प्रविधि

२०७३-१२-७ मा प्रकाशित     १४१५ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

वित्तीय क्षेत्रमा प्रविधिको प्रयोगमा जोड

काठमाडौं । किसान माइक्रोफाइनान्सका समूहमा आबद्ध महिलाहरू अचेल ट्याब्लेट मोबाइलको प्रयोग गरी समूहको बैठक बस्छन् । इण्टरनेटको पहुँच नपुगेका ग्रामीण क्षेत्रमा पनि ट्याब्लेटको प्रयोग गरी बचत सङ्कलनको रेकर्डलगायत काम गर्न सकिने भएपछि महिलाहरूमा उत्साह थपिएको छ ।
किसान माइक्रोफाइनान्सका यज्ञराज ढुङ्गेलका अनुसार ट्याब्लेट बैङ्किङको प्रयोगका कारण समूहहरूमा बचत सङ्कलनको काम २ घण्टाबाट २० मिनेटमा झरेको छ, जसले गर्दा विगतमा बढी समय दिनुपर्ने भएर झ्याउ मान्ने गरेका महिला बचतकर्ताले अहिले सहज अनुभव गर्न थालेको बुझाइ उनको छ । ‘इण्टरनेट वा मोबाइल नटिप्ने ठाउँमा अफलाइनमा काम गर्‍यो अनि नेट टिप्ने ठाउँ पुगेपछि सहजकर्ताले अनलाइनमा अपडेट गरिदिन्छन्,’ उनले भने ।  

लघुवित्तलगायत बैङ्किङ क्षेत्रमा प्रविधिको अधिकतम उपयोग हुन थालेपछि सामाजिक र आर्थिक उत्थानमा थप टेवा पुग्न थालेको ठम्याइ यस क्षेत्रका कार्यकर्ताको छ । चौथो राष्ट्रिय लघुवित्त सम्मेलनको क्रममा गत बिहीवार भएको टेक्नोलोजी इनोभेशन सेसनमा यस क्षेत्रका विज्ञहरूले मोबाइल बैङ्किङ, ट्याब्लेट बैङ्किङलगायत प्रविधिको प्रयोगबाट २ दिनको काम २ घण्टामा सकिने जानकारी दिएका थिए ।

प्रविधिको प्रयोग गरेमा एउटा लघुवित्तबाट लिएको ऋण छली गरी अर्को लघुवित्तमा लिन नसकिने ठोकुवा उनीहरूको छ । बायोमेट्रिकको प्रयोग गरी औंठाछाप समेत सर्भरमार्फत रेकर्डमा बस्ने भएकाले छलछाम हुन नसक्ने उनीहरूले बताए ।

लघुवित्तीय क्षेत्रमा प्रविधिको प्रयोगका सम्बन्धमा भारतीय अनुभव सुनाउँदै शशिधर ठुमुलुरीले मोबाइल बैङ्किङका कारण गाउँ–गाउँमा काम गर्न सजिलो भएको र ५ वर्षभित्र १५ वर्षको प्रतिफल प्राप्त भएको बताए । अहिले मेघालय, आसाम, मिजोरमजस्ता पहाडी क्षेत्रमा पनि इण्टरनेटको प्रयोग गरी बैङ्किङ सेवा घरघरसम्म पुगेको जानकारी उनले दिए । कागजको ठाउँमा उपकरणको प्रयोग भएको र बायोमेट्रिक उपकरणका कारण साधारण पसलेसमेत बैङ्कको प्रतिनिधि बन्न सफल भएको बताए । अहिले बायोमेट्रिक उपकरणका साथ मोबाइल र ट्याब लिई गाउँ–गाउँमा लघुवित्त समूहहरूको बैठक बस्न थालेको उनले जानकारी दिए ।

सुबिसु केबलनेट प्रालिका चन्दन श्रेष्ठले ढिलो इण्टरनेट प्रयोग गरिएको कारण नेपालमा प्रविधिको सही उपयोग हुन नसकेको बताए । प्रविधिमा गरेको खर्चलाई लगानीको रूपमा बुझ्नुपर्ने र नेपालका वरिष्ठ व्यवस्थापकहरू प्रविधिसँग साक्षर नभएको जिकीर गरे । प्रविधिको प्रयोग गरे ५ जनाले ५ दिनमा गर्ने काम २ दिनमा २ जनाले सम्पन्न गर्न सकिने भन्दै उनले नेपालका गाउँ–गाउँमा पनि अफलाइन र अनलाइनमा प्रविधिको उपयोग गरी काम गर्न सकिने स्पष्ट पारे ।

डिरोज टेक्नोलोजीका कार्यकारी निर्देशक नेपालभूषण गाउलीले साधारण पसल थापेकै व्यक्तिले पनि सरल बैङ्किङ गर्न सकिने गरी आफूहरूले सफ्टवेयरको विकास गरेको जानकारी दिए । उनका अनुसार शाखारहित बैङ्किङमा उपयोग गरिएको यो प्रविधिको उपयोग लघुवित्त र सहकारीले गाउँ–गाउँमा ढुक्कसँग गर्न सकिने बताए । आफूले जम्मा गरेको पैसा एजेण्टले गलत पोष्ट गरेको भए पनि आवाजबाट पनि सन्देश सुन्न सकिने भएकाले निरक्षरलाई पनि वित्तीय क्षेत्रमा बचत तथा ऋणमा आकर्षित गर्न सकिने तर्क गाउलीको छ । बायोमेट्रिक (औंठा)युक्त सानो उपकरणले प्रिण्टसँगै आवाज पनि दिने र इण्टरनेटमार्फत वित्तीय संस्थाको मुख्य सर्भरमा पनि पोष्ट हुने भएकाले धेरै सहजता आउने उनले बताए ।

किसान माइक्रोफाइनान्सका ढुङ्गेलले ट्याब्लेट बैङ्किङको प्रयोगका कारण समूहहरूमा बचत सङ्कलनको काम २ घण्टाबाट २० मिनेटमा झरेकाले महिला बचतकर्ताहरू बचत समूहमा थप आकर्षित हुन थालेको बताए । आफूहरूको ट्याब्लेट बैङ्किङ सेवा अफलाइनमा पनि चलाउन मिल्ने भएकाले काम गर्न सजिलो भएको उनको भनाइ छ ।

प्रस्तुतकर्ताहरूको प्रस्तुतिमाथि टिप्पणी गर्दै उमेशकुमार रघुवंशीले प्रविधिको प्रयोगले लागत घटेर सस्तोमा बचत लिई सस्तोमै ऋण दिन सकिने बताए । यसले ग्रामीण अर्थतन्त्रको थप सबलीकरण हुने धारणा उनले राखे ।

अर्का टिप्पणीकर्ता प्रवीण पोखरलेले सफ्टवेयर र स्पेस महँगो हुने भए सबै माइक्रोफाइनान्सले एउटै सर्भरको प्रयोग गरी एउटै सफ्टवेयरको प्रयोग गर्न सकिने व्यवस्था नेपाल लघुवित्त बैङ्कर्स एशोसिएशनले गर्नुपर्ने बताए । लघुवित्त ग्रामीण क्षेत्रको सामाजिक र आर्थिक अभियान भएकाले यसले समाज उत्थानमा प्रविधिको प्रयोगमा जोड दिनुपर्ने निष्कर्ष सेसनको अध्यक्षता गरेका बलजित भोहराको थियो । प्रविधिको प्रयोगले समयको बचत हुँदा समूहमा आउन सदस्यलाई थप आकर्षित गर्ने उनले बताए ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »