शिक्षा

२०७४-०१-७ मा प्रकाशित     ३१४१ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

विद्यार्थीको विभिन्न ठाउँमा गएर अध्ययन गर्ने चाहना हुन्छ । अहिलेको समयमा विद्यार्थीहरूमा १० कक्षाभन्दा पहिले नै विदेश जाने मोह जाग्ने गरेको पाइएको छ । ‘नेपालमा गुणस्तरीय शिक्षा छैन’ भन्ने सोचका कारण यसले बढी मलजल पाएको छ ।

वास्तवमा नेपालमै अन्तराष्ट्रियस्तरको ‘ए लेभल’ पढ्न पाइन्छ भने सूचना आममानिसमा नपुगेकाले यस्तो सोच मौलाउने गरेको हो, जसले गर्दा कठिन शारीरिक श्रम गरी विदेशमा गई नेपाली विद्यार्थीहरू पढ्न बाध्य छन् । नेपालमा यस्तो बाध्यताको अन्त्य ए लेभलको पढाइले गर्न थालेको छ । यसले गर्दा आफ्ना परिवारसँग बसेर अध्ययन गर्न पाइने भएको छ । ए लेभलको बढीभन्दा बढी प्रचार गरेर विदेश जाने विद्यार्थीलाई रोक्न सकिन्छ ।

विदेशका विश्वविद्यालय असाध्यै राम्रा भनेर यहाँका विद्यार्थीलाई अध्ययनका लागि पठाइन्छ । तर, कतिपय त्यस्ता विश्वविद्यालयले अन्तरराष्ट्रिय रूपमा मान्यता नपाएको पछि मात्र थाहा हुन्छ । ए लेभलको अन्तरराष्ट्रिय मान्यतामा कुनै समस्या छैन । विगत ६ दशकदेखि विश्वभरका १ सय ७० देशमा यो कोर्सको पढाइ चलिरहेको छ । यसमा विषयको छनोट र परीक्षा प्रणाली एकदमै सहज छ । विद्यार्थी सुहाउँदो कोर्सको निर्माण गरिएको छ । विज्ञानको एउटा र मानविकीको अर्को विषयसँगै लिएर पनि पढ्न पाइन्छ । त्यसैले, धेरै विद्यार्थीले यसलाई मन पराएका छन् । परीक्षा दिन पनि सहज छ । एकपटकमा एउटा मात्र विषयको परीक्षा दिन पनि सकिन्छ । ६÷६ महीनामा परीक्षा दिन चाहेमा त्यो पनि गर्न सकिन्छ । सबै विषयको परीक्षा दिएर उत्तीर्ण भएपछि आफ्नो ग्रेड सुधार्ने चाहना भयो भने पुनः परीक्षा दिन पाइन्छ । विभिन्न कोणबाट ए लेभलमा विद्यार्थीको मूल्याङ्कन गर्ने तरीका पनि विशिष्ट छ । विद्यार्थीको उत्तरपुस्तिकाको मूल्याङ्कन राउण्ड टेबुलमा बसेर गरिन्छ । परीक्षाका लागि २ वर्षअगाडि नै प्रश्नपत्र यसरी तयार गरिएको हुुन्छ कि प्रश्न दोहोरिने सम्भावना शून्यबराबर हुन्छ । यसको परीक्षामा ग्रेडिङ प्रणाली छ, जुन प्रतिशत प्रणालीभन्दा उत्तम छ ।

शिक्षकको कमी
नेपालमा ‘ए लेभल’ अध्ययन गराउने शिक्षकको कमी भएको सम्बन्धित कलेजहरूको भनाइ छ । दक्ष शिक्षकको अभावकै कारण पनि ए लेभलको पढाइ महँगो भएको उनीहरूको भनाइ छ । दक्ष शिक्षक उत्पादनका लागि ब्रिटिश काउन्सिल र क्याम्ब्रिज एजुकेटर एशोसिएशन अफ नेपाल (सीईएन)ले विभिन्न तालीम गराउँदै आएका छन् । यो तालीमले शिक्षकहरूको दक्षतामा वृद्धि भए पनि सङ्ख्यात्मक वृद्धि भने उल्लेख्य नभएको बताइन्छ ।

शुल्क घटाउन सकिन्छ
ए लेभलको पढाइ अहिले आम विद्यार्थीको पहुँचभन्दा बाहिर छ । तीव्र इच्छा र मेहनतले मात्र ‘ए लेभल’ अध्ययन गर्न सकिने अवस्था छैन । यसका लागि हरेक विद्यार्थीको कम्तीमा साढे २ लाख रुपैयाँ खर्च गर्न सक्ने हैसियत हुनुपर्छ । कतिपय विद्यार्थीका लागि ए लेभल आकाशको फलजस्तै भएको छ । खर्च बढी लाग्ने भएकै कारण पनि ए लेभलमा विद्यार्थी सङ्ख्या बढ्न सकेको छैन । तर, धेरै खर्च हुने कारण पत्ता लगाएर त्यसको समाधान गर्न सके ए लेभल पनि केही सस्तोमा अध्ययन गराउन सकिने सो क्षेत्रका जानकारहरू बताउँछन् । खर्च घटाउन सबैभन्दा पहिले शिक्षकको सङ्ख्या बढाउनुपर्छ । ब्रिटिश काउन्सिलले ठूलो मात्रामा पैसा सङ्कलन गरेको छ । तर, यसले प्रभावकारी रूपमा ए लेभललाई प्रवर्द्धन गर्न सकेको छैन । शिक्षा मन्त्रालयले पनि त्यसअनुसारको भूमिका निर्वाह गर्न सकेको छैन ।  

छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने
नेपालमा शिक्षाक्षेत्रमा ठूलो आर्थिक सम्भावना छ । हामीले गरेको लगानीका कारण दक्ष जनशक्ति उत्पादन हुन्छ भने लगानी गर्न कञ्जुस्याइँ गर्नुहुँदैन । ए लेभलले विश्वव्यापी रूपमा मान्यता पाएको छ । क्याम्ब्रिज विश्वविद्यालयको ए लेभल भन्नासाथ संसारभर बिक्न सक्छ । नेपालमा ए लेभलको अध्ययन हुन थालेपछि स्वदेशमै बसेर विद्यार्थीहरूले विश्वका नयाँ अवसरमा सहभागी हुन पाउने भएका छन् । विद्यार्थीहरूले विदेशमा गएर खर्च गर्नेभन्दा कम शुल्कमा नेपालमै ए लेभल अध्ययनको वातावरण बनेको छ । यस्ता संस्थाहरूको विकासका लागि सबै पक्षले ध्यान दिनुपर्छ ।

नेपाललाई उच्च शिक्षाका क्षेत्रमा अन्तरराष्ट्रिय केन्द्र बनाउन सकिन्छ । सार्क मुलुकका मात्रै विद्यार्थी ल्याउन सक्यौं भने पनि धेरै उपलब्धि हुन्छ । ठूला अन्तरराष्ट्रिय विश्वविद्यालयले संसारका विभिन्न ठाँउमा क्षेत्रीय केन्द्र खोल्न थालेका छन् । त्यस्ता केही विश्वविद्यालयको क्षेत्रीय केन्द्र नेपालमा राख्न सकियो भने त्यसअन्तर्गतका थुप्रै कलेजको स्थापना हुन्छ । यसले देशको समग्र आर्थिक स्थितिमै ठूलो सुधार ल्याउँछ ।

काठमाडौंमा मात्र ए लेभल अध्ययन गराउने संस्था धेरै भइसकेका छन् । काठमाडौंबाहिर पनि ए लेभल स्कूलहरू खोल्नुपर्ने आवश्यकता देखिएकोे छ । ए लेभल हुने खानेका छोराछोरीले मात्र अध्ययन गर्ने कोेर्स हो । ए लेभलका लागि नेपालमा धेरै पैसा खर्च भइसकेको र भइरहेको छ । सबैले खर्च भएअनुसारको परिणाम दिन सक्नुपर्छ । अहिले आर्थिक हैसियत धेरै ठूलो नभएकाहरूले पनि ए लेभल पढ्न पाउने वातावरण बनाउन छात्रवृत्तिको व्यवस्था गर्नुपर्दछ । यसका लागि निजी साझेदारीको अवधारणाअनुसार काम गर्नुपर्छ । सरकारी स्कूलबाट सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्न सकिन्छ । जेहेनदार तर शुल्क तिर्न नसक्ने विद्यार्थीलाई बैङ्कबाट शैक्षिक ऋण दिलाउन पनि स्कूल कलेजले सक्छन् । ए लेभल अध्ययन गराउने सबै कलेजले रकम सङ्कलन गरेर एउटा ‘फण्ड’ खडा गर्न पनि सक्छन्, जसबाट छात्रवृत्तिको व्यवस्था गर्न सकिन्छ । ब्रिटिश काउन्सिलले पनि ए लेभल पढाउने संस्था र विद्यार्थीबाट धेरै पैसा लिने गरेको छ । त्यहाँबाट पनि नेपालका केही विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिदिन अनुरोध गर्न सकिन्छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »