अन्तर्वार्ता

२०७३-१२-२७ मा प्रकाशित     १०४२ पटक पढिएको    १ बिचार / प्रतिक्रिया

करीब ७०% मतसहित म निर्वाचन जित्दै छु

शेखर गोल्छा
वरिष्ठ उपाध्यक्षका उम्मेदवार

नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयनका लागि यही चैत २८ र २९ गते काठमाडौंमा महाधिवेशन हुँदै छ । महासङ्घको संशोधित विधानअनुसार हालको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । त्यसपछि वरिष्ठ उपाध्यक्ष नै महासङ्घको भावी अध्यक्ष हुने भएकाले महासङ्घको अहिलेको चुनाव वरिष्ठ उपाध्यक्षको चयनमा केन्द्रित छ । सो पदका लागि महासङ्घको विभिन्न उच्च पदमा रहेर लामो समय काम गरिसकेका शेखर गोल्छा र किशोर प्रधान आआफ्नै प्यानलसहित चुनावी मैदानमा छन् । एशोसिएटतर्फ उपाध्यक्ष पदका लागि एकमात्र उम्मेदवारीका कारण चन्द्र ढकाल निर्विरोध चयन भइसकेका छन् । महासङ्घको यही चुनावी सेरोफरोमा केन्द्रित रहेर वरिष्ठ उपाध्यक्षका उम्मेदवार गोल्छासँग आर्थिक अभियानका टीपी भुसालले गरेको कुराकानी :

चुनावी अभियान कसरी अघि बढिरहेको छ ?
मेरो तयारी पूरा भएको छ । यस प्रसङ्गमा ५० भन्दा बढी जिल्ला घुम्ने अवसर पाएँ । व्यवसायी साथीहरूलाई नजिकबाट चिन्न पाएँ र उहाँहरूको माया पाएँ । मेरो तयारीबाट म पूर्णरूपमा सन्तुष्ट पनि छु । मेरो यो अभियानका कारण र साथीहरूको विश्वास तथा मायाका कारण करीब ७० प्रतिशत मतसहित म निर्वाचन जित्दै छु ।

तपाईंले महासङ्घमा जित्ने आधार अझ स्पष्ट गरिदिनुस् न ?
देशभरबाट साथीहरूले दिनुभएको माया नै पहिलो आधार हो भने अर्को शेखर गोल्छाले व्यवसायीका समस्याहरूको समाधान गर्न सक्छ भन्ने व्यवसायीहरूको विश्वास हो । मलाई उहाँहरूले कम बोल्ने तर काम गर्ने व्यक्तिका रूपमा चिन्नुहुन्छ । एशोसिएट, वस्तुगत दुवै क्षेत्रमा मेरो टीम बलियो छ । त्यो देखिएको पनि छ ।  

नयाँ विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै भावी अध्यक्ष हुने भएकोले भोलिका लागि कार्ययोजना पनि बनाउनु भएको होला । केके छन् तपाईंका कार्ययोजना ?
पहिलो कुरा त, विधानतः बन्ने अबको अध्यक्ष भवानी राणालाई साथ दिनु मेरो पहिलो कार्ययोजना हो । आउने तीन वर्षसम्मका लागि त मैले उहाँको भिजनलाई नै शत प्रतिशत सहयोग गर्ने हो । तर, यसका साथसाथै मेरा आफ्ना कार्ययोजना पनि छन् । मैले ३ वर्षपछि गर्ने कामबारे म सचेत छु । महासङ्घको भूमिका अहिलेसम्म देखिएका समस्या समाधान गर्ने तर्फमात्र केन्द्रित छ । तर, म महासङ्घलाई समस्या समाधान गर्ने थलोको रूपमा मात्र होइन, अवसर सृजना गर्ने ठाउँको रूपमा पनि विकास गर्ने सोचमा छु । अवसर सृजनाका लागि सरकार र अन्तरराष्ट्रिय क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने सोचमा छु । यो काम विगत १० वर्षदेखि गर्दै आएकै हो । म यसमा दृढ विश्वस्त छु ।

अब हुने अध्यक्ष भवानी राणासँग सहकार्य गर्न तपाईंलाई कत्तिको सजिलो होला ?
निश्चय नै मेरो पहिलो प्राथमिकता त आउने अध्यक्षको कार्ययोजना कार्यान्वयनको लागि नै रहनेछ । यसभन्दा पहिले पनि हामी सँगसँगै काम गरेको अनुभव छ । अहिलेको कार्यसमितिमा पनि उहाँ वरिष्ठ उपाध्यक्ष र म उपाध्यक्ष छौं । हामीलाई सहकार्य गर्न कुनै समस्या छैन । उहाँलाई मैले आफ्नो नेता मानेर अगाडि बढेको छु र उहाँकै भिजन बोकेर महासङ्घलाई अगाडि बढाउने हो । किनभने उहाँले हिजो निजी क्षेत्रको विकासका लागि गर्नुभएका प्रयास सकारात्मक छन् ।

व्यवसायीहरूको संस्थामा निर्वाचनको द्वन्द्व गर्नुभन्दा मिलेर गएको भए राम्रो हुँदैनथ्यो ? मिलेर जाने सम्भावना अझै छ कि ?
मिलेर जाँदा राम्रो हुन्छ भन्ने हामी धेरैलाई लाग्ला पनि । तर, मिलेर जाने भन्ने धारणाप्रति मेरो सहमति छैन । निर्वाचन एउटा प्रजातान्त्रिक प्रक्रिया हो । प्रजातन्त्रमा निर्वाचन जरुरी छ । तर, निर्वाचन स्वच्छ हुनुपर्छ । जित्नेले अहङ्कार गर्ने र हार्नेले प्रतिशोध लिने मौका खोज्ने प्रवृत्तिले चाहिँ समस्या भएको हो । हामी यो दृष्टिकोणबाट बाहिर निस्कन जरुरी छ । बरू, हामीले निर्वाचनलाई अझ प्रवद्र्धन गर्न जरुरी छ । मिलेर जाने संस्कारले त संस्थालाई झन् कमजोर बनाउँछ । संस्था बलियो बनाउन निर्वाचन जरुरी छ भन्ने मेरो मान्यता हो । म मिलेर जानुपर्छ भन्ने पक्षधर नै होइन । बरू, म के भन्न चाहन्छु भने म जितेँ भने अहङ्कार बोकेर हिँड्ने छैन, निर्वाचनमा प्रतिद्वन्द्वी भएका साथीलाई सम्मानका साथ उचित स्थान दिएर अगाडि ल्याउनेतर्फ प्रयास गर्नेछु । सबैलाई टीममा लिएर हिँड्ने प्रयास गर्नेछु । हारेँ भने पनि म कुनै प्रतिशोधको भावना बोकेर हिँड्ने छैन । उहाँलाई सम्मानका साथ सहयोग गर्नेछु । हाम्रो समग्र उद्देश्य त एउटै हो नि, निजी क्षेत्रको विकास गर्ने ।

महासङ्घ, पूर्वअध्यक्षहरूको ‘प्ले ग्राउण्ड’ हो भन्ने टिप्पणी आउँछ नि ? पूर्वअध्यक्षहरू पनि विभक्त देखिनुहुन्छ । यसले महासङ्घको संस्थागत विकासमा अवरोध सृजना गर्दैन ?
पूर्वअध्यक्षहरू यस संस्थाका धरोहर हुन् । अहिलेसम्म १७ जना पूर्वअध्यक्ष भइसक्नु भयो । अहिले हामीसँग जे छ, त्यो उहाँहरूकै विरासत हो । उहाँहरूको सामर्थ्य र योगदानले मात्र हामी आज यहाँ आउन सफल भएका छौं । उहाँहरू सधैं सम्मानको हकदार हुनुहुन्छ । उहाँहरूको अनुभव र गाइडलाइन त महासङ्घलाई सधैं चाहिन्छ । जब उद्देश्य एउटै हुन्छ भने यात्रा पनि त सँगै हुन्छ ।

महासङ्घले अझैै पनि सबै व्यवसायीको हकहितमा काम गर्न नसकेको गुनासो आइरहन्छ । सबैको साझा संस्था बन्न किन सकेन महासङ्घ ?
म तपाईंको कुरामा सहमति राख्दिनँ । महासङ्घ प्रभावकारी नहुँदो हो त आज निर्वाचनको जुन माहोल बनेको छ, त्यो नै हुँदैनथ्यो नि । आज १ सय ४ ओटा जिल्ला नगर उद्योग वाणिज्य सङ्घ यो संस्थामा जोडिएका छन् । वस्तुगत सङ्घ पनि ९९ पुगिसके । अझै कति आउन चाहिरहेका छन् । एशोसिएटमा ८ सयभन्दा बढी सदस्य पुगिसके । कहिलेकाहीँ यसको भूमिका कमजोर भयो होला । त्यो बेग्लै कुरा हो । सरकारसमेत निजी क्षेत्रलाई उपेक्षा गरेर जान सक्ने स्थितिमा छैन । संविधानदेखि सबैतिर निजी क्षेत्रको आवश्यकतालाई महसुस गरिएको छ । संविधानको पहिलो मस्यौदा आउँदा निजी क्षेत्रको बारेमा सकारात्मक कुराहरू कम थिए । संस्थाकै पहलले संविधानलाई उद्योगमैत्री बनाउन सकिएको छ । अहिले आइरहेका ऐन कानूनहरू पनि उद्योगमैत्री बन्दै छन् । त्यसैले मलाई के लाग्छ भने संस्था कमजोर होइन, बलियो बन्दै गइरहेको छ ।

महासङ्घको निर्वाचन संसदीय निर्वाचनभन्दा महँगो हुने भयो रे नि त ? यसलाई सुधार गर्न सकिँदैन ? यसरी गरिने खर्चले के सङ्केत गर्छ ?
यो उद्योगी व्यवसायीको चुनाव हो । यसमा खर्च त भइहाल्छ । यो कुनै नगरपालिकाको चुनाव होइन । खर्च गर्ने विषयमा कुनै आचारसंहिता छैन । तर, भड्किलो हुनु हुँदैन भन्ने हो । अर्को कुरा, खर्च त्यसरी भड्किलो भयो भन्ने पनि होइन । म देशभर जहाँ गए, स्थानीय उद्योग वाणिज्य सङ्घका साथीहरूले बस्ने खाने व्यवस्था गर्नु भयो । मैले कुनै एक ठाउँमा पनि पैसा खर्च गरिनँ । तर, उद्योग व्यवसायमा लागेका साथीहरूले कमाएका छन्, सक्षम भएका छन्, कर तिरेका छन् । खर्च त हुन्छ नै । यो नकारात्मक कुरा नै होइन ।


#  
Lok bhattarai लेख्नुहुन्छ

Shekhar golcha is. Polite.adjuatable,flexible,,cooprtative energitic young ,smart foresighted and strong vision vayeko, manxe hunuhunx tesaile wahako jeet nei samagrama sabei udhyogi businessmanko jeet ho.badhai xa shekhar ji.ma america vayer vote haln ta pain tar aatmiye samarthan xa.

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »