प्रडक्ट

२०७३-१२-२० मा प्रकाशित     ६९१ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

सहकारी क्षेत्रको समग्र तथ्याङ्क सङ्कलन गर्नेगरी छिट्टै सिष्टम सार्वजनिक गर्दै छौं

केशवप्रसाद रेग्मी
रजिष्ट्रार, सहकारी विभाग

‘दिगो विकास लक्ष्यका लागि सहकारी’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज (चैत, १९) सहकारी दिवस मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घले समेत सन् २०१६–२०३० दिगो विकास लक्ष्यको रूपमा अघि सार्दै विभिन्न रणनीतिहरू तय गरेको छ । यसै सन्दर्भमा नेपालको सहकारी क्षेत्रको अवस्था, सहकारी प्रयास, चुनौती र सम्भावनाका बारेमा सहकारी विभागका रजिष्ट्रार केशवप्रसाद रेग्मीसँग आर्थिक अभियानले गरेको कुराकानीको सार :

सहकारी दिवसको अवसरमा के कार्यक्रम आयोजना गरिँदै छ ?
यो वर्ष ‘दिगो विकास लक्ष्यका लागि सहकारी’ भन्ने नाराका साथ सहकारी दिवस मनाइँदै छ । यसमा गरीबी निवारण तथा सहकारी मन्त्रालय, विभागका साथै डिभिजन सहकारीहरू र सहकारी सङ्घसंस्थाले कार्यक्रमको आयोजना गर्दै छन् । सहकारीसम्बन्धी जनचेतना अभिवृद्धि र सहकारी इतिहासको गतिविधि अगाडि बढाउनेगरी यो कार्यक्रम अगाडि बढ्दै छ ।

दिगो विकासका लागि सहकारीले के के गर्न सक्छ ?
दिगो विकासका लागि विभिन्न लक्ष्यहरू तय गरिएका छन् । सबै प्रकारका गरीबी अन्त्य, भोकमरीको अन्त्य, स्वच्छ पानी तथा सरसफाइ, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, स्वच्छ पानी तथा सरसफाइ, स्वच्छ ऊर्जामा समान पहुँच, मर्दादित रोजगार तथा आर्थिक वृद्धि, उद्योग पूर्वाधार र नवीन सृजना, असमानता न्यूनीकरण, दिगो शहर र समुदाय, जिम्मेवारीपूर्ण उपभोग तथा उत्पादन, जलवायु परिवर्तनमा तत्काल पहल, जमीनमुनिको जैविक विविधताको संरक्षण, जमीनमाथिको जैविक विविधताको संरक्षण, शान्ति, न्याय, सशक्त निकाय र लक्ष्य प्राप्तिका लागि साझेदारी दिगो विकासका लागि राखिएका लक्ष्य हुन् । सहकारीको माध्यमबाटै यी लक्ष्यहरू प्राप्ति हुन्छन् । त्यसैले, विपन्न तथा गरीबको जीवनस्तर माथि उठाउने र दिगो विकासको लक्ष्य सहकारीबाट मात्र सम्भव छ ।

कतिपय अवस्थामा सहकारीहरूले आफ्नो सिद्धान्तभन्दा फरक रूपमा काम गरिरहेका छन् भन्ने गुनासो पनि आउने गरेको छ । नेपालका सहकारीहरू सहकारी सिद्धान्तअनुरूप चल्ने गरेका छन् त ?
नेपालको सहकारी विकासको अवस्था हेर्‍यौं भने यसमा मिश्रित अवस्था छ । कतिपय सहकारीहरू सहकारी सिद्धान्तअनुरूप नै चलेका छन् । तिनीहरूको प्रगति पनि राम्रो देखिन्छ । तर, कतिपयले त्यसलाई राम्रोसँग पालना नगरेको जस्तो पनि देखिन्छ । सहकारीलाई कम्पनीको रूपमा लैजानेहरू पनि छन् । त्यसैले, सहकारी क्षेत्रमा केही विसङ्गति आएका हुन् । हामी ती विसङ्गति न्यूनीकरण गर्न र सहकारीहरूमा सहकारीपन ल्याउने प्रयास गरिरहेका छौं ।

त्यसका लागि विभागले गरेका प्रयासहरू के के हुन् ?
हामीले सहकारी क्षेत्रमा देखिएका विभिन्न समस्या केलाउँदै खास समस्या के हो, किन सहकारीहरू राम्रोसँग चल्न सकेका छैनन् भन्ने अध्ययन गर्‍यौं । जसले सहकारी सिद्धान्तको पालना गरेका छैनन्, तिनीहरूमा समस्या रहेको पाइयो । ती सहकारीहरूमा सहकारीपन ल्याउने प्रयासका लागि हाम्रो जनशक्तिलाई प्रशिक्षित गर्ने र उनीहरूलाई अनुगमनमा पठाउने काम गरेका छौं । समग्रमा विगतमा सहकारी क्षेत्रमा देखिएका कमीकमजोरी हटाउँदै सबै सहकारीहरूमा सहकारी मूल्यमान्यता कायम गर्नेतर्फ हामी केन्द्रित भएका छौं ।

सहकारीहरूलाई नियमन गर्ने निकाय नहुँदा मनपरी गरेको भन्ने आरोप पनि लाग्ने गरेको छ ? साँच्चै सहकारीहरूले नियमअनुरूप काम नगरेकै हुन् त ? यसमा विभागको भूमिका के रहन्छ ?
सहकारी नियमनभन्दा पनि स्वनियमनमा चल्ने संस्था हुन् । स्वायत्तता र स्वतन्त्रता सहकारीको सिद्धान्त नै हो । जब स्वनियमनको तौरतरीका असफल हुन्छ, अनि मात्र नियमनको कुरा आउँछ । यसका लागि सहकारी शिक्षा महत्त्वपूर्ण हुन्छ । तर, कसैले नराम्रो ग¥यो भने स्वनियमन भनेर विभाग त्यसै पनि बस्दैन । खासगरी हामीले नियमनका लागि पनि दुईओटा तरीका अवलम्बन गरेका छौं । एउटा, वर्षमा एकपटक सबै सहकारी संस्थामा अनुगमन गर्ने । त्यसमा ५ करोडभन्दा माथिका सहकारीलाई विभागले र त्योभन्दा तलका सहकारीलाई डिभिजन सहकारीले अनुगमन गर्नेगरी हामी अगाडि बढेका छौं । अर्को, आकस्मिक रूपमा पनि सहकारीको अनुगमन गरिन्छ । यसले समस्यामा रहेका सहकारीलाई सुधारको बाटोमा लगेको छ भने राम्रो गरेका लागि अझै राम्रो गर भन्ने प्रेरणा पनि दिन सकिएको छ । हाम्रो नियमन प्रभावकारी बन्दै गएको छ ।

अर्थतन्त्रको तीन खम्बाको रूपमा सहकारीलाई समावेश गरिए पनि सहकारी सबल खम्बा बन्न नसकेको देखिन्छ, किन ?
सहकारी अर्थतन्त्रको खम्बा मात्र होइन, अर्थतन्त्रका प्रमुख आधार स्तम्भ नै हुन् । आमजनतालाई व्यवसायमा ल्याउने, उद्यमशील बनाउने, व्यावसायिक मान्यता तथा मानकहरू स्थापना गर्ने र व्यावसायिक समाज निर्माण गर्ने भनेकै सहकारी संस्थाहरू हुन् । सहकारी संस्थाहरू सक्रिय भए भने मात्र अन्य क्षेत्रको सक्रियता बढ्छ । सहकारी संस्थाले समुदायमा सशक्तीकरण गर्नुका साथै समावेशिता र व्यावसायिक क्षेत्रमा ठूलो योगदान दिएको छ । समग्रमा हेर्दा जति हुनुपर्ने हो, त्यो नभएको जस्तो देखिए पनि सहकारीले विभिन्न क्षेत्रमा राम्रो गरेको छ । सहकारिता अहिले सर्वस्वीकार्य भइसकेको छ । यसले अर्थतन्त्रमा राम्रो प्रभाव छोडिरहेकै छ । अब सहकारीको नयाँ ऐन पनि आउँदै छ । यसले यो क्षेत्रलाई थप फराकिलो बनाउला भन्ने अपेक्षा गर्न सकिन्छ ।

सहकारी क्षेत्र यति महत्त्वपूर्ण हुँदा हुँदै पनि यस क्षेत्रको समग्र तथ्याङ्क पाइ“दैन । तथ्याङ्क अद्यावधिक गर्ने विषयमा विभागले के गर्दै छ ?
हामी सहकारी क्षेत्रको समग्र तथ्याङ्क एकीकृत गर्ने प्रयासमा छौं ।  यस विषयमा मन्त्रालयमार्फत तथ्याङ्क विभागसँग पनि काम गरेका छौं । सहकारी तथा गरीबी निवारण सूचना प्रणालीभित्र यसका विभिन्न पक्षलाई समेटेर तथ्याङ्क सङ्कलन गर्दै छौं । विभागले अहिले तथ्याङ्क सङ्कलन गरिहेकै छ । सहकारी क्षेत्रको समग्र तथ्याङ्क सङ्कलन गर्नेगरी हामी छिट्टै सिष्टम लञ्च गर्दै छौं । देशको अर्थतन्त्रमा सहकारी क्षेत्रको वास्तवमै कति योगदान रहेको छ भन्ने कुरा बाहिर ल्याउने प्रयासमा विभाग लागिरहेको छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »