अन्तर्वार्ता

२०७३-१२-२८ मा प्रकाशित     ९२३ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

मैले जित्ने आधार भनेकै टीमवर्क हो

उमेशलाल श्रेष्ठ
वस्तुगत सङ्घ
उपाध्यक्षको उम्मेदवार

नेपाल उद्योग वाणिज्य महासङ्घमा विभिन्न समितिमा रहेर विगत ९ वर्षदेखि काम गरिरहेका उमेशलाल श्रेष्ठले यही चैत २८ र २९ गते हुने महासङ्घको निर्वाचनमा शेखर गोल्छाको समूहबाट वस्तुगत समितितर्फ उपाध्यक्षको उम्मेदवारी दिएका छन् । उनीसँगै वस्तुगत समितिको उपाध्यक्षमा शङ्करप्रसाद पाण्डे र अनुपबहादुर मल्ल यो प्रतिस्पर्धामा  छन् । ९९ ओटा वस्तुगत समितिको नेतृत्व गर्ने भएकोले पनि महासङ्घभित्र वस्तुगत सङ्घको छुट्टै महत्त्व रहेको छ । महासङ्घको आसन्न महाधिवेशनमा वस्तुगत सङ्घको भूमिका र चुनावी अभियानबारे उपाध्यक्षका उम्मेदवार श्रेष्ठसँग आर्थिक अभियानका टीपी भुसालले गरेको कुराकानी :

चुनाव आउन एक दिनमात्र बाँकीे छ । तपाईंको उम्मेदवारी केका लागि हो ?
अब त चुनावको मुखैमा आइपुगेका छौं । अब मतदानकै काम हो । यो अवस्थामा मेरो काम साथीहरूसँगको भेटघाट नै हो । तर, मैले अहिले उम्मेदवारी दिएपछि मात्र यो भेटघाट बढाएको होइन । विगत ९ वर्षसम्म विभिन्न पदीय जिम्मेवारीमा रहेर काम गरेको र साथीभाइहरूले अब उपाध्यक्षको जिम्मेवारी लिनुपर्छ भनेपछि यसलाई अभियानको रूपमा लिएर विगत ५/६ महीनादेखि नै मैले चुनावी अभियान शुरू गरेको थिएँ । त्यो अहिले पनि जारी छ । आफ्नोमात्र सोचभन्दा पनि साथी, अग्रजहरूसँगको सल्लाह गरेर मात्र उम्मेदवारी दिएकोले मेरो तयारी पूर्ण छ । अर्को कुरा, मेरो उम्मेदवारी मेरा लागि मात्र नभई देशको समग्र आर्थिक समृद्धिका लागि हो । म एक्लैले केही गर्ने होइन । यो टीमले गर्ने कुरा हो र हाम्रो अभियान म होइन, हामी भन्नेमा केन्द्रित छ । यो किनभने पदाधिकारीको टीम आएन भने काम गर्न गाह्रो हुन्छ । त्यसैले यो पटक हामी समग्र टीमलाई विजय गराउने र आफ्नो अनुभवलाई देशको समग्र विकासमा खर्चिने अभियानमा छौं । म मात्र होइन, हाम्रो टीम नै लिनका लागि भन्दा पनि केही न केही दिनकै लागि महासङ्घमा जान खोजेको हो ।

अर्को टीम पनि त त्यही भनेरै चुनावी मैदानमा आएको छ । एउटै उद्देश्य प्राप्त गर्न त विभक्त भएर भन्दा मिलेर जाँदा सजिलो हुन्थ्यो होला नि ?
प्रजातन्त्रमा चुनावलाई आत्मसात् गर्नुपर्छ । यो राम्रो कुरा हो । अर्कोतर्फ सहमति भन्ने कुरा आफैमा नराम्रो होइन । तर, हाम्रो सङ्गठन यति ठूलो भइसक्यो, अब सहमति गर्छु भनेर पनि नहुने अवस्था छ । अहिले महासङ्घमा १ सय ४ ओटा जिल्ला, नगर उद्योग वाणिज्य सङ्घ क्रियाशील छन्, ९९ ओटा वस्तुगत सङ्घ छन् । ८ सय ५१ एशोसिएट शाखा छन् । त्यसकारण अब निर्वाचन अनिवार्य जस्तै हो । टीममा ब्यालेन्स जरुरी छ । हाम्रो टीममा त्यो ब्यालेन्स छ । हाम्रो टीमका सबै साथीहरूको देशको आर्थिक क्षेत्रमा योगदान गरेको टीम हो । तसर्थ, मिल्नेभन्दा चुनावबाटै काम गर्न आउने हो ।

महासङ्घमा वस्तुगत सङ्घको भूमिका कत्तिको महत्त्वपूर्ण हुन्छ ?
महासङ्घमा जिल्ला, नगर भनेको महासङ्घको बल, एशोसिएट हात अर्थात् पैसा र वस्तुगत भनेको बुद्धि भनेर भन्ने गरिन्छ । वस्तुगत सङ्घमा ९९ ओटा वस्तुगत सङ्घ आबद्ध छन् । यसमा विभिन्न क्षेत्रमा लामो अनुभव भएका व्यक्तिहरू आबद्ध  हुनुहुन्छ । त्यसैले यो समिति महासङ्घको ‘ब्रेन’ नै हो । यसलाई हामीले कसरी बढी प्रभावकारी बनाउन सकिन्छ भनेर यसको काम गर्ने प्रक्रियालाई नै सुधार गर्दै लगेका छौं र यो निरन्तर चलिरहने प्रक्रियासमेत हो । सङ्घमा अझै आबद्ध हुन चाहिरहेका पनि छन् ।

वस्तुगत सङ्घको भूमिकालाई प्रभावकारी बनाउन के गर्दै हुनुहुन्छ त ?
यसअघि नै हामीले ९९ ओटा वस्तुगत समितिको तथ्याङ्क सङ्कलन गरेका छौं । यसले हाम्रो देशमा कुन उद्योगको सम्भावना के छ, कुन उद्योग कस्तो अवस्थामा चलिरहेको छ, यो सबै तथ्याङ्क हामीसँग हुन्छ । कसैले कुनै उद्योग सञ्चालन गर्न चाह्यो भने त्यो तथ्याङ्कका आधारमा उसले आफ्नो व्यापार विस्तार गर्न सक्छ । बजार अवस्थाबारे उसलाई जानकारी भएपछि उसले अध्ययन अनुसन्धान गर्नै परेन । हामी यो काम गर्दै छौं । यसको माध्यमबाट हामीले आर्थिक विकासमा योगदान  दिन सक्छौं । हामीले महासङ्घमा बसेर गर्ने पनि त्यही हो । अर्को कुरा हामीले यसलाई उद्योग वाणिज्य क्षेत्रको प्रबुद्ध समूह (थिङ्क टयाङ्क) को रूपमा विकास गर्न चाहन्छौं, जसले देशको आर्थिक विकासमा सरकारलाई सहयोग गर्न र उद्योग वाणिज्य क्षेत्रको वकालत गरोस् । किनभने कहिलेकाहीँ सरकारले व्यवसायीलाई सही ढङ्गले हेर्न नसकेको देखिन्छ । कतिपय अवस्थामा व्यवसायको महत्त्व र त्यसले राज्यलाई गरेको योगदान पनि नबुझेर कतिपय निर्णय गरिन्छ । यसले सरकारलाई पनि सही दिशाबोध गर्न सघाउ पुर्‍याउँछ ।

सरकारले के नबुझेको अवस्था छ र ?
हामीले कुनै पनि कुरा सरकारसँग गर्न खोज्यो भने व्यापारी नाफा खानका लागि कुरा गर्न आएको होला भन्ने बुझाइ छ । व्यापार व्यवसायमा नाफा त खानैपर्छ । तर, हामीले नाफाको २५ प्रतिशत त सरकारलाई बुझाएका छौं । यसको अर्थ सरकारले बुझ्दै बुझेन भन्ने पनि होइन । अब टेबुल ठोकेर होइन, तर्क गरेर बुझाउन जरुरी छ । सरकार र निजी क्षेत्र मिलेर कसरी आर्थिक समृद्धि प्राप्त गर्न सकिन्छ भन्ने कुरा हो । ‘थिङ्क ट्याङ्क’को माध्यमबाट राज्यलाई उद्योगी व्यवसायीका कुरा पुर्‍याउनु पर्छ । यसको शुरूआत महासङ्घमा भइसकेको छ । यसलाई अझै बलियो बनाउन म सक्रिय रूपमा लाग्नेछु ।

आजकाल उद्योगी व्यवसायी कुनै न कुनै रूपले राजनीतिक नेता बन्ने दौडमा देखिन्छन् । तपाईं राजनीतिक पृष्ठभूमिको मान्छे, व्यवसायीको नेता बन्ने मन कसरी आयो ?
हो, म राजनीतिक पृष्ठभूमिको मान्छे हुँ । मलाई पनि शुरूमा राजनीतितर्फ लाग्ने रहर नभएको होइन । तर, मेरो आमा (एमाले नेतृ स्व. सहाना प्रधान) राजनीतिमा लागेका कारण उहाँको जागीर खोसियो । मलाई लाग्यो, म पनि नेता बन्न गएँ भने त घर कसरी चल्छ ? कसैले केही त गर्नु पर्‍यो । पहिले मैले कुनै कम्पनीमा जागीर खाएँ । इमानपूर्वक काम गरेँ । तर, समय यस्तो आयो म त्यहाँ रहन सकिनँ र आफ्नो अनुभवलाई उद्योग क्षेत्रमा लगाउने निधो गरेँ । मैले त्यसपछि विभिन्न उद्योग व्यवसायमा हात हालेँ र आज म यो ठाउँमा छु । आज मेरो कम्पनीले ५ सय जनालाई रोजगारी दिएको छ । म देश विकासका लागि उद्यमशीलताको विकास गर्नुपर्छ भन्ने सोचको व्यक्ति हुँ । आज लामबद्ध भएर अरबको खाडीमा जान लागेका युवालाई कसरी यहीँ रोक्न सकिन्छ, उनीहरूलाई कसरी यहीँ रोजगारी सृजना गर्न सकिन्छ भन्ने मेरो ध्येय हो । त्यसैले म आज राजनीतिभन्दा पनि व्यवसायमा केन्द्रित छु ।

वस्तुगत सङ्घतर्फ तीनजना प्रतिस्पर्धी हुनुहुन्छ । तपाईंको जित्ने आधारचाहिँ के छ ?
म यो पदमा मेरो चाहनाले मात्र आएको होइन । अन्य साथीहरूको पनि चाहना हुनु स्वाभाविक हो । तर, म ९ वर्ष विभिन्न ठाउँमा बसेर काम गरे पनि अब साँच्चिकै महासङ्घलाई योगदान दिने समय आयो भनेर साथीहरूको सुझावमा चुनावमा भाग लिएको छु । मैले जित्ने आधार भनेकै टीमवर्क हो । हाम्रो टीमस्प्रिट छ । हाम्रो अनुभव छ । हामीलाई साथीहरूले दिनुभएको माया र विश्वास छ । त्यसैले यो सही बेला हो । अहिले नगरे कहिले गर्ने भनेर म लागेको छु । मलाई मेरो टीम र टीमभन्दा बाहिरबाट पनि सहयोग र समर्थन छ । त्यसैले म चुनाव जित्छु ।

निर्वाचनमा विजय/पराजयपछि तपाईंको भूमिकामा फरक त आउँदैन ?
चुनाव त एउटा प्रक्रिया हो । हामी यसमा जान्छौं । यसबाटै महासङ्घको नयाँ नेतृत्व चयन हुने हो । मलाई महासङ्घमा विगतका चुनावमा विजय/पराजय हुँदाको दुवै अनुभव छ । तीनपटक चुनाव लड्दा एकपटक चुनाव हारेको छु । दुईपटक जितेको छु । यी सबै कुरा चुनावसम्मका लागि मात्र हो । त्यसपछि त सबै मिलेर जानैपर्छ । शेखर गोल्छा होस् या किशोर प्रधान हामी सबैको उद्देश्य भनेको आर्थिक समृद्धि नै हो । यस विषयमा कसैको फरक मत छैन र रहने छैन ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »