्गेट चाहिन्छ भनेकाले उनी अलपत्र अवस्थामा छन् ।

उनीजस्तै मोरङका दिलीराम निरौला मासिक १२ सय ३७ रिङ्गेट दिने भनेकोमा ९ सय रिङ्गेट मात्रै पाएपछि कम्पनीबाट भागे । दिनमा ११–१२ काम गर्दा पनि ९ सय रिङ्गेटमात्रै पाएपछि भागेका उनलाई प्रहरीले समात्यो र कागजात भिसा नभएको भन्दै जेलमा थुन्यो । अहिले उनी पनि ट्राभल डकुमेण्ट बनाएर घर फर्कने तयारी गर्दै छन् ।

मलेशियामा सेक्युरिटी गार्ड कामका लागि रिटायर्ड सेना या प्रहरी हुनुपर्ने प्रावधान छ । तर, म्यानपावर कम्पनीले नक्कली कागजात बनाई मलेशिया पठाइदिँदा धेरै नेपाली अवैधानिक बनेका छन् ।

क्वालालम्पुरस्थित नेपाली दूतावासका राजदूत निरञ्जनमान सिंह बस्न्यातका अनुसार १० लाख ५६ हजार नेपाली मलेशिया आएको देखिन्छ । तर, कामदारको तथ्याङ्क भने ७ लाखजति मात्र भेटिन्छ ।

मलेशिया आउँदा लिएको ऋण तिर्नकै लागि भए पनि अवैधानिक रूपमा बस्न नेपाली कामदार बाध्य छन् । ४० वर्षसम्म मात्र काम गर्न पाउने प्रावधान, नेपालमा मेडिकल परीक्षण पास भएर पनि मलेशियाको मेडिकल परीक्षण गर्दा फेल हुने कारणले पनि मलेशियामा धेरै कामदार अवैधानिक बनेका छन् । अवैधानिक भएकै कारण उनीहरुले पारिश्रमिक समेत सहज रूपमा नेपाल पठाउन सकेका छैनन् । कतिको तलब त आफ्नै साथीभाइहरू विशेषगरी इण्डोनेशियाली र बङ्गालीले लुटेका छन् । मलेशियामा इण्डोनेशियाकै मात्र १५ लाख अवैध कामदार रहेको र ती अवैध कामदारको लहलहैमा नेपाली कामदारले पनि देखासिकी गर्दा सास्ती पाउने गरेका छन् ।

क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार सन् २०१६ मात्रै ३९२ नेपालीको मृत्यु भएको छ, जसमा आठजना महिला छन् । राजदूत बस्न्यातका अनुसार २०१६ मा ४९ नेपालीले आत्महत्या गरेका थिए ।  सन् २०१७ को फेब्रुअरीसम्म आइपुग्दासम्म कम्तीमा पाँच नेपालीको मृत्यु भइसकेको छ । दूतावासको तथ्याङ्कअनुसार मलेशियामा सन् २०१४ मा ३ सय ६१ जना तथा २०१५ मा ४ सय ६१ नेपाली कामदारको मृत्यु भएको थियो । मानसिक तनाव, कम मात्रामा पानी पिउनु, सस्तो भन्दै अधिक मद्यपान, अव्यवस्थित खानपानलगायत कारण मलेशियामा नेपालीको मृत्यु हुने गरेको बताइन्छ ।

नेपालीको अनाहकमा मृत्यु हुन थालेपछि मलया युनिभर्सिटीले मृत्युको कारणबारे अनुसन्धान नै थालेको छ । दूतावासले पनि स्वास्थ्य मन्त्रालयलाई नेपाली चिकित्सकको टोली पठाएर मर्नुको कारण पत्ता लगाइदिन आग्रह गरिसकेको छ ।

अन्तरराष्ट्रिय श्रम सङ्गठनले ८ घण्टा काम गर्ने नियम बनाएको भए पनि मलेशियामा अधिकांश श्रमिकले कम्तीमा पनि १२ घण्टा काम गर्छन् । त्यसरी निरन्तर लामो समय काम गर्दा ‘बढी थकान’ भएर पनि श्रमिकको मृत्यु हुने गरेको छ । राजदूत बस्न्यातका अनुसार बढी मात्रामा राति अधिक रक्सी र खाना खाएर सुत्दा मृत्यु भएको रिपोर्ट आउने गरेको छ । यसको रोकथामका लागि स्थानीय एफएममा हप्ताको १ दिने कार्यक्रम चलाई नेपाली कामदारको जीउज्यान बचाउन र सुरक्षित गर्न दूतावास लागिपरेको उनले जानकारी दिए ।

मलेशिया तुलनात्मक रूपमा गर्मी रहेको र पसिना धेरै आउने भएकाले कम्तीमा दैनिक ३ लिटर पानी अनिवार्य खानुपर्ने चिकित्सकको निष्कर्ष छ । तर, त्यहाँ बियर र पानीको मूल्य उस्तै हुँदा नेपालीले पानीभन्दा बियरलाई प्राथमिकता दिन्छन् । सन्तुलित आधार, पर्याप्त आराम र मानसिक मानसिक तनाव नलिँदा समेत नेपालीको मृत्यु हुने गरेको रिपोर्ट मलया युनिभर्सिटीको छ ।

मलेशियाको पेनाङ, क्वालालम्पुर, मेलाकालगायत राज्यमा नेपाली धेरै छन् । सेक्युरिटी गार्ड, होटल तथा रेष्टुराँमा कुक/वेटर, फ्याक्टी वर्करलगायत काममा नेपाली आउने गरेका छन् । विदेशमा मृत्यु हुनुको मुख्य कारण अज्ञानता हो । दिनभर उच्च तापक्रममा काम गरेर मादक पदार्थ सेवन गरी एयर कण्डिसन (एसी) चलाएर सुत्ने गरेका कारण सुतिरहेकै अवस्थामा र हृदयाघात भएर मर्नेहरूको सङ्ख्या उच्च छ । त्यसैगरी ट्राफिक नियम नजान्दा सडक दुर्घटनामा परी मर्नेहरूको सङ्ख्या पनि उल्लेख्य छ । कतिपय अवस्थामा भने कामदार स्वयम्को लापरबाहीले पनि मृत्यु हुने गरेको छ ।

नेपाली कामदारको दोस्रो बढी मृत्यु हुने देश साउदी अरब हो । बितेका ५ वर्षमा साउदी अरबमा ७ सय ३६ जना नेपाली कामदारको मृत्यु भएको छ । त्यसैगरी कतारमा ६ सय १४, दुबईमा २ सय १५, कुबेतमा ७२, बहराइनमा ४७ र दक्षिण कोरियामा ३१ जनाले ज्यान गुमाएका छन् । यी ६ ओटा देशमा १८ लाखको हाराहारीमा नेपाली कामदार छन् ।

बोर्डको तथ्याङ्कअनुसार सुतिरहेको अवस्थामा ज्यान गुमाउनेहरूको सङ्ख्या सबैभन्दा बढी छ । पछिल्ला ५ वर्षमा वैदेशिक रोजगारीमा रहेका ५ सय १९ जना कामदार सुतिरहेको अवस्थामा मृत भेटिएका छन् । त्यसैगरी, ५ सय १० जना कामदारले प्राकृतिक कारणले ज्यान गुमाएका छन् भने ट्राफिक दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या ३ सय ७१ छ । २ सय ६८ जनाले आत्महत्या गरेका छन् भने १ सय ४६ जना हृदयाघातबाट मरेका छन् । कार्यस्थलमा दुर्घटनामा परी मर्नेको सङ्ख्या १ सय ८६ छ भने अन्य व्यक्तिबाट मारिनेको सङ्ख्या ४६ रहेको छ । वैदेशिक रोजगारीमा गएका कामदारको मुत्यु र अङ्गभङ्ग हुने क्रम बढेको छ ।

सरकारी योजनाहरूले निकै राम्रो व्यवस्था गरेको भए पनि श्रमिककेन्द्रित सुरक्षाका ठोस कार्यक्रम सञ्चालन हुन नसक्दा आप्रवासी कामदारहरू जोखीममा परेका हुन् । जबसम्म विदेशमा नेपालीले ज्यान गुमाउनुपर्ने वा अङ्गभङ्ग हुनुपर्ने कारक तत्त्वहरूको पहिचानका लागि सरकारले अध्ययन गरेर लक्षित कार्यक्रम ल्याउन सक्दैन, त्यो बेलासम्म वैदेशिक रोजगारीको नाममा अझ धेरै नेपाली पीडित भइरहनुपर्ने अवस्था आउँछ ।

वैदेशिक रोजगारीमा गएका नेपालीले सुरक्षाबारे उचित परामर्श र उपाय अपनाउन नसक्दा वैदेशिक रोजगारीमा गएर मृत्यु र घाइते हुनुपरेको छ । यसको रोकथामका लागि वैदेशिक रोजगारीमा जानेहरूका लागि सरकारले विशेष सुरक्षासम्बन्धी तालीम दिएर पठाउनुपर्छ । राष्ट्रको कुल गार्हस्थ्य उत्पादनको २६ प्रतिशत भूमिका रहेको रेमिट्यान्सको रकमबाट अर्थतन्त्रलाई टेवा पुर्‍याएको चर्चा गर्ने सरकारले यसका लागि विदेश भासिएको व्यक्तिगत सुरक्षा र व्यावसायिक सुरक्षामा पनि विशेष ध्यान दिनु आवश्यक छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीले प्रवासमा धेरै सङ्घसंस्था स्थापना गरे पनि सुरक्षित आप्रवासन एवम् पेशागत स्वास्थ्य र सुरक्षाबारे छलफल चलाएका छैनन् । वैधानिक रूपमा काम गरिरहेकाले त बीमाबाट क्षतिपूर्ति पाउलान्, तर अवैधानिक हुन बाध्य परेकाहरूको स्थिति भयावह छ । क्षतिपूर्ति पाउन पनि तिनका परिवारले निकै लामो सास्ती खेप्नुपर्छ । यसर्थ, ट्रेड युनियन र सरकारले सुरक्षित आप्रवासको नीति बनाउनु आवश्यक छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »