अर्थान्तर

२०७३-१२-१८ मा प्रकाशित     १४४२ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

आजका अतिथि


पुष्कर वज्राचार्य
पूर्वप्राध्यापक
त्रिभुवन विश्वविद्यालय

पुष्कर वज्राचार्यको जन्म विसं २०१० मा काठमाडौंको मखन टोलमा भएको हो । उनले त्रिभुवन विश्वविद्यालयबाट एमकम तथा बीएल गरेका हुन् । बेलायतको हेरिएटवाट युनिभर्सिटीबाट एमबीए तथा दिल्ली युनिभर्सिटीबाट म्यानेजमेण्टमा पीएचडी गरेका उनी २०३० देखि २०७३ सम्म त्रिभुवन विश्वविद्यालयमा म्यानेजमेण्ट विषयको प्राध्यापनमा संलग्न थिए । उनी २०६६ देखि २०६८ सम्म राष्ट्रिय योजना आयोगको सदस्य रहेका थिए । अर्थशास्त्र र विकास विषयका थुप्रै अनुसन्धान र प्रकाशनमा संलग्न वज्राचार्यको पहिलो पूँजीबजारको नीति निर्माण गर्नमा योगदान रहेको छ । उनले बनाएको नीतिकै आधारमा नेपालमा नेप्सेको शुरू भएको हो । हाल उनी उद्योग मन्त्रालयअन्तर्गत अनुगमन समितिको अध्यक्ष छन् ।

सम्पादकीय

धितोपत्र कारोबारसम्बधी वर्तमान अवस्था
नेपालमा सार्वजनिक कम्पनीको विकास विसं १९९० को दशकदेखि भए तापनि व्यवस्थित धितोपत्र कारोबारको ऐन २०३७ मा मात्र बनेको थियो । कारोबार केन्द्रको स्थापना विसं २०३३ मा भएको हो । उपयुक्त कानूनी आधारविना महत्वपूर्ण विषयको थालनी नेपालमा नौलो होइन ।

नेपालमा बृहत् आर्थिक सुधार गर्न र धितोपत्र व्यवसायलाई वास्तविक अर्थ प्रदान गर्न नीतिगत थालनी विसं २०५० मा नेपाल सेक्युरिटिज खरीदविक्री केन्द्रको स्थापनासँगै भएको हो । यसको रेखदेख सुपरिवेक्षण तथा निरीक्षणका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)को स्थापना गरी आवश्यक संयन्त्र स्थापना भएको थियो । फलस्वरुप छोटो अवधिमा निवेशकर्ताहरुलाई बलियो र पृथक् अवसर सृजना गरी प्राथमिक क्षेत्रमा लगानी गर्न नीतिगत व्यवस्थाले प्रक्षेपित गरेजस्तै पर्याप्त टेवा तथा उत्प्रेरणा पुर्‍याएको देखिन्छ । साथै सेबोनले निवेशकर्ताहरुलाई पूँजी अभिवृद्धि तथा वार्षिक रुपमा पर्याप्त प्रतिफल प्रदान गर्न सक्षम भएको देखिन्छ । विगत २३ वर्षको अनुभवले यस बजारमा सहभागी संस्थाहरुको उपस्थिति महत्वपूर्ण रहेको छ । यति हुँदाहुँदै पनि बजारमा बेलामौका देखिएको अत्यधिक उतारचढाव, साना लगानीकर्ताको सुरक्षा, पोर्टफोलियो लगानीको कम अवसर र अन्तरराष्ट्रिय बजारसँग आबद्ध हुन नसक्दा यसको अपेक्षित विकास भने भएको देखिँदैन ।

धितोपत्र बजार अत्यन्त परिवर्तनशील तथा जोखीमपूर्ण बजार हो । यसमा धितोपत्र बोर्ड अत्यन्त चनाखो भई बजारका सहभागीभन्दा एक पाइला अगाडि नै आफू उपस्थित हुनुपर्छ । बजारलाई कम जोखीमपूर्ण र व्यवस्थित बनाउन उपयुक्त नीति बनाई सुरक्षित तथा गतिशील बनाउनु जरुरी छ । तर, यसतर्फ बोर्ड सफल रुपमा लाग्न सकेको छैन । त्यस कारण नै बजार बढी जोखीमपूर्ण बनेको विज्ञहरुको अनुमान छ ।

अहिले कम्पनी विकासको गति स्थिर हुन पुगेको छ । बजारमा उपलब्ध आधुनिक स्रोत साधनहरु सीमित छन् । कारोबार पूर्णरुपमा स्वचालित हुन सकेको छैन । धितोपत्रको अवस्था विश्लेषण गरी निक्षेपकर्ताहरुलाई सहयोग पुर्‍याउने माध्यमको अभाव छ । अझै पनि शेयरबजारलाई प्रभाव पार्ने किसिमले हुने भित्री कारोबारलाई पूर्णरुपमा निरुत्साहित गर्न सकिएको छैन । बजारमा सहभागी संस्था तथा व्यक्तिको क्षमता पनि कमजोर देखिन्छ । त्यसैले धितोपत्र कारोबार अन्तरराष्ट्रियस्तरमा विकास गर्न निकै चुनौतीपूर्ण देखिन्छ ।

कतिपय अर्थशास्त्री र राजनीतिज्ञहरु पनि यसलाई अनुत्पादनशील क्रियाकलाप भनी यसको वास्तविक महत्व र भूमिकालाई गौण गर्न प्रयासरत छन् । तर, विकसित धितोपत्र कारोबारको सम्भाव्यताले कुनै पनि उत्पादनशील सेवाक्षेत्र तथा अन्य व्यवसायलाई बढी सम्भाव्य बनाई लगानीको वातावरण सुधार गर्छन् ।

नेपालको शेयरबजारलाई अन्तरराष्ट्रिय बजारमा आबद्ध गर्न सकेमा वैदेशिक लगानीमा समेत अभूतपूर्व परिवर्तन हुनेछ । तर, यसका लागि नियमकारी भूमिकामा रहेको सेबोनको क्षमतामा पर्याप्त अभिवृद्धि गरिनुपर्छ । यसलाई पूर्णतः पेशेवर संस्था बनाउन सके मात्र वास्तवमा धितोपत्र बजारको सही विकास गर्न सकिन्छ ।

बजारमा अहिले एक प्रकारको स्थिरता आएको छ । यस परिस्थितिलाई सुधार गर्न पूर्वाधार, अनुगमन क्षमता तथा समन्वय शुरु गर्न जरुरी छ । सहभागी संस्था र व्यक्तिसमेतको क्षमता अभिवृद्धि गर्न ठोस प्रयास आवश्यक छ । त्यस्तै यस व्यवसायलाई स्वच्छ र भरपर्दो बनाउन उचित तथ्याङ्कको आधार तयार गर्नु पनि उत्तिकै आवश्यक छ । बजारमा वित्तीय संस्था तथा ऊर्जा कम्पनीको प्रभुत्वभन्दा नयाँ क्षेत्र र संस्थाहरुको विकासमा ध्यान पुर्‍याउन सकेमा बजारको अभिवृद्धि हुन्छ । साथै सक्षम र ज्ञानयुक्त जनशक्तिलाई यस क्षेत्रमा आकर्षित गर्न सकिन्छ ।

नेपालको धितोपत्र कारोबार शैशवकालमा नै छ । यो क्षेत्र ससाना लगानी सङ्कलन गर्न सकिने बलियो र भरपर्दो माध्यमका रुपमा विकसित हुँदै छ । साथै समयसमयमा देखिने अत्यधिक उतारचढावले जोखीम पनि त्यत्तिकै बढेको लगानीकर्ताले अनुभूति गरेका छन् । धितोपत्र कारोबार र व्यवसायलाई उचित अनुगमन गर्दै नयाँ माध्यम र प्रयोगबाट बजारको विकास गरी देशकै आर्थिक विकासको एउटा महत्वपूर्ण जगको रुपमा विकसित गर्न सकिन्छ ।

सेबोनले आफ्नो क्षमता अभिवृद्धि गरी लगानीकर्ताबीच निरन्तर सहकार्य, छलफल र समन्वयद्वारा बजार विकास गर्न लागिपर्नु पर्छ । साथै नेपाल सरकारले पनि आवश्यक ऐन कानून तथा नियमको व्यवस्था गरी नियमनकारी निकायलाई टेवा पुर्‍याउनुपर्ने देखिन्छ । यस्तो गर्न सकेमात्र लगानीकर्तालाई समेत सुरक्षाको महसूस हुन्छ । त्यसका लागि बजार अभिवृद्धि गर्न पनि जरुरी छ । यसप्रति नेपाल सरकार र सम्बन्धित निकाय चनाखो हुनैपर्छ ।

सेबोन र नेप्सेको जुधाइले लगानीकर्ता किन प्रताडित ?


नवराज सुवेदी
महासचिव
शेयर लगानीकर्ता सङ्घ

नेपालको शेयरबजारका लगानीकर्ता ‘साँढेको लडाइँ र बाच्छाको मिचाइ’को कथा बन्ने गरेका छन् । शेयरबजारलाई नियमन गर्न बनेका मुख्य निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को आपसी लडाइँले चाँडै हुनुपर्ने बजार सुधार र विस्तारका कामहरू अवरुद्ध हुँदा लगानीकर्ता प्रताडित भएका छन् ।

यी दुई निकायबीचको लामो समयदेखिको लडाइँले शेयरबजारले पीडा भोग्दै आएको छ । शेयरलगानीकर्ता सङ्घको महासचिवको हैसियतले म यहाँ नामै किटेर भन्न बाध्य छु । नेप्सेका महाप्रबन्धक सीताराम थपलिया र सेबोनका अध्यक्ष डा. रेवतबहादुर कार्कीबीचको लडाइँ नै शेयरबजारमा रहेको समस्या हो ।  उहाँहरूले मैदानमा उत्रिएर को बलियो भन्ने देखाउनुपर्छ । होइन भने उहाँहरूको व्यक्तिगत मनमुटावको शिकार समग्र शेयरबजार हुनु हुँदैन । शेयर लगानीकर्ता सङ्घले पटकपटक प्रेस विज्ञप्ति जारी गरेर, नेप्से र सेबोन धाएर यही आग्रह गरिरहेको छ ।

म सार्वजनिक रूपमा नेप्सेका महाप्रबन्धक सीताराम थपलियालाई सोध्न चाहन्छु, नेप्सेको एउटा वेबसाइटलाई ठीक ढङ्गले सञ्चालन गरी लगानीकर्तालाई सेवासुविधा दिन नसक्ने तपाईंले पूर्ण अनलाइन कारोबार प्रणाली तत्काल कार्यान्वयनमा ल्याउन किन भाँजो हालिरहनुभएको छ ? चैत दोस्रो सातादेखि नेप्सेको डेट एक्सपायर कारोबार प्रणालीले काम गर्न बन्द गर्दा के विकल्प सोच्नुभएको छ ? आज दैनिक झण्डै ३ अर्बको शेयर कारोबार हुन लागिरहेको बेला १०, २० करोड रुपैयाँ पर्ने अनलाइन कारोबार प्रणाली ल्याउन केको उल्झन हो ? अब कि यत्ति समयभित्र पूर्ण अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याउँछु भनेर सार्वजनिक रूपमा भन्नुहोस्, होइन भने १÷२ महीना बाँकी भए पनि चाँडै पद छाडेर ठाउँ खाली गर्दिनुस्, सक्षमले आएर गर्छन् ।

विश्वको शेयरबजार कहाँ पुगिसक्यो, कति आधुनिक भइसक्यो । यहाँ भने एउटा पूर्ण अनलाइन कारोबार प्रणाली ल्याउने कि नल्याउने, त्यसबापतको कमिशन कसले कति बुझ्ने भन्नेमै विवाद गरेर नियमनकारी निकायका अधिकारीहरू बसिरहेका छन् ।

यस्तै सीधा प्रश्न धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीलाई पनि छ । नेप्सेको वर्षौं पुरानो कारोबार प्रणालीले काम गर्न छाडिसकेको अवस्थामा बोर्डले पहलकदमी गरेर तत्काल पूर्ण अनलाइन कारोबार प्रणाली ल्याउनुपर्ने हो । सरकारी टेण्डर प्रक्रियाबाट गर्दा ढिलो हुन्छ भने पनि बोर्डले आफ्नो असाधारण अधिकार प्रयोग गरेर यो काम गर्नुपथ्र्याे । तर, नेप्सेले झण्डै १ वर्षअगाडि टेण्डर गरेर अनलाइन कारोबार प्रणाली स्थापना गर्न लाग्दा बोर्डले त्यसलाई सहजीकरण नगरी कथित सेमी अनलाइन कारोबार प्रणालीको अभ्यास गराउँदा त्यो कति उपयोगी हुन्छ भन्ने प्रश्न उब्जिएको छ । अब लगानीकर्ताले खरीदविक्री आदेश मात्रै अनलाइनबाट दिने सेमी अनलाइन कारोबार प्रणाली होइन, पूर्ण अनलाइन प्रणाली तत्काल चाहिन्छ भनेर माग गरेका छन् । त्यसमा घात गर्ने प्रयास नेप्से वा सेबोन कतैबाट नहोस्, नत्र लगानीकर्ता आफ्नो सम्पत्तिको सुरक्षा र अधिकार रक्षाका लागि सडक आन्दोलनमा उत्रिनेछन् ।

म आम लगानीकर्ताको भावनाको प्रतिनिधित्व गर्दै यो पनि भन्छु कि नेप्सेले शेयर दलालहरूको मात्रै भाषा बोल्ने र सेबोनले नेप्सेले टेर्दै टेर्दैन भनेर लाचारी मात्रै व्यक्त गर्ने काम तत्काल बन्द गरियोस् । नेप्सेले शेयर दलालको शाखा विस्तार गर्न शेयर दलालहरूलाई कार्यादेश दिइसक्दा सेबोनले किन बाधा व्यवधान गर्दै छ भनेर हामी लगानीकर्ताले जान्न पाउनुपर्छ कि पर्दैन ?

यहाँ सूचीकृत कम्पनी तथा शेयर रजिष्ट्रार र निक्षेप सदस्यहरूको गैरजिम्मेवारीले लगानीकर्ताले अनेक गोता खाइरहनुपरेको छ । महीनौं पहिले सूचीकृत भइसकेका बोनस र हकप्रद शेयरहरू लगानीकर्ताको खातामा नपठाएर हदैसम्मको सास्ती लगानीकर्तालाई दिइरहेका छन् । बोर्डले यसको अनुगमन गर्नु पर्दैन ? अहिले पनि कतिपय दलालले शेयर बेचेको पैसा लगानीकर्तालाई निर्धारित समयमा भुक्तान गरिरहेका छैनन् भने शेयर किन्दा समयमै लगानीकर्ताको खातामा नपठाइदिएर र क्लोज आउटमा पर्दाको २० प्रतिशत जरीवाना खरीदकर्तालाई नदिएर बदमासी गरिरहेका छन् ।

लगानीकर्ता सङ्घको लामो प्रयासपछि नेप्सेले बल्लबल्ल तीनओटा क्लियरिङ बैङ्क थपेको छ । तर, ती बैङ्कले कहिलेदेखि काम गर्छन् भनेर अहिले पनि स्पष्ट पारिएको छैन ।

वाणिज्य बैङ्कलाई ब्रोकर लाइसेन्स दिने कुरा कता हरायो ? गैरआवासीय नेपाली र विदेशीहरूलाई नेपालको शेयरबजारमा भित्र्याउने कार्यविधि बन्यो कि बनेन र कहिलेदेखि खुला हुन्छ ? अहिलेका ५० ओेटा शेयर दलालको क्षमता विस्तार र थप शेयर दलाल थप्ने कुरा कहिले हुन्छ ? सेबोन र धितोपत्र बोर्डले स्पष्ट जवाफ दिनैपर्छ ।

म लगानीकर्ता सङ्घको महासचिवको हैसियतले बोल्दा मैले सेबोन, नेप्से, दलाल व्यवसायी, सूचीकृत कम्पनी, शेयर रजिष्ट्रार र निक्षेप सदस्यलाई मात्रै दोषी देखेको छैन । हामी लगानीकर्ताले पनि सुधार्नुपर्ने कयौं कुरा छन् । शेयरबजारमा सुरक्षित लगानी नगर्ने, हकप्रदमा उक्सिएर जत्ति पनि शेयर मूल्य बढाएर किन्ने अनि मूल्य घट्न थालेपछि रोइकराई गर्ने, आफूले कम्पनीहरूको पर्याप्त अध्ययन विश्लेषण नगर्ने, अरूको लहैलहैमा लाग्ने, कमजोर कम्पनीहरूमा लगानी गर्नेजस्ता अनेकौं समस्या लगानीकर्तामा छन् । बलियो र सुरक्षित कम्पनीहरूमा लगानी गरौं भन्ने सङ्घको आग्रह हो । यसो गरियो भने नियमनकारी निकायहरूले जति झगडा गरेर शेयरबजारको विकासमा ध्यान नदिए पनि शेयरबजार ध्वस्त हुँदैन र लगानीकर्ताले शेयर बेचेर भाग्नु पर्दैन । अहिलेको अल्पकालीन विकल्प यही नै हो ।

शेयरबजारमा सञ्चार माध्यमको प्रभाव


झविन्द्र भुसाल
मुख्य अधिकृत
प्रेस काउन्सिल नेपाल

वभिन्न सञ्चारमाध्यममा शेयरबजारलाई प्रभाव पार्ने गरी समाचार प्रकाशित भएका छन्, यसलाई प्रेस काउन्सिलले कसरी लिएको छ ?
प्रेस काउन्सिल नेपालले रेडियो, टेलिभिजन, पत्रिका र अनलाइनलाई आफूसँग भएको कानूनअनुसार पूर्णरूपमा अनुगमन गरिरहेको छ । यसले सञ्चारमाध्यमले आचारसंहिता पालना गरेका छन् कि छैनन् भनेर दुई किसिमले अनुगमन गरेको छ–  एउटा  आफै र अर्को उजुरीका आधारमा । सञ्चारमाध्यममा आएका विषयवस्तुमा हाम्रो ध्यान केन्द्रित भएको हुन्छ । मिडियाको सङ्ख्या धेरै भएको र काउन्सिलमा जनशक्ति कम भएका कारण नियमित अनुगमनमा केही कठिनाइ हुने गरेको छ । उपलब्ध जनशक्तिलाई कार्यालय समय र अतिरिक्त समयमा समेत परिचालन गरी अनुगमन गर्ने गरेका छौं । अर्को त्योभन्दा प्रभावकारी अनुगमन भनेको उजुरीका आधारमा गरिने अनुगमन हो । सञ्चारमाध्यमले आचारसंहिता उल्लङ्घन गरेको छ भन्ने उजुरी दर्ता गर्ने व्यवस्था छ । उजुरी आयो भने, त्यस आधारमा अनुगमन गर्ने गरेका छौं ।

शेयरबजारलाई प्रभाव पार्ने किसिमले आउने समाचारको उजुरी परेको छैन र हामीले पनि यस विषयमा अनुगमन गरेका छैनौं । शेयरबजारलाई प्रभावित गर्ने गरी गलत समाचार प्रसारण गरेर धेरै ठूलो चलखेल हुने गरेको छ भन्ने सुनिएको छ । गलत तथ्य, सन्तुलित र वस्तुनिष्ठ सूचना सम्प्रेषण नभई प्रभाव पार्ने गरी सूचना सम्प्रेषणका कारण कारोबार गर्नेहरू ठगिएका होलान् । यस विषयमा प्रेस काउन्सिल नेपालले अब आउने दिनमा अनुगमन गर्नेछ । यदि गलत रूपमा समाचार सामग्री, सूचनाहरू आएका छन् भनेर कोही कसैलाई लागेको छ भने त्यस्तो व्यक्ति वा संस्थाले प्रेस काउन्सिलमा विषय खोलेर कहिले कुन मिडियामा आएको उल्लेख गरेर उजुरी दिनुभयो भने काउन्सिलले अनुसन्धान गर्छ । कुनै मिडियाले गलत सन्देश दिन खोजेको छ भने उजुरी दिन यसै पत्रिकामार्फत अनुरोध पनि गर्न चाहन्छु ।

आचार संहिताअनुसार कस्तो कारबाही हुन्छ ?
आचारसंहिता नैतिक बन्धन हो । यसले पत्रकारितालाई जवाफदेही र मर्यादित बनाउन सघाउ पुग्छ । आचारसंहिता उल्लङ्घन गरेको ठहर भएमा आचारसंहितामा तोकिएबमोजिम कारबाही हुन्छ । सञ्चारमाध्यममा आचारसंहिता उल्लङ्घनको प्रकृतिअनुसार क्षमायाचना गर्न निर्देशन दिने, प्रेस पास निलम्बन गर्न सिफारिश गर्ने, वर्गीकरणमा पर्ने अवस्था छ भने त्यसबाट अलग गर्ने, विज्ञापन वा सुविधा उपलब्ध नगराउने, सरकारी भ्रमणमा सहभागी नगराउन सिफारिश गर्ने, खेद प्रकट गर्ने, अवज्ञाकारीको सूचीमा राख्नेजस्ता कारबाही हुन सक्छ । गलत प्रकाशन र प्रसारण गर्नेलाई तपाईंले गलत सूचना प्रसारण गर्नुभएको छ, यसलाई सच्याउनु, क्षमायाचनासहित खण्डन प्रकाशन गर्नु भनेर निर्देशन दिन सकिन्छ । शेयरबजारलाई नै केन्द्र मानेर भने कारबाही गरिएको छैन । शेयरबजारमा हुने गरेका गलत सन्देशको विषय केही उदाहरणसहित तपाईंले बताउनुभयो । अब यसप्रकारका विषयमा प्रवेश गरेर अनुसन्धान र अनुगमन गर्नेछौं । यस विषयमा आर्थिक क्षेत्रका विज्ञको सहयोग आवश्यक हुनसक्छ ।

कस्ता प्रकृतिका सञ्चारमाध्यमलाई कारबाही गर्नुभएको छ ?
पत्रिका, अनलाइन, रेडियो, टेलिभिजन चारै किसिमका सञ्चारमाध्यमलाई अनुगमन गर्नुका साथै आचारसंहिता उल्लङ्घनमा कारबाही गर्ने गरिएको छ ।

सामाजिक सञ्जाललाई कसले कारबाही गर्छ त ?
सामाजिक सञ्जाललाई अनुगमन गर्नु निकै चुनौतीपूर्ण छ । यो काउन्सिलको कार्यक्षेत्रभित्र पर्दैन । तर, पत्रकार र सञ्चारमाध्यमले सामाजिक सञ्जालको प्रयोग गर्दा आचारसंहिताका विषयहरू बिर्सनु हुँदैन भनेर जागरण गरिरहेका छौं । कतिपय विषय प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पनि हेर्ने गरेको छ ।  विद्युतीय कारोबार ऐन आकर्षित भई कारबाही पनि हुने गरेको छ ।

शेयरबजारलाई प्रभाव पारेर अर्बाैं चलखेल गर्ने सञ्चारमाध्यमलाई प्रेस काउन्सिलले के कारबाही गर्छ ?
मेरो विचारमा नैतिक कारबाही हुनु भनेको ठूलो कारबाही हो । तपाईंले सङ्केत गर्न खोजेजस्तो कडा किसिमको कारबाही काउन्सिलले गर्न सक्दैन । ऐन परिमार्जन गर्ने काम हुँदै छ । नयाँ बन्ने ऐनमा दण्डसजायको व्यवस्था राख्नुपर्छ भन्ने विषय उठेको छ । यस्ता विषय अदालतमा समेत जाँचिन्छन् । केही समयअघि जिल्ला अदालत मोरङले आचारसंहिता उल्लङ्घनसम्बन्धी मुद्दामा ५ हजार क्षतिपूर्ति दिने र ५ सय रुपैयाँ दण्ड जरीवाना हुनेगरी फैसला गरेको छ । काउन्सिलको निर्णयमा चित्त नबुझे अदालत जान सकिन्छ ।

पूँजीबजार विकासमा धितोपत्र दलालको भूमिका


भरत रानाभाट
उपाध्यक्ष, स्टक ब्रोकर
एशोसिएशन अफ नेपाल

कुनै पनि देशको विकासको अवस्था हेर्न सर्वप्रथम त्यो देशको पूँजीबजारको अवस्था कस्तो छ भनेर हेर्ने चलन छ । समग्रमा नेपालको आर्थिक अवस्थासँगै पूँजीबजारको अवस्था पनि बिस्तारै विकसित हुँदै गएको छ । कुनै पनि क्षेत्रको विकासका लागि त्यस क्षेत्रसँग सम्बन्धित सबैको उत्तिकै दायित्व हुन्छ । नेपालको पूँजीबजारलाई हेर्ने हो भने नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, जस्तै धितोपत्र दलालहरूको पनि यस क्षेत्रको विकास तथा विस्तारका लागि अहम् भूमिका रहन्छ र त्यो भूमिका धितोपत्र दलालहरूले निभाइरहेका छन् । प्रविधिको जति विकास हुन्छ, त्यति नै बढी यस क्षेत्रप्रति लगानीकर्ताको विश्वास बढ्दै जाने र सहज कारोबार गर्न सकिने विगत केही वर्षयता बजारमा आएको परिवर्तनले देखाएको छ । त्यसका लागि धितोपत्र दलालले आफूलाई खरो रूपमा उतारेका छन् । काठमाडौं उपत्यकामा सीमित धितोपत्र कारोबारलाई देशव्यापी बनाउने नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेञ्जको उद्देश्यअनुरूप हामी धितोपत्र दलालहरू नेपालका प्रमुख शहरमा पुगिसकेका छौं । यसले गर्दा आउँदा दिनमा बजार अझ विकसित भई देशका अधिकांश ठाउँबाट लगानीकर्ता यस बजारसँग जोडिन पुग्नेछन् । समयअनुसार आफूलाई अझै परिष्कृत गर्दै जाने क्रममा कम्पनीको पूँजी तथा क्षमतावृद्धि गर्दै अहिले गरिरहेको खरीदविक्री कार्यलाई अझ फराकिलो पार्न नेपाल धितोपत्र बोर्डसँग माग गरिँदै आएको छ । त्यसका लागि हामी आफूलाई समयअनुसार सक्षम बनाउँदै सदैव अगाडि बढिरहेका छौं । यस्ता कार्यले नेपालको पूँजीबजार विस्तारै परिपक्व भई लागानीकर्ताले त्यसबाट अझ बढी फाइदा लिन सक्नेछन् । देशको समग्र विकासका लागि पूँजीबजारको दु्रत विकास अपरिहार्य छ । त्यसको ड्राइभरका रूपमा रहेका हामीले पूँजीबजारको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा दुईमत रहन सक्दैन । समयको मागअनुसार आउँदा दिनमा पूँजीबजारमा जुन परिवर्तन आउनेवाला छ, त्यसलाई आत्मसात गर्दै देशको पूँजीबजारलाई अन्तरराष्ट्रि«यस्तरको पूँजीबजार बनाउन हामी धितोपत्र दलालहरूको योगदान महत्त्वपूर्ण रहनेछ ।

पृष्ठ संयोजन– भवनाथ प्याकुरेल


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »