लेख | दृष्टिकोण

२०७४-०१-७ मा प्रकाशित     २११ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

पर्यटकको आकर्षण सगरमाथा : कथा, व्यथा र महत्त्व

निनाम लोवात्ती कुलुङ      

विश्वकै अग्लो हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङ्माका बारेमा धेरै बयान जरुरी छैन । विश्वका पर्यटकका लागि आकर्षण बनेको सगरमाथामाथि मानव विजयको इतिहास, त्यसका लागि विभिन्न समयमा भएका मानव प्रयास, यसको महत्त्व र सगरमाथा दिवस किन/कसरी मनाउन थालियो ? भन्नेबारेमा जति चर्चा गरे पनि कम नै रहन्छ ।  नेपाल सरकारले सरकारीस्तरमा निर्णय गरेर सगरमाथा (चोमोलुङ्मा) दिवस मनाउन थालेको विसं २०६४ देखि मात्रै हो । तर, निजीक्षेत्रका पर्यटन व्यवसायसँग सम्बद्ध सङ्घसंस्थाजस्तै ट्रेकिङ एजेन्सिज् अफ नेपाल (टान), नेपाल पर्वतारोहण सङ्घ (एनएमए), सगरमाथा आरोहण सङ्घलगायत पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाहरूले भने धेरै अघिदेखि २९ मेका दिनलाई पहिलोपटक मानवले चोमोलुङ्मा चढ्न सफलता पाएको दिनका रूपमा स्मरण गर्दै सगरमाथा अर्थात् चोमोलुङ्मा दिवस मनाउने गरेका थिए । त्यसो त २९ मेका दिन नेपालमा मात्रै नभएर कतिपय यूरोपेली देश, अमेरिकालगायत देशमा पनि ‘एभरेष्ट डे’ मनाउने गरिन्छ ।

विश्वका विभिन्न देशका पर्वतारोहीले धेरै वर्ष अघिदेखि नै चोमोलुङ्मा चढ्ने धोको लिएर त्यसका लागि प्रयास गरेको देखिन्छ । यस क्रममा सर्वप्रथम सन् १९०७ मा चोमोलुङ्मा चढ्ने उद्देश्यले बेलायत (स्कटल्याण्ड)का डा. एएम केल्लासको नेतृत्वमा एक अनुसन्धान टोली सिक्किम, दार्जीलिङ हुँदै चोमोलुङ्मातर्फ लागेका थिए भन्ने भनाइ पाइन्छ । दोस्रोपटक सन् १९२१ मा बेलायती सेनाका तत्कालीन कर्णेल हवार्ड बरीको नेतृत्वमा चोमोलुङ्मा चढ्न तथा अनुसन्धान गर्न एक टोली पुनः सिक्किम, दार्जीलिङ/दोर्जेलिङको बाटो हुँदै उत्तरतर्फ लागेका थिए । तेस्रोपटक सन् १९२२ मा बेलायती सेनाकै सीजी ब्रुसको नेतृत्वमा समरभिल, म्यालोरी, नर्टनलगायतको सदस्यले चोमोलुङ्मा चढ्ने प्रयास गरे । त्यही टोलीका नेता ब्रुस र फ्रिञ्च अझ माथि अर्थात् २७ हजार २ सय ३५ फिटको उचाइमा पुगे । तर पनि उनीहरूले चोमोलुङको शिर चुम्ने सफलता भने पाउन सकेनन् । फेरि नोर्टनको नेतृत्वमा सन् १९२४ मा चोमोलुङ्मा चढ्नकै लागि मिशन बनाएर पर्वतारोही टोली आयो । उक्त टोलीमा म्यालोरी, इर्भिनलगायत सदस्य सम्मिलित थिए । भनिन्छ, उक्त टोलीका केही सदस्यले २८ हजार १ सय २६ फिट उचाइसम्मको यात्रा गरे ।

यसरी चोमोलुङ्मा चढ्ने प्रयास लगभग १८ वर्षसम्म तिब्बततर्फबाट भएको देखिन्छ । शुरूका वर्षमा त्यहाँ चढ्ने तथा खोज अनुसन्धान गर्ने सबै टोली बेलायती वा बेलायतको अधीनमा रहेका देशका नागरिक  देखिन्छन् । सन् १९५० मा नेपालले आफ्ना तर्फबाट चोमोलुङ्मा चढ्न दिने नीति लियो । लगत्तै चाल्र्स हष्टनको नेतृत्वमा एक टोली आयो । तर, उक्त टोलीले सर्वेक्षण गर्ने, बाटो पत्ता लगाउने र लागत इष्टिमेट गर्नेलगायतको काम मात्रै गर्न सक्यो । सन् १९५२ मा प्रथमपटक स्वीट्जरल्याण्डको एक पर्वतारोही टोली नेपाल तर्फबाट दक्षिणी मोहडा हुँदै चोमोलुङ्मा चढ्न गए । तर, उक्त टोलीले पनि सफलता पाएन । सन् १९५३ मा लर्ड हण्टको नेतृत्वमा बेलायती पर्वतारोही टोली चोमोलुङ्मा चढ्न नेपाल तर्फबाट गए । उक्त टोलीमा रहेका दुई सदस्य बेलायती (त्यो बेला न्यूजील्याण्ड पनि बेलायतमै पथ्र्यो) एडमण्ड पर्सिभल हिलारी र नेपाली तेञ्जिङ नोर्गे शेर्पाले सन् १९५३ मे २९ का दिन सफलतापूर्वक चोमोलुङ्मा चढे । यसरी उनीहरू पर्वतारोहणको इतिहासमा ‘प्रथम चोमोलुङ्मा चढ्न सफल मानव’का रूपमा दरिए ।

यस्तो महत्त्वको विषयलाई नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घको महासभामा प्रस्ताव दर्ता गराएर विश्वभरि नै २९ मेलाई ‘विश्व सगरमाथा दिवसे’ मनाउने प्रस्ताव पारित गराई विश्वभरि नै ‘सगरमाथा दिवस’ मनाउने वातावरण तयार पार्न सके सुनमा सुगन्ध हुने थियो । यसका लागि नेपाल सरकार र निजीक्षेत्रका पर्यटन व्यवसायीले विशेष पहल गर्नुपर्ने देखिन्छ । त्यसो हुन सकेमा पर्वतारोही र पर्वतारोहणमा रुचि भएका बीचमात्रै नभएर विश्वभरिका पर्यटक तथा सर्वसाधारण जनताले पनि चोमोलुङ्माबारे जानकारी पाउँछन् । यसबाट नेपालको पर्यटनका बारेमा अरू बढी प्रचारप्रसार हुन्छ । त्यस्तै नेपाल सरकारले ध्यान दिनुपर्ने अर्को महत्त्वपूर्ण कुरा विगत लामो समयदेखि स्थानीय बासिन्दाले चोमोलुङ्माबाट सलामी (रोयल्टी)बापत उठेको रकम बाँडफाँटमा अन्याय हुने गरेको भनी आवाज उठाउँदै आएका छन् । सलामी दस्तुरको सम्बन्धमा चोमोलुङ्मा चढ्न आएका विदेशी पर्वतारोहीले स्प्रिङ सिजनमा १ जना बराबर ११ हजार, अटम सिजनमा ५ हजार ५ सय र विण्टर÷समर सिजनमा २ हजार ७ सय ५० अमेरिकी डलर तिर्नुपर्छ । त्यस्तै नेपाली पर्वतारोहीले स्प्रिङ सिजनमा १ जनाबराबर ७५ हजार, अटम सिजनमा ३७ हजार ५ सय र विण्टर÷समर सिजनमा १८ हजार २ सय ५० नेपाली रुपैयाँ तिर्नुपर्छ । जेहोस्, स्थानीय बासिन्दाको माग भनेको चोमोलुङ्मा चढ्न आउने पर्वतारोहीबाट वर्षेनि उठ्ने करोडौं रुपैयाँको कम्तीमा ६० प्रतिशत स्थानीयस्तरमा निकासा÷खर्च हुनुपर्छ भन्ने हो । विगतमा विभिन्न राजनीतिक दलका नेताहरूको दबाबमा जिविसले जथाभावी रकमान्तर गर्ने गरेको तीतो अनुभव स्थानीय बासिन्दामा रहेको छ ।

धेरै अघिदेखि चोमोलुङ्मा केही सीमित व्यवसायीका लागि ‘महँगो र बिकाउ माल’ पनि भएको देखिन्छ । चोमोलुङ्मा चढ्न चाहनेहरूलाई विभिन्न देशका एडभेञ्चर कम्पनीहरूले विज्ञापन गर्दा १ पर्वतारोही बराबर ६५ देखि ७५ हजार अमेरिकी डलर खर्च लाग्ने भनी विज्ञापन गर्छन् । यसरी चोमोलुङ्मा नेपालमा भएकैले कसैका लागि अनेक खालका कीर्तिमान राख्ने माध्यम पनि भएको देखिन्छ । कसैका लागि प्रशस्त कमाइखाने भाँडो भएको छ । नेपाल सरकार र नेपाली जनताका लागि पनि वैधानिक रूपमा आयआर्जन गर्ने एउटा गतिलो स्रोतका रूपमा रहेको चोमोलुङ्मालाई विश्वकै पर्यटकको आकर्षणको केन्द्रविन्दुका रूपमा फैलाउन सक्नुपर्छ ।

लेखक ट्रेकिङ व्यवसायमा आबद्ध छन् ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »