माघ २२, काठमाडौं । सरकारले दूरसञ्चार सेवा प्रदायक नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)मा आगामी ६ महीनाभित्र रणनीतिक साझेदार भित्रयाउने भएको छ ।
सूचना तथा सञ्चार राज्यमन्त्री सुरिताकुमारी शाहले यससम्बन्धी कार्ययोजना अगाडि बढिरहेको जानकारी दिएकी छन् । सरकारी स्वामित्वको नेपाल दूरसञ्चार संस्थान कम्पनी लिमिटेडमा परिणत गरिएको ८ वर्ष पूरा भएको अवसरमा टेलिकमले आयोजना गरेको कार्यक्रममा शाहले सो कुरा बताएकी हुन् ।

यद्यपि २ वर्षअघि नेपाल टेलिकममा राणनीतिक साझेदार भित्रयाउन कम्पनीले तयार पारेको सुझाव प्रतिवेदन कार्यान्वयनमा आउन सकेको छैन । हालै सरकारले अघि सारेको ‘सुशासन कार्ययोजना २०६८’ मा ‘प्रविधिको विकास र प्रतिस्पर्धाअनुकूल कम्पनीलाई अघि बढाउन विदेशी निवेशसमेत रहने गरी’ ६ महीनाभित्र रणनीतिक साझेदार चयन गर्ने उल्लेख गरेको छ ।
टेलिकमका महाप्रबन्धक अमरनाथ सिंहले निर्धारित समयमा नै सरकारले नयाँ योजनासहित रणनीतिक साझेदार चयन गरे कम्पनी थप बलियो हुने बताएका छन् । तर, ९२ प्रतिशत शेयर सरकारको स्वामित्वमा रहेकाले निर्णय कार्यान्वयनमा सरकारी इच्छाशक्ति नै प्रमुख हुने शाहको भनाइ छ ।
नेपाल टेलिकमको आठौं वार्षिकोत्सव समारोहमा सञ्चालक समितिका केही सदस्यले सरकारी नीति र कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका थिए । सर्वसाधारणका तर्फबाट सञ्चालक समितिमा नियुक्त कम्पनीकै पूर्वअधिकृत कल्याणकुमार गुरुङले हालै सरकारले जारी गरेको परिपत्रको आलोचना गरे ।
परिपत्रमा कम्पनी सञ्चालक समिति, कर्मचारी र साधारण शेयर सदस्यहरूको कुनै भूमिका नरहने गरी सबै निर्णय अधिकार महाप्रबन्धकलाई दिइएकोमा उनले आक्रोस पोखे । उनले खल्तीबाट निस्कने महाप्रबन्धकलाई सम्पूर्ण अधिकार दिइएको बताउँदै सरकारको विरोध गरे । अर्का सञ्चालक समिति सदस्य टङ्कलाल श्रेष्ठले सरकारी नीति र नियमको डोरीमा बाँधिएर निर्णय गर्ने परिपाटीको अन्त्य गर्न सकेमात्र नेपाल टेलिकम अगाडि बढ्न सक्ने बताए । सार्वजनिक खरीद ऐनको प्रक्रियालाई पूरा गरेर अगाडि बढ्नुपर्ने अवस्थाका कारण टेलिकमका योजनाहरू निर्धारित समयभन्दा डेढ वर्ष ढिला पूरा हुने गरेको बताउँदै नेतृत्व तहलाई कम्पनीको आवश्यकताबोध नभएको बताए ।
सूचना तथा सञ्चार मन्त्रालयका नवनियुक्त सचिव अवनिन्द्रकुमार श्रेष्ठले भने सरकारी नीति कै कारण कम्पनीका योजनामा अवरोध भएको भन्ने कुरा सत्य नभएको बताए । सरकारले टेलिकमका क्रियाकलापलाई नजिकबाट नियालिरहेको बताउँदै सचिव श्रेष्ठले विगतमा भएका गुणस्तरहीन सामग्रीहरूको खरीदका सम्बन्धमा सञ्चालक समितिले जवाफ दिनपर्ने बताए ।
वार्षिकोत्सवका अवसरमा कम्पनीमा २५ वर्ष सेवा पूरा गरेका २२ जनालाई सेवा पदकसहित सम्मान गरिएको छ । समारोहमा काठमाडौंका २० कर्मचारीलाई सम्मान गरिएको थियो । समारोहमा कम्पनीले आयोजना गरेको विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई समेत नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।