सम्पादकीय

२०७४-०१-५ मा प्रकाशित     ३४२ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३’ पारित भएको करीब २ हप्तापछि निर्देशिकामा उल्लेख भएअनुसारका क्रियाकलाप अगाडि बढेको समाचारले बीमा समितिले साँच्चै गति लिन थालेको महसूस गर्न थालिएको छ । निर्देशिकामा तोकिएबमोजिम प्रावधान पूरा गर्न सक्ने नयाँ बीमक कम्पनीलाई सञ्चालनका लागि अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न प्रक्रिया अगाडि बढाइनुले यस्तो सङ्केत गरेको हो ।

निर्देशिकाले बीमा व्यवसायका सम्बन्धमा रहेका धेरै अन्योल हटाएकोमा दुईमत छैन । विशेष गरी पूँजी वृद्धिको विषयले पुराना बीमा कम्पनीहरू त अन्योलमा थिए नै, नयाँ कम्पनी स्थापनाका लागि निवेदन दिएर बसेका लगानीकर्ता पनि अन्योलमै थिए । निर्देशिकाले पूँजी वृद्धिको मापदण्ड तोकिदिएपछि त्यो अन्योल हटेको छ । करीब १० वर्षअघि सञ्चालनको अनुमति माग गर्दै निवेदन दिएर बसेका लगानीकर्तालाई कम्पनी सञ्चालनको अनुमति दिन बीमा समितिले पत्राचार गरेको छ । बीमा समितिको यस्तो निर्णयले बीमा व्यवसायलाई थप फराकिलो बनाउने निश्चित आधार तयार भएको मान्नुपर्छ ।

यसअघि नै नेपालमा बीमा कम्पनी धेरै भए भनेर मर्जरमा जानुपर्ने विषयले चर्चा पाएको थियो । मर्ज गर भन्नुको अर्थ सङ्ख्यामा थोरै बनाउने होइन, सक्षम बनाउनुपर्ने भनिएको हुनुपर्छ । त्यसो हुँदा निर्देशिकामा तोकिएको प्रावधानअनुसार प्रक्रिया पूरा गर्ने कम्पनीलाई व्यवसाय सञ्चालन गर्ने अनुमति दिँदा कुनै समस्या पर्ने देखिँदैन । अहिले सञ्चालनमा रहेका कम्पनीलाई आफूखुशी गर्न नदिन पनि सक्षम र सबल बीमा कम्पनी सञ्चालन गर्न अनुमति दिनु तर्कसङ्गत हुन्छ । बजारको विस्तारसँगै स्वदेशी तथा विदेशी लगानीमा बीमा कम्पनी सञ्चालन गर्न सकिने प्रशस्त सम्भावना छ । त्यसो हुँदा कोही व्यवसाय गर्न आउँछ भने उसलाई रोक्नु उचित होइन । उसले ल्याएको नयाँ सृजनालाई प्रयोगमा ल्याउन दिनुपर्छ ।

नयाँ बीमा कम्पनी सञ्चालन गर्न दिने भन्दैमा जथाभावी किसिमले अनुमति दिन पनि मिल्दैन । बीमा कम्पनीको नियामक निकाय बीमा समितिले व्यवसायसम्बन्धी विभिन्न शर्त तोकिदिएर बीमाक्षेत्रमा प्रवेशका लागि केही अवरोध सृजना गरिदिनुपर्छ । यसले गर्दा व्यवसायका नाममा हुने विभिन्न किसिमका विकृति रोक्न पनि सजिलो हुन्छ । यसरी अनुमति दिनु भनेको राम्रो हो । यस्तो स्वागतयोग्य प्रक्रियाको आलोचना गर्नु आवश्यक देखिँदैन ।

अहिले पनि बीमा व्यवसाय सञ्चालनका लागि केही शर्त तोकिएका छन् । तर, त्यस्ता शर्त पूर्णतः पालना भएको पाइँदैन । यस्ता केही विकृतिलाई नियन्त्रण गर्न पनि बीमा समितिले निर्देशिकालाई अझ प्रभावकारी बनाउनुपर्छ । यस क्षेत्रमा रहेको केही विकृतिमा संस्थापकहरूको मनोमानी पनि एक हो । केही ठूला लगानीकर्ता धेरै कम्पनीमा प्रत्यक्ष र अप्रत्यक्ष किसिमले प्रमुख शेयर होल्डर भएको पाइन्छ । तर, त्यस्तो गर्न निर्देशिकाले निषेध गरेको छ । त्यस्तै बीमकको कुनै संस्थापक वा निजको एकाघर परिवारका कुनै व्यक्ति प्रचलित कानूनबमोजिम कालोसूचीमा परेको भएमा पनि बीमा कम्पनी सञ्चालन गर्न नपाउने प्रावधान छ । यो प्रावधान पनि ठूला लगानीकर्ताको हकमा लागू नभएको पाइन्छ ।

बीमा समितिले नयाँ  अध्यक्ष पाएसँगै केही ठोस नीतिगत निर्णय गरेर बीमा व्यवसायलाई व्यवस्थित बनाउन लागेको छ । त्यसो हुँदा नयाँ कम्पनीलाई सञ्चालनको अनुमति दिँदा पनि समितिले बुद्धि पुर्‍याउला भन्ने अपेक्षा गरिएको छ । समग्र बीमा व्यवसायको विकासका लागि बीमा एकेडेमीको स्थापना गर्नुपर्ने विषय पनि केही समयअघि चर्चामा आएको थियो । त्यस्तै बीमा व्यवसायका बारेमा जति पनि प्रचारप्रसार भएको छ, त्यो ज्यादै न्यून देखिन्छ । त्यसो हुँदा बीमा व्यवसायको प्रचारप्रसारका लागि अहिलेको नीतिनियमलाई केही खुकुलो बनाउनुपर्ने माग बीमा कम्पनीहरूको रहेको छ । त्यो मागलाई पनि निर्देशिकाका आधारमा समितिले सम्बोधन गर्नुपर्छ । सरकारले ल्याएको स्वास्थ्यबीमा योजनालाई बीमा समितिको नियमनभित्र ल्याउनु पनि उत्तिकै महत्त्व पूर्ण हुन जान्छ । यसका लागि पनि बीमा समितिले निर्देशिकालाई प्रभावकारी बनाउँदै जानु आवश्यक छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »