तीतो मीठो

२०७४-०१-१ मा प्रकाशित     १५१२८ पटक पढिएको    १ बिचार / प्रतिक्रिया

नेपाली हामी साह्रै भाग्यमानी । एकै वर्षभित्र पटकपटक नयाँ वर्ष मनाउने अवसर पाउँछौं । वैशाख १ त छँदै छ, त्यसमाथि जनवरी १ मात्र होइन, न्हुदँ र तीनओटै ल्होसार पनि जोड्नुपर्छ । यसरी वर्षको कम्तीमा छओटा त नेपालीसँग मनाउनलाई नयाँ वर्षहरु छन् । यो कम्ता खुशीको कुरा होइन । यसको मतलब राम्रो काम गर्ने एउटै प्रतिबद्धता एक/दुईपल्ट बिर्सिएछ भने पनि वर्षमा ६/६ पटकसम्म व्यक्त गर्न सकिन्छ । अर्थात् कुनै नयाँ वर्षमा आफूले गरेको प्रतिबद्धता पूरा गर्न सकिएनछ भने पनि केही छैन । लगत्तै २/३ महीनापछि आउने नयाँ वर्षमा आफ्नो वाचा पूरा गरे भैहाल्छ ।
 
भलै हामी नेपालीहरु यस्ता प्रतिबद्धताप्रति भने त्यति प्रतिबद्ध हुँदैनौं । नपत्याए हरेक दलका चुनावी घोषणापत्र, सरकार वा निजीक्षेत्रका जिम्मेवार सङ्घसंस्थाहरुका अनेक अवसरहरुमा व्यक्त गरिने प्रतिबद्धताहरु हेर्नुभयो भने कुरो बुझिहाल्नुहुन्छ । प्रतिबद्धता नै अप्ठ्यारा बनाएर हो कि ?

त्यसैले मैले आफ्ना लागि सजिलै पूरा गर्न सकिनेखालका केही प्रतिबद्धताहरु नयाँ वर्ष २०७४ को अवसरमा बनाएको छु । तर, यी प्रतिबद्धताहरुलाई अरुले पनि प्रयोग गर्न सक्नेछन् । यो अक्षरशः लागू गर्ने, तोडमोड गरेर आफूअनुकूल बनाएर गर्ने वा रद्दीको टोकरीमा फाल्ने वा यसको विरुद्ध आन्दोलन गर्ने भन्ने निर्णय गर्ने अधिकार पनि नयाँ संविधानले पाठकलाई दिएकै छ । यसमा प्रतिलिपि अधिकार पनि लाग्नेछैन ।

प्रतिबद्धताहरु यस्ता छन् :
१. सरकारले मदिराको विक्रीवितरण र उपभोगमा अलि अङ्कुश लगाउने नीति ल्याउँदै छ भन्ने सुइँको सबै मदिराप्रेमी नेपालीले पाइसकेकै छौं । त्यसैले अमृतरुपी सो सोमरस (तरल पदार्थ) बजारमा आपूर्ति कम हुनुअगाडि नै १/२ वर्षलाई पुग्ने समयमै जोहो गर्ने प्रतिबद्धता गर्दछु ।

२. मुटु, फोक्सो, आँखा आदि जोगाउन झुक्किएर पनि मर्निङ वाकमा ननिस्कने प्रतिबद्धता गर्दछु ।

३. धूलो, धूवाँ आदिबाट जोगिन बजारमा उपलब्ध मास्कले काम नगर्ने प्रमाणित भइसकेकाले बाहिर निस्कनै पर्ने अवस्थामा नयाँ वर्षदेखि नै एष्ट्रोनटले लगाउने सानो अक्सिजन सिलिण्डर र हेल्मेटसहितको ड्रेस वा सो उपलब्ध हुन नसके सम्पूर्ण शरीर ढाकिने गरी बुर्का लगाएर हिँड्न शुरु गर्नेछु ।

४. पहिले वैशाख २०७४ बाट, पछि फेरि दशैंसम्म आउँछ भनेको मेलम्ची मङ्सिरमा मात्रै काठमाडौं झर्छ रे । मेलम्ची नआउञ्जेलका लागि नुहाउन र लुगा धुन हरेक शनिवार मेलम्ची नै पुग्ने प्रतिबद्धता गर्दछु । बीचका दिनहरुमा लुगा धुनुको सट्टा पफ्र्यूमको प्रयोग बढाउनेछु ।

५. सरकारी अस्पताल गए त्यहाँभित्रको फोहोर र उपचारको ढिलाइले नै मरिन्छ । निजीमा गए बिल देखेरै होस उड्छ । त्यसैले सकेसम्म बिरामी नहुने, भइहालेमा कुनै अस्पतालको सट्टा घरेलु उपचार गर्ने वा धामीझाँक्रीलाई नै देखाउने प्रतिबद्धता पनि गर्दछु ।

६. अब उप्रान्त दिनमा ४ घण्टाभन्दा बढी फेसबुक ट्वीटरमा बस्ने छैन ।

७. इमेल एड्रेसको सङ्ख्या ३ देखि ४ मा सीमित गर्नेछु ।

८. कपालमा रङ (खासगरी कालो वा रातो) लगाउन वैशाख १ गतेकै दिनदेखि छाड्नेछु र त्यसपछि ऐनामा आफूलाई कदापि हेर्ने छैन ।

९. एक्सरसाइज गर्नु छ भनेर दिमागमा बोझ भइरहन्छ, तर गरिँदैन । त्यसैले नयाँ वर्षको शुरुदेखि नै एक्सरसाइज गर्ने कुरा सोच्नै छाड्नेछु ।

१०. अफिसमा छुट्टी लिन वा काम नगर्नका लागि पुराना बहानाहरुको सट्टा नयाँ बहाना सोच्नेछु ।

११. यसपालि वैशाख महीनाभित्रै घर–अफिस दुवै ठाउँमा पुरानो वर्षको क्यालेण्डर हटाएर नयाँ वर्ष २०७४ को क्यालेण्डर झुण्ड्याइसक्नेछु ।

१२. गाडीको हर्न बजाउन नपाइने नयाँ नियमलाई वैशाख १ देखि नै पालना गर्नेछु । त्यसको साटो गाडीको क्लच र एक्सेलरेटर एकैचोटि थिच्दा निस्कने आवाजले नै काम चलाउने छु ।

१३. यो वर्षका प्रतिबद्धताहरु चैं नयाँ वर्ष शुरु भएको कम्तीमा पनि १ हप्तासम्म सम्झिरहने प्रतिबद्धता गर्दछु ।

१४. नयाँ वर्षको उपलक्ष्यमा नेपाल होस् वा मलेशिया, कोरिया, यूएईलगायत श्रम स्वीकृति नपाएको मुलुकमा समेत आफै बाटो पत्ता लगाएर पुगेका नयाँ नेपाली कोलम्बसहरुलाई समेत शुभकामना व्यक्त गर्दछु ।


#  
गंगाराम लेख्नुहुन्छ

वाइयात कुरो

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »