विकास

२०७३-१२-७ मा प्रकाशित     ५०८ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

चैत ६, पर्वत । पर्वतका ९ ओटा मुख्य सडकको कालोपत्र गरिने भएको छ । पहिलो चरणमा दोबिल्ला–फलेवास सडक, घुम्ती–पाङ–खनियाघाट सडक, मुडिकुवा–लुङ्खु सडक, डिमुवा–राम्जादेउराली सडक र सिल्मी–कार्कीनेटा सडक कालोपत्र गगर्न लागिएको छ । सरकारको बहुवर्षीय ठेक्कामार्फत जिल्लाका सबैजसो मुख्य ग्रामीण सडक कालोपत्र गर्न लागिएको हो ।
 
दोबिल्ला–फलेवास दोबिल्ला–फलेवास सडकको निर्माण कार्य २०५१ सालदेखि शुरू भएको थियो । उक्त सडकको ट्र्याक खोल्न र ग्राभेल गर्न अहिलेसम्म करोडौं रुपैयाँ खर्च भइसकेको छ । यो सडक कालोपत्रका लागि १८ करोड रुपैयाँ खर्च हुने भएको छ । आगामी ३ वर्षभित्र यो सडक कालोपत्र गर्ने लक्ष्य रहेको छ । सडकको हालसम्म झण्डै ३ किलोमिटर कालोपत्र भएको छ भने बाँकी खण्डको काम पनि अगाडि बढिरहेको छ । पोखरा–बागलुङ राजमार्गअन्तर्गत कुश्माको दोबिल्लाबाट शुरू हुने उक्त सडक कालोपत्र भएपछि दक्षिणवर्ती क्षेत्रका २ दर्जनभन्दा बढी गाविसका बासिन्दा लाभान्वित हुनेछन् । अहिले दोबिल्लादेखि फलेवाससम्मको पहिलो ३ किमी र दोस्रो खण्डमा ११ किमीको काम शुरू भएको छ ।

मुडिकुवा–खानीगाउँ–लुङ्खु सडक
जिल्लाको क्षेत्र नं २ अन्तर्गत पर्ने मुडिकुवा–खानीगाउँ–लुङ्खुदेउराली सडक कालोपत्रको काम शुरू भएको छ । स्थानीय विकास मन्त्रालय÷ग्रामीण पुनर्निर्माण तथा पुनःस्थापनाको आर्थिक सहयोगमा क्षेत्र नं २ मै पहिलोपटक सडक कालोपत्र हुन लागेको हो । पहिलो चरणमा ६ दशमलव ७ किमी सडक कालोपत्र हुने भएको छ । कालोपत्र गर्न ठेक्का पाएको ओयसिस इञ्जिनीयरिङ एण्ड बिल्डर्सले तीव्रगतिमा काम अघि बढाएको छ । २०७४ असार मसान्तभित्र सम्पन्न हुने सम्झौतामा उल्लेख छ । सो सडक रू. १० करोड २४ लाख ७९ हजारमा सम्पन्न हुने भएको छ । सडकमा पाँचओटा कल्भर्ट, ११ ओटा कजवे, ४ हजार ४ सय ५६ घनमिटर जाली र ४ सय ५६ घनमिटर सिमेण्टको पर्खाल निर्माण हुने जिल्ला इञ्जिनीयर महेन्द्रबहादुर बानियाँले जानकारी दिए ।

डिमुवा–राम्जा–चित्रे सडक
पर्वतको दोस्रो व्यापारिक केन्द्र तिलहार गाविसको डिमुवादेखि राम्जासम्म जोड्ने सडक कालोपत्र गर्ने शुरू भएको छ । सडक डिभिजन कार्यालय बागलुङका अनुसार डिमुवा–राम्जा सडकमा यसपटक ७ किलोमिटर पक्की गर्ने काम शुरू भएको छ । सडक कालोपत्र गर्न १० करोड रुपैयाँ खर्च लाग्नेछ । यो सडक साढे ५ किलोमिटर चौडा हुने र घुम्तीहरूमा ७ मिटरसम्म चौडा हुनेछ । सडक निर्माणका लागि गजुरमुखी निर्माण सेवासँग डेढ वर्षमा काम सम्पन्न गर्ने सम्झौता भएको छ ।

घुम्ती–लाम्पाटा–हिमालय मावि–पाङ सडक
जिल्लाको खुर्कोटदेखि विभिन्न आधा दर्जन गाविसमा सडक पहुँच पुर्‍याउने गरी घुम्ती–लाम्पाटा–पाङ सडकको कालोपत्र गर्ने कार्य शुरू भएको छ । सडक डिभिजन कार्यालय बागलुङले पोखरा–बागलुङ राजमार्ग अन्तर्गतको घुम्तीदेखि ४ किलोमिटर सडक कालोपत्र गर्न लागेको हो । सडक स्तरोन्नति कार्यका लागि जयबाबा गोरख ओखलढुङ्गा जेभी कन्ष्ट्रक्शनले १८ महीनामा सम्पन्न गर्नेगरी सम्झौता गरेको छ । स्तरोन्नति कार्यका लागि रू. १० करोडबराबरको बोलपत्र आह्वान गरे पनि निर्माण कम्पनीले घटीघटाउमा ५ करोड ९९ लाखमा निर्माण थालेको हो ।

फूलबारी–आर्थर–राम्जा सडक
स्याङ्जा र पर्वत जिल्ला जोड्ने फूलबारी–आर्थर–राम्जा सडक पनि कालोपत्र हुने भएको छ । यस सडकको लम्बाइ २२ किलोमिटर छ । सडक बहुवर्षे ठेक्का प्रक्रियामार्फत कालोपत्र गर्न लागिएको हो । मन्त्रालयले बहुवर्षे ठेक्काका लागि ६४ करोड रुपैयाँको स्वीकृति दिएको छ । पर्वतको प्रसिद्ध पर्यटकीय स्थल पञ्चासे र श्रवणकुमार मन्दिर पुग्न यो सडक महत्त्वपूर्ण हुनेछ । यसैगरी सिद्धार्थ राजमार्गलाई पोखरा–बागलुङ राजमार्गसँग जोड्ने भएकाले वैकल्पिक मार्गको रूपमा समेत यो सडक प्रयोग हुनेछ । उक्त सडकमै पर्ने पर्वतको डिमुवादेखि राम्जा जोड्न ७ किमी पक्की सडक निर्माण पनि शुरू भएको छ । सडक कालोपत्र गर्न १० करोड ३९ लाख रुपैयाँ खर्च लाग्नेछ ।

सिल्मी–कार्कीनेटा सडक
जिल्लाको सदरमुकामलाई कार्कीनेटासँग जोड्ने सिल्मी–ठूलीपोखरी–खौला–कार्कीनेटा सडक कालोपत्र हुने भएको छ । बहुवर्षीय ठेक्काअन्तर्गत सिल्मीदेखि कार्कीनेटाको झण्डै १४ किलोमिटर कच्ची सडक कालोपत्र गर्न लागिएको हो । जिल्लाको ऐतिहासिक व्यापारिक क्षेत्रको रूपमा रहेको कार्कीनेटालाई सदरमुकामसँग जोड्ने उक्त सडकका लागि १४ करोड ३६ लाख ८४ हजार ६ सय ५७ रुपैयाँ रकम विनियोजन भएको छ । सरकारको ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत उक्त सडक कालोपत्र गर्न लागिएको हो । सडक कालोपत्र भएपछि कुश्मा नगरपालिका १७, ठूलीपोखरी, खौला, कार्कीनेटा र थापाठानाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।

अर्मादी–पाङ सडक
कुश्मा नगरपालिका १ अर्मार्दीदेखि पाङसम्मको झण्डै ३ किलोमिटर कच्ची सडक पनि कालोपत्र हुँदै छ । कालीगण्डकी प्रसारण कोरिडोरले उक्त सडक कालोपत्र गर्न लागेको हो । पाङमा कालीगण्डकी प्रसारण कोरिडोरको सब–स्टेशन निर्माण हुन लागेका कारण उक्त स्थलसम्म पुग्न आवश्यक पर्ने सडक कार्यालय आफैले कालोपत्र गर्न लागेको हो । कुश्मा–दुर्लुङ सडक सदरमुकाम कुश्मा बजारदेखि दुर्लुङसम्म जोड्ने झण्डै १२ किलोमिटर सडक पनि ग्रामीण पुनर्निर्माण तथा पुनःस्थापना कार्यक्रममार्फत कालोपत्र हुने सडकमा जिल्ला विकास समिति पर्वतले निर्णय गरेको छ ।

लुङ्खु–हुवास सडक
जिल्लाको लुङ्खुदेखि हुवाससम्मको सडक पनि कालोपत्रको चरणमा छ । जिल्ला विकास समिति पर्वतको सर्वदलीय संयन्त्रको निर्णयका आधारमा उक्त सडक पनि ग्रामीण पुनर्निर्माण तथा पुनःस्थापना आयोजनाको सहयोगमा कालोपत्र हुने भएको हो । परियोजनाअन्तर्गत हाल मुडिकुवादेखि लुङ्खुसम्मको सडक कालोपत्रको काम भइरहेको छ । आयोजना अर्को वर्षबाट औपचारिक रूपमा शुरू हुँदै छ । उक्त आयोजनाका लागि दोेस्रो चरणमा विदेशी सहायता प्राप्त हुनेछ ।

कालीगण्डकी लोकमार्ग
जिल्लाको सुदूर दक्षिण क्षेत्रबाट रानीपानी, बर्राचौर बाच्छा, पाङराङ र देवीस्थान गाविस हुँदै मुख्य सडक पोखरा बागलुङ राजमार्गमा जोडिने कालीगण्डकी लोकमार्गको काम पनि दु्रत गतिमा भइरहेको छ । योसँगै जिल्लाका मुख्य सबै ग्रामीण सडक कालोपत्र हुनेछन् । जिल्लामा हालसम्म सबै ग्रामीण सडक कच्ची हुँदा स्थानीय बासिन्दाले निकै सास्ती बेहोर्नुपरेको छ । वर्षायाममा  यातायात बन्द हुने र हिउँदमा धुलाम्मे सडकका कारण यात्रा निकै कठिन हुने गरेको छ । आगामी केही वर्षमा मुख्य सबैजसो सडक कालोपत्र हुँदा जिल्लाको आर्थिक समृद्धिको बाटो खुल्ने अपेक्षा गरिएको छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »