लेख | दृष्टिकोण

२०७३-१२-७ मा प्रकाशित     ५४४ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

गाउँमा गरीबी शहरमा सम्मेलन

मधुसूदन पोख्रेल

ग्रामीण दूरदराजमा बस्ने सर्वसाधारण नागरिकले सदैव गर्ने गुनासो वा आरोप गरीबी निवारणसँग सम्बन्धित ठूलाठूला गोष्ठी, सेमीनार, योजना तर्जुमाका कार्यक्रम राजधानीका तारे होटलमा बसेर गरिन्छ भन्ने रहेको छ । यो आरोपमा के कति सत्यता छ भन्ने विषयमा विज्ञहरूलाई नै बढी जानकारी होला । यसपटक पनि त्यही गुनासो वा आरोपलाई सत्य साबित गर्दै गरीबी न्यूनीकरणसँग प्रत्यक्ष सम्बद्ध रहेको चौथो लघुवित्त सम्मेलन राजधानीकै स्टार होटलमा सम्पन्न भएको छ । वास्तवमा सर्पको खुट्टा सर्पले नै देख्न सक्छ भनेझैं देशका वास्तविक गरीबीलाई बुझ्नका लागि ग्रामीण दूरदराजसम्म नै पुग्नुपर्ने हुन्छ ।

सरकारी औपचारिक तथ्याङ्कअनुसार सन् १९९५ मा ४२ प्रतिशत जनसङ्ख्या गरीबीको रेखामुनि रहेकामा सन् २०१६ सम्ममा २१ दशमलव ६ प्रतिशतमा झरेको छ । त्यसमा ग्रामीण क्षेत्रको गरीबीको दर अत्यधिक बढी रहेको छ ।  जिल्लागत तथ्याङ्कका आधारमा हेर्दा बाजुरा नेपालकै सर्वाधिक गरीब जिल्लाका रूपमा देखिएको छ । त्यहाँ ६४ प्रतिशत गरीबी छ । तराईका जिल्लामध्ये सप्तरी सबैभन्दा गरीब जिल्लामा दरिएको छ जहाँको गरीबी दर ३९ दशमलव ५ प्रतिशत छ भने सिरहामा ३४ दशमलव ६ प्रतिशत, कैलालीमा ३३ दशमलव ६, रौतहटमा ३३ दशमलव ४ र कञ्चनपुरमा ३० दशमलव ३ प्रतिशत गरीबी छ । सबैभन्दा चिन्तालाग्दो विषय त १४ ओटा जिल्लाको गरीबीको दर ४० प्रतिशतभन्दा अधिक छ । यीमध्ये पनि बाजुरा, कालिकोट, बझाङ, हुम्ला र दार्चुलाको गरीबीको अनुपात ५० प्रतिशतभन्दा बढी छ । यसबाट गरीबी शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा अत्यधिक बढी मात्रामा रहेको स्पष्ट हुन्छ ।  

गरीबी शब्दसँग जोडिएर सञ्चालन भएका विभिन्न कार्यक्रमको सूची धेरै लामोे छ । त्यसैको पछिल्लो सूचीमा देशको गरीबी निवारणका लागि दशकौंदेखि लागिपरिरहेका लघुवित्त संस्थाहरू पर्छन् । यिनै लघुवित्त संस्थाहरूको सहभागितामा चौथो लघुवित्त सम्मेलन यही चैत २ देखि ४ गतेसम्म काठमाडौंमा समपन्न भएको छ । आर्थिक, सामाजिक र मानवीय मूल्यको सन्तुलन भन्ने मूल नाराका साथ आयोजना भएको उक्त सम्मेलनमा स्वदेश तथा विदेशीका ८ सयभन्दा बढी लघुवित्तकर्मीको सहभागिता रहेको थियो । यसअघि पनि राष्ट्रिय लघुवित्त सम्मेलन सन् २००८, २०१० र २०१३ मा काठमाडौंमा सम्पन्न भई लघुवित्तसम्बन्धी घोषणापत्र जारी गरिएको थियो । तर, उक्त घोषणापत्रमा उल्लेख भएका उपलब्धिहरूबारे सार्वजनिक जानकारी हुन सकेको छैन । यसैको निरन्तरताको सूचीमा काठमाडौंमा सम्पन्न चौथो लघुवित्त सम्मेलनबाट सत्रबुँदे घोषणपत्र २०७३ जारी गरिएको छ ।

कार्यक्रम व्यवस्थापनका सहजता तथा चुनौतीहरूलाई ध्यानमा राख्दै सुविधायुक्त स्थानमा कार्यक्रम गर्नु एउटा महत्त्वपूर्ण पक्ष हो । तर, लक्षित वर्गसँग जोडिएका हरेक कार्यक्रममा यो नियम लागू हुन्छ भन्ने पनि हुँदैन । यसको एउटा गतिलो उदाहरणका रूपमा गत कात्तिक २६ गते रूपन्देहीको रुद्रपुर र गत महीना कैलालीको अत्तरियामा सम्पन्न भएको वित्तीय साक्षरता कार्यक्रमलाई लिन सकिन्छ । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा उल्लेख्य सङ्ख्यामा जनसाधारण र बैङ्क वित्तीय संस्था तथा लघुवित्तकर्मीहरूको उपस्थित रहेको थियो । जुन कार्यक्रम कुनै सम्मेलनभन्दा कम आकर्षक थिएन । आगामी दिनमा यस्ता लक्षित वर्गसँग जोडिएका कार्यक्रम ग्रामीण क्षेत्रमा नै उपस्थित भएर किन नगर्ने भन्ने विषयमा एउटा गम्भीर प्रश्न खडा भएको छ ।

लघुवित्त कार्यक्रमको समाजप्रति बढ्दै गइरहेको जिम्मेवारी तथा दिगो सेवाको आवश्यकतालाई मनन गर्दै राष्ट्रिय लघुवित्त सम्मेलन आयोजना गरेको आयोजकहरूको भनाइ रहेको छ । तर, उद्घाटन कार्यक्रममा विशेष अतिथिका रूपमा बोलाइएका नेपाल राष्ट्र बैङ्कका गभर्नरले लघुवित्त संस्थाहरूको बारेमा व्यक्त गरेका विचारहरूले भने सम्मेलनमा राम्रै चर्चा  पायो । यद्यपि गभर्नर नेपालको भनाइप्रति भने सम्मेलनको दोस्रो दिन पूर्वगभर्नरहरूले आफूहरू ‘आश्चर्य’मा परेको भन्दै लघुवित्तकै कारण गाउँको गरीबी निवारणमा ठूलो सहयोग पुगेको बताएका छन् ।  लघुवित्तहरूको उद्देश्य मानिसलाई अर्बपति बनाउन होइन, गरीबको आर्थिकस्तर उकास्नका लागि हो भन्ने गभर्नरको भनाइले गरीब परिवारमा भने ठूलो आश जगाएको छ ।  

लघुवित्त क्षेत्रलाई मर्यादित एवम् अनुशासित बनाइनुपर्छ । यसमा कहीं कसैको दुईमत नरहला । तर, समय समयमा नियमनकारी निकायहरूबाट फेरबदल भइरहने नीतिनियमहरूले भने लघुवित्त क्षेत्रलाई अस्थिर बनाइनु हुँदैन । लघुवित्त कार्यक्रममार्फत जीवनस्तर फेरिएका हजारौं उदाहरण छन् । यस कार्यक्रमबाट सामाजिक सुरक्षा, महिला सशक्तीकरण एवम् बाल शिक्षामा महत्त्वपूर्ण योगदान पु¥याएका तथ्यहरू सार्वजनिक भइरहेका छन् ।  पटकपटक भएका विभिन्न अध्ययन, छलफल र हाल भइरहेको प्रयोगले गरीबी निवारणको एक सशक्तत माध्यम लघुवित्त हो भन्ने कुरा दोह¥याइरहनु पर्दैन । लघुवित्तको प्रभावकारी कार्यान्वयनले तुरुन्त स्वरोजगारको सृजना गरी अर्थतन्त्रमा प्रभावकारी माग वृद्धि गराई देशको आर्थिक क्रियाकलापलाई घनीभूत पार्छ । मुलुकमा छरिएर रहेका सानो पूँजीलाई एकीकृत गरी लघुकर्जामार्फत ग्रामीण गरीबी न्यूनीकरणका लागि लघुवित्त संस्थाहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको छ । गरीब र विपन्न वर्गका लागि वित्तीय सेवाको मूल्यभन्दा पहुँच बढी महत्त्वपूर्ण हुन्छ भन्ने दर्शन लघुवित्त हो ।   

लघुवित्त संस्थाहरू पनि देशको अर्थतन्त्र र गरीब परिवारहरूको आवश्यकता सँगसँगै दौड्ने हुनुपर्छ । एकातिर लघुवित्त कार्यक्रमलाई आधा पेट मात्र भर्ने कार्यक्रम भएको आरोप तथा गुनासो सदस्यहरूको रहने गरेको छ भने अर्कोतिर एउटा सानो तलाउमा धेरै डुङ्गाहरू राख्दा आपसमा ठोकिएर डुबेजस्तै धेरै लघुवित्त कार्यक्रम एकै स्थानमा सञ्चालन गर्दा ऋणी र संस्था दुवै उच्च जोखीममा पर्ने सम्भावना पनि टरेको छैन । बैङ्किङ अभ्यासले जहाँ सम्भावना छ त्यहाँ लगानी गर्नुपर्छ भन्ने कुरालाई जोड दिन्छ । तर, लघुवित्त संस्थाहरूले जहाँ गरीबी छ गरीब परिवारहरू छन् जसले कुनै सम्भावना नदेखेर हात खुम्चाएर बसेका छन् उनीहरूलाई सम्भावना देखाएर लगानी गर्न प्रोत्साहित गर्नुपर्छ भन्ने कुरालाई जोड दिएको पाइन्छ । खासमा भन्ने हो भने लघुकर्जाको अभ्यासबाट नै ग्राहकहरूलाई बैङ्किङ बानी बस्छ । त्यसपछि मात्र उसले ठूलो ऋण लिन थाल्छ । यसबाट समग्र बैङ्किङ प्रणालीलाई नै फाइदा हुने हुँदा लघुवित्त कार्यक्रमलाई सबैले सहयोग गर्नुपर्ने देखिन्छ ।

आर्थिक उदारीकरण र विश्वव्यापीकरणको २१औं शताब्दीको यस वर्तमान युगमा विकासका मुख्य दुई चुनौती आर्थिक वृद्धिदर र गरीबी निवारण आपसमा पूरकका रूपमा रहेका छन् । गरीबी निवारण भएमा आर्थिक वृद्धिदर बढ्ने, देश समुन्नत हुने र देश समुन्नत भएमा गरीबीको प्रतिशत घट्दै जान्छ । यस्ता उद्देश्य पूरा गर्न अब लघुवित्त संस्थाहरूले  गरीबलाई पैसामात्र दिएर हुँदैन । उनीहरूको आवश्यकता पहिचान गरी उद्यमशीलताको भावना विकास गर्नुपर्छ । वित्तीय साक्षारता, शीप विकास र बजार व्यवस्थाबारे लघुवित्त सेवाग्राहीलाई पर्याप्त ज्ञान दिनुपर्छ । खासगरी लघुवित्तको कार्यक्रम सञ्चालन गरिरहेका विभिन्न संस्थाबीच यस्ता सम्मेलनहरूमा एउटै स्वर गर्ने तर कार्यान्वयनमा अस्वस्थ्य प्रतिस्पर्धा हुनु हुँदैन । वास्तविक गरीबहरूलाई लाभ दिलाउन लक्षित कार्यक्रम सञ्चालन गर्दा पर्याप्त मात्रामा सहकार्य र उचित ध्यान दिनु आवश्यक छ । महत्त्वपूर्ण कुरा के भने धेरैओटा सही निणर्यले दिने लाभभन्दा एउटै खराब निर्णयले पु¥याउने हानि बढी गम्भीर हुन सक्छ । समयमै चनाखो हुनुपर्छ ।

यसपटक सञ्चालन भएको चौथो लघुवित्त सम्म्मेलनमा गरीब र गरीबीका कुराहरूमा केन्द्रित भई थुप्रै कार्यपत्र प्रस्तुत भए । धेरै विचारविमर्श गरी आकर्षक घोषणपत्र जारी भयो । घोषणपत्रको कार्यान्वयन साँचो अर्थमा गरीब र विपन्न परिवारको हितमा हुनुपर्छ । जहाँ हुने खाने र शहरका कुरा मात्र नगरी जो अभाव र अवसर विहीनताका बीच पिल्सिएका छन् तिनीहरूका लागि सुनौलो बिहानीका रूपमा उदय हुनुपर्छ । तब मात्र साँचो अर्थमा सम्मेलन सफल भएको मानिनेछ । अबको लघुवित्त सेवा भनेको कार्यक्रमको गुणस्तर विस्तार, भइरहेका ग्राहकहरूको स्तरवृद्धि र दिगो प्रकारको सेवा नै हो । तसर्थ अबको लघुवित्त उत्तरदायी, जवाफदेही, पारदर्शी र जनसहभागितामूलक बनाउन भविष्यमा  यस क्षेत्रमा अझ बढी जिम्मेवारीका साथ अगाडि बढ्नुपर्ने देखिन्छ ।

लेखक नेपाल ग्रामीण विकास बैङ्क लिमिटेडका अधिकृत हुन् ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »