अन्तर्वार्ता

२०७३-१२-२७ मा प्रकाशित     ५३३ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

मेरा एजेण्डा साथीहरुले मन पराउनु भएको छ

किशोरकुमार प्रधान
वरिष्ठ उपाध्यक्षका उम्मेदवार

नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयनका लागि यही चैत २८ र २९ गते काठमाडौंमा महाधिवेशन हुँदै छ । महासङ्घको संशोधित विधानअनुसार हालको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । त्यसपछि वरिष्ठ उपाध्यक्ष नै महासङ्घको भावी अध्यक्ष हुने भएकाले महासङ्घको अहिलेको चुनाव वरिष्ठ उपाध्यक्षको चयनमा केन्द्रित छ । सो पदका लागि महासङ्घको विभिन्न उच्च पदमा रहेर लामो समय काम गरिसकेका शेखर गोल्छा र किशोर प्रधान आआफ्नै प्यानलसहित चुनावी मैदानमा छन् । एशोसिएटतर्फ उपाध्यक्ष पदका लागि एकमात्र उम्मेदवारीका कारण चन्द्र ढकाल निर्विरोध चयन भइसकेका छन् । महासङ्घको यही चुनावी सेरोफरोमा केन्द्रित रहेर वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधानसँग आर्थिक अभियानका टीपी भुसालले गरेको कुराकानी :

चुनावी अभियान कसरी अघि बढिरहेको छ ?
हाम्रो अभियान सफलतापूर्वक अगाडि बढिरहेको छ । विशेषगरी देशैभरका उद्योगी व्यवसायीहरूसँग छलफल अन्तरक्रियाका कामहरू सम्पन्न भएका छन् । सबैले उत्साहपूर्वक मेरो अभियानमा सघाउ पुर्‍याइरहनु भएको छ । म पनि यो क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेको व्यवसायीको नाताले आफ्नो अनुभवलाई उद्योग वाणिज्य क्षेत्रमा कसरी लैजान सकिन्छ भनेर लागिरहेको छु । सबै साथीहरूले राम्रो ‘रेस्पोन्स’ गर्नु भएको छ । चुनावी दिन नजिकिँदै गएकोले मेरो समूहलाई विजयी बनाउन व्यक्तिगत भेटघाट छलफल चलिरहेका छन् ।

तपाईंले महासङ्घमा जित्ने आधार अझ स्पष्ट गरिदिनुस् न ?
म लामो समय उद्योग वाणिज्य सङ्घको नगर, क्षेत्र र केन्द्रमा रहेर सङ्घका लागि काम गरेको व्यक्ति हुँ । मैले उठाएका एजेण्डाहरू साथीहरूले मन पराउनु भएको छ । म पनि आफूले लिएको अनुभव महासङ्घको विकासमा, देशको माटोमा लगाउँछु भनेर लागिरहेको छु । साथीहरूको विश्वास र मेरो अनुभवले गर्दा म लगायत मेरो समग्र प्यानलकोे विजय हुन्छ भन्ने मेरो विश्वास हो ।

नयाँ विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै भावी अध्यक्ष हुने भएकोले भोलिका लागि कार्ययोजना पनि बनाउनु भएको होला । केके छन् तपाईंका कार्ययोजना ?
हाम्रो टिमले घोषणापत्र नै तयार पारेको छ । मैले प्राथमिकता निर्धारण गरेर १५ बुँदे कार्ययोजना अघि सारेको छु । साथीहरूले यो कार्ययोजना मन पराउनु भएको छ । म नेतृत्वमा आएमा तिनै कार्ययोजनाअनुसार अगाडि बढ्छु ।

अब हुने अध्यक्ष भवानी राणासँग सहकार्य गर्न तपाईंलाई कत्तिको सजिलो होला ?
यो मेरो कार्ययोजना अहिले नै मैले लागू गर्ने भन्नेभन्दा पनि आउने अध्यक्षसँग सहकार्य गरेर यसलाई लागू गर्ने भन्ने हो । हाम्रो विधानले नै वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने बाटो खोलिदिएकोले हाम्रो कार्ययोजना अध्यक्षसँग मिलेरै कार्यान्वयन गर्ने हो । यसले अध्यक्षलाई पनि सहयोग नै पुग्दछ । किनकि हामीले उठाएका एजेण्डा व्यवसायीकै एजेण्डा हुन् । अध्यक्षले गर्ने काम पनि व्यवसायीहरूकै हकहितमा गर्नुपर्ने हो ।

व्यवसायीहरूको संस्थामा निर्वाचनको द्वन्द्व गर्नुभन्दा मिलेर गएको भए राम्रो हुँदैनथ्यो ? मिलेर जाने सम्भावना अझै छ कि ?
मिल्ने भन्ने कुरा सधैं खुल्ला रहन्छ । सर्वसम्मति भन्ने कुरा अन्तिम अवस्थासम्म पनि हुन सक्छ । यसमा खासगरी पूर्वअध्यक्षहरू वा वर्तमान अध्यक्षको भूमिका अलि बढी होला । तर, मिलाउने भनेर अहिलेसम्म जे जस्ता प्रयास देखिए, त्यो केवल औपचारिकतामा सीमित भयो । केवल देखाउनका लागि गरिएको देखियो । यही प्रयास मनोनयन दर्ता हुनुअघि वा घोेषणा सभा अघि भएको भए अर्कै सन्देश जान्थ्यो होला । उहाँहरूले जसरी एक समूहलाई काखी च्यापेर टीम भन्दै हिँड्नुभयो, त्यो संस्थाको आचारसंहिता विपरीत भयो । यसले मिल्ने सम्भावनालाई कमजोर बनाएको छ । उहाँहरूको पहल राम्रो हो । तर, औपचारिकताका लागि मिलौं, मिल्नुपर्छ भन्नुको कुनै औचित्य नै छैन । मिल्नका लागि कार्ययोजना के हो, त्यो त चाहियो । विना कार्ययोजना जुन प्रयास गरियो, त्यो केवल औपचारिकताको लागि मात्र गरिएको देखिन्छ । तर पनि हामीले यो सम्भावनाको ढोका सधैं खुल्ला राखेका छौं ।

महासङ्घ, पूर्वअध्यक्षहरूको ‘प्ले ग्राउण्ड’ हो भन्ने टिप्पणी आउँछ नि ? पूर्वअध्यक्षहरू पनि विभक्त देखिनुहुन्छ । यसले महासङ्घको संस्थागत विकासमा अवरोध सृजना गर्दैन ?
यो सधैं र प्रायः सबैतिरबाट आइरहने प्रश्न हो । पूर्वअध्यक्षहरू पूर्व मेचीदेखि महाकालीसम्म आफ्नो उम्मेदवार भन्दै किन हिँड्नु पर्‍यो ? मेरो यसमा आफ्नै धारणा छ । उहाँहरूलाई सम्मान गर्नुपर्छ । उहाँहरूका विचार सुन्नुपर्छ । हामी सक्षम छौं भने उहाँहरूको उपदेश मात्र लिने हो । उहाँहरूलाई पछाडि लगाउने हो । उहाँहरू अघिअघि हामी पछिपछि हुने होइन । मेरो हकमा त्यही भएको छ । म मेरो नेतृत्वमा केही पूर्वअध्यक्षलाई लिएर हिँडेको छु । तर, अर्को पक्षमा पूर्वअध्यक्षहरूले लिड गरेर उम्मेदवार लिएर हिँड्नु भएको छ । फरक यही हो । संस्थालाई मर्यादित ढङ्गले आफ्नै विचारले सञ्चालन गर्नुपर्छ । अर्काको विचारले सञ्चालन गर्दा त स्वार्थ गाँसिन्छ । यस प्रकारको क्रियाकलापले संस्थागत विकासमा निश्चय पनि अवरोध सृजना गर्छ । यसमा दुईमत नै छैन ।

महासङ्घले अझैै पनि सबै व्यवसायीको हकहितमा काम गर्न नसकेको गुनासो आइरहन्छ । सबैको साझा संस्था बन्न किन सकेन महासङ्घ ?
बनाउन नसकेकै हो । लुकाउनु पर्ने कुरै छैन । किनभने हाम्रो विधानले महासङ्घलाई अध्यक्षात्मक प्रणालीमा राखेको छ । कसलाई कस्तो सेवा प्रदान गर्ने भन्ने कुरा नेतृत्वमा निर्भ र रहन्छ । हामीले तीन प्रकारका नेतृत्वको कुरा गर्छौं । एउटा तानाशाह, एउटा प्रजातान्त्रिक र अर्को ढुलमुले प्रवृत्तिको अर्थात् भए होस् नभए नहोस् । यो नेतृत्व कमजोर हुन्छ । पछिल्लो समय हामीकहाँ भएको नेतृत्व तेस्रो प्रकृतिको नेतृत्व रह्यो । त्यसैले यस्तो अवस्था आएको हो । त्यो कमजोर नेतृत्वको ठाउँमा प्रजातान्त्रिक नेतृत्व प्रदान गर्नका लागि र महासङ्घलाई सबैैको बनाउनकै लागि मेरो वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी हो ।

महासङ्घको निर्वाचन संसदीय निर्वाचनभन्दा महँगो हुने भयो रे नि त ? यसलाई सुधार गर्न सकिँदैन ? यसरी गरिने खर्चले के सङ्केत गर्छ ?
संसदीय निर्वाचनभन्दा त यहाँ दश गुणा बढी खर्च छ । संसद्को एउटा क्षेत्रमा केन्द्रित भए पुग्छ, महासङ्घमा त पूर्व मेचीदेखि महाकालीसम्म पुग्नुपर्छ । चुनावमा त्यस्तो नहोस् भन्नकै लागि विधान संशोधन गरेको हो । तर, त्यसलाई दुरुपयोग  गरियो । विगतमा अध्यक्षको निर्वाचनमा जुन प्रकारको अस्वस्थ प्रतिस्पर्धा देखिन्थ्यो, त्यसलाई रोक्ने मनसायले क्रमबद्ध रूपमा नेतृत्वको विकास होस् भनेर नै विधान संशोधनमा लगेका थियौं । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था गरेका हौं । तर, हामीले विधान संशोधन गर्नेबित्तिकै विधानमाथि नै हस्तक्षेप भयो । यो हस्तक्षेप दुर्भाग्यको रूपमा आइसक्यो । अब यसमा व्यापक छलफल गरेर विधानको पुनः संशोधन गर्नुपर्छ भन्ने मेरो धारणा हो र मैले मेरो चुनावी अभियानमा पनि यो कुरा उठाएको छु ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »