घर संसार

२०७३-११-२७ मा प्रकाशित     १४२१ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

घरायसी सामग्रीको आयु बढाउने तरीका

घरमा लुगा धुने, भाँडा माझ्ने, खाना पकाउनेलगायत काममा विभिन्न उपकरण (अप्लायन्स)को प्रयोग बढी हुन्छ । अहिले फ्रिज, वाशिङ मेशिन, स्टोभ, ओभन आदि आममानिसको दैनिक जीवनका अत्यावश्यक साधन बनिसकेका छन् । यस्ता उपकरणले मानिसको दिनचर्या सजिलो बनाउनुका साथै समय र पैसाको बचतसमेत गरिदिएको छ । यस्ता उपकरण लामो समयसम्म टिकाउन सफाइको निकै आवश्यकता पर्छ । उपकरणको सरसफाइ नियमितजसो गर्नुपर्छ । राम्रो हेरचाह वा मर्मतसम्भार हुन नसक्दा तिनको कार्यक्षमतामा ह्रास आउँछ । उपकरणको सही हेरचाह नहुँदा कतिपय अवस्थामा ठूला–ठूला दुर्घटनासमेत हुने गरेका छन् । प्रस्तुत छ– महत्त्वपूर्ण घरायसी उपकरण तथा तिनको सफाइ गर्ने तरीकाका बारेमा मदन लामिछानेले तयार पारेको एक रिपोर्ट :

वाशिङ मेशिन
- वाशिङ मेशिनको माथिपट्टि कहिल्यै पनि भारी सामान राख्नु हुँदैन । साथै, त्यसमा उभिने, बस्ने गर्नु पनि हुँदैन ।
- मेशिनमा लुगा हाल्दा जहिले पनि सबै खल्तीको चेकजाँच गर्नुपर्छ । मेशिन चलाउनुपूर्व स्टिल, फलाम तथा चुम्बकका सामान निकाल्नुपर्छ ।
- मेशिनमा विशेष किसिमको सर्फको प्रयोग गर्नुपर्छ, जुन मेशिनकै लागि भनेर बनाइएको हुन्छ । सामान्य वाशिङ पाउडरको प्रयोगले मेशिनमा अत्यधिक फिँज आई त्यसले लुगा खुइलिन तथा बिग्रन सक्छ ।
- प्रत्येक पटक मेशिनको प्रयोग गरिसकेपछि त्यसमा रहेको रबर राम्ररी पुछ्नुहोस् । त्यसमा रहेका भाँडाहरूलाई बाहिर निकालेर सुुक्खा बनाउनुहोस् । यो प्रक्रिया नियमित अपनाउनुस्, ता कि त्यसमा फोहोर नजमोस् र चिसोका कारण ढुसी नपरोस् ।
- लुगा धुनेबित्तिकै त्यहाँ भएका सबै लुगाहरू तत्काल मेशिनबाट बाहिर निकालिहाल्नुहोस् । लामो समयसम्म लुगा मेशिनमै रहँदा समयअगावै मेशिनको ड्रम बिग्रन सक्छ ।
- तपाईंको मेशिनमा विशेष प्रकारको सफा गर्ने विशेषता छैन भने महीनाको कम्तीमा एकपटक आफैंले भए पनि मेशिन सफा गर्नुहोस् । खाली मेशिनलाई केही समयका लागि अधिक तापक्रममा चलाएर त्यसलाई सफा गर्नुहोस् । त्यस्तै, मेशिन सफा गर्दा त्यसमा रहेको डिस्पेन्सरमा भिनेगार, कागतीको रसलगायत वस्तु हाल्न नछुटाउनुहोस् ।

रेफ्रिजेरेटर
- रेफ्रिजेरेटर अर्थात् फ्रिज चलाउँदा होशियारी अपनाउन जरुरी हुन्छ । सबैभन्दा बढी ध्यान दिनुपर्ने कुरा फ्रिजलाई ढल्किन नदिनु हो । फ्रिज किनेपछि ४० डिग्रीभन्दा बढी नढल्काई सीधै अवस्थामा घर लैजानुपर्छ । अन्यथा, फ्रिजको कम्प्रेसरबाट तेल चुहिएर फ्रिज बिग्रन सक्छ ।
- घर लग्नासाथ फ्रिज चलाउँदा त्यसमा रहेको कम्पे्रसरबाट तेल चुहिन सक्छ । घरमा लग्दासम्म पनि फ्रिज ढल्केको छैन भन्ने कुरामा विश्वस्त हुन फ्रिज चालू गर्नुपूर्व कम्तीमा ६ घण्टा प्रतीक्षा गर्नुहोस् । यदि शङ्का लागेको छ भने कम्तीमा १५ घण्टा कुरेर मात्र नयाँ फ्रिज प्रयोग गर्नुहोस् ।
- कहिल्यै पनि तातो खाना सीधै फ्रिजमा नहाल्नुहोस् । खानालाई कम्तीमा सेलाउन दिनुहोस् । यसले फ्रिज बिग्रनबाट जोगाउँछ ।
- बजारमा पाइने नयाँ मोडलका फ्रिजमा वर्षको दुईपटक ‘अटो डिफ्रोष्ट’ गर्न जरुरी नहुन सक्छ । कम्तीमा वर्षको एक पटक फ्रिजलाई बन्द गरेर ‘डिफ्रोष्ट’ गर्नाले फ्रिज सफा रहन्छ ।
- फ्रिजको पछाडिको भाग पनि सफा गर्न नभुल्नु होला । सफा गर्दा भ्याकुम क्लिनरको प्रयोग उपयुक्त हुन्छ । त्यसका लागि पहिला फ्रिज बन्द गर्न जरुरी छ ।

राइस कुकर
- राइस कुकरमा चिसो भाँडा कहिल्यै राख्नु हँुदैन । यसले सामानको आयु छोट्याउन सक्छ ।
- राइस कुकरमा चिल्लो नजमोस् तथा खाना नटाँसियोस् भन्नका लागि हरेक पटक त्यसलाई प्रयोग गरिसकेपछि सफा गर्नुपर्छ । राइस कुकर सफा गर्दा जहिले पनि नरम स्पञ्जको प्रयोग गर्नुहोस् ।
- चामललाई कहिल्यै पनि राइस कुकुरको भाँडोमा पखाल्नु हुँदैन । त्यसले कुकरको भित्री भागमा कोरिन सक्छ ।
- कुकरमा खाद्य सामग्री राख्दा जहिले पनि तोकिएको रेखाभन्दा मुनि राख्नुहोस् । यसले राइस कुकरलाई लामो समयसम्म टिकाइराख्न मद्दत गर्छ ।

डिसवाशर
- डिसवाशरमा भाँडा घोप्ट्याएर राख्नुपर्छ ।
- वाशरमा भाँडा राख्नुपूर्व त्यसमा भएको सबै खाना पखाल्नुहोस् । अन्यथा, भाँडामा भएको फोहोर मेशिनमा अड्किएर खराब हुन सक्छ । वाशरमा नयाँ भाडा धुन राख्दा त्यसमा टाँसिएका स्टिकर निकाल्न नबिर्सनुहोस् ।  नत्र त्यसले मेशिनको फिल्टरलाई जाम गर्न सक्छ ।
- वाशरमा भाँडा एकआपसमा नठोकिने गरी राख्नुपर्छ । त्यस्तै, पानी सबैतिर पुग्नेगरी भाँडा मिलाएर राख्नुपर्छ ।
- भाडा धुँदा डिसवाशरमा प्रयोग हुने साबुनको मात्र प्रयोग गनुपर्छ । जुनसुकै साबुनको प्रयोगले मेशिन बिग्रन सक्छ ।
- वाशरमा सानासाना भाँडा नछरिने गरी मिलाएर राख्नुपर्छ । गलत तरीकाले भाँडा राख्दा त्यसले मेशिनमा समस्या ल्याउन सक्छ ।
- मेशिन प्रयोग गर्दा डिस्पेन्सरमा नूनको प्रयोग उपयुक्त मानिन्छ । यसले मेशिनको आयु लम्ब्याउनुका साथै मेशिनले अझ राम्ररी काम गर्न सक्छ ।

माइक्रोवेभ
- माइक्रोवेभमा खाना हल्का तताउँदा एक गिलास पानी साथमा राख्नु राम्रो हुन्छ । उक्त पानीले माइक्रोवेभबाट उत्पन्न हुने विकिरणलाई केही हदसम्म सोस्नुका साथै राम्रो नतीजा प्रदान गर्छ ।
- सकेसम्म माइक्रोवेभको माथि गह्रुँगा सामान राख्नु हुँदैन । राख्नैपरेमा भ्याण्टिलेटरलाई खुलै छोड्नुपर्छ ।
- माइक्रोवेभलाई खाली राखेर कहिल्यै नचलाऔं । यसले माइक्रोवेभको म्याग्नेट्रोनलाई सजिलै बिगार्न सक्छ ।
- माइक्रोवेभमा सकेसम्म ठूला भाँडाको प्रयोग नगर्नुहोस् । (माइक्रोवेभको क्षमताबारे पहिले नै त्यहाँ राखिएको किताबमा जानकारी दिइएको हुन्छ ।)
- माइक्रोवेभमा खाना तताउँदा जुन पायो त्यही भाँडाको प्रयोग नगर्नुहोस् । सानो हेलचेक्र्याइँले पनि आगो लाग्न सक्छ ।
- आवश्यकताभन्दा बढी खाना नतताउनुहोस् ।
- माइक्रोवेभको प्रयोग गरिसकेपछि त्यसमा लागेका खानेकुरा, चिल्लो पदार्थलगायत फोहोर कागतीपानी तथा भिनेगारको प्रयोगद्वारा सफा गर्न सकिन्छ ।

टोष्टर
- टोष्टरलाई कहिल्यै पानीमा नपारौं र त्यसलाई चिसो हातले कहिल्यै नसमातौं । पर्दालगायत बल्ने कुराबाट यसलाई टाढै राख्नुपर्छ ।
- टोष्टर, सुख्खा पाउरोटीका लागि बनाइएको हुँदा यसमा चिल्लो तथा बटर लगाइएको पाउरोटी नराख्नु नै राम्रो हुुन्छ ।
- यदि तपाईं टोष्टरको प्रयोग दैनिक रूपमा गर्नुहुन्छ भने कम्तीमा हप्ताको एकपटक त्यसलाई राम्ररी सफा गर्नुहोस् । सफा गर्दा नरम तथा सुक्खा कपडाको प्रयोग गर्नुस् । साथै, सफा गर्नुपूर्व तार हटाउन नबसिर्नुहोस् ।

ब्लेण्डर
- तातो खानेकुरालाई सीधै ब्लेण्डरमा नहाल्नुहोस् । कम्तीमा त्यसलाई सेलाउन दिनुहोस् ।
- ब्लेण्डरको प्रयोग गर्दा जहिले पनि त्यसमा भएको तरल पदार्थलाई मोटरमा छिर्नबाट बचाउनुहोस् । त्यस्तै, ब्लेण्डरलाई पानीमा नपखाल्नुहोस् । सफाइका लागि सकेसम्म सुक्खा कपडाको प्रयोग उचित हुन्छ ।
- ब्लेण्डरलाई धेरै समयसम्म एकनासले नचलाइरहँदा त्यसभित्र रहेको मोटर तातेर सामानको आयु छोट्याउन सक्छ ।
- तरकारी टुक्र्याउन ब्लेण्डरको प्रयोग उचित मानिदैन ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »