विविध

२०७३-१२-७ मा प्रकाशित     ३४० पटक पढिएको    ० बिचार / प्रतिक्रिया

चैत ६, म्याग्दी । म्याग्दीमा नेपाली कागज उत्पादनमा नयाँ प्रविधिको प्रयोग भएको छ । न्यानो घरमा कागज सुकाउने प्रविधिको प्रयोग भएपछि कागज उत्पादनमा नियमितताका साथै उत्पादन क्षमता वृद्धि भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको नाङ्गीमा रहेको हिमाञ्चल हाते कागज तथा हस्तकला उद्योगमा नयाँ प्रविधिको प्रयोग गरी कागज उत्पादन गर्न थालिएको हो । बन्द कोठामा तातो बनाएर कागज सुकाउन छुट्टै न्यानो घर बनाइएको छ । हाल नेपालका प्रायः नेपाली कागज उद्योगले लोक्ता प्रशोधन गरेपछिको लेदोलाई कागज बनाउन घाममा सुकाउने गर्दै आएका छन् । दक्षिण कोरियाको कोरियन इन्ष्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीअन्तर्गतको इञ्जिनीयर्स विथ ब्रोदर समूहको सहयोगमा यस्तो प्रविधिको प्रयोग गरिएको हो ।

होचो गरी बनाइएको भुइँतलामा आगो बालेर कोठालाई तातो बनाउने र त्यही कागज सुकाउने गरिएको छ । भवनको एकातर्फबाट कोठामा प्रकाश पार्न सिसा राखिएको छ भने सिसा राखिएको भन्दा विपरीत भागबाट कोठालाई न्यानो बनाउन ताप प्रसारण गराउने व्यवस्था गरिएको छ । घाममा कागज सुकाउँदा झरी, वर्षा र मौसम बदली हुँदा उत्पादन गर्न सकिएको थिएन भने उत्पादित कागजसमेत सुकाउने क्रममा वर्षाले भिजेर क्षति हुने समस्या थियो । यसैगरी, उक्त उद्योगमा उत्पादित नेपाली कागजबाट निर्मित डायरी विदेशमा निर्यात हुन थालेको छ । नेपाली कागजबाट निर्मित डायरी बलियो र टिकाउ हुने भएकाले दक्षिण कोरिया, अष्टे«लियालगायत देशमा निकासी हुन थालेको हो ।

सामान्य आकारको एउटा डायरीलाई ४ सय २० रुपैयाँका दरले विक्री गरिन्छ । गाउँको जङ्गलमा खेर गइरहेको लोक्ताको सदुपयोग गरी कागज उत्पादन र रोजगारी सृजना गर्ने उद्देश्यले स्थानीय समुदायले वि.सं. २०७० मा उद्योग स्थापना गरेका थिए । बढी मूल्य पाइने र बजारको मागअनुसार नेपाली कागज विक्री नगरी उद्योगमा डायरी उत्पादन गर्न शुरू गरिएको हो । उद्योगमा नाङ्गीका ११ जना महिलाले रोजगारी पाएका छन् ।

उद्योग सञ्चालनका लागि जिल्ला वन कार्यालय, बहुसरोकारवाला वन कार्यक्रम, सङ्गम म्याग्दीलगायत सङ्घसंस्थाले पनि सहयोग गरेका छन् । गैरकाष्ठ वन पैदावारमा आधारित उद्यमलाई प्रोत्साहन गर्ने नीतिअनुसार गतवर्ष उपकरण खरीदका लागि १ लाख रुपैयाँ उपलब्ध गराएको उद्योगमा यस वर्ष पनि थप १ लाख रुपैयाँ अनुदान दिएको जिल्ला वन कार्यालय म्याग्दीले जानकारी दिएको छ ।

उद्योगलाई यस वर्ष बहुसरोकारवाला वन कार्यक्रममार्फत सङ्गम म्याग्दीले पनि कागज काट्ने मेशिन खरीदका लागि १ लाख २० हजार रुपैयाँ सहयोग गरेको बताएको छ । कागज उद्योग स्थापना भएपछि स्थानीय नाङ्गी सामुदायिक वनमा वर्षौंदेखि कुहिएर खेर गइरहेको अर्गेलीको लोक्ता सदुपयोग हुनुका साथै रोजगारी सृजना भई गाउँलेको आर्थिक स्तर सुधार गर्नसमेत मद्दत पुगेको छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »