प्रडक्ट

२०७३-१२-४ मा प्रकाशित     १८४५ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

नागरिक लगानी कोषको आज २७औं वार्षिकोत्सव : कोषको सुलभ ब्याजदरमा शैक्षिक र सरल कर्जा

नागरिक लगानी कोषले ५ लाख ७० हजार सेवाग्राहीका लागि शैक्षिक कर्जा र सरल कर्जा कार्यक्रम शुरू गरेको छ । कोषले सेवाग्राहीलाई सुविधा दिने उद्देश्यले सरल ब्याजदरमा करीब २ महीनादेखि उक्त कर्जा कार्यक्रम शुरू गरेको हो । नागरिक लगानी कोषले २६औं वर्ष पूरा गरी २७औं वर्ष प्रवेश गर्ने क्रममा यी कर्जाका योजना ल्याएको जानकारी दिएको छ ।

यसका साथै यस पटकदेखि कोषले आवास कर्जा सावधिक जीवन बीमामा आबद्ध सिपाही, कामदार, प्रहरीलगायत सबै सेवाग्राहीका लागि प्रवाह हुने व्यवस्था गरेको छ । यसअघि सेवाग्राहीले घर बनाउन मात्रै आवास कर्जा लिन पाउँथे भने अब फ्ल्याट किन्नसमेत पाउने व्यवस्था गरिएको कोषले जानकारी दिएको छ । वि.सं २०६० सालदेखि सञ्चालनमा आएको आवास कर्जा कार्यक्रम कोषमा सञ्चय गर्ने कर्मचारीलाई मात्र प्रवाह गरिन्थ्यो ।    
 
नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले कोषका सेवाग्राहीका बालबालिकाको शैक्षिक सुविधा तथा उच्च शिक्षा प्रदान होस् भन्ने हेतुले कोषले शैक्षिक कर्जा कार्यक्रमको नयाँ अवधारणा लागू गरेको बताए । ‘आयआर्जनका व्यवसाय तथा उद्यम गरेर कोषमा सहभागी भएकाले आफ्नो परिवारलाई समेत आबद्ध गराउन र उद्यमशीलता वृद्धि गरून् भन्ने उद्देश्यले सरल कर्जा कार्यक्रम ल्याएका हौं,’ उनले भने, ‘यसबाहेक सेवाग्राहीले घर बनाउनबाहेक अब गच्छेअनुसार बनेका फ्ल्याटहरू किन्न रू. ४० लाखसम्मको आवास कर्जा पाउन सक्नेछन् । यो नयाँ व्यवस्था हो ।’

कोषका अधिकृत तारानाथ भट्टराईका अनुसार करीब २ महीनादेखि नयाँ अवधारणास्वरूप सञ्चालन भएको सरल कर्जा कार्यक्रममा ५ जना सेवाग्राहीले कर्जा लिएका छन् भने शैक्षिक कर्जा कार्यक्रमअन्तर्गत केहीले कर्जा लिने प्रक्रियामा छन् । साथै, करीब १३ वर्षदेखि सञ्चालनमा रहेको आवास कर्जामा करीब ७ सय जनामात्र सेवाग्राही लाभान्वित भएका छन् ।

कोषले स्वैच्छिक वा अनिवार्य लगानीकर्ता हिसाब योजनाका सहभागीहरूको परिवारलाई शिक्षाको माध्यमबाट समुन्नत भविष्य निर्माण गर्न सघाउ पु¥याउनुको साथै लगानी विविधीकरण गर्ने उद्देश्यले शैक्षिक कर्जा कार्यक्रम २०७३ सञ्चालनमा ल्याएको बताएको छ । नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविद्यालय वा सो सरहका शैक्षिक संस्थाबाट एमबीबीएस, एमडी, एमबीए, एक्जीक्युटिभ एमबीए, वी फार्मेसी, एम फार्मेसी, पाइलट, इञ्जिनीयरिङमा स्नातक वा स्नातकोत्तर, अर्थशास्त्रमा स्नातकोत्तर, चार्टर्ड एकाउण्टेन्सी, नर्सिङमा स्नातक वा स्नातकोत्तर, फूड टेक्नोलोजीमा स्नातक वा स्नातकोत्तर गर्न कर्जा लिन सकिन्छ । त्यस्तै, होटल एण्ड हस्पिट्यालिटी म्यानेजमेण्टमा स्नातक वा स्नातकोत्तर, सूचना प्रविधिमा स्नातक वा स्नातकोत्तर, कृषि र वन विषयमा स्नातक वा स्नातकोत्तर र पशु चिकित्सा विषयमा स्नातकमध्ये कुनै एक शैक्षिक उपाधि लिन नागरिक लगानी कोषबाट शैक्षिक कर्जा लिन सक्छन् । यो कर्जा प्राप्त गर्न अवकाश कोष वा बीमा कोषमा कोषकट्टी गरेको २ वर्ष पूरा भएको र नोकरी गर्ने सेवा अवधि न्यूनतम ५ वर्ष बाँकी भएको हुनुपर्ने कोषको भनाइ छ ।

यसबाहेक कोषले शैक्षिक कर्जा लिने सेवाग्राहीका लागि विभिन्न सीमा तोकेको छ । जसअन्तर्गत सहभागीको हाल कार्यरत तहको शुरू तलबमानको १२ वर्ष बराबरको तलब वा रू. ३५ लाखमा जुन कम हुन्छ त्यति रकमसम्म कर्जा प्रदान गर्न सकिने व्यवस्था गरेको छ । यस कर्जाको न्यूनतम स्वीकृत सीमा रू. ५ लाख हुनेछ । एक पटकमा न्यूनतम १ लाख रुपैयाँसम्म भुक्तानी गरिने बताइएको छ ।

कोषका अनुसार शैक्षिक कर्जाको ब्याजदर हाल वार्षिक ९ प्रतिशत रहेको छ । कर्जाको अवधिमा पाकेको सम्पूर्ण ब्याज अर्धवार्षिक रूपमा पुस मसान्त र असार मसान्तभित्र भुक्तानी गर्ने सहभागीलाई बाँकी कर्जाको शून्य दशमलव ५ प्रतिशत ब्याज छूट दिइने व्यवस्था छ । वार्षिक रूपमा पाकेको ब्याज प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र पनि चुक्ता नगरेमा सावाँमा पूँजीकृत गरिने बताइएको छ ।

कोषले ल्याएको अर्को कर्जा कार्यक्रम सरल कर्जा हो । स्वैच्छिक वा अनिवार्य लगानीकर्ता हिसाब योजनाका सहभागीको कर्जामा पहुँच बढाउन र कोषमा सङ्कलित कोष रकमलाई लगानी विविधीकरण गर्ने उद्देश्यले सरल कर्जा कार्यक्रम, २०७३ सञ्चालन गरिएको कोषका कार्यकारी निर्देशकको भनाइ छ । उनका अनुसार आफ्नो नाममा वा श्रीमान् र श्रीमतीको, सगोलको बाबु÷आमा वा सगोलको छोरा÷छोरीको नाममा रहेको जग्गा वा घर धितो राखी आफ्नो घरायसी काम गर्न जस्तैः विवाह, व्रतवन्ध, जस्ता सामाजिक कार्यलगायत अन्य सम्पूर्ण कार्य गर्न सरल कर्जा प्रवाह गरिन्छ ।

सरल कर्जा लिन अवकाश कोष वा बीमा कोषमा कोषकट्टी गरेको २ वर्ष पूरा भएको, नोकरी गर्ने सेवा अवधि १ वर्ष बाँकी भएको हुनुपर्ने छ ।  

कोषले यो कर्जाको अधिकतम सीमा रकम रू. २० लाखसम्म हुने बताएको छ । यस कर्जाको न्यूनतम स्वीकृत सीमा रू. ५ लाख हुनेछ भने एकपटकमा न्यूनतम २ लाख रूपैयाँसम्म भुक्तानी गरिने व्यवस्था छ । स्वीकृत सीमाभित्र रहेर अन्तिम भुक्तानी अवधिभित्र जति पटक पनि यो कर्जा लिन÷दिन सकिनेछ र तोकिएको प्रक्रिया पूरा गरी वार्षिक रूपमा नवीकरण गर्न सकिने कोषको भनाइ छ ।

यो कर्जाको ब्याजदर कोषले सहभागीलाई प्रदान गर्ने सरल कर्जाको वार्षिक ब्याजदर ९ दशमलव ५० प्रतिशत हुने र ब्याजदरमा कोषले अर्धवार्षिक तथा वार्षिकरूपमा पुनरवलोकन गर्न सक्ने बताएको छ । कर्जा अवधिमा पाकेको सम्पूर्ण ब्याज अर्धवार्षिकरूपमा पुस मसान्त र असार मसान्तभित्र भुक्तानी गर्ने सहभागीलाई उक्त किस्तामा तोकेको ब्याजदरमा शून्य दशमलव ५ प्रतिशत ब्याज छूट दिइने व्यवस्था छ ।

कोषबाट तोकिएका कर्जा लिन नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका क्षेत्रभित्रका घरजग्गा तथा नगर विकास परियोजना क्षेत्रभित्रका घरजग्गा धितो राखेर मात्र कर्जा पाउन सक्ने व्यवस्था गरेको छ । यसका लागि पनि विभिन्न नियमको व्यवस्था गरेको छ ।  

कोषले हालसम्म जनकशिक्षा सामग्री केन्द्रलाई रू. २९ करोडको समयकालीन कर्जा प्रवाह गरेको छ । यसैगरी, तामाकोशी जलविद्युत् आयोजनामा २ अर्ब रुपैयाँ ऋण प्रवाह गरेको छ भने २१ करोड रुपैयाँ शेयरमा लगानी गरेको छ । यसबाहेक कोषको करीब रू. ५६ अर्ब विभिन्न २४ ओटा कमर्शियल बैङ्कको मुद्दती निक्षेपमा लगानी गरेको कोषका अधिकृत भट्टराईले बताए ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »