समाचार

२०७३-१२-७ मा प्रकाशित     ५३३ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

सडकको क्षमताभन्दा सवारीको सङ्ख्या बढि भएपछि उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त बन्दै

चैत ७, काठमाडौं । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको छ । उपत्यकाको दिनप्रतिदिन बढ्दै गएको जनसङ्ख्या, सवारी चाप, सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लङ्घनजस्ता प्रवृत्तिले उपत्यकाको ट्राफिक व्यवस्थापन कार्य जटिल एवम् चुनौतीपूर्ण बन्दै गएको हो । 

काठमाडौँ उपत्यकाभित्रको सवारी आगमनको सुरक्षित प्रवाह गराउने उद्देश्यका साथ स्थापना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखामा थोरै जनशक्तिका कारण समस्या उत्पन्न भएको छ । काठमाडौँ उपत्यकाको जनसङ्ख्या वृद्धिसँगै सवारी साधनको सङ्ख्या पनि अत्यधिक रुपमा बढेर गएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डे हाल काठमाडौं उपत्यकामा करीब ११ लाखको हाराहारीमा सवारी साधन रहेको बताउँछन् । उनले भने–“वार्षिक एक लाखको हाराहारीमा काठमाडौं उपत्यकामा सवारी साधन भित्रिन्छन् ।” 

अहिले उपत्यकामा एक हजार ३ सय ४६ ट्राफिक प्रहरी कार्यरत रहेको महाशाखाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए । उनले भने, –“शहरी विकासको अनुपातमा सडक विस्तार र सडक पूर्वाधार निर्माण हुन नसक्नुका साथै यातायात क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसक्दा समस्या उत्पन्न भएको हो ।” घिमिरे काठमाडौंमा सवारी साधनको चापअनुसार ट्राफिक खटाउने हो भने दुई हजारभन्दा बढी जनशक्ति आवश्यक पर्ने बताउँछन् । अहिले एक हजार ८५ जनाको दरबन्दी महाशाखामा भए पनि देशभरबाट तालिममा आएका ट्राफिकलाई समेत काममा खटाउनुपर्ने बाध्यता छ । 

काठमाडौँ उपत्यकाका थापाथली, केशरमहल, नयाँबानेश्वरलगायत मुख्य चोकमा कार्यालय सञ्चालन भएको दिनमा अहिले पनि तीनदेखि पाँच मिनेटसम्म सवारी साधन रोकिनुपर्ने हुन्छ । 
काठमाडौँ उपत्यकामा मात्र ३५ स्थानमा विभिन्न कार्यालय खोलेर ट्राफिक प्रहरीले सेवा दिइरहेको छ । हाल एकजना ट्राफिकले दैनिक आठ घण्टादेखि १४ घण्टासम्म काम गर्नुपर्ने अवस्था रहेको महाशाखाले बताएको छ । महाशाखाले काठमाडौं उपत्यकाको सवारी दुर्घटना न्यूनीकरण गर्दै लैजाने, सवारी नियन्त्रण तथा व्यवस्थापन उच्च अनुशासित भएर गर्ने, समयानुकूल ट्राफिक सङ्गठन परिवर्तन गर्दै लैजानु, ट्राफिक व्यवस्थापनमा जनसहभागिता बढाउने मूल्य र मान्यताअनुसार काम गरिरहेको महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले बताए ।

काठमाडौँ उपत्यकाभित्र हाल एक हजार ५ सय किलोमिटरको हाराहारीमा सडक भए पनि सवारी साधन ओहोरदोहोर गर्ने मुख्य सडक भने ४ सय किलोमिटरदेखि ५ सय किमी रहेको लामाले बताए । हाल महाशाखाले उपत्यकामा हुने सडक दुर्घटना न्यूनीकरण गर्न मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथि कारबाही, लेन अनुशासन कारबाही, अनियन्त्रित फुटपाथमा सवारी पार्किङ गर्नेलाई कारबाही गर्न कडाइ गरेको छ । 

ट्राफिकले आफू चढेको सवारी साधनबाट उपत्यकाको सवारी व्यवस्थापन, वडिवन क्यामरा, ड्रोन क्यामरामार्फत सवारी साधन व्यवस्थापन गर्दै आएको छ । सवारी साधन दिनानुदिन भित्रिँदै जाने र आवश्यक पूर्वाधार नहुँदा उपत्यकाको ट्राफिक व्यवस्था झन जटिल बन्दै जाने महाशाखाले जनाएको छ । रासस

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »