अमेरिकी र चिनियाँ अनुसन्धानकर्ताहरुको एक समूहले कार्यालयको वातावरणले पनि कर्मचारीहरुको कार्यदक्षता र सृजनशीलतामा ठूलो प्रभाव पर्ने पत्ता लगाएका छन् । बेलायती पत्रिका ‘द डेली मेल’ले यसबारे प्रकाशित गरेको एक रिपोर्टमा आफ्ना कर्मचारीबाट निकै ऊर्जा र सृजनशीलताको आशा गरिरहेका कम्पनीहरुले उनीहरुलाई उपलब्ध गराएको वातावरणतर्फ पनि ध्यान दिनु जरुरी भएको बताइएको छ ।

अनुसन्धानकर्ताहरुले साँघुरो कार्यस्थल भएको ठाउँमा काम गर्नेहरुको सृजनशीलता र ऊर्जामा उल्लेख्य कमी पाएका थिए । अनुसन्धानमा सानो कार्यस्थलका साथै कम प्रकाश भएको ठाउँमा काम गर्नेहरुको सृजनशीलतामा कमी भेटिएको थियो ।
साँघुरो कार्यस्थलमा हावाको वहाव कम हुने भएकाले कर्मचारीहरुको मस्तिष्कले नयाँ काममा ध्यान दिन नसक्ने अनुसन्धानकर्ताहरुको भनाइ छ । यसको विपरीत ठूलो र छरितो कार्यस्थलमा काम गर्नेहरुचाहिँ प्रायजसो खुसी नै रहने र नयाँ कुरा खोज्न तल्लीन रहने पाइएको थियो ।
अनुसन्धानकर्ताहरुले यसका लागि स्वयम्सेवकहरुको एक टोलीलाई ५ फिट बाइ ५ फिट आकारको एक कार्डबोर्डद्वारा निर्मित कोठामा राखेर यसको परीक्षण गरेका थिए । त्यसमा बसेर काम गर्नेहरुले असजिलो महसूस नगरेको र काम पनि राम्रैसँग गरेको निष्कर्ष अनुसन्धानकर्ताहरुले निकालेका छन् ।
त्यसका साथै कार्यस्थलमा एकतर्फी रुपले भन्दा खुला ढङ्गले हिँड्ने ठाँउ भएमा पनि कर्मचारीहरुको मस्तिष्कमा नयाँ विचार आउने पनि अनुसन्धानमा देखिएको थियो ।