शिक्षा

२०७४-०१-७ मा प्रकाशित     ९५८ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

ए लेभलमा युवा पुस्ताको आकर्षण

नेपालमा ए लेभलको पढाइ शुरू भएको करीब ३० वर्ष (सन् १९८७ देखि) भएको छ । यो अवधिमा ३६ ओटा शैक्षिक संस्थाहरूबाट उक्त कोर्सको अन्तरराष्ट्रियस्तरको पठनपाठन हुँदै आएको छ । शिक्षा मन्त्रालयका अनुसार नेपालमा काठमाडौं, पोखरा, विराटनगर, काभ्रेलगायत क्षेत्रबाट विदेशी विश्वविद्यालय वा शिक्षण संस्थाबाट सम्बन्धन लिएर हालसम्म ३ दर्जन कलेजले ए लेभल सञ्चालन गरेका छन् ।

अहिले आकर्षणको केन्द्रबिन्दु बनिरहेको ए लेभल पढाउन थप शैक्षिक संस्थालाई सरकारले अनुमति भने दिएको छैन । शिक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव डा हरि लम्सालका अनुसार नेपाल सरकारले २०७० सालदेखि थप ए लेभल सञ्चालनको अनुमति दिएको छैन । ए लेभलका लागि शिक्षा मन्त्रालयले अनुगमन गर्न शुरू गरेको उनले जानकारी दिए । यसका लागि सबै ए लेभलका शैक्षिक संस्थालाई केही दिनअघि प्रगति प्रतिवेदन पठाउन निर्देशन दिएको उनको भनाइ छ ।

नेपालको ए लेभल कलेजमा पढेका विद्यार्थीहरू विश्वविजेता भएकाले पनि सञ्चालित उक्त शैक्षिक संस्थाहरूको प्रगति विवरण राम्रो देखिन्छ । यसको प्रमाण भर्खरै ए लेभलको परीक्षामा विश्वकै उत्कृष्ट हुन सफल समृद्धि श्रेष्ठ हुन् । क्याम्ब्रिज विश्वविद्यालयको सन् २०१६ को जुन र नोभेम्बरको ए लेभल परीक्षा शृङ्खलामा रातो बङ्गला स्कूलकी उनी अङ्ग्रेजी भाषा र साहित्यमा विश्वमै उत्कृष्ट भएकी छिन् । साथै, नेपालमा यसपटक ए लेभलमा उत्कृष्ट भएका ४३ जनालाई अवार्ड दिइएको थियो । यसअघि सन् २०१० को सेसनमा सोही स्कूलका व्यञ्जना थापा र शीताश्मा नेपाल विश्व उत्कृष्ट हुन सफल भएका थिए ।

घोकन्ते विद्यालाई भन्दा प्रयोगात्मक पढाइमा जोड दिने र अन्तरराष्ट्रियस्तरको एउटै पाठ्यक्रम हुने भएकाले पनि ए लेभलमा विद्यार्थीको आकर्षण बढ्नु स्वाभाविक हो । नेपालमा ए लेभल पढेका विद्यार्थी विदेशका शैक्षिक संस्थाहरूमा झन् उत्कृष्ट हुने गरेका छन् । नेपाली विद्यार्थी घोक्न ‘माहिर’ भएकाले यसमा सफल भएको जिकिर ए लेभलका सञ्चालकहरूको छ । घोकन्ते भएकै कारण फिल्डमा उत्रिँदा उनीहरूलाई गाह्रो हुने ठोकुवा पनि उनीहरू गर्छन् ।

नेपालमा सञ्चालित ए लेभल पूरै प्रयोगात्मक अभ्यासमा आधारित भएकाले शिक्षासँगै ज्ञान पनि पाउने ए लेभल सञ्चालकहरूको भनाइ छ । काठमाडौं युनिभर्सिटी हाई स्कूलका संयोजक सुरेन्द्र जोशी ए लेभलमा शिक्षकले पढाउने र विद्यार्थीले पढ्ने दुवै तरीका फरक भएको बताउँछन् । ‘ए लेभल पढ्ने विद्यार्थी घोक्नेभन्दा पनि सृजनशील, जिज्ञासु र आफ्नो ज्ञान प्रयोग गरेर खोजी–खोजी पढ्ने स्वभावको हुनुपर्छ,’ भनले भने, ‘सिकाइ नै व्यावहारिक हुने भएकाले यसको वातावरणले विद्यार्थीलाई पनि यस्तो बनाउँछ ।’
 
उनका अनुसार यो पाठ्यक्रम पढेका विद्यार्थीमा कुनै पनि समस्यासँग सीधै जुझ्न सक्ने क्षमता विकास हुन्छ । यो शिक्षामा लिखित, मौखिक, प्रयोगात्मक र प्रोजेक्ट वर्कका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिने हुँदा एकदिने जाँच विधिले भन्दा राम्रो मूल्याङ्कन हुन्छ ।

ए लेभल बुझाइ, यथार्थ र आकर्षण
ए लेभलबारे सबै जानकार नहुन सक्छन् । सर्वसाधारणको धारणा छुट्टाछुट्टै हुन सक्छ । यसमा घोकन्ते विद्याभन्दा पनि व्यावहारिक शिक्षा दिइन्छ । मूलतः सेमिनार, छलफल, प्रयोगशाला, समस्या समाधान, समूह क्रियाकलाप, प्रोजेक्ट कार्य, खोजबिन, प्रस्तुतीकरण, समसामयिक अध्ययन आदिमा यसको कोर्स आधारित हुन्छ । ए लेभलको पाठ्यक्रमलाई प्रत्येक वर्ष अद्यावधिक गरिने भएकाले पनि यो निकै वैज्ञानिक र विश्व प्रतिस्पर्धी शिक्षा प्रणाली हो ।

बेलायतको क्याम्ब्रिज इण्टरनेसनल एक्ज्यामिनेशन्स (सीआईए) तथा क्याम्ब्रिज विश्वविद्यालयको जनरल सर्टिफिकेट अफ एजुकेशन (जीसीई) कार्यक्रमअन्तर्गत नेपालमा ब्रिटिश काउन्सिलको सहयोगमा ए लेभलको अध्यापन हुँदै आएको छ । समय र प्रविधिसँगै परिवर्तन हुँदै गएका आधुनिक युवा पुस्ता र शैक्षिक संस्थाको आवश्यकतालाई ध्यानमा राखेर शुरू गरिएको ए लेभलको पढाइ विश्वका करीब १ सय २९ ओटा देशमा हुन्छ । यस्तै, ‘ओ’ लेभल विश्वको १ सय ६० ओटा देशमा पढाइन्छ ।

विशेषगरी ए लेभल १६ देखि १८ वर्ष उमेर समुहका विद्यार्थीका लागि तयार पारिएको उच्च माध्यमिक शिक्षाको पाठ्यक्रम हो । यो यसअघिको एसएलसी, अहिलेको एसईई परिक्षापछि अध्ययन गर्न सकिने तह हो । विदेशमा विद्यार्थीले अर्डिनरी (ओ) लेभल अध्ययन गरेपछि एड्भान्स (ए) लेभल अध्ययन गर्छन् । नेपालमा भने एसईई (एसएसलसी)पछि सीधै ए लेभल अध्ययन गर्न पाइन्छ । हाल नेपाल सरकारले १० कक्षापछिको ११ र १२ कक्षालाई माध्यमिक तह नै तोकिदिएको छ । यसअघि प्लस टूको मान्यता दिइएको ए लेभल अहिले माध्यमिक तह सरह भएको छ । ए लेभलमा ११ कक्षालाई एड्भान्स सब्सिडियरी (ए एस) र १२ कक्षालाई एड्भान्स लेभल (ए२) भनिन्छ । यी दुवै कोर्स सकिएपछि विद्यार्थीको ए लेभल सकिन्छ । ए लेभलपछि विद्यार्थीले स्नातक तह भर्ना हुन पाउँछन् । तर, ए लेभल अध्ययन गर्ने विद्यार्थीका लागि यसपछिको शिक्षा छनोटका आधार धेरै हुन्छन् । दुवैको मान्यता उस्तै भए पनि पढाइको गुणस्तर र अन्तरराष्ट्रिय मान्यताको आधारमा ए लेभल अगाडि नै छ ।  

बेलायतको क्याम्ब्रिज युनिभर्सिटीले नेपालमा यो शिक्षाको पाठ्यक्रम सम्बन्धन, अनुगमन र परीक्षा सञ्चालन गर्न नेपालस्थित ब्रिटिश काउन्सिललाई अधिकार दिएको छ । ए–लेभलमा समावेश करीब ७० ओटा विषयमध्ये विद्यार्थीले रोजेका कुनै चार विषयमा अध्ययन गरेर वर्षको दुईपटक (अक्टोबर–नोभेक्बर र मे–जुन) परीक्षा दिएपछि यो तह पूरा हुन्छ । यो परीक्षा उत्तीर्ण विद्यार्थीले विश्वका जुनसुकै विश्वविद्यालयमा स्नातक तहमा भर्ना हुन पाउँछन् । विश्वभर यसको एउटै कोर्सका साथै परीक्षासमेत एकै समयमा हुन्छ । परीक्षामा सोधिने प्रश्न पनि सबै मुलुकका लागि एउटै हुन्छ । ए लेभलले विद्यार्थीलाई आत्मविश्वासी बनाउँछ र जिम्मेवारी वहन गर्न सिकाउँछ । यसले विद्यार्थीलाई परिवर्तनशील बन्न सिकाउने मात्र होइन, बौद्धिक र तार्किक क्षमता विकास गर्छ । किनकि, यसको शैक्षिक प्रणाली नै व्यावहारिक र विश्व–प्रतिस्पर्धी छ । ए लेभल सकेपछि विद्यार्थीले आफ्नो विषयगत अध्ययनका आधारमा चिकित्सा शास्त्र, इञ्जिनीयरिङ, व्यवस्थापन, मानविकी जुनसुकै विषयमा पनि अध्ययन गर्न विश्वका जुनसुकै विश्वविद्यालयमा पढ्न पाउँछन् ।

नेपालमा ए लेभल पढेपछि इञ्जिनीयर पढ्न पाइँदैन भन्ने बुझाइ छ, तर यो साँचो होइन । यसको अर्को राम्रो पक्ष भनेको विद्यार्थीले आफ्नो रुचिअनुसार अलग–अलग कार्यक्रमको विषय पनि पढ्न सक्छन् । जस्तै– एउटा विद्यार्थीले विज्ञान सङ्कायको फिजिक्स पढ्छु, मानविकीको समाजशास्त्र र व्यवस्थापनको एकाउण्ट पढ्छु भन्यो भने उसलाई रोकावट हुँदैन । विद्यार्थीलाई जुनसुकै विषय छानेर पढ्ने स्वतन्त्रता क्याम्ब्रिज विश्वविद्यालयले दिएको छ । धेरै विषयभित्र छानेर आ–आफ्नो परिवेशअनुसार पढ्न पाइन्छ ।

तोकिएकै समयमा परीक्षा र नतीजा आउने भएकाले पनि विद्यार्थीहरू यसमा सहज मान्छन् । विद्यार्थीले विषय छानेर परीक्षा दिन पाउने व्यवस्था यसमा हुन्छ । जस्तै– ५ विषय लिएको विद्यार्थीले पहिलो परीक्षामा २ विषयको मात्र परीक्षा दिन्छु र अरू पछि दिन्छु भन्दा पनि पाउँछन् । प्रमाणपत्र आउने बेलामा त्यसले कुनै फरक पार्दैन । अझ कुनै विद्यार्थीले ए लेभलमा आफूले ल्याएको परिणामबाट सन्तुष्ट नभएमा फेरि परीक्षा दिइरहन पनि पाउँछन् ।

ए लेभल पढेका विद्यार्थीले अन्तराष्ट्रिय स्तरमा नै प्रतिस्पर्धा गर्न सजिलो हुने भएकाले ए–लेभलप्रति विद्यार्थीहरूको आकर्षण बढेको ए लेभलका सञ्चालकहरूको भनाइ छ । ए लेभल अध्ययनपछि अन्तरराष्ट्रियस्तरको प्रमाणपत्र पाइने र विश्वको जुनसुकै शैक्षिक संस्थामा पनि सजिलै अध्ययन गर्न सकिने भएकाले धेरै विद्यार्थी यसतर्फ आकर्षित भएका छन् । विश्वका बेलायत, अष्ट्रेलिया, अमेरिकालगायत मुलुकका विश्वविद्यालयले ए लेभल गरेकालाई मात्र अन्तरराष्ट्रियस्तरका विद्यार्थी मान्ने गरेकाले यसको महŒव बढ्न थालेको हो । ए लेभलमा अध्ययनका लागि सीमित कोटामा विद्यार्थीको तँछाड–मछाड नै हुन्छ । यो पढेपछि अन्तरराष्ट्रिय मान्यता हुने र गुणस्तरीय शिक्षा प्राप्त गर्न पाइने भएकाले पनि अभिभावक आफ्ना छोराछोरीलाई ए लेभल पढाउन चाहन्छन् । ए लेभल उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि विदेश जान विद्यार्थीले आईएलटीएस, टोफेल जस्ता परीक्षा दिइरहनु पर्दैन ।

शुल्क
ए लेभल शिक्षा सर्वसाधारणका लागि भने महँगो पर्न जान्छ । विशेष गरेर निम्नवर्गका लागि भने धेरै गाह्रो पर्छ । यसबारे कलेजका सञ्चालकहरूको धारणा पनि मिल्छ, तर नमी कलेजका प्रबन्धक अमरदीप मण्डल विदेशमा यही कोर्स पढ्न लागि महँगो हुने तर नेपालमा धेरै कममा पढ्न सकिने बताउँछन् । उनका अनुसार नेपालमा यो विषय अध्ययनका लागि कलेजहरूले भर्ना शुल्क रू. ६० हजारदेखि १ लाखसम्म लिने गरेका छन् भने मासिक शुल्क शैक्षिक संस्थाअनुसार करीब रू. १२ हजारदेखि २० हजारसम्म लाग्छ । यसबाहेक ब्रिटिश काउन्सिललाई प्रतिव्यक्ति परीक्षा शुल्क समेत तिर्नुपर्छ ।

ए लेभलका केही विशेषता

  • आफूले चाहेको समयमा परीक्षा दिन पाइने
  • नतीजा चित्त नबुझेमा फेरि परीक्षा दिन पाइने
  • व्यावहारिक शिक्षा
  • समयअनुसार अन्तरराष्ट्रियस्तरको पाठ्यक्रम परिमार्जन हुने
  • अनुसन्धानमा जोड दिइने
  • जुनसुकै देशमा अध्ययन गर्न सहज
  • वैज्ञानिक पाठ्यक्रम
  • विश्वस्तरको मान्यता
  • उत्कृष्ट नतीजा
  • पाठ्यक्रम र शिक्षण, परीक्षा तथा ग्रेडिङ प्रणाली सबै क्याम्ब्रिज विश्वविद्यालयले तोकेअनुसारको

#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावपछिको विकासे सपना
दोस्रो चरणको चुनाव पनि सकियो । चुनाव बिथोल्न बम पड्काउँदै हिँडेका विप्लवको केही लागेन । लास्टै बेइज्जत पो भयो विप्लवको । उनको बम पड्किनबाट रोक्न सेनाको कामै आएन । हुन त उनको बमलाई . . . विस्तृतमा »