लेख | दृष्टिकोण

२०७४-०२-४ मा प्रकाशित     १०९६ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

विश्व अर्थतन्त्र र नेपालको पानी

रामप्रसाद गौतम

केही दशक अगाडिसम्मको परिवेश छुट्टै थियो ।  केटाले नपढे पनि फाँटमा ४० मुरी धान फल्ने खेत छ, तर अर्को केटाले राम्रै पढेको भए पनि एकहलको बारीबाहेक केही छैन भन्ने अवस्थामा प्रायः सबैले धानखेत भएकालाई रोज्दथे र छोरीदिन्थे । अर्थात् एउटा जमाना थियो जतिबेला अर्थतन्त्रको मूल आधार नै कृषि थियो । जब ठूलाठूला मेशिनको आविष्कार भयो, कृषिको अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रले जित्दै गयो । समय बित्दै गयो र औद्योगिक अर्थतन्त्रको गतिलाई नयाँ नयाँ प्रविधिले उतारचढावको विन्दुमा दौडाउँदै लग्यो । उद्योगमाथि विज्ञान र प्रविधिले व्यापक स्थान ग्रहण गर्दै गयो । यो विज्ञान विभिन्न शक्तिको रूपान्तरणमा आधारित थियो । विशेष गरेर ताप, प्रकाश र चुम्बक आदिबाट गति शक्ति, घर्षण, तान्ने, धकेल्ने नयाँनयाँ आविष्कार र प्रयोग हुँदै आयो ।

यान्त्रिक युगलाई विस्तारै सूचनाप्रविधि र सप्टवेयर निर्माणसहितको कम्प्युटर युगले प्रतिस्थापन गरिदियो । हाल विश्वको अधिकांश आर्थिक गतिविधि कम्प्युटरमा आधारित छन् । विस्तारै अहिले विश्वको आर्थिक वर्तमान र भविष्य ज्ञानमा आधारित भएको देखिन्छ । जो जसले ज्ञानको अधिकतम प्रयोग गरेर नयाँ नयाँ वस्तु तथा सेवा समाजलाई पस्किन सक्छ, त्यो देश नै निरन्तर आर्थिक शक्तिको रूपमा उभिन सक्दछ ।

आज पनि शक्तिको व्यापार, कम्प्युटरलगायत विद्युतीय सामानको व्यापार, चलचित्रलगायत मनोरञ्जनको व्यापार, होटललगायत सेवाको व्यापार, जानकारीको व्यापार आदि विविध क्षेत्रबाट आर्थिक रूपमा मुलुक विकसित हुन्छन् । आर्थिक सम्पन्ताका लागि व्यापार त हुनैपर्छ । तर, व्यापारका लागि उपभोग्य वस्तु उत्पादन पनि अति नै आवश्यक हुन्छ । आजको विश्वमा हातहतियार र विद्युतीय सामानलगायत, कम्प्युटर र सूचनाप्रविधिको व्यापारका कारण अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बनेको हो । मार्च २०१७ को प्रतिवेदनअनुसार उसले विश्व अर्थतन्त्रमा २४ दशमलव ३ प्रतिशत अंश कायम गरेको छ । यसको कुल गार्हस्थ्य उत्पादन १८ ट्रिलियन डलर रहेको छ ।

व्यक्तिगत रूपमा हेर्दा अमेरिकाका अर्बपति विल गेट्ससँग मात्रै ८७ बिलियन डलरको सम्पत्ति छ । उनको सम्पत्ति प्रत्येक वर्ष बढ्दो छ । आर्थिक विश्लेषकहरूले गेट्स विश्वको पहिलो ट्रिलियनपति बन्न सक्ने अनुमान गरिसकेका छन् । यसरी अनेक उतारचढावबीच अमेरिका आजसम्म विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बनेको छ ।

दोस्रोमा १४ दशमलव ८ प्रतिशत अंश अर्थात् ११ ट्रिलियन डलर जीडीपीका साथ चीन विश्व बजारमा छाएको छ । जसरी सूर्यको किरण २४ घण्टामा सर्वत्र फैलिन्छ, त्यसैगरी चाइनिज सामान नभएको कुनै पसल घर वा चूल्हो चौको छैन । २४ घण्टामा विश्वका सबै मानिस कुनै न कुनै रूपमा चाइनिज सामानसँग ठोकिन्छन् । वातावरण प्रदूषणको व्यापक मार सहन गर्दै, २० हजार किमिको अन्तरराष्ट्रिय सीमानामा सुरक्षामा चौकन्ना रहँदै चीन आर्थिक जगत्मा पहिलो बन्ने होडमा अमेरिकापछि दोस्रो ठूलो आर्थिक शक्ति रहेको छ ।

तेस्रो आर्थिक शक्ति जापानको विश्व अर्थतन्त्रमा ५ दशमलव ९ प्रतिशत अंशियारी अर्थात् ४ दशमलव ४ ट्रिलियन डलर जीडीपी रहेको छ । यसैगरी जर्मनी, यूके, फ्रान्स, भारत, इटाली, ब्राजिल, क्यानडा क्रमिक रूपमा विश्वका ठूला अर्थतन्त्र भएका मुलुक हुन् । दक्षिण कोरिया एघारौं, अष्ट्रेलिया बाह्रौं, रसिया तेह्रौं, स्पेन चौधौं, मेक्सिको पन्ध्रौं विश्व अर्थतन्त्र हुन् । इण्डोेनशिया, नेदरल्याण्ड, टर्की, स्वीट्जरल्याण्ड, साउदी अरेबिया विश्वका सबैभन्दा ठूलो अर्थतन्त्र भएका २० देशभित्र पर्छन् । यी २० देशले विश्वको ८० प्रतिशत अर्थतन्त्रको उपभोग गर्छन् । बाँकी २ सय १३ देशसँग जम्मा २० प्रतिशत सम्पत्ति छ ।

पानी ओरालोतिर बग्ने रहेछ भने पैसा धनी भएकोतिर एकीकृत हुने रहेछ । त्यसका लागि धनी देशका नीतिनियम, व्यापारीलाई गर्ने सहयोग आदि सबै कुरामा सुझबुझपूर्ण व्यवस्थापन हुनैपर्ने देखिन्छ । तर, पैसाले पैसा तान्छ भनेझंै धनी धनी नै हुने रहेछ । नेपाल गरीब भयो किनकि हाम्रो सोच नै गरीब छ ।

अहिलेको विश्व ज्ञानमा आधारित छ । त्यसमा द्विविधा छैन । तर, ज्ञानले मात्र भोक मेटिँदैन र तिर्खा पनि मेटिँदैन । तर्सथ नेपालजस्तो मुलुकले  प्रविधिमा अरूसँग प्रतिस्पर्धा गर्न नसके पनि अग्र्यानिक खेतीपाती र पानीको व्यापारमा आफ्नो ज्ञान प्रयोग गर्न सक्ने हो भने देशको जीडीपीमा सुधार हुने निश्चित छ ।

जति ठूलो प्रयास र प्रविधि प्रयोग गरिए तापनि प्रयोगशालामा अन्न उब्जाउन वा बनाउन सकिँदैन । त्यसका लागि जमीन नै चाहिन्छ । त्यसै गरी कुनै मेशिनले तिर्खा मेट्न सक्दैन, त्यसका लागि पानी नै चाहिन्छ । नेपाल तत्काल विश्वका अघिल्ला २० देशसँग प्रतिस्पर्धा गर्न सक्दैन । तर, पानी र आधुनिक कृषिप्रणालीमार्फत आजको कठैबरा भन्ने परिस्थितिबाट माथि उठ्न पक्कै सक्छ ।

माथि नै भनियो एउटा व्यक्तिको कारोबारको बजेटभन्दा नेपाल पूरै देशको बजेट कम छ । तर, सबैतिरबाट इमानदार हुने प्रयास गर्ने हो भने नेपालमा पनि आर्थिक रूपमा अगाडि बढ्न सक्छ । तर, समस्या फेरि पनि हाम्रो गुणस्तर, मेहनत र इमानदारीमै छ । दूधमा पानी हाल्ने चलाखी हामीसँग छ । तर, पानी नहालेको शुद्ध दूध बढी बिकाउ हुन्छ, महँगोमा बेच्न सकिन्छ भन्ने धैर्य हामीसँग रहेन ।

अब नेपालले पानी बग्न दिनु हुँदैन, बेच्नैपर्छ । किनकि समुद्रको पानी शुद्ध बनाउने खर्चभन्दा सस्तोमा पिउने पानी बेच्न सक्ने हो भारत, अरब, इरान, इराकजस्ता देशमा नेपालको पानीको माग सृजना गर्न सकिन्छ । यो व्यापारबाट नेपाल र नेपालीको अनुहार फेर्न सकिन्छ ।

अन्य सबै  चीजको फेशन परिवर्तन हुन्छ तर तिर्खामा पानीको फेशन कहिल्यै परिवर्तन हुँदैन । जलविद्युत्को व्यापार अन्य प्रकारको आणविक विद्युत् उत्पादनले घटाउन सक्छ । तर, पानीको व्यापार युगौं युगका लागि दिगो हुने हुँदा नेपालका नीति योजना र सोचहरू पानीको व्यापारतर्फ केन्द्रित हुन जरुरी छ ।

विश्वमा सर्वप्रथम पर्सनल ल्यापटप बनाउने तोसिवा कम्पनी आज टाट पल्टने अवस्थामा छ, नोकिया झण्डै बजारबाट हराइसकेको अवस्था छ । तर, यदि नेपालले शुद्ध पानी थोरै मात्र नाफा लिएर सबैको हातहातमा पुर्‍याउन सक्ने हो भने आगामी १० वर्षमा नेपाली अर्थतन्त्र विश्वको टप ट्वाण्टीभित्र पर्नेछ । डिजल बेच्ने साउदी अरेबिया आज विश्वका २०औं अर्थतन्त्र हो । जबकि तेलले इञ्जिन मात्र चलाउँछ, पानीले जीवन नै चलाउँछ । तर्सथ नेपालले एउटा फरक तरीकाले पानीको व्यापारको विश्व व्यापकता खोज्न जरुरी छ ।

ओबीओआरको सडक सञ्जालमा प्रवेश गरेर दिनको १ करोड बोतल शुद्धपानी विश्वबजारमा छिरलौं र प्रत्येक बोत्तलमा सगरमाथा, लुम्बिनी, पशुपति र  फेवातालको आकर्षक विज्ञापन गरौं । नेपालमा पर्यटक आएनन् भन्नु पनि पर्दैन । नेपालीले रोजगारी पाएन भन्नु पर्दैन । विकास भनेको चिट्ठा परेर हुने चीज होइन, मेहनत गरेर हुन्छ । तर, मेहनत ठाउँमा गर्नुपर्छ । नेपालमा पानी खेर जाने तर नेपाली भोकै रुनुपर्ने अवस्थाबाट माथि उठौं । सगरमाथाको पानीको फरक मूल्य, कञ्चनजङ्घाको फरक मूल्य, माहाभारत शृङ्खलाको पानीको फरक मूल्यसहित नेपाली पानी बेचौं, अन्य पेय पर्दाथभन्दा नेपाली पानी विश्वको पहिलो पेय बन्छ । ठूला सोच खोज्दै हिँड्नुभन्दा साना कुरालाई व्यापक बनाउनु सफलताको द्योतक हो ।

लेखक कैलाशकुट बहुमुखी क्याम्पस चाबहिलमा व्यवस्थापन विषयका अध्यापक हुन् ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »