प्रविधि

२०७३-११-३० मा प्रकाशित     २७६० पटक पढिएको    ० बिचार / प्रतिक्रिया

आईफोनको ब्याट्री यसरी सेभ हुन्छ

मोबाइल फोनमा सबैभन्दा उत्कृष्ट मोबाइल भनेर परिचित आईफोनको अवगुण भनेकै ब्याट्री चाँडै सकिनु हो ।  आईफोनको ब्याट्री सानो हुने भएकाले सामान्यतया चाँडै सकिने गर्छ । यसबाहेक फोनमा भएका एप्सले पनि ब्याट्री खपत गरिरहेको हुन्छ । तर, आईफोन कम्पनीले भने खुलिरहेका एप्सले आईफोनको चार्जलाई कुनै प्रभाव नपार्ने बताउँदै आएको छ ।

अन्य स्मार्टफोनमा भने खुलेका एप्स बन्द गर्दा ब्याट्रीको चार्ज धेरै समयसम्म टिक्ने गर्छ । नोकिया लुमियामा पनि प्रयोग नगरिएका एप्स बन्द गर्दा ब्याट्री बच्ने बताइएको छ । एण्ड्रोइड निर्माणकर्ता गूगलले पनि नियमित प्रयोग नगरिने एप पत्ता लगाएर बन्द गर्दा ब्याट्रीमा धेरै समयसम्म चार्ज टिक्ने उल्लेख गर्दै आएको छ ।

आईफोन प्रयोगकर्ताहरू पनि आईफोनको ब्याट्री धेरै बेरसम्म टिक्ने आशाले एप्स बन्द गर्छन् । तर, कम्पनीले भने यस्तो गर्नाले ब्याट्री बचतमा केही फरक नपर्ने जानकारी दिएको छ । आईफोनमा ब्याट्री चाँडै सक्न नदिन ‘ब्याकग्राउण्ड रिफ्रेश’ गर्ने एपलाई भने बन्द गर्नुपर्छ । यसैगरी फेसबुक एपले आईफोनको ब्याट्री चाँडै सकिने र ब्राउजरबाट फेसबुक चलाएमा ब्याट्री बच्ने तथ्य बाहिर आइसकेको छ ।

आवश्यकता नपरेको बेला वाईफाई बन्द गरेमा पनि ब्याट्रीको बचत हुनेछ । यस्तै, भाइब्रेशन अफ गर्दा ब्याट्री बढी समय टिक्छ ।  

पावर सेभिङ मोड प्रयोग गर्दा र स्क्रिन टाइमआउट कम गर्दा पनि ब्याट्रीको बचत हुनेछ । यति गर्दा पनि आईफोनको चार्ज सकिहालेमा सामान्य गतिभन्दा छिटो चार्ज गर्न सकिन्छ । आईफोनमा फाष्ट चार्जिंङको प्रविधि नभए तापनि केही उपाय अपनाएर छिटो चार्ज गर्न सकिन्छ । यसका लागि आईप्याडको पावर एडप्टर प्रयोग गर्न सकिन्छ । आईफोनको चार्जरभन्दा आईप्याडकोे एडप्टरले छिटो चार्ज गर्ने क्षमता राख्छ ।  सामान्यतया आईफोनको चार्जरले करीब ३ घण्टामा आईफोन पूरा चार्ज गर्छ भने आईप्याडको एडप्टरले करीब २ घण्टामै आईफोन पूरा चार्ज गर्छ ।

यसैगरी फ्लाइट मोडमा आईफोन चार्ज गरे पनि दु्रत गतिमा चार्ज हुने गर्छ । यसले फोन चार्ज गर्ने समय पनि घटाउँछ । एयरप्लेन मोड खोलिसकेपछि भने फोन कल, म्यासेज रिसिभ गर्न वा कल गर्न सकिँदैन । यो मोडमा इण्टरनेट पनि चलाउन नसकिने भएकाले यो त्यति फलदायी भने हुँदैन ।

ब्याट्री बचाउने केही तरीका
- आईफोनको सेटिङमा गई ब्याट्री मोडमा जानुपर्छ । यसपछि विगत २४ घण्टा र ७ दिनको अन्तरालमा कुन एप्सले कति प्रतिशत ब्याट्री खपत गरेको छ भनेर यकिन गर्नुहोस् । यदि फेसबुकले बढी खपत गरिरहेको छ भने एप बन्द गर्ने, फेसबुक ब्याकग्राउण्ड अफ गर्ने वा नोटिफिकेशन अफ गर्नुपर्छ । त्यसका लागि सेटिङमै गएर ब्याट्री मोडमा जानुपर्छ । त्यहाँ लो पावर मोड अप्शन अन गर्दा पनि ब्याट्री खपत कम हुने गर्छ ।

- सेटिङमा गएर जनरलमा ब्याकग्राउण्ड एप रिफ्रेशलाई अफ गरेमा पनि ब्याट्रीको बचत हुन्छ । यसले मोबाइलको स्पिड बढाउन समेत सघाउँछ । फोन क्लिन एप डाउनलोड गरेर मोबाइलमा रहेका जङ्क फाइलहरू डिलिट गर्दा पनि ब्याट्री टिक्ने गर्छ ।

- फोनको सेटिङमा गई त्यहाँभित्र ब्राइटनेश कम गर्ने । यसो गर्दा ब्याट्री चाँडै सकिँदैन ।

- फोनको होम बटन छिटोछिटो दुईचोटि थिच्ने र त्यहाँ खुलिरहेका अनावश्यक एप अफ गर्नुहोस् । यसो गर्दा ब्याकग्राउण्ड रिफ्रेश हुन नपाई केही हदसम्म भए पनि ब्याट्रीको खपत कम हुन्छ ।

- आईफोनको सेटिङमा गई जनरलमा छिरेर अटोलक चाँडो हुने गरी मिलाएमा पनि ब्याट्रीको बचत हुन्छ ।

- मोबाइलको वाईफाई र डाटा अनावश्यक समयमा अफ गर्दा पनि ब्याट्री चाँडै सकिदैन ।

- मोबाइलको लोकेशन सर्भिस अफ गर्नुहोस् । यसका लागि सेटिङमा गई लोकेशन सर्भिसलाई अफ गर्नुपर्छ । यसले पनि ब्याट्री बचतमा सहयोग पुग्छ ।

- आईओएस भर्शन अपग्रेड गर्दै जानुपर्छ । अहिले आईओएस १०.३ मा आईफोन चल्ने गर्छ । यसका लागि समय–समयमा सफ्टवेयर अपडेट गरिराख्नुपर्छ ।

- मोबाइलको ब्लुटुथ अफ गरेमा पनि ब्याट्रीको समयावधि बढ्छ ।

- मोबाइलको हटस्पट खुलिरहेको भए पनि ब्याट्री चाँडै सकिने भएकाले आवश्यक नहुँदा त्यसलाई बन्द गर्नुपर्छ ।

प्रस्तुति : पूर्णभक्त दुवाल


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »