प्रडक्ट

२०७३-१२-२० मा प्रकाशित     ४३४ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

उत्पादनशील क्षेत्रमा लगानी गर्न पाउनुपर्छ

केशव बडाल
अध्यक्ष, राष्ट्रिय सहकारी सङ्घ

नेपालको आर्थिक सामाजिक विकासमा सहकारीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । सहकारीमा संविधानले परिभाषित गरेका महिला, जनजाति, आदिवासी र पिछडिएको समुदायको सबैभन्दा धेरै आबद्धता छ । विशेषगरी यो समुदायको आर्थिक समाजिक परिवर्तनमा सहकारीले उल्लेख्य भूमिका निर्वाह गरेको छ । प्रस्तुत छ, नेपालमा सहकारीको आवश्यकता, सहकारी सङ्घको भूमिका र सहकारी दिवसको सेरोफेरोमा रहेर राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव बडालसँ ग आर्थिक अभियानकी रञ्जु काफ्लेले गरेको कुराकानी :

सरकारले तीनखम्बे नीतिमा सहकारीलाई एक खम्बाको रूपमा परिभाषित गरे पनि सहकारी अर्थतन्त्रको सबल खम्बा बन्न सकेन भन्छन् नि ?  
संविधान, नीति तथा कानूनहरू बन्ने बनाउने वर्तमान परिप्रेक्ष्यमा राज्य एक्लैले विकासका सबै काम गर्न सक्दैन भन्ने महसूस गरेको छ । राज्य, निजीक्षेत्र वा सहकारी कसैले पनि एक्लैले आर्थिक विकासको लक्ष्य भेट्न सक्दैनन् । त्यसैले, तीनखम्बे नीतिको अवधारणा आएको हो । पर्याप्त सम्भावना, स्रोतसाधनले सम्पन्न रहे पनि नेपाल आर्थिक विकासमा धेरै पछाडि रहेको छ । स्वाधीन, समृद्ध, सुखी र सम्पन्न नेपाल निर्माणका लागि राज्य एक्लैले सक्दैन, निजीक्षेत्रले पनि सक्दैन, सहकारीले पनि सक्दैन । छरिएको पूँजी, श्रम, शीप र अनुभवलाई अधिकतम सदुपयोग गर्दै राज्य, निजीक्षेत्र र सहकारीले आर्थिक विकासबाटै समाज परिवर्तनका लागि प्रयास गर्नुपर्छ । तीनओटै खम्बा सबल हुनुपर्छ ।

नेपालको अर्थतन्त्रमा सहकारीको भूमिका कस्तो छ ?
सबैका लागि लोकतन्त्र भए मात्र सधैंका लागि लोकतन्त्र हुन्छ र देशमा विकासले गति लिन्छ । २००७ सालको परिवर्तनले आर्थिक सामाजिक वातावरणीय विषय पहिल्याएको थियो । सोही परिवर्तनको प्रतिफलस्वरूप नेपालमा सहकारीको अवधारणा आयो । अहिले देशमा ३६ सयभन्दा बढी सहकारीकर्मी छन् । त्यसमा पनि ४८ प्रतिशत महिलाको सहभागिता छ भने ५१ प्रतिशत महिलाले सहकारीलाई सफल नेतृत्व दिएका पनि छन् । ६० लाख शेयर सदस्य रहेको सहकारीमा आदिवासी, जनजाति, दलित तथा पिछडिएको वर्गका मानिस आबद्ध छन् । ती सबैको जीवनमा सहकारीले सकारात्मक परिवर्तनसमेत ल्याएको छ । त्यसैले, नेपालको अर्थतन्त्रमा सहकारीको भूमिका महत्त्वपूर्ण छ ।

सहकारीले सहकारी सिद्धान्तभन्दा बाहिर रहेर काम गरेका गुनासाहरू पनि आएका छन्, सहकारीहरू सा“च्चै निर्धारित सिद्धान्तअनुरूप चलेका छन् त ?
सहकारीका बारेमा गलत प्रचार भयो । वास्तविकता त्यस्तो छैन । पछिल्लो तथ्याङ्कलाई आधार मान्दा अहिले देशमा ३४ हजार सहकारी दर्ता भएका छन् । ३२ हजार सञ्चालनमा छन् । सञ्चालनमा रहेकामध्ये ९० प्रतिशतभन्दा धेरै सहकारी सिद्धान्तअनुरूप नै चलेका छन् । त्यसो भन्दैमा गल्ती भएकै छैन भन्ने पनि होइन । न्यायाधीश गौरीबहादुर कार्कीको अध्ययन कार्यदलले दिएको प्रतिवेदनले ८ सय ३३ सहकारीले खराब काम गर्ने गरेको देखाएको छ । सहकारीबारे दृष्टिदोष परेको छ, यथार्थ त्यस्तो होइन ।  

सहकारीलाई नियन्त्रण गर्ने निकाय नहुँदा मनपरी काम गरेका हुन् भनिन्छ, आफै नियमभित्र रहेर काम गर्नुपर्ने सहकारीले त्यस्तो गर्न मिल्छ ?
नियमन नभएको कारणले मनपरी भएको होइन । ९०–९५ प्रतिशत सहकारीले राम्रो काम गरिरहेका छन् । त्यसलाई मनपरी गरेको भन्न मिल्दैन । खराब काम गरेकालाई सुधार्नुपर्छ, त्रुटिहरू सच्याइनुपर्छ । सङ्घले नियमनलाई प्रभावकारी बनाउन कानूनी सुनिश्चितता खोजेको छ । सङ्घले सरकारसँग काठमाडौंमा अन्तरराष्ट्रियस्तरको नियमक निकाय र सबै प्रदेश तथा जिल्लामा सरकारी डिभिजन कार्यालयको माग गरेको छ ।  

कुल गार्हस्थ्य उत्पादनमा सहकारीको योगदान बढ्न नसक्नुको कारण के हो ?
कुल गार्हस्थ्य उत्पादनमा सहकारीले ४ प्रतिशत योगदान गर्छ । त्योभन्दा बढी २० प्रतिशत वित्तीय योगदान गर्छ । निजीक्षेत्रमा सरकारले लगानी गरेको छ, तर सहकारीमा छैन । तैपनि हामी प्रगति गरिरहेका छौं । उत्पादनका विभिन्न क्षेत्रमा लगानी गर्छौं भन्दा सरकारले अनुमति नदिने, तगारो लगाउने गरेको छ । त्यसैले, सहकारीको रकम उत्पादन क्षेत्रमा जान सकेको छैन ।

सहकारी दिवसका सन्दर्भमा सङ्घले के गर्दै छ ?
यस अवसरमा सङ्घले ७५ ओटै जिल्लामा कार्यक्रम राखेको छ । यस वर्ष सङ्घले ‘दिगो विकासको लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नाराका साथ उक्त लक्ष्य प्राप्तिका लागि कार्यपत्रसमेत प्रस्तुत गर्दै छ ।

सहकारीको लगानी उत्पादनशील क्षेत्रमा गर्न के गर्नुपर्ला ?
सहकारीले गरेको योगदानलाई वार्षिक वासतालमा मात्र गणना गर्न मिल्दैन । हामीसँग १४ हजार वित्तीय सहकारी र अरू कृषि तथा उत्पादनशील प्रकृतिका सहकारीहरू छन् । सहकारीको सबै लगानी उत्पादनशील लगानी हो । तर पनि सरकारले ठूलो प्रतिफल दिने आयोजना तथा उत्पादनशील क्षेत्रमा लगानी गर्ने अनुमति नै दिएको छैन । व्यापारघाटा कम गर्न सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ, सरकारले त्यसका लागि वातावरण बनाउनुपर्छ । सहकारीसँग हातेमालो गरेर अगाडि बढ्न सके देशमा विकासको गति बढ्छ ।

राज्यले सहकारी मन्त्रालय गठन गरेर सहकारीलाई प्राथमिकतामा राखेको छ । थप कस्ता अपेक्षा छन् राज्यसँग ?
सरकारले सहकारीलाई प्राथमिकतामा राखेको छ । सहकारीले सामाजिक व्यवसाय गर्छ । एशिया प्रशान्त क्षेत्रमा भएको सहकारी सम्मेलनमा दिइएको १४ पुरस्कारमा १२ ओटा पुरस्कार नेपालले पाएको छ । सहकारीको वास्तविक क्षमतालाई पहिचान गरेर राज्यले यसबाट फाइदा लिओस् भन्न चाहन्छु ।

सहकारी क्षेत्रले भोग्ने गरेका समस्या बताइदिनुहोस् न ?
सहकारीलाई सरकारले पाइलैपिच्छे अवरोध लगाइएको छ । ऐन नियमहरू बन्न बाँकी छ । समस्याहरू धेरै छन् ।

यी समस्या समाधानको उपाय के हुन सक्छ ?
राज्यले निजीक्षेत्रले गर्न पाउने भनेका सबै कार्यक्षेत्रमा सहकारीले पनि काम गर्न पाउने गरी व्यवस्था गर्नुपर्छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »