विकास

२०७४-०१-८ मा प्रकाशित     ८६८ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

आकाश तारा बयक

आकाश तारा बयक

सुर्खेत, ७ वैशाख । भारत–नेपाल–चीन (तिब्बत) जोड्ने हालसम्मकै छोटो र सजिलो त्रिदेशीय सडक सञ्जाल निर्माणमा ढिलाइ भएकोमा सुर्खेतका स्थानीय बासिन्दाले गुनासो गरेका छन् । भारतको तिकुनिया–कतरनियाघाट हुँदै बर्दियाको राजापुर–कैलालीको चिसापानी–गुटु–मङ्गलसेन–बाजुरा–हुम्लाको हिल्साबाट तिब्बत जोड्ने त्रिदेशीय सडक सञ्जाल निर्माणमा सम्बन्धित पक्षले ध्यान नदिएको सुर्खेतका स्थानीयले गुनासो गरेका हुन् ।

‘अब ४ किलोमिटर सडक निर्माण भए अछामको मङ्गलसेन जोडिन्छ,’ गुटु गाविसका निवर्तमान गाविस अध्यक्ष काशीराम देवकोटाले भने, ‘मङ्गलसेन–बाजुरा–हुम्लाको हिल्सा हुँदै यो सडक चीनको तिब्बतसँग जोडिन्छ ।’ हालसम्मका त्रिदेशीय सडक सञ्जालमध्ये यो सडक सरल र छोटो दूरीको पर्ने उनले बताए ।

स्थानीय जनताले ३ दशकदेखि कैलालीको चिसापानी–गुटुु–मङ्गलसेन–बाजुरा–हुँदै हुम्लाको हिल्सा सडक विस्तारको माग गर्दै आएको गुटुका स्थानीयवासी लक्ष्मीबहादुर वयक बताउँछन् । उनले गुटुदेखि अछाम जोड्नका लागि अब ४ किलोमिटर सडक निर्माण गरे सुर्खेत–अछाम जोडिने बताए । ‘अछाम सडक सञ्जालले बाजुरासँग अहिले पनि जोडिएको छ,’ उनले भने, ‘सुर्खेतबाट अछाम हुँदै बाजुरा र हुम्ला हुँदै यहाँको सडक तिब्बत जोडिन्छ ।’ यहाँको सडकलाई स्थानीय जनताले मात्रै नभई केन्द्रले पनि महत्त्वका साथ हेर्नुपर्ने उनको माग छ ।

‘कैलालीको चिसापानी र सुर्खेतका घाटगाउँ–गुटुमा सडक विस्तार भएको छ,’ गाविसका निवर्तमान अध्यक्ष देवकोटाले भने, ‘सडकलाई त्रिदेशीय सडक सञ्जाल बनाए मध्यपहाडी लोकमार्गसँग यो सडक जोडिन्छ ।’ हाल निर्माणाधीन अवस्थामा रहेको मध्यपहाडी लोकमार्गले सुर्खेतलाई नछुने भन्दै जिल्लाका सरोकारवालाहरू त्रिदेशीय सडक सञ्जाल विस्तार भए मध्यपहाडी लोकमार्गमा सुर्खेत हुँदै तराईका जिल्लामा समेत जोड्न सकिने बताउँछन् । ‘कैलाली–सुर्खेत–अछाम–बाजुरा–हुम्ला सडकले तीन देशसँगै धार्मिक आस्थालाई पनि जोड्छ,’ मध्यपश्चिम उद्योग वाणिज्य सङ्घका क्षेत्रीय अध्यक्ष पदमबहादुर शाहीले भने, ‘मानसरोवर आएका पर्यटकलाई भेरी–कर्णालीको र्‍याफटिङसँगै प्यूठानको स्वर्गद्वारी, मुक्तिनाथसम्मको यात्रा गराउन सकिन्छ ।’

राजनीतिक दलले यो सडकलाई  आफ्नो एजेण्डामा राख्न सकेनन्
सामरिक तथा व्यापारिक दृष्टिले महत्त्वपूर्ण मानिएको त्रिदेशीय चिसापानी–गुटु–मङ्गलसेन फाष्ट ट्र्याकबारेको महत्त्व कुनै पनि राजनीतिक दलले बुझ्न नसकेको गुटुका समाजसेवी देवबहादुर थापा बताउँछन् । तर, सरकारले केन्द्रीय प्राथमिकतामा राखे पनि फाष्ट ट्र्याक निर्माणका लागि यस क्षेत्रको बलियो जनप्रतिनिधि नहुँदा ओझेलमा पर्दै गइरहेको उनको भनाइ छ । सरकारले २ वर्षपहिलेदेखि सडक निर्माण कार्यमा तीव्रता दिएको भए पनि सुर्खेत खण्डमा अझै ट्र्याक खोल्न बाँकी छ । सरकारले चालू आर्थिक वर्षमा घाटगाउँ–गुटु–साल्म–जङ्गलाघाट सडक निर्माणका लागि १० करोड रकम विनियोजन गरेको छ । त्यस्तै, कैलालीको सुँगरखाल र घाटगाउँको चिप्लेमा कर्णाली नदी माथि साढे ४ सय मिटर लामो मोटरेबल पुल निर्माणका लागि २२ करोड रुपैयाँ छुट्याइएको पूर्व सभासद् नरबहादुर विष्टले जानकारी दिए । उनले चिसापानीदेखि सुगरखालसम्म हाल नियमित जीप सञ्चालनमा रहेको बताए । उनका अनुसार यता सुर्खेतका गुटु र घाटगाउँमा समेत नियमित यातायात सञ्चालनमा छन् ।

‘सरकारले भारतीय सीमासँग जोडिएको बर्दियाको कतरनिय र कैलालीको सतीको बीच भागमा पर्ने कतरनिय नाकामा ‘सुक्खा बन्दरगाह’ बनाउन त्यस क्षेत्रका जनताले लामो समयदेखि माग गर्दै आइरहेका छन्,’ उनले भने, ‘नेपाल सरकार जनताको मागप्रति सकारात्मक देखिए पनि केन्द्रमा त्यस क्षेत्रबाट बलियो जनप्रतिनिधि नहुँदा त्यो मुद्दा ओझेलमा पर्दै गइरहेको छ ।’ उनले कतरनिय–सतीमा सुक्खा बन्दरगाहको माग पूरा नहुञ्जेलसम्म स्थानीय बासिन्दाले आवाज उठाइरहनुपर्नेमा जोड दिए । उनका अनुसार कतरनिय–सती सुक्खा बन्दरगाहका क्षेत्रको पारिपट्टि भारत, उत्तर प्रदेश प्रान्तको नानपारा जिल्लाको तेकुनिया पर्दछ ।

यता सडक डिभिजन कार्यालय सुर्खेतका अनुसार यस वर्ष गुटुको साल्मदेखि जङ्गलाघाट र तातोपानी–बाबियाचौर हुँदै जङ्गलाघाटसम्मका लागि २५ करोड रकम विनियोजन भएको छ । चिसापानी–गुटु–मङ्गलसेन फाष्ट ट्र्याकलाई बहुवर्षीय योजनामा राखिएको सडक डिभिजन कार्यालयका प्रमुख बेलबहादुर भुजेल बताउँछन् । उनले कर्णाली कोरिडोरलाई समेत समेट्ने गरी उक्त फाष्ट ट्र्याक निर्माण गर्दा त्रिदेशीय सडक सञ्जालको सपना छिट्टै साकार हुने बताए । घुमाउरो, जोखीमपूर्ण र बढी समयबाट बच्नका लागि सुरुङ मार्गलाई प्राथमिता दिनुपर्ने उनको भनाइ छ ।

तराईदेखि हिमाल उत्तर–दक्षिण सीमा सडक जोड्न र व्यापारिक, सामाजिक र राजनीतिक रूपले समावेशी विकासको अवधारणाअनुसार चिसापानी–गुटु–मङ्गलसेन फाष्ट ट्र्याक निर्माण कार्यलाई गति दिनुपर्ने स्थानीयको माग छ । उक्त फाष्ट ट्र्याक निर्माणपछि सुर्खेत, अछाम, कैलाली बाजुरा, डोटी र कर्णाली अञ्चलका चार जिल्लाका ३० लाखभन्दा बढी जनता लाभान्वित हुनेछन् ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »