अन्तर्वार्ता

२०७३-११-२४ मा प्रकाशित     ७६९ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

प्रादेशिक राजधानीका लागि दाङ उपयुक्त छ

खड्ग बुढाथोकी
उद्योग उपाध्यक्ष, दाङ जिल्ला उद्योग वाणिज्य सङ्घ

दाङ जिल्ला उद्योग वाणिज्य सङ्घले दाङलाई प्रादेशिक राजधानी बनाउन अभियानात्मक रूपमा पहल गरिरहेको छ । प्रदेश नम्बर पाँचको मुख्य केन्द्रबिन्दु र भौगोलिक दृष्टिकोणले दाङ प्रादेशिक राजधानीका लागि उपयुक्त रहेको सङ्घको भनाइ छ । सङ्घका उद्योग उपाध्यक्ष खड्ग बुढाथोकीसँग प्रादेशिक राजधानी, दाङमा लगानीको स्थिति, उवासङ्घको आगामी अधिवेशनलगायत विषयमा केन्द्रित रहेर आर्थिक अभियानका पाण्डव शर्माले गरेको कुराकानी :

दाङ जिल्ला उद्योग वाणिज्य सङ्घले प्रदेश पाँचको राजधानी दाङ हुनुपर्छ भनेर आवाज उठाइरहेको छ । दाङ राजधानी बन्ने आधार के के छन् ?
प्रादेशिक राजधानी बन्न दाङमा धेरै आधार छन् । सबैभन्दा महत्त्वपूर्ण दाङमा प्रादेशिक राजधानीका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणका लागि प्रशस्त जमीन छ । सरकारी स्वामित्वमा रहेका गुठी संस्थानको हजारौं बिगाहा जग्गा दाङमा छ । यसले गर्दा सरकारले मुआब्जामा धेरै लगानी गर्नुपर्दैन । दाङ वातावरणीय हिसाबले निकै उपयुक्त जिल्ला हो । यहाँ ३ सय ६५ दिन नै हवाई उडान गर्न सकिन्छ । मौसम सधैं सफा हुने र तापक्रम पनि त्यति उच्च र न्यून नहुने भएकाले यहाँ राजधानी बनाउन सकिन्छ भन्ने हाम्रो तर्क हो ।

दाङ नै केन्द्र बन्ने आधार के छ ?
प्रस्तावित पाँच नम्बर प्रदेशको पूर्व नवलपरासीदेखि पश्चिममा बर्दियासम्मको भूगोल अध्ययन गर्ने हो भने दाङ मध्य भागमा पर्छ । अर्को कुरा दाङमा दुईओटा उपत्यका छन्, देउखुरी र दाङ । दाङ उपत्यका प्रत्यक्ष भारतको सीमासँग जोडिँदैन । भारत जानका लागि देउखुरी उपत्यका भएर जानुपर्छ । रणनीतिक सुरक्षाका दृष्टिले पनि दाङ राजधानी बन्न उपयुक्त छ । पछिल्लो समय दाङमा धमाधम उद्योग खुलिरहेका छन् । दाङमा औद्योगिक कोरिडोर र विशेष आर्थिक क्षेत्र बनाउन सकिन्छ । राजधानी बन्नका लागि आवश्यक पर्ने सबै कुरा दाङमा छ ।

पछिल्लो समय दाङमा ठूला तथा साना उद्योग खुल्ने क्रम बढेको छ । दाङमा यसरी लगानीकर्ता किन आकर्षित भएका होलान् ?
दाङमा लगानीका प्रशस्त आधार छन् । यहाँको समथर भूमि, उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ र पश्चिम तथा पूर्वका लागि बजार विस्तार गर्न सजिलो हुने भएकाले लगानिकर्ता आकर्षित भएका हुन् । दाङमा मजदूरको पनि कुनै समस्या छैन । अन्यत्रको तुलनामा मजदूरले सस्तो दरमा काम गर्ने भएकाले पनि लगानीकर्ता थप उत्साहित भएका हुन् । सामान निकासी र पैठारीका लागि पनि दाङमा सजिलो छ । लमही–कोइलावास सडक कालोपत्रे हुन थालेको छ । दाङको सदरमुकाम घोराही बजारदेखि भारतको तुलसीपुर बजारसम्म पुग्न करीब ५५ किलोमिटर पर्छ । यसले गर्दा हामीले दुई देशबीच व्यापार गर्न पनि सजिलो छ ।

दाङ जिल्ला उवा सङ्घले दाङमा औद्योगिक कोरिडोर र विशेष आर्थिक क्षेत्रका लागि पहल गरिरहेको छ । तर, हालसम्म किन सरकारले घोषणा नगरेको होला ?
म उद्योग वाणिज्य सङ्घको उपाध्यक्ष भएदेखि सबैभन्दा पहिलो एजेण्डाका रूपमा औद्योगिक कोरिडोर र विशेष आर्थिक क्षेत्रका लागि पहल गरिरहेको छ । हामीले यसका लागि आवश्यक पर्ने जग्गाको व्यवस्था गरिसकेका छौं । सरकारी स्वामित्वको जग्गा भएकाले मन्त्रिपरिषद्बाट जग्गा प्राप्तिका लागि निर्णय गर्नुपर्छ । तत्कालीन उद्योगमन्त्री महेश बस्नेतसहित वर्तमान सभामुख र अर्थमन्त्रीले पनि हामीले प्रस्ताव गरेको स्थानको अवलोकन गरिसक्नु भएको छ । उहाँहरू सबै सकरात्मक हुनुहुन्छ । तर, छोटो समयमा हुने सरकार परिवर्तनले यसका केही अप्ठेरो परेको छ । हामीलाई विश्वास छ अब केही समय भित्र हामीले औद्योगक कोरिडोर र औद्योगिक क्षेत्रको काम सक्नेछौं ।

दाङ जिल्ला उद्योग वाणिज्य सङ्घको अधिवेशन आउँदै छ । तपाई अध्यक्षको तयारीमा हुनुहुन्छ भन्ने बजारमा चर्चा छ । के त्यो चर्चा साँचो हो ?
स्वाभाविक रूपमा उपाध्यक्ष भइसकेको मान्छे त्यो संस्थाको अध्यक्ष बन्न खोज्छ नै । म पनि मेरो व्यक्तिगत आकाङ्क्षाभन्दा पनि साथिभाइको सल्लाहअनुसार अघि बढिरहेको छ । म भन्दा कुनै सिनियर र सक्षम व्यक्ति आउँछ भने मैले उसलाई समर्थन गर्ने कुरा हुन्छ । उद्योग वाणिज्य सङ्घको नेतृत्वमा गएर दाङको समग्र आर्थिक विकास गर्न सकिन्छ भन्ने मेरो सोच हो । अध्यक्ष बन्न खोज्नु मेरो स्वाभाविक आकाङ्क्षा पनि हो ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »