समाचार

२०७४-०१-८ मा प्रकाशित     ३४५ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

वैशाख ७, काठमाडौं । नेपाल मजदूर किसान पार्टीले आफ्ना जनप्रतिनिधिमार्फत मजदूर, किसान, प्रगतिशील बुद्धिजीवी, पूँजीपति वर्गसमेतको सहयोग तथा समर्थनमा गाउँपालिका र नगरपालिकाका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । अन्य दलहरू चुनाव हुने/नहुने कुरामा अलमलिरहेको परिप्रेक्ष्यमा नेमकिपाले स्थानीय तहको निर्वाचनका लागि सबैभन्दा पहिले घोषणापत्र जारी गरेको हो ।

बिहीवार राजधानीमा ‘स्थानीय तह निर्वाचन घोषणापत्र २०७४’ जारी गर्दै पार्टी अध्यक्ष नारायणमान बिजुक्छेंले स्थानीय तह प्रजातन्त्रको जग रहेको र १५ वर्षदेखि स्थानीय निकाय जनप्रतिनिधि नहुँदा प्रजातन्त्र सिंहदरबारमा सीमित भएको धारणा राखे । बिजुक्छेंले घोषणापत्र, वर्गआधार, पार्टीको सिद्धान्त मिल्ने पार्टीसँग सहकार्य गरेर आफ्नो पार्टी अगाडि बढ्ने बताए । उनले २८ जिल्लामा नेमकिपाले उम्मेदवारी दिने घोषणासमेत गरे ।

मादल चिह्न पाएको नेमकिपाले घोषणापत्रमार्फत सन्तुलित विकासका लागि कुल राष्ट्रिय बजेटको ५० प्रतिशत स्थानीय तहमार्फत विकास गर्न दिने पूर्वएजेण्डालाई अझ जोडतोडले उठाउने घोषणा गरेको छ । ठूला दलहरू अझै पनि चुनाव टार्नका लागि बहाना खोजिरहेको र यसलाई भारतले मलजल गरिरहेको आरोप अध्यक्ष बिजुक्छेंको थियो ।

नेमकिपाले घोषणापत्रमार्फत गाउँपालिका र नगरपालिकामा आवास क्षेत्र, पर्यटन, औद्योगिक, कृषि, शैक्षिक, हरित क्षेत्र घोषणा गरी भूउपयोग नक्सा तयार गरी कार्यान्वयनमा जोड दिने घोषणा गरेको छ । सूचना प्रविधिको अधिकतम प्रयोग गरी सर्वसाधारणलाई अनलाइन सेवा दिने र सूचना प्रविधि केन्द्र स्थापनालाई प्राथमिकतामा राखेको छ । खोला र नदीलाई प्रदूषणमुक्त बनाउने र स–साना बाँध बनाएर पानीको बहावलाई जीवन्त बनाउने योजना पनि नेमकिपाको छ ।

भूबनोटअनुसारको घर बनाउन जनतालाई भार नपर्ने गरी स्थानीय तह र सरकारी निकायबाट माटोको परीक्षण गर्ने व्यवस्था गरिने पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।

सन्तुलित विकासका लागि गाउँपालिका
निश्चित शहरमा जनसङ्ख्या केन्द्रित भई यसबाट उत्पन्न समस्यालाई अन्त्य गर्न र देशको सन्तुलित विकासका लागि गाउँपालिकाहरूमै शहरको विकास गर्ने, यात्रु हिँड्ने पेटीसहितको सडक निर्माण गर्ने र ढल एवम् बसपार्कलगायतको पूर्वाधार विकास गर्ने घोषणा नेमकिपाले गरेको छ । गाउँमा कृषि उत्पादन बढाउन सिँचाइको व्यवस्था, आधुनिक औजार तथा यन्त्रको प्रयोग, उन्नत बीउबीजनको अनुसन्धानका लागि सरकारसँग समन्वय गर्ने योजना पनि नेमकिपाको रहेको छ ।

रोजगारीमा जोड
युवालाई साइकल, मोटरसाइकल, मोटर, रेडियो, टीभी, मोबाइल, फ्रीज, कम्युटर सफ्टवेयर, हार्डवेयरलगायतको तालीम प्रत्येक वडावडामा सञ्चालन गरी रोजगारी सृजना गर्ने घोषणा नेमकिपाको छ । निर्वाचन आयोगबाट मादल चिह्न प्राप्त गरेको नेमकिपाले गाउँपालिकाका रमणीय र ऐतिहासिक एवम् साँस्कृतिक महत्त्व भएका सम्पदाहरू संरक्षण गरी पर्यटन उद्योगको विकास गर्ने कुरा घोषणापत्रमार्फत सार्वजनिक गरेको छ । सम्भाव्यता भएका स्थानीय तहमा स्थानीय लगानीमा साना जलविद्युत् र सिँचाइ परियोजना विकास गर्ने पार्टीको योजना रहेको छ ।

कालोबजारी नियन्त्रण र गैसस नियमन
नेमकिपाले घोषणापत्रमार्फत कालोबजारी नियन्त्रण गर्ने र एनजीओ/आईएनजीओलाई नियमन गर्ने पनि घोषणा गरेको छ । कृत्रिम अभाव, मिसावट तथा म्याद नाघेका सामग्री विक्री गरी उपभोक्ता ठग्नेलाई कानूनी कारबाही गराउने पनि घोषणापत्रमा उल्लेख गरेको छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।

समाचार

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »