सम्पादकीय

२०७३-१२-३ मा प्रकाशित     २८५ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

‘वित्तीय, सामाजिक र मानवीय मूल्यहरूबीच सन्तुलन’ भन्ने मूल नाराका साथ चौथो राष्ट्रिय लघुवित्त सम्मेलन २०७३ राजधानीमा जारी छ । नारामा भनिएजस्तै लघुवित्त बैङ्किङ कारोबार गर्ने मात्र होइन, सामाजिक तथा मानवीय मूल्यमान्यता स्थापित गराउने संस्था पनि हो । तर, हामीकहाँ लघुवित्तलाई सानो तहको बैङ्क भनेर व्यवहार गरिने गरिन्छ  । यही कारण त्यस्ता संस्थालाई नाफामुखी संस्था ठानी फरक व्यवहार गर्ने गरिन्छ । यो सम्मेलनका क्रममा लघुवित्त संस्थाहरूले सामना गर्नुपरेका प्रमुख समस्या, मुद्दा, चुनौती तथा कठिनाइहरूबारे नियामक र सेवाप्रदायकबीच छलफल भई उचित समाधान पहिल्याउने अपेक्षा गरिएको छ ।

लघुवित्त संस्था विकास संस्था हो । यसले समाज सेवाको उद्देश्य पनि लिएको हुन्छ । अहिले हामीकहा“ अरू वित्तीय संस्थाहरूलाई लागू हुने ऐनमा केही प्रावधान थप गरेर त्यहीअन्तर्गत लघुवित्त संस्थाहरू सञ्चालन भइरहेका छन् । त्यसले लघुवित्तको मूल उद्देश्यलाई पूरा गर्न पर्याप्त सहयोग गरेको छैन । केन्द्रीय बैङ्कको अधीनमा रही बैङ्किङ कारोबार पनि गर्ने भएकाले यसको नियमन नेपाल राष्ट्र बैङ्कले गर्दै आएको छ र त्यसैका आधारमा मूल्याङ्कन पनि गरिएको छ । तर, लघुवित्तलाई बैङ्किङ कारोबारभन्दा बाहिरका महत्त्वपूर्ण कार्य गर्न अहिले कायम प्रावधानले गर्दा निरुत्साहन भएको छ । यसका लागि राष्ट्र बैङ्कले फरक संरचना तयार पार्नुपर्छ । अथवा छुट्टै विभागको व्यवस्था गरी लघुवित्तका कामकारबाहीको मूल्याङ्कन गर्नुपर्छ । लघुवित्त संस्थालाई दोस्रो तहको बैङ्क भन्दै नियामक निकाय छुट्टै बनाउने कुरा आएको थियो । त्यो पनि कार्यान्वयनमा आएको छैन ।

अहिले नेपालमा लघुवित्तको कडा विरोध भइरहेको छ । केन्द्रीय बैङ्कका गभर्नर नै  लघुवित्तको कडा आलोचनामा उत्रिएका छन् । लघुवित्त संस्थाहरू नाफामुखी भएको र ग्रामीण क्षेत्रमा नगई शहरकेन्द्रित भएको तथा राष्ट्र बैङ्कले तोकिदिएको अधिकतम ब्याजदरभन्दा बढी ब्याज लिएको उनको आरोप छ । नियमन गर्ने क्रममा राष्ट्र बैङ्कले वित्तीय संस्थाहरूलाई स्प्रेड दर पनि तोकिदिएको छ । तर, त्यस्तो नियम अरू बैङ्कलाई लगाउनुपर्ने नियम हो । लघुवित्तले ग्रामीण क्षेत्रका दूरदराजमा सेवा प्रवाह गर्नुपर्ने भएकाले त्यस्तो नियमको कुनै सान्दर्भिकता रहँदैन ।

लघुवित्तको नियमन तथा नियन्त्रण गर्ने आधार भनेको उसले कतिलाई गरीबीको तहबाट माथि उकास्न सफल भयो भन्ने हुनुपर्छ । त्यस्ता लघुवित्तले कतिलाई उद्यमी बनाए र केकति लघुवित्तहरूले दुर्गममा सेवा पु¥याए भन्ने कुरा पनि हेर्नुपर्छ । दुर्गम ग्रामीण भेगका जनताका लागि ऋण प्रवाह गर्ने क्रममा लघुवित्तले कति सदस्य बनाए र कति जनामा उद्यम गर्ने आत्मविश्वास बढ्यो भन्ने आधारमा मूल्याङ्कन हुनुपर्छ । ब्याजदर घटबढका आधारमा यिनीहरूको मूल्याङ्कन गर्ने होइन । लघुवित्तले बैङ्किङ कारोबार पनि गर्ने भएकाले ब्याजदरका आधारमा मूल्याङ्कन गर्नुलाई केही हदसम्म सान्दर्भिक मान्न सकिएला । तर, मूल्याङ्कनका क्रममा उसले जनतामा ल्याएको परिवर्तनलाई धेरै र ब्याजदर तथा मुनाफालाई कम आधार बनाउनुपर्छ ।

लघुवित्तको पहिलो अवधारणालाई केलाउँदा पनि यो अर्थशास्त्रको क्षेत्रभित्र नै पर्दैन । लघुवित्तका प्रवद्र्धक बङ्गलादेशका मोहम्मद युनुस अर्थशास्त्री हुन् । उनकै अवधारणामा ल्याइएको लघुवित्तले बङ्गलादेशको ग्रामीण क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नोबल पुरस्कार दिने निर्णय भएको थियो । तर, उनलाई पुरस्कार दिँदा अर्थशास्त्रका तर्फबाट नभई मानव कल्याणका क्षेत्रमा योगदान दिएको भनी नोबल शान्ति पुरस्कार दिइयो । यसले पनि लघुवित्तलाई बैङ्किङ क्षेत्रमा सीमित राखिनु उचित हुँदैन भन्ने स्पष्ट पार्छ ।

लघुवित्तमार्फत दिइएको ऋण असूल गर्न बाध्य पारिँदा कतिपयले आत्महत्या गरेको, कतिपयले थातथलो छाडेको आलोचना पनि भइरहेको छ । राष्ट्र बैङ्कले अरू बैङ्कसरह कडाइ गरेका कारण लघुवित्तले ऋण असूलीमा जोड दिएका हुन् र त्यस्ता घटना भएका पनि होलान् । २०६९ मा घोषणापत्र जारी गरी त्यस्ता विषयमा अनुगमन गर्ने पनि भनिएको थियो । यो सम्मेलनले बृहत् छलफल गरी लघुवित्तको क्षेत्रमा साँच्चै महत्त्वपूर्ण परिवर्तन ल्याउन बाटो खोल्ने सबैको अपेक्षा छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »