अन्तर्वार्ता

२०७३-११-२९ मा प्रकाशित     १५६७ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

रणनीतिक साझेदार आए पनि, नआए पनि निगम अगाडि बढ्छ

सुगतरत्न कंसाकार
महाप्रबन्धक, नेपाल वायुसेवा निगम

नेपाल सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय ध्वजावाहक कम्पनी नेपाल वायुसेवा निगम पछिल्लो समय चर्चामा छ । सँगसँगै शुरू भएका अन्य देशका विमान कम्पनीको तुलनामा निकै पछि परेको निगमले हालै आएर विमान थप्दै आफ्ना राष्ट्रिय तथा अन्तरराष्ट्रिय गन्तव्यमा उडान पनि बढाउँदै जान थालेपछि यसको अवस्था क्रमशः सुधारोन्मुख देखिँदै छ । डुब्यो भन्ने अवस्थामा पुगेको निगमले चालू आर्थिक वर्षको पहिलो ६ महीनामै १९ करोडको हाराहारीमा नाफा कमाइसकेको छ । निगम अहिले दुईटा एयरबस खरीद गर्ने प्रक्रियामा छ भने केही चिनियाँ विमान ल्याएर उडान थालिसकेको छ । यसै सेरोफेरोमा निगमको वर्तमान अवस्था र भावी रणनीतिबारे नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसँग अभियानकर्मी टीपी भुसालले गरेको कुराकानी :

नेपाल वायुसेवा निगमले खरीद गर्ने भनेका दुईओटा वाइडबडी एयरबस विमान खरीद प्रक्रिया कहाँ पुग्यो ?
विमान खरीद प्रक्रिया करीबकरीब अन्तिम चरणमा पुगेको छ । हामीले बैना रकमस्वरूप १० करोड रुपैयाँ पठाइसकेका छौं । अब पर्चेज एग्रिमेण्टको काम गर्नुपर्ने हो । त्यसका लागि तीनओटा कम्पनीको ज्वाइण्ट भेञ्चरसँग एग्रिमेण्ट गर्नुपर्छ । त्यो ज्वाइण्ट भेञ्चरमा अमेरिकाको एएआर, पोर्चुगलको हाईफ्लाई र जर्मनीको जर्मन एभिएसन क्यापिटल छन् । ती कम्पनीका प्रतिनिधि केही दिनमै नेपाल आउँदै छन् । तीमध्ये जर्मन एभिएसन क्यापिटलले तीनओटै कम्पनीको तर्फबाट टेण्डर हालेको हो । त्यससँग हाम्रो इमेल पत्राचार भएको छ । त्यसमा हाम्रो तर्फबाट २/३ ओटा र उनीहरूको तर्फबाट पनि २÷३ ओटा कैफियतहरू छन् । त्यसमा छलफल हुन्छ र त्यसपछि पर्चेज एग्रिमेण्ट हुन्छ र हाम्रो अपेक्षा भनेको आउँदो जनवरी र मार्चको बीचमा दुईओटै विमान नेपाल आउँछन् भन्ने हो । समग्रमा भन्दा हामी अब विमान आउने निकै नजिक पुगेका छौं ।

निगमले यी विमानहरू प्रचलित मूल्यभन्दा निकै सस्तोमा ल्याउँदै छ भन्ने बाहिर आएको छ । कसरी सम्भव भयो त्यो ?
निकै सस्तो त नभनौं, तर सस्तोचाहिँ पर्ने भयो । सस्तो कसरी भयो भन्ने विषयमा लेखा समितिमा पनि सोधिएको थियो । एयरबसको वेबसाइटमा हेर्दा उसले राखेको मूल्य २ सय ३० मिलियन डलर रहेछ । तर, उसले हामीलाई दिने मूल्य १ सय ४ मिलियन डलर पर्ने भो । यसले गर्दा हाम्रो सस्तो देखियो । एभिएशन व्यापारमा के हुँदो रहेछ भने उनीहरू केहीले क्याटलग मूल्य र केहीले लिष्टेड मूल्य भनेर राख्दा रहेछन्, जुन मूल्य दिने मूल्यभन्दा करीब आधा हुँदो रहेछ । यस्तो उनीहरूले किन गर्छन्, मलाई व्यक्तिगतरूपमा थाहा पनि भएन । यस्तो हुँदो रहेछ । तर, यहाँ शङ्का के भयो भने आधा जस्तो मूल्यमा विमान आउने भएपछि पुरानो विमान डेण्टिङ, पेण्टिङ गरेर ल्याउँदै छन् कि ? तर, हामी ढुक्क छौं त्यसो होइन । ३३० एयरबस बनाउने कम्पनी संसारमा उही मात्र रहेछ । हामीले उसैको कम्पनीमा बनेको नयाँ विमान सीधै उडाएर नेपाल ल्याउने हो । यी प्राविधिक कुराले गर्दा हामीले किन्ने विमान सस्तो दखिएको हो ।

अब निगमले अन्तरराष्ट्रिय उडानमा एयरबस मात्र प्रयोग गर्ने भयो हैन त ?
दुईटा यो एयरबस आएपछि हामीसँग चारओटा एयरबस हुन्छन् । हामीसँग अहिले उडानमा रहेको एउटा बोइङ छ । यी दुईटा एयरबस आएपछि चलिरहेको बोइङ पनि हामीले एक/डेढ वर्षमा अन्तरराष्ट्रिय टेण्डर गरेर लिलाम गछौं । अर्को एसीए बोइङ छ हामीसँग, त्यसको लिलामीका लागि हामी अब छिट्ट्रै प्रक्रियामा जाँदै छौं । यही फागुन २३ गतेको बोर्ड बैठकले लिलामको लागि सूचना प्रकाशन गर्ने निर्णय गरेको छ । अब हामी १/२ दिनमै लिलामका लागि ग्लोबल टेण्डर गरी सूचना प्रकाशित गर्दै छौं । जसले बढी टेण्डरविड गर्छ, उसैलाई दिने हो । यो पनि उड्ने अवस्थामै रहेको विमान हो । जसले किन्छ, उसले उडाएरै यसलाई अमेरिकासम्म पुर्‍याउन सक्छ । एभिएशनमा एउटा मान्यता के छ भने एउटा विमान उत्पादन गर्ने कम्पनी समातेपछि त्यसैका विमानलाई मात्रै प्रयोग गर्ने । यसो गर्दा सञ्चालन खर्च कम हुन्छ, सञ्चालनमा सहजता हुन्छ । हामी पनि त्यही गर्दै छौं ।

निगमसँग हाल वार्षिक ३ लाख ५ सय ६४ सिट क्षमता बराबरको अन्तरराष्ट्रिय उडान गर्ने अधिकार भए पनि ७५ हजार सिटमात्र प्रयोग गर्न सकेको छ । पूर्ण क्षमता प्रयोग गर्न कति विमान चाहिन्छ र त्यो अवस्था कहिले आउँछ ?
अहिलेसम्म हाम्रो अन्तरराष्ट्रिय बजार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले धानेको छ । यसमा हाम्रो बजार हिस्सा १० प्रतिशत मात्र हो । अरू ९० प्रतिशत त अन्य विदेशी कम्पनीहरूले लिएका छन् । त्यो बजार लिनका लागि त पहिले हामीलाई विमान चाहियो । बजार लिन नसकिने भन्ने होइन, सकिन्छ । हामीकहाँ त कस्तो अवस्था रहेको छ भने कामदार छन्, काम गर्ने साधन छैन । दुईटा विमान छ, २४ घण्टा उडेको छ । तर, काम खोई भन्छन् । २४ घण्टा उडेको जहाजलाई दैनिक २६ घण्टा उड् भनेर हुन्छ र ?

नयाँ विमान खरीद गरेपछि निगमका युरोप र एसियाका पुराना महत्त्वपूर्ण गन्तव्यमा उडान गर्ने योजना र ५ ओटा देशसँग हवाई सम्झौता (एएसए) थप गर्ने भनिएको योजना कसरी अगाडि बढ्छ ?
दुई विमान आउनासाथ पुराना गन्तव्यमा हामी क्रमशः अगाडि बढ्छौं । कोरियाले अहिले नै हामीलाई उडानका लागि ‘स्लट’ दिइसक्यो । विमान आएको अर्को हप्ता नै हामी त्यहाँ उडान थाल्न सक्छौं । हामीले कोरियाका लागि व्यावसायिक तयारी शुरू गरिसकेका छौं । कोरियामा हप्तामा दुईटासम्म उडान गर्ने सोचमा छौं । त्यस्तै, अर्को बजार भनेको साउदी अरेबिया हो, जहाँ ४/५ लाख बढी नेपाली छन् भन्ने अनुमान छ । त्यहाँबाट अहिले नेपालमा सीधै उडान पनि नभएकोले त्यो पनि हाम्रो लागि राम्रो गन्तव्य हुन सक्छ । अर्को, जहाँ अहिले हाम्रा दुईटा बोइङले उडान गरिरहेका छन्, ती स्थानमा पनि उडान थप्न सक्छौं । अहिले हामी जम्मा आठओटा गन्तव्यमा मात्र पुगेका छौं । ती ठाउँमा पनि एयरबस आएपछि थप उडान गर्न सकिन्छ । अर्को हाम्रो टार्गेट अष्ट्रेलिया र न्युजिल्याण्ड पनि हो । ती दुवै देश राम्रो प्रतिव्यक्ति आय भएका मुलुक भएकाले पर्यटक भित्र्याउन सकिएमा राम्रै हुन्छ । अष्ट्रेलियामा नेपालीको सङ्ख्या ठूलै छ । त्यहाँबाट नेपाल आउने भाडा अत्यधिक महँगो भयो भन्ने गुनासो आइरहेको छ । त्यहाँबाट दिल्ली, जयपुर, फुकेत, बाली आउन सस्तो तर काठमाडौं आउन महँगो छ । त्यसकारण हामी त्यहाँ टार्गेट गरिरहेका छौं । तर, हाम्रो अष्ट्रेलियासँग हवाई सम्झौता नभएकोले मन्त्रालयले यसबारे पहल गरिरहेको छ । अर्को जापान हो । जापानको ओशाका त हाम्रो पुरानै गन्तव्य हो । त्यसबाहेक हानेडा र नारिता पनि ठूला विमानस्थल हुन्, त्यहाँ जान पनि पहल हुनेछ । यी तीनमध्ये कुनै दुईसम्ममा हामी जान सक्छौं होला । यसरी हाम्रो गन्तव्यलाई विस्तार गर्नेखालको एएसए गर्ने तयारीमा पनि छँदै छौं ।

नेपालले ३ वर्षदेखि युरोपेली युनियन (ईयू) को सेफ्टिलिष्टबाट हट्न गरेको प्रयास सफल हुन सकेको छैन । यो अवस्थामा युरोपमा उडान गर्ने निगमको प्रयास कसरी सफल होला ?
ईयूको सेफ्टिलिष्टबाट नहटेसम्म त्यो सम्भव छैन । तर, हाम्रो आशा के हो भने हामीसँग विमान आइपुग्दासम्म त्यो सेफ्टिलिष्टबाट हट्छौं । केही समय अघिमात्र हाम्रो परराष्ट्रमन्त्री ब्रसेल्स भ्रमणमा गएको बेला उहाँले त्यहाँको उच्च नेतृत्वसँग यसबारे छलफल गर्नुभएको छ । त्यस्तै, आईकाओको बैठकमा जाँदा पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही र मैले पनि कुरा उठाएका छौं । हामीलाई अन्याय भयो भनेका छौं । यसबारे सबैतिर हामीले लबिङ गरिरहेकोले हामी त्यो लिष्टबाट हट्छौं भन्ने विश्वास हो । फेरि नेपाल एयरलाइन्ससँग ५८ वर्षको इतिहास छ । हामीसँग विश्वस्तरीय सुरक्षा व्यवस्था छ । त्यस्तो, कुनै ठूलो कारण पनि छैन, जसले गर्दा हामी सुरक्षा प्रणाली कायम गर्न सक्दैनौं । हामी मात्र होइन, अन्य मुलुक पनि त्यो सूचीमा रहेछन् । जे होस्, हाम्रो प्रयत्न जारी छ, किनभने युरोप उडान व्यावसायिक दृष्टिले पनि फाइदाजनक छ हामीलाई । अहिलेसम्म त्यहाँबाट यहाँ आउने सिधा उडान पनि छैन । अन्तरराष्ट्रिय मान्यताअनुसार के हुन्छ भने कुनै पनि दुई देशबीच सीधा उडानका लागि त्यही देशमध्ये एक देशमा दर्ता भएको एयरलाइन्स हुनुपर्छ । त्यसैले या हामी सीधै लण्डन जान सक्छौं या ब्रिटिश एयर यहाँ आउन सक्छ । अर्को कुरा, हामी एयरबसबाट सीधै त्यहाँ जान सक्छौं । यसको क्षमतामा साढे १० देखि ११ घण्टा सीधै उडान गर्न सक्नेछ अर्थात् हामी विनाट्राञ्जिट सीधै लण्डन जान सक्छौं । अन्तरराष्ट्रिय बजारमा हाम्रो बजार हिस्सा अहिले १० प्रतिशत जति छ, एयरबस आएपछि त्यसलाई बढाएर १५ देखि १७ प्रतिशतसम्म पुर्‍याउन सकिन्छ भन्ने अनुमान हो ।

निगमको आन्तरिक उडानका लागि केहीअघि अनुदानमा ल्याइएका चिनियाँ जहाजमा बारम्बार समस्या देखिने गरेको छ । यसैबीच हालै दुईटा जहाज आए र थप दुई आउने प्रक्रियामा छन् । यी विमानहरूको उडान र यिनमा देखिने समस्यालाई कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
चाइनिज विमानको हकमा समस्या दुवैतर्फका केही कमीकमजोरीका कारण भएको हो । हामीले पनि समयमै पाइलट तयार गर्न नसकेको हो । अहिले स्पेयर पार्ट्स र केही प्राविधिक सपोर्ट कम भएको कारण हामीले फूल सेड्युल नबनाई आधा बनाएर काम गरेका छौं । जस्तो दुईटा भने पनि १ दशमलव ५ को हाम्रो सेड्युल बनाउछौं, ताकि कामको प्रभावकारितामा कमी नआओस् । अर्को कुरा विमानको समस्या होइन, हामीकहाँ चाइनिजको लजिष्टिक सपोर्टको कमीको कुरा मात्र हो । चाइनिज इञ्जिनीयरहरू एक शब्द नेपाली नबोल्ने हामी एक शब्द चाइनिज नबोल्ने भाषागत समस्या भयो । तैपनि उनीहरूले हामी तपाईंलाई सपोर्ट गर्छौं भनेका छन् । यो समस्या क्रमशः समाधान हुन्छ । जहाजको इञ्जिन अमेरिकन हो । थप आउने चाइनिज विमानको हकमा पाइलटको व्यवस्था नगरेसम्म अहिले नै नल्याउने भन्ने छ । तर, हामीले पाइलटको लागि विज्ञापन गरिसकेका छौं । नेपाल सरकार र चाइनिज सरकारबीच भएको सम्झौताअनुसार यी विमान आउने हुन् । चिनियाँले आफूहरूले गर्नुपर्ने काम गर्छु भनेका छन् । समयमा पाइलट तयार पार्न नसक्दा समस्या भएकै हो । त्यहीकारण पनि २ वर्षसम्म त हामी थप चाइनिज विमान ल्यााउने कि नल्याउने भन्ने अन्योलमै रह्यौं । पर्यटनमन्त्रीमा जीवनबहादुर शाही आएपछि सरकारले विमान ल्याउनुपर्छ भन्ने निर्णय गरेपछि दुई थप विमान ल्याएको हो । अहिले पनि हामीले आन्तरिकतर्फ २६ ओटा गन्तव्यमा उडान गरिरहेका छौं । जुन नेपालको सबैभन्दा बढी हो । नेपालमा सबैभन्दा बढी एयरक्राफ्ट भएको निजी विमान कम्पनीले पनि हालसम्म जम्मा ११ ओटा गन्तव्यमा मात्र सेवा दिइरहेका छन् । हामी हाम्रो सेवालाई सुदृढ गर्ने दिशामा काम गरिरहेका छौं ।

निगमलाई थप सुदृढ बनाउन निगमसँग केके योजना छन् ?
आन्तरिक र बाह्य दुवैमा हामी क्रमशः अगाडि बढ्दै छौं । आन्तरिकमा के छ भने हामी अहिले २६ ओटा गन्तव्यमा गइरहे पनि आम नेपालीको चाहना र निगमसँगको अपेक्षाचाहिँ निजी कम्पनीहरू नगएको वा जान अप्ठ्यारो मानिरहेको ठाउँमा पनि निगमले उडान गर्नुपर्छ । किनकि यो सरकारी कम्पनी हो । मलाई पनि यो जायज हो भन्ने लाग्दछ । सबै कुरा नाफा मात्र होइन । हामीकहाँ यस्ता गाउँहरू छन्, जहाँबाट काठमाडौं आउन ५/६ दिन लाग्छ । त्यस्तो ठाउँमा उडान गर्दा त्यसको सामाजिक आर्थिक विकासलाई टेवा नै पुग्दछ । हामीले नाफा त अन्तरराष्ट्रिय उडानमा गर्न सक्छौं । त्यो नाफाबाट पनि आन्तरिक उडानमा सहयोग गर्न सक्छौं । मैले लेखा समितिमा पनि यही कुरा राखेको छु । दुईजना मात्र यात्रु भए पनि उडान गर्नुपर्छ । अर्को कुरा अन्तरराष्ट्रिय उडानमा हाम्रो आठओटा गन्तव्यमध्ये मुम्बईबाहेक अन्यमा राम्रो अक्युपेन्सी छ । हालैको एउटा तथ्याङ्कले के देखायो भने निजी कम्पनीको ती ठाउँमा ७० दशमलव प्रतिशत रहेछ भने निगमको ७० दशमलव ५ प्रतिशत । त्यसकारण अहिले नै हामी निजी कम्पनीभन्दा राम्रो गरिरहेका छौं । निगमले कहाँ वाइडबडी विमान चलाउन सक्छ भन्ने पनि केही व्यक्ति छन् । तर, किन नसक्ने ? २ सय देशले हजारौं एयरलाइन्स चलाउन सक्ने हामीले नसक्ने ? किन नसक्ने ? नेपालीहरू मङ्गलग्रहबाट आएका हुन् र ? त्यो मानसिकता त्याग्नुपर्छ । २० वर्ष पहिले हामीले पनि हेप्ने गरेको मुलुक इथोपियासँग अहिले ७४ ओटा आफ्नै विमान रहेछन् । राम्रोसँग चलाएर देखाएका छन् । त्यो पनि, कुनै पनि कन्सल्टेन्सी नलिईकन । गर्‍यो भने सकिन्छ । हामी गर्छौं, गर्नुपर्छ ।

संसद्को सार्वजनिक लेखा समितिले ३ महीनाभित्र रणनीतिक साझेदार नियुक्त गरिसक्नु भनी पर्यटन मन्त्रालय र नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ । लेखा समितिको बैठकमा तपाईंले नयाँ जहाज खरीद र रणनीतिक साझेदार एकै समयमा आउने भन्नुभएको छ । यो कामलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?
रणनीतिक साझेदार भित्र्याउने कुरा अलि जटिल छ । यसका लागि हाम्रो व्यवस्थापनले आफ्नो धारणा सञ्चालक समितिमा पेश गरिसकेको छ । त्यहाँबाट पनि यो नेपाल सरकारको स्वामित्वको कम्पनी भएकोले यसको निर्णय गर्ने जिम्मा पर्यटन मन्त्रालयमा पुगेको छ । त्यहाँ यस विषयमा निर्णय गर्न सहसचिवको नेतृत्वमा एउटा समिति बनेको छ । निगमबाट पनि त्यसमा दुईजना सहभागी हुनुहुन्छ । नेपाल सरकारको मेशिनरीभित्र रणनीतिक साझेदार भित्र्याउने कुरा पहिलोपटक छलफलमा छ । आजसम्म कुनै पनि कम्पनीमा यस प्रकारको प्रयोग भएको छैन । यदि यो ‘क्लिक’ भएर राम्रो भयो भने एउटा उदाहरण बन्न सक्छ । तर, यो त्यति सजिलो विषय होइन । अब नयाँ जहाज खरीद र रणनीतिक साझेदार एकै समयमा आउने भन्ने कुरा अहिल्यै भन्न सकिँदैन । रणनीतिक साझेदार आए पनि नआए पनि हामी अगाडि बढ्नुपर्छ । आए राम्रो तर यो सजिलो विषय छैन र उसले नाफामा होइन, आयमा मलाई हिस्सा चाहिन्छ भन्यो भने त्यसले त हामीलाई फाइदा दिँदैन । अर्को कुरा, नेपालको निर्णय गर्ने काम अति ढिला हुने भएकोले के हुन्छ अहिले भन्न सकिँदैन ।

रणनीतिक साझेदारले निगमको व्यवस्थापन सुदृढीकरणका लागि काम गर्ने मोडल कस्तो हुन्छ ?
यसमा शेयर बेसिसमा काम गर्ने भन्ने नै हो । त्यसमा नाफा वा आयमा बाँडफाँट हुन्छ । उनीहरूलाई रकम दिएर हायर गर्नेभन्दा पनि उनीहरू आएर निगम राम्रोसँग चलाएर नाफा कमाएर, कमाएको नाफाबाट निश्चित प्रतिशत लिने भन्ने हो । यो नेपाल बैङ्क लिमिटेड, राष्ट्रिय वाणिज्य बैङ्क जस्तो व्यवस्थापन करारमा लिए जस्तो होइन । तर, हामी अहिले रणनीतिक साझेदार ल्याउन ढिला भए पनि पर्खेर नबसौं भन्नेमा छौं । यसलाई सुधार गर्ने सिलसिलामा हाम्रो आग्रह मानेर एयरबसले १ मिलियन डलर जति सहयोग गरेर हामीलाई ४ जना जति विशेषज्ञ पठाइदियो । उनीहरूले ३/४ महीना काम गरेर हामीलाई एउटा दस्तावेज दिएर गएका छन् । त्यसैको आधारमा हामीले ३ हप्ताअघि अपरेशनतर्फ एकजना विशेषज्ञ नियुक्त गरेर काम अगाडि बढाएका छौं । त्यस्तै, इञ्जिनीयरिङतर्फ पनि गर्दै छौं । यसो गर्दा हामी ईयूको सेफ्टिलिष्टबाट चाँडै निस्कन सक्छौं भन्ने अपेक्षा छ । ईयूले अपरेशनमा यूरोपियन मापदण्ड पूरा हुनुपर्‍यो भनेको छ । नेपाल जस्तो मुलुक त्यो पनि सरकारी निकाय १/२ दिनमै युरोपियन मापदण्डमा पुग्छु भनेर पनि सम्भव भएन । तर पनि हामीले के भनिरहेका छौं भने जति मेहनत लागोस्, जति पैसा खर्च होस्, हामी त्यो मापदण्ड पूरा गर्छौं । सुरक्षाको विषय भएकोले यसको अनुशरण गर्नुपर्छ पनि । किनकि, सुरक्षा भनेको मानवीय संवेदनशीलतासँग जोडिएको हुन्छ ।

निगमले लामो समयपछि चालू आवको पहिलो ६ महीनामा नाफा आर्जन गर्न सफल भएको छ, यो कसरी सम्भव भयो ?
हामीले थपेको वाइडबडी विमान, कर्मचारीहरूको मनोबल र कार्यक्षमता, सरकारको सहयोग र इन्धनको खर्चमा बचतका कारण नाफा प्राप्त भएको हो । दुईटा बोइङ बैङ्कक पुग्दा खपत हुने इन्धनको तुलनामा एयरबसमा २० प्रतिशत कम खपत हुन्छ । हामीले हाम्रो कार्यक्षमता विस्तार गर्ने र व्यवस्थापन सुधार गर्दै जाने हो । व्यवस्थापन सुधार भनेको निरन्तर प्रक्रिया हो । यसबाहेक हामीले अन्तरराष्ट्रिय टिकटिङलाई ३ महीनाभित्रै अनलाइनमै लैजाँदै छौं । यसले ठूलो प्रभाव पार्छ । कागजी कामकारबाही र अभिलेखलाई पनि डिजिटल बनाउनेतर्फ गइरहेका छौं । यी सबै कामले आउँदा दिनमा निगमलाई थप सुदृढ गराउँदै लान्छ । त्यसकारण नेपाल एयरलाइन्सको भविष्य राम्रो हुन्छ भन्ने मेरो विश्वास छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »