यातायात

२०७३-१२-८ मा प्रकाशित     ८३१ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

सुरक्षित बाइक ड्राइभिङ

अहिलेको व्यस्त जीवनशैलीका कारण सबैजसो कामकाजी मानिसका लागि मोटरसाइकल अत्यावश्यक साधन बनेको छ । आफूले चाहेको समयमा घर, कार्यालयलगायत गन्तव्यसम्म पुग्न सकिने भएकाले पछिल्लो समय मोटरसाइकल चलाउनेहरू बढ्दै गएको अटो व्यवसायीहरू बताउँछन् । त्यसमा पनि ग्रामीण क्षेत्रको तुलनामा शहर, बजारमा यस्तो सङ्ख्या बढ्दै गएको देखिन्छ ।

सेवासुविधा, विकासका पूर्वाधार, रोजगारीको सम्भावनालगायत कारण देशका काठमाडौं, पोखरा, बुटवल जस्ता मुख्य शहरमा बसाइसराइ गरेर आउनेहरू बढेका छन् । जनसङ्ख्या बढेसँगै निजी सवारीको रूपमा मोटरसाइकलको प्रयोग पनि दिनप्रतिदिन बढ्दो छ । सवारीसाधनको तुलनामा सडक विस्तार तथा स्तरोन्नति हुन नसक्दा पछिल्लो समय जाम तथा सडक दुर्घटना बढ्दै गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको भनाइ छ । उसका अनुसार शहरी क्षेत्रमा अत्यधिक रूपमा बढिरहेको मोटरसाइकललगायत साना सवारीसाधन ट्राफिक व्यवस्थापनमा चुनौती बन्दै गएका छन् ।

काठमाडौं उपत्यकाका सडकमा सञ्चालन हुने सवारीसाधनमध्ये सबैभन्दा बढी सङ्ख्या मोटरसाइकलको छ । र, तुलनात्मक रूपमा युवा तथा किशोरहरूले नै यसको बढी प्रयोग गरेको पाइन्छ ।

नेपालमा बढी दुर्घटना हुने सवारीमा मोटरसाइकल अग्रस्थानमा रहेको विभिन्न ट्राफिक तथ्याङ्कहरूले देखाएका छन् । मोटरसाइकल बढी दुर्घटनामा पर्नुमा मादकपदार्थको सेवन, तीव्र गति, ट्राफिक नियमबारे जानकारीको कमी, नियम पालनामा उदाशीनतालगायत चालककै कमजोरी मुख्य कारण रहेको ट्राफिक प्रहरीको भनाइ छ । सवारी सञ्चालनसम्बन्धी विभिन्न निमय, कानून भए पनि मोटरसाइकल चालकहरूले त्यसको पालना गरेको पाइँदैन । यसमा मुख्यतः लेन अनुशासनको पालना नगर्नु, सडकमा जथाभावी पार्किङ गर्नु, फूटपाथमा पार्किङ तथा चलाउने गर्नु, अनावश्यक एक्सिलेटर बढारेर ध्वनि प्रदूषण गर्नु, जिक–ज्याक तरीकाले (नागबेली बनाउँदै) चलाउनु कानूनीविपरीत कार्य हुन् । यसैगरी, स्पटलाइन एरियामा अन्य सवारी साधनहरूभन्दा अगाडि मोटरसाइकल रोकेर सबैलाई बाधा पुर्‍याउने, जेब्राक्रशिङबाट बाटो काटिरहेका पैदलयात्रीलाई प्राथमिकता नदिई उल्टै चर्कौ हर्न बजाउँदै अगाडिबाटै मोटरसाइकल हुइँक्याउने र अन्य सवारीसाधनलाई बाधा हुने गरी बीचबीचमा मोटरसाइकल छिराउने कार्यलाई पनि ट्राफिक नियमले अवैध ठहर गरेको छ ।

मोटरसाइकल मानिसको सहजताका लागि आवश्यक साधन भए पनि यसको दुरुपयोग बढ्दै गएको पाइन्छ । कुनै पनि मोटरसाइकललाई विनाअनुमति रङ, सीट सङ्ख्या, स्वरूप वा इञ्जिन चेसिसमा परिवर्तन गर्ने कार्यलाई स्वरूप परिवर्तन भनिन्छ । यस्तो कार्यलाई सवारी कानूनले निषेध गरेको छ । त्यसैगरी, मोटरसाइकलको शक उठाउने, चर्को आवाज आउनेगरी साइलेन्सर पाइप फेर्ने, म्युजिकल हर्न बजाउने जस्ता कार्य पनि यसैअन्तर्गत अवैध मानिएका छन् । यस्तो कार्य गर्नेलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६० बमोजिम १ हजारदेखि ५ हजार रुपैयाँसम्म जरीवाना हुने व्यवस्था छ ।

दुर्घटना अकल्पनीय कार्य हो । यो जुन कुनै बेला पनि हुन सक्छ । यद्यपि, ट्राफिक नियमको पूर्ण परिपालन र होशियारी अपनाउन सके यस्तो जोखीमलाई अवश्य पनि कम गर्न सकिन्छ । मुख्यतः सवारी सञ्चालनसम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान नहुँदा नै बढी दुर्घटना हुने भएकाले यसमा योग्य भएर मात्र चलाउने गर्नुपर्छ । सानो मात्र गल्ती, कमजोरीले पनि आफू र सँगै यात्रा गर्ने व्यक्तिको ज्यान जोखीममा पर्न सक्छ । त्यसैले, चालकले सुरक्षाका अत्यावश्यक र आधारभूत विषयमा ध्यान दिनुपर्छ ।

चालकको भूमिका
मोटरसाइकल चालकले यी तरीका अपनाए ट्राफिक नियमको पालना पालना हुन्छ  । यसले दुर्घनाको जोखीम घटाउन समेत मद्दत पुग्छ :
–    सवारी चलाउँदा सवारी दर्ता किताब र सवारी चालक अनुमतिपत्र अनिवार्य रूपमा बोक्नुपर्छ ।
–    सधैं हेलमेटको प्रयोग गर्ने, त्यसको फिता÷तुना राम्ररी बाँध्ने गर्नुपर्छ ।
–    लागू पदार्थ तथा मादक पदार्थ सेवन गरेर कहिल्यै पनि सवारी चलाउनु हुँदैन ।
–    ट्राफिक सङ्केत र चिह्नहरूको राम्रोसँग पालना गर्नुपर्छ ।
–    मोटरसाइकल चलाउँदा मोबाइल फोनको प्रयोग नगर्ने, अति आवश्यक भएको अवस्थामा सडकको बायाँ किनारामा रोकेर कुरा गर्ने बानी बसाल्नुपर्छ ।
–    अचानक सवारी साधन रोक्नुपर्दा आफूभन पछाडिको सवारीसाधनको अवस्था हेर्ने गर्नुपर्छ । पछाडिको सवारीले धक्का दिन सक्ने हुँदा यस्तो बेला बढी नै होशियार हुनुपर्छ ।
–    राति चलाउँदा बत्तीको प्रयोग अनिवार्य गर्नुपर्छ ।
–    सडक पेटीबाट कदापि सवारी नचलाउने, सडक पेटीबाट साधन चलाउँदा पैदलयात्रीलाई बाधा पुग्नुका साथै दुर्घटनाको सम्भावना पनि हुन सक्छ ।
–    जति नै हतार भए पनि तीव्र गतिमा चलाउनु हुँदैन । तीव्र गति दुर्घटनाको मुख्य कारण हो ।
–    साना बच्चाहरूलाई मोटरसाइकलको इन्धन ट्याङ्की वा चालकको अगाडिको भागमा चढाउनु हुँदैन ।
–    घुम्तीहरूमा सकेसम्म ब्रेकको प्रयोग नगर्ने, अत्यावश्यक भए दुवै ब्रेकको सुरक्षित प्रयोग गर्नुपर्छ ।
–    ओभरटेक गर्ने, जिकज्याक चलाउने र जथाभावी पार्किङ गर्नु हुँदैन ।
–    लेन अनुशासनको पालना गर्ने, पैदलयात्रीलाई सधैं प्राथमिकता दिने गर्नुपर्छ ।
–    महिला, बालबालिका र फरक ढङ्गले सक्षम व्यक्तिहरूलाई बाधा पुग्ने गरी चलाउनु हुँदैन ।

अभिभावकको भूमिका
दुर्घटना हुनुमा सधैं चालक एक्लै पनि जिम्मेवार हुँदैन । यसमा अप्रत्यक्ष रूपमा उसका परिवार÷अभिभावक पनि जिम्मेवार हुन्छन् । छोराछोरीले रहर गरे भन्दैमा उमेर र क्षमता नपुगी मोटरसाइकल चलाउन दिनु अभिभावकको कमजोरी हो । यस्तो कार्यले ठूलो क्षति निम्त्याउन सक्छ । अभिभावकले आफ्नो छोराछोरीको वास्तविक समस्या, आवश्यकता, र योग्यता बुझेर मात्र मोटरसाइकल चलाउन दिने गर्दा उनीहरू बढी सुरक्षित हुन सक्छन् । साथै, तुलनात्मक रूपमा किशोरकिशोरीले बाइक/स्कुटी तीव्र गतिमा चलाउने हुँदा त्यसको निगरानी राख्नु पनि अभिभावकको कर्तव्य हो । उनीहरूले सधैं सवारी नियमको पालना गर्न प्रोत्साहन गर्नुपर्छ । आफूले नियन्त्रण गर्न सक्ने साधनबाट दुर्घटनाको सम्भावना कम हुने भएकाले यस्ता सवारीको प्रयोगमा जोड दिनुपर्छ ।

दुर्घटनाबाट जोगिन तीव्र गतिमा सवारी नचलाउन, मोबाइल फोन प्रयोग नगर्न, जताततैबाट ओभरटेक नगर्न र स्तरीय हेलमेट सुरक्षित तरीकाले प्रयोग गर्न आफ्ना छोराछोरीलाई अभिभावकले सम्झाउनुपर्छ । साथै, त्यसको पालना गरे/नगरेको बुझ्ने पनि गर्नुपर्छ । मादक पदार्थ सेवन गरेको अवस्थामा सवारी चलाउनु दिनु हुँदैन । अभिभावकहरूले सुरक्षित मोटरसाइकल सञ्चालनबारे आफ्ना टोलछिमेकमा बेलाबेला सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्न सक्छन् ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »