माघ २२, हेटौंडा (अस) । मकवानपुरको बसामाडी गाविस ५ मा रहेको बहुराष्ट्रिय उद्योग युनिलिभर नेपाल मजदूरहरुले अनिश्चितकालीन बन्द गरेका छन् । मजदूरहरुले आइतवारबाट उद्योग बन्दको घोषणा गरेका हुन् ।
उद्योग व्यवस्थापनसमक्ष २ महीनाअघि राखेको मागको सम्बोधन नभएपछि आन्दोलन थालिएको माओवादीनिकट मजदूर जङ्गबहादुर विकले बताए । ‘आन्दोलनका लागि उद्योगमा सबै राजनीतिक दलसम्बद्ध मजदूरहरु एक भएका छन्,’ उनले भने ।
तलबभत्ता बढाउनुपर्ने, स्वस्थकर वासस्थानको व्यवस्था मिलाउनुपर्ने, बीमाको व्यवस्था हुनुपर्ने तथा उद्योगमा कार्यरत औषधोपचार खर्चको व्यवस्था हुनुपर्ने माग मजदूरहरुले राखेका छन् । उद्योगमा १ सय ७९ जना कर्मचारी तथा मजदूर कार्यरत छन् ।
यसैबीच १० महीनादेखि तलब नपाएको भन्दै एभरेष्ट पोलिमर प्रालिका मजदूरले आइतवार दिनभर हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा धर्ना दिएका छन् । उद्योग सञ्चालक विकास कोठारी विनासूचना उद्योग बन्द गरी भारत गएपछि मजदूर र कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।