अन्तर्वार्ता

२०७३-१२-८ मा प्रकाशित     ५६० पटक पढिएको    ० बिचार / प्रतिक्रिया

दैनिक ३८ टन उत्पादन क्षमताको उद्योग बनाउन सफल भएका छौं

कविस अग्रवाल
प्रबन्ध निर्देशक, सुदूर फूड इण्डष्ट्रिज

२०७१ सालमा कैलालीको गेटामा सुदूरपश्चिमकै पहिलो बिस्कुट उद्योगको रूपमा स्थापना भएको सुदूर फूड इण्डष्ट्रिजले हालै उद्योगको स्तरोन्नति गरेको छ । शुरूमा दैनिक १८ टन उत्पादन क्षमता भएको उक्त उद्योगले बजारमा बिस्कुटको माग बढ्दै गएपछि २० टन दैनिक उत्पादन क्षमताको अर्को प्लाण्ट जडान गरी दैनिक उत्पादन क्षमता ३८ टन पुर्‍याएको छ । विशेष गरी गतवर्षको अघोषित नाकाबन्दीपछि बिस्कुटको माग ह्वात्तै बढेको र उद्योगले थप प्लाण्टको आवश्यकता महसुस गरी उक्त प्लाण्ट जडान गरेको हो । यस क्षेत्रमा उत्पादनमूलक उद्योगको खासै उपस्थिति हुन नसकेको अवस्थामा उक्त उद्योगले गेटामा उत्पादन भएका बिस्कुट नेपालका अधिकांश जिल्लामा निर्यात गर्न सफल भएको छ । प्रस्तुत छ–बिस्कुट उद्योगको वर्तमान अवस्था, सम्भावना, लगानी तथा आगामी योजनाबारे आर्थिक अभियानका संवाददाता वीरेन्द्र भट्टले उद्योगका प्रबन्ध निर्देशक कविस अग्रवालसँग गरेको अन्तरवार्ताको सार :

ठूला लगानीका उद्योगको स्थापना सुदूरपश्चिममा हुन नसकेको अवस्थामा यहाँले बिस्कुट उद्योग सञ्चालनमा ल्याउनुभयो । उद्योग सञ्चालनमा आएपछि कत्तिको उत्साहित हुनुभयो ?
उद्योगको खासै विकास नभएको क्षेत्रमा उद्योग सञ्चालन गर्नु, त्यसमा पनि नयाँ प्रकारको उद्योग खोल्नु सजिलो त पक्कै छैन । तर, सम्भावना भएको क्षेत्रमा उद्योग खोल्दा भविष्यमा त्यसको प्रतिफल अपेक्षाअनुरूप नै आउने भएकाले हामीले यस प्रकारको उद्योग सुदूरपश्चिममा खोलेका हौं । यस क्षेत्रमा पहिले एउटा पनि बिस्कुट उद्योग नभएकाले वार्षिक करोडौंको बिस्कुट भारत तथा नेपालका अन्य जिल्लाबाट आयात गर्नुपर्ने अवस्था थियो । अब त्यो थोरै भए पनि कम भएको छ । हामीले गुणस्तरमा जोड दिएर विभिन्न थरीका बिस्कुट उत्पादन गरेपछि सुदूरपश्चिममा मात्रै नभएर नेपालका अन्य जिल्लामा समेत माग बढ्दै गएपछि हामी उत्साहित भएका हौं । विविध प्रकारका उद्योगको उच्च सम्भावना बोकेको क्षेत्र पनि सुदूरपश्चिम नै भएकाले बिस्कुटको मागअनुसारको पूर्ति गर्न उद्योग खोलेका हौं ।

उद्योगमा लगानीको अवस्था के छ ?
२०७१ सालमा हामीले बिस्कुट उद्योग सञ्चालनमा ल्याएका हौं । शुरूमा उद्योगको दैनिक उत्पादन क्षमता १८ टन मात्रै थियो । जब भारतले अघोषित नाकाबन्दी गर्‍यो एकाएक बिस्कुटको माग बढ्न गयो । हामीले त्यो समयमा मागअनुसार उत्पादन गर्न सकेनौं । बिस्कुटको माग नेपालभरि नै बढेपछि त्यही बेलादेखि थप प्लाण्ट जडान गर्नुपर्छ भन्ने सोच पलाएको हो । पछि दैनिक २० टन उत्पादन क्षमताको अर्को प्लाण्टको तयारी गरेका थियौं । र, उक्त तयारीबमोजिम केही दिनअघि मात्र २० टन उत्पादन क्षमताको अर्को प्लाण्ट जडान गरी उत्पादन शुरू गरेका छौं । अब हाम्रो उद्योगको दैनिक उत्पादन क्षमता ३८ टन पुगेको छ । शुरूमा १८ टन दैनिक उत्पादन क्षमताको उद्योग स्थापनाका लागि १४ करोड रुपैयाँ लगानी लागेको थियो भने अहिले सबै गरेर उद्योगमा २५ करोड रुपैयाँ लगानी भइसकेको छ । हामीले २/३ वर्षकै अवधिमा उद्योगको थप स्तरोन्नति गरेर उत्पादनमा जान सकेकाले उत्साहित भएका छौं । हाम्रो उद्योगमा नेपाल एसबीआई बैङ्कले लगानी गरेको छ ।

उद्योगको दैनिक उत्पादन क्षमता ३८ टन भए पनि उद्योगले किन पूर्ण क्षमताअनुसार उत्पादन गर्न नसकेको हो ?
अहिले नै हामी पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्न सक्ने अवस्थामा छैनौं । दैनिक ५/७ टन मात्रै बिस्कुट उत्पादन गर्दै आएका छौं । किनभने अवैधानिक रूपमा भारतबाट छ्यापछ्याप्ती बिस्कुटहरू भित्रिएका छन् । खुला सिमानाका कारण  बिनाभन्सारका बिस्कुटहरू सोझै नेपाली बजारमा आएका छन् । थोरै मूल्य र बढी तौलका गुणस्तरहीन भारतीय बिस्कुट आउन थालेपछि कतिपय विक्रेताहरूले पनि बढी मुनाफा पाउने भएका कारण तिनै बिस्कुट बेच्ने गरेका छन् । त्यसले गर्दा हामीलाई प्रतिस्पर्धा गर्न गाह्रो भएको छ । र, उद्योग पूर्ण क्षमतामा जान सकेको छैन । सीमाक्षेत्रमा अवैधानिक बिस्कुटको आयात रोक्न स्थानीय प्रशासनले कडाइ गर्ने हो भने स्वदेशी उत्पादनले प्राथमिकता पाउने अवस्था रहन्छ । बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धाका कारण नेपालमा अहिले ३/४ ओटा बिस्कुट उद्योग बन्द भइसकेको अवस्था छ । सुदूरपश्चिममा बिस्कुटको जुन माग छ, त्यसलाई पुग्ने गरी हामीले उद्योग सञ्चालनमा ल्याएका छौं । स्वदेशी उत्पादनको प्रवर्द्धन र लगानीको सुनिश्चितताका लागि सबैबाट आवश्यक साथ र सहयोग मिल्ने हो भने हामी उद्योगलाई पूर्ण क्षमतामा लैजान सक्छौं ।

यहाँले उत्पादन गरेका बिस्कुटको माग अहिले कुन क्षेत्रमा बढी छ ?
हामीले सुदूरपश्चिमलाई नै लक्षित गरी बिस्कुट उद्योग सञ्चालन गरेकाले यसै क्षेत्रमा माग र खपत पनि बढी छ । पूर्वका धेरैजसो जिल्लामा हाम्रा उत्पादनले बजार पाएका छन् । सबै जिल्लामा बजार प्रतिनिधि पठाउन नसकेकाले पनि अपेक्षाअनुसार बजार विस्तार गर्न सकिएको छैन । हामीले केही दिनअघि मात्रै काठमाडौंमा कार्यालय खोलेका छौं । सबै क्षेत्रमा बजार विस्तार गर्न आवश्यक तयारीमा पनि जुटेका छौं । पहिला हामी उद्योगको क्षमता वृद्धिमै केन्द्रित थियौं । अब हामी यसको बजारीकरणमा केन्द्रित हुन्छौं र सबै जिल्लामा पुर्‍याउने लक्ष्यका साथ अघि बढ्छौं । हामीले विभिन्न क्षेत्रमा आधिकारिक डिलरहरू नै नियुक्त गरी उत्पादन पठाउँदै आएका छौं ।

३ वर्षको अवधिमा उद्योगले कत्तिको मुनाफा आर्जन गरेको छ ?
अहिले हामी लगानीकै क्रममा छौं । उद्योग सञ्चालनमा ल्याउनेबित्तिकै मुनाफा आर्जन हुने अवस्था रहँदैन । एक त हामी पूर्ण क्षमतामा जान सकेका छैनौं । अर्को चिनीको मूल्य बढेकाले पनि अहिले नै मुनाफा आर्जन गर्न सकिने अवस्था देखिँदैन । हामीले ४/५ वर्षसम्म मुनाफाको अपेक्षा गरेका छैनौं । झण्डै २ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । हामी यसैमा सन्तुष्ट छौं । विशेष गरी आर्थिक रूपमा कमजोर, दलित तथा श्रीमान् नभएका, श्रीमान्ले छोडेका ग्रामीण महिलाहरू हाम्रो उद्योगमा कार्यरत भएकाले हामीले प्राथमिकताका साथ उनीहरूलाई सबैभन्दा पहिले उचित पारिश्रमिक दिएर उद्योग चलाइरहेका छौं । २ सय जनाको चुलोचौको राम्रोसँग चलेकाले हामी निकै सन्तुष्ट छौं । यहाँ रोजगारीको अभाव रहेकाले आएजतिलाई रोजगारी दिन सकेका छैनौं । धेरैलाई रोजगारी दिन सक्नु नै हाम्रो सफलता होजस्तो मलाई लाग्छ । अहिले हामीले ५ रुपैयाँदेखि ५० रुपैयाँसम्मका  मिल्क क्रिम, पाइनापल क्रिम, नमकिनलगात ३० प्रकारका बिस्कुट उत्पादन गर्दै आएका छौं ।

आगामी योजनाहरू के छन ?
पहिला त हामी बिस्कुट उद्योगलाई नै पूर्ण रूपमा सक्षम बनाउन लागि पर्नेछौं । नेपालभर बजार विस्तार गर्ने योजनाका साथ काम गरिरहेका छौं । हालै मात्रै हामीले कुरकुरे उद्योग पनि सञ्चालनमा ल्याएका छौं । धनगढी उप–महानगरपालिका–७ मा सुदूर फूड इण्डष्ट्रिज प्रालि नामक उद्योग नै स्थापना गरेर अहिले परीक्षण उत्पादनमा लागेका छौं । साढे ३ करोड रुपैयाँको लगानीमा २ सय किलो प्रतिघण्टा उत्पादन क्षमताको उपकरण नै जडान गरेर आलु चिप्स, कुरकुरे, ममकन, करोरी, रिङ, चिजवल, मिल तथा मसला पप गरी ९ ओटा ब्राण्डका कुरकुरे बजारमा ल्याउने गरी परीक्षण उत्पादन भइरहेको छ । अहिले सबै ब्राण्डको ५ देखि १० रुपैयाँ प्रतिप्याकेज मूल्य निर्धारण गरिएको छ । यी दुवै उद्योगलाई पूर्णता दिइसकेपछि चाउचाउ उद्योग सञ्चालनमा ल्याउने योजना छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »